'दुवै तिघ्राको मासु थिएन। हड्डी मात्र थियो। माओवादीले मान्छेको मासु खाए।'
'हैन होला सर!' मैले अविश्वास गरेँ।
'हो सर! नत्र मासु कहाँ गयो त?' उनले प्रश्न गरे।
उनी एक्स-आर्मी हुन्। नाम लेख्ने अनुमति छैन। कोभिडका बिरामी हुन्। हाम्रो भेट आइसोलेसन वार्डमा भएको हो।
...
महेन्द्र मोरङ कलेजको छेउछाउ पुगेपछि पिसाबले बेस्मारी च्याप्यो। विराटनगर, महानगरपालिका हो तर सार्वजानिक शौचालय छैन। (छैन भने पनि हुन्छ) बिजुलीको पोलमा छेलिएर मूत्र बिसर्जन गर्न हिम्मत पुगेन। कलेज छिरेँ।
मुख्य भवनको पुरुष शौचालय पसेँ। लामो सास तानेँ। मूत्र बिसर्जन गरेँ। आनन्द भयो। यसरी मूत्र त्याग गर्न पाउनु यौनपछिको दोस्रो आनन्द हो!
शौचालयबाट निस्कन खोज्दै थिएँ, अचानक झस्केँ। सरकारी कलेजको पुरुष शौचालय किन गनाइरहेको छैन?
दायाँबायाँ हेरेँ। भित्तामा केटाहरूको कुण्ठा छ्यालब्याल छ। मच्छर र भुसुना मुतको बाक्लो काइमा मोज गरिरहेकै छन्। गेस-पेपरको पन्ना मुतमा कुहिएको छ। तर सरकारी शौचालयको आदिम गन्ध किन छैन?
फेरि लामो सास तानेँ। नाकभित्र गन्ध हुल्न खोजेँ तर पसेन।
झस्केँ।
पढेको थिएँ- नाकले बासना गुमाउनु कोरोना हुनु हो।
मेरो पहुँचका डाक्टर साथीहरूलाई फोन गरेँ। सरकारी शौचालयको गन्धबारे बताएँ।
'कोरोना हुन सक्छ। टेस्ट गर। घरमा अलग्गै बस,' उनीहरूले भने।
भोलिपल्ट पिसिआर टेस्ट गरेँ। रिपोर्ट पोजेटिभ आयो। त्यसपछि सरकारी आइसोलेसनमा पुगेको हुँ। र, ती एक्स-आर्मीलाई भेटेको हुँ।
'दाजु मान्छेकै मासु त खाएनन् होला हौ?' फेरि एक्स-आर्मीलाई सोधेँ। ङिच्च हाँसेँ।
'हो क्या भाइ। लेफ्टिनेन्टको मासु खाएकै हुन्,' उनले ठोकुवा गरे।
उनको कुरामा विश्वास गर्ने हो भने माओवादीले मान्छेको मासु पक्का खाए। विश्वास गर्ने अधिकार आफूसँग सुरक्षित छ। जुन निकै गोप्य हुन सक्छ।
ठिक्क आर्मी हुन पुग्ने उचाइ मात्र छ उनको। हँसिला छन्। पचास नाघेका हुन् तर जवान देखिन्छन्। फूर्तिला छन्। आफ्ना कथा भन्न मन पराउँदा रहेछन्।
उनले कथा अघि बढाए– 'खोटाङको चिसापानीमा थियौं। हाकिम थियो– छब्बीस वर्षीय सेकेन्ड लेफ्टिनेन्ट। महसुर थियो। तर अलिक मूर्ख थियो। कानमा वाकम्यान कोच्थ्यो। आफ्नै सुर-तालमा हुन्थ्यो। गीतको सुर-तालमा जिउ मर्काउँथ्यो। ठूलो ठूलो स्वरमा बोल्थ्यो। खानदानी परिवारबाट आएको थियो। भर्खरै 'राडीको बान' भन्न जान्दै थियो। अन्य गाली बोल्न जानिसकेको थियो।
सय जनाको पल्टन थियो। हामी उकालो जाँदै थियौं। ओरालो झर्दै गरेका एक गाउँले वृद्ध भेटिए।
'बाबुहरू माओवादी कि शाही सेना?' नडराई सोधे।
'हामी सेना हुँ बाजे,' मैले भनेँ।
'मेरो छोरो पनि शाही सेना छ। माथि डाँडातिर नजानू। राक्षसहरू गोरु काटेर खाँदैछन्। तपाईंहरूलाई एकै गाँस बनाउँछन्।'
यति भने र उनी फटाफट ओरालो झरे।
म हच्केँ। हाकिम अलिक पछाडि थियो। मैले उसलाई रिपोर्ट गरेँ। तर हाकिमले मलाई 'डरछेरुवा हवल्दार!' भन्यो।
टोली अगाडि बढ्यो। बढ्दा बढ्दै झ्याप्प अँध्यारो भयो। जताततै बारुदको गन्ध। धुवाँको कुहिरीमन्डल! झोला फालेँ। ओरालो झरेँ। बाँच्न जुरेको रहेछ। बाचेँ। हाकिम र अरू धेरै साथीहरू मरे।'
उनको कथा सुनाउने शैली रोचक थियो। भरसक कथालाई चित्रीकरण गर्थे। अनेक हाउभाउ बुन्थे। तिघ्रा देखाउँदा उनको हात तिघ्रामै पुग्थ्यो। अनुहारको भाव फेरबदल भइरहन्थ्यो। बन्दुकको नाल र गोलीका बुलेट हातले बुनेर दृश्य बनाउँथे।
(उनले भनेअनुसार उनको कथा लेख्न जानिनँ।)
म युद्ध मन पराउँदिनँ। तर, मृत्युको मुखै छेउबाट फर्किएकाहरूको रोचक जिन्दगीसँग डाहा लाग्छ।
जिन्दगी टारमा होइन, भिरमै सुन्दर देखिन्छ। अचानक मर्नुभन्दा मर्दैछु भन्ने थाहा पाउँदै मर्नु काइदा होला! जीवनको अन्तिम क्षण मृत्युको स्वाद चाख्दै मर्नु काइदा रहला! तर यो भाग्य सबै मान्छेले किन पाओस्?
'दाजु कोरोनासँग चाहिँ कत्तिको डर लागेको छ नि?' मैले सोधेँ।
'बन्दुकको नाल छेउबाट बाँचेर आ'को जिन्दगी हो। यस्ता नाथे कोरोनाले त कुनै हालतमा मरिँदैन हौ भाइ,' उनले भने।
त्यसपछि हामी आइसोलेसन वार्डको फराकिलो आँगनमा फुटबल खेल्न थाल्यौं।
...
मेरो कोरोना पोजेटिभ रिपोर्ट सुनाउन नगर स्वस्थ्य प्रमुखले फोन गरे।
'तपाईंको रिपोर्ट पोजेटिभ आयो!' भन्न उनले केहीबेर भूमिका बाँधे। निकै गाह्रो हुँदो रहेछ रोगीलाई रोगबारे बताउन, मैले महशुस गरेँ।
'कोरोनासँग डर छैन सर! सिधै पोजेटिभ भन्नुभए हुन्छ,' मैले भनेँ।
त्यसपछि उनी हासेँ।
म पनि हासेँ।
रोगीले पनि मान्छे हसाउँछ! उनलाई लाग्यो होला।
'यतिका मान्छे संक्रमित भइसके। बल्ल मेरो पालो आयो,' मेरो बात सुनेर उनी फेरि हाँसे।
रोगीले पनि यसो भन्छ! उनलाई लाग्यो होला।
'तपाईं आइसोलेसन सेन्टर, गोठगाउँ जानुस्,' उनले भने। मैले मानेँ।
फोन राखेको दस मिनेटमै एम्बुलेन्स आँगनमा आयो र साइरन बजाउन थाल्यो।
म बाआमाको घरमा बस्छु जुन लोकल हटियाको बीचमा छ। बस्ती बाक्लो छ। एम्बुलेन्स आयो। म कोरोना पोजेटिभ भन्ने खबर वेगमा फैलियो।
त्यतिखेर म पास्ता नामको खाजा खाँदै थिएँ। हतार भयो, आधा मात्र खान भ्याएँ। दीपाले लगेजमा कपडा र किताब हाल्दै थिइन्। उनको अनुहार निकै अँध्यारो थियो। मैले उनी डराएको पहिलोपल्ट देखेँ। बाआमाको अनुहार पनि उस्तै थियो। यतिविधि बाआमा डराएको पनि पहिलोपल्ट देखेँ।
'नडराउनू, मलाई केही हुँदैन,' मैले भनेँ। तर उहाँहरूले विश्वास गर्नु भएन। सम्भवतः उहाँहरूले यतिविधि मलाई अविश्वास गरेको पहिलोपल्ट हो।
हतार भयो! अर्धप्याक लगेज घिसार्दै एम्बुलेन्स चढेँ। आफैं बिरामी भएर एम्बुलेन्स चढेको पनि पहिलोपल्ट हो।
एम्बुलेन्समा रेडियोले कोरोनाको समाचार सुनायो। हिजोभन्दा आज मृत्यु संख्या बढेको छ। संक्रमित थपिएका छन्।
एम्बुलेन्समा एक्लै छु। एकझमक डरले खर्लप्पै छोप्यो। समाचारमा सुनिएजस्तै कोरोना साँच्चै खतरा हो भने म फेरि नफर्किन सक्छु। आफूले जतिसुकै 'मर्दिनँ' भने पनि कालको कान हुँदैन।
कालले सुन्दैन भन्ने ज्ञान हुँदै गयो। म डरले गल्दै गएँ। मृत्युको डर सबभन्दा ठूलो डर रहेछ। यसबेला आफैंलाई मात्र सम्झिएँ। निकै बेरपछि असी वर्ष नाघेका बाआमा सम्झेँ। श्रीमती सम्झिएँ।
म नहुँदा घर कस्तो होला! बाआमा र श्रीमतीको दुःखको भयले फेरि छोप्यो। अचम्म! अचानक आँखामा बादल लाग्यो।
मोटर चढ्दा रिंगटा लाग्दैन थियो। रिंगटा लाग्न थाल्यो। वान्ता हुन लाग्यो। चिसो पसिना आयो। शरीर भिज्यो।
अरू बेला खुब फूर्तिफार्ती लाउँथेँ। 'मृत्यु' केही होइन भन्थेँ। मर्न डर लाग्दैन पनि भनेँ। त्यो त आफैंसँग गरिएको ठट्टा रहेछ। त्यो त आफ्नै जिन्दगीसँग गरिएको कुशल अभिनय रहेछ। अभिनयलाई समेत साँच्चै हो भन्ठानेछु।
आज आएर, जीवन र जीवनले गरेको अभिनय छुट्याउन सकेँ। जीवनमा भ्रम र सत्यबीच पातलो धर्सो हुन्छ। मगजमा चेतना पसेको यतिका उमेर हुँदासमेत त्यो धर्सो चिन्न कोरोनाले समात्नुपर्यो।
हुन त जीवनका प्रत्येक घटना जीवनका महान् गुरु हुन्। तर गुरु चिनिँदैन। गुरु चिन्ने हाम्रा आँखा हत्तपत्त खुल्न मान्दैनन्। ती साह्रै अटेरी हुँदा रहेछन्।
जीवनको होइन, म मृत्युको दास रहेछु। डर र भयबाट शासित रहेछु।
घरबाट आठ-नौ किलोमिटर टाढा पुगेपछि एम्बुलेन्सले अर्को बिरामी उठायो। उनी पनि मजस्तै डराएका छन्। मैलेजस्तै नडराएको अभिनय गरिरहेका छन्।
'तपाईंलाई कस्तो छ अहिले?' बाट हाम्रो बोलचाल सुरू भयो। धनकुटाका मास्टर रहेछन्। लक्षण देखिएको छैन। स्कुलमा हाजिर हुन जानु छ। पिसिआर टेस्ट अनिवार्य गर्नुपर्ने भएर गरेका रहेछन्। संयोग, रिपोर्ट पोजेटिभ आयो र उनी मेरा साथी भए।
उसिनेको अन्डा कति खेर पाक्छ भन्ने ज्ञानसमेत नभएका शुद्ध भेज रहेछन्। यो हदसम्मका शाकाहारी मानिससँग नौ दिन एउटै कोठामा बिताउन पाएँ। छत्तीस वर्षीय जीवनमा यो पहिलो अनुभव हो।
म चाहिँ मासु र साग लाटलुट भयो भने मासु नै नखाने ननभेज हुँ। हाम्रो कुरा नमिल्नुपर्ने हो। तर मिल्यो। नौ दिन आरामले बस्यौं।
खानामा के छ र हजुर! जे छ विचार, सद्भाव र प्रेममा रहेछ।
एम्बुलेन्सबाट ओर्लिएर पूर्वाञ्चल विश्वविद्यालयको आइसोलेसन वार्ड, गोठगाउँ छिर्नेबित्तिकै 'पक्का फर्किन्नँ' भन्ने गतिलो भान हुन्छ। मुख्य गेटमै हिन्दीमा ठूलाठूला अक्षरमा गीता सार लेखिएको छ –
जो हुआ, अच्छा हुआ
जो हो रहा है, वह अच्छा हो रहा है। तुमने क्या पैदा किया था जो नष्ट हो गया। तुमने जो लिया यहीं से लिया। जो दिया, यहीं पर दिया।
जो होगा, वह भी अच्छा ही होगा। तुम्हारा क्या गया जो तुम रोते हो?
तुम क्या लाये थे जो तुमने खो दिया?
जो आज तुम्हारा है, कल किसी और का था। परसों किसी और का हो जायेगा। परिवर्तन संसार का नियम है।'
भित्तामा धार्मिक भगवानका (धार्मिक कथाका पात्र) ठूलाठूला फोटो टाँसिएको छ। गीता सार र ती फोटाले डरमाथि झन् डर थपिदिन्छ।
'यहाँ बाँच्न हैन, मर्न आएको हुँ। यो जीवनशाला हैन, मृत्युशाला हो!' भन्ने बोध गराउँछ।
मजस्तो कट्टर धार्मिक नास्तिकलाई समेत यस्तो बोध भयो भने अरू आस्तिकलाई झन् कसो नहोला।
'जो होगा वह भी अच्छा ही होगा। तुम्हारा क्या गया जो तुम रोते हो?' यो वाक्यको गहिराइमा पुग्न कयौं वर्ष साधना गर्नुपर्छ। ध्यान र तपस्यामा जानुपर्छ। सांसारिक मोहबाट रुँदै आइसोलेसनमा पुगेको एक्लो व्यक्तिलाई यो वाक्यले घोर निराशामा धकेल्छ।
त्यो आइसोलेसनमा जम्मा २३ जना रहेछन्। हामी पुगेपछि २५ भयौं। भोलिपल्ट आधाजसोसँग घुलमिल हुन सकेँ।
अचम्म के भने, बिहान साढे पाँच बजे नै उठ्न सकेँ। वर्षौंपछि मधेसको पूर्वी आकाश रातो भएको देखेँ। विस्तारै घाम झुल्किँदै गरेको देखेँ। मेरो जीवनबाट टुटिसकेको ध्यानलाई फेरि जोड्ने कोशिस गरेँ। (कोशिस मात्र)। नौ दिनमा एक दिन मात्र थोरै बेर ध्यानले समात्यो। बाँकी दिन कोशिसमै बित्यो।
एक्स-आर्मी र अरू अरूका कथा रोचक थिए।
विस्तारै आइसोलेसन वार्ड रमाइलो हुँदै जान थाल्यो। कतै दुखेको वा साह्रो भएको कसैलाई थिएन। एक जना अलिक पाको उमेरका थारू बा थिए।
उनी भन्थे, 'यसरी कतै नदुखी, केही नभई खुत्रुक्कै मर्न पाउनु त भाग्य हो। केही भएकै छैन कसरी मर्छ मान्छे? बाँच्नभन्दा मर्न कति धेरै गाह्रो छ। बाँच्न त आफ्नो इच्छाले बाँच्दा हुन्छ तर मर्न इच्छाले पाइँदैन। लिन आउनुपर्छ। हामीलाई लाने कोरोनाको दम छैन।'
उनले कोरोनाको मुटु-कलेजो छामिसकेछन्। कोरोनालाई साह्रै अविश्वास गर्न थाले।
ती थारू बा एक उद्योगमा 'अफिस म्यान' का रूपमा काम गर्दा रहेछन्। होलसेलमा पिसिआर टेस्ट गर्दा उनी पोजेटिभ भएछन्।
कोरोनाको डर पचाइसकेका छन्।
उनलाई आफ्ना बाजे मन पर्दैन। मन नपर्नुको कारणमा दम छैन। तर पनि उनी कारण बताइहाल्छन्– उनका बाजेसँग प्रशस्त जमिन रहेछ। मधेसको औलोमा समेत नमरी जंगल फाँडेर जमिन बनाएछन्। पछि पहाडेहरू पहाडबाट तराई झरे। दुःखमा थारूका साथी बने। थारूलाई ऋण चाँहिदा दिए। बदलामा थारूका जमिन लिए। पहाडेहरू जमिनदार बने। आदिवासी थारूहरू कंगाल बने। पछि पछि धेरै थारूहरू तिनै नवजमिनदार पहाडेका हरुवा बसे। जीवन धाने।
अहिले यी थारू बासँग जमिन छैन। यसकारण उनले आफ्ना बाजेलाई मन पराउँदैनन्।
...
आइसोलेसनमा यस्ता थुप्रै कथा सुन्न पाएँ। जुन जीवनजस्तै लामा छन्।
तीन दिनपछि खुसीको खबर सुन्न पाएँ। घरमा सबैको रिपोर्ट नेगेटिभ आयो। अब मलाई महिनौं दिन कोरोनाले समाती राखे पनि केही हुँदैन। डर छैन। मरिँदैन भन्ने पक्का भइसकेको छ। खान-बस्न पाइएको छ। ध्यानको अभ्यास गर्दैछु।
यसैबीच एकदिन आइसोलेसन वार्डमा हल्ला फैलियो, 'अब पुनः पिसिआर टेस्ट हुँदैन। चौध दिन बस्ने, आफैं घर जाने।'
यस विषयमा अनेक तर्क र बहस भए। समय राम्रै बित्यो। रमाइलै भयो।
मान्छे एक– हामीलाई समाजले कसरी स्वीकार्छ?
मान्छे दुई– यो त हुँदै हुँदैन।
मान्छे तीन– काइदा भयो। नाकमा सिन्का घुसार्नु परेन। नत्र कम्ता दुख्दैन थियो।
मान्छे चार– आ! जेसुकै गरोस्। घर जान पाए हुन्छ।
मान्छे पाँच र अरूअरू धेरैले अनेक अनेक विचार र तर्क गरे।
म मान्छे– जो टेस्टबिना 'घर जा' भन्न आउँछ, उसलाई अँगालो हाल्ने र हात मिलाउने प्रस्ताव राख्छु। उसले यसो गर्न मान्यो भने गाउँ-समाजलाई आफैं कुरा बुझाउँछु।
सबै मान्छे– हो, हो। त्यसै गर्ने।
कोरोना पोजेटिभलाई समाजमा सामाजिक हुन गाह्रो छ।
म आइसोलेसनमा गएपछि घरमा कन्ट्याक ट्रेसिङ भयो। पिसिआर टेस्ट गर्न नगर अस्पताल जानुपर्ने भयो, घरबाट नौ किलोमिटर टाढा छ। गाउँका कुनै अटो-रिक्साले हाम्रो घरका सदस्यलाई बोक्न मानेनन्। पछि उपमेयरलाई भनेर एम्बुलेन्स पठाउनुपर्यो।
हाम्रो घरतिर हेरेर बोल्नसमेत मान्छे डराए। दूध दिने ठाउँमा गाउँलेले भनेछन्, 'पोख्रेलको घरमा दूध नदिनू। कोरोना सर्छ।'
हाम्रो घरमा आउजाउ गरिरहने छिमेकीलाई अन्य गाउँलेले हकारे, 'यो बाटो नहिँड। तिम्रो पोख्रेल टोलसँग घुलमिल छ।'
तर दूध दिनेले दिइरहे। गुण लगाए।
कोरोना लाग्नेले भोग्ने समाजिक समस्या घटेको छैन जुन स्वाभाविक हो। सुरू सुरूमा हल्ला र डर यसरी फैलियो, त्यो विस्तारै अग्राखको चुरोजस्तो बन्यो। जीवनको जस्तै डरको आयु पनि लामै हुन्छ। मासिन समय लाग्छ। समाजमा कोराना पोजेटिभलाई गरिने व्यवहारको जिम्मा अनावश्यक हल्लाखोर मच्चाउनेले लिनुपर्ने हो। तर त्यस्तो कहाँ हुन्छ र!
सामान्य मान्छेलाई कोरोना लागेर केही हुँदैन। रुघाखोकीभन्दा तल्लो स्तरको पीडा हुन्छ। यो मेरो अनुभवले भनेको, विज्ञताको भाषा र ज्ञानले होइन। अनुभवीभन्दा विज्ञहरू जान्ने हुन्। विज्ञताले सामूहिकताको अध्ययन र धारणा तयार गर्छ।
आइसोलेसनबाट पिसिआर टेस्ट नगरी घर पठाउँछ रे! भन्ने विषयमा एक जना भाइ निकै चिन्तित भए।
'नेगेटिभ रिपोर्ट नआई त कुनै हालतमा जादिनँ। बरू यहीँ सुत्छु।'
उनी मोतिहारी जिल्ला, भारतका हुन्। इटहरी, सुनसरी बस्छन्। साइकलमा डुलेर कुकर र ग्यास चुह्लो बनाउने काम गर्छन्। घरघरमै पुगेर सेवा दिन्छन्।
मान्छेले भन्दा रहेछन्, 'यो भाइ इन्डियन हो। यसलाई पक्का कोरोना लागेको छ।'
उनलाई मान्छेले ठोकुवा गरेरै कोरोना लागेको छ भनेको पटक्कै मनपर्दो रहेनछ। त्यस कारण पिसिआर टेस्ट गरेका रहेछन्। तर रिपोर्ट पोजेटिभ आयो।
हाम्रो भेट आइसोलेसनमा भयो।
आइसोलेसनमा दुई किताब पढेँ– ओशोको 'बायोग्राफी' र शंकर लामिछानेको 'विम्ब-प्रतिविम्ब'। यी दुवै दोस्रोपल्ट पढेको हुँ।
पत्रकारले ओशोलाई एकै पाराको प्रश्न फरक-फरक समयमा सोध्छन्। उनी फरक-फरक उत्तर दिन्छन्।
ओशो भन्छन्, 'म वर्तमानमा जे गर्छु, जे बोल्छु त्यो मात्र सही हो। हिजो अस्ति के बोलेँ, के गरेँ भनेर प्रश्न नगर्नू।'
यो कुराले मलाई खुब घत पारिरहेको छ। तर, ओशोबाट प्रभावित हुनु र आफ्नो विचार र धारणाबाट शून्य हुनु जीवनका लागि ठूलो धोका हो।
त्यसैगरी शंकर लामिछानेले विश्वेश्वरप्रसाद कोइरालालाई 'विम्ब प्रतिविम्बमा' सोध्छन्, 'कुनै दिन उपन्यास लेख्ने विचार छ?'
'अहँ! समयको बर्बादी मात्र हुन्छ। लेखेँ भने लघुकथा मात्र लेखुँला।'
पछि कोइरालाले बेस्मारी उपन्यास लेखे। उनका उपन्यासले नेपाली भाषामा आज र अहिलेसम्म पनि बेस्मारी प्रभाव पारिरहेका छन्। अझै कयौं वर्ष पाठकले उत्तिनै चाखले पढिरहनेछन्।
'स्प्रिच्यूअल लजिसियन' ओशो र 'उपन्यास जादुगर' विश्वेश्वरप्रसाद कोइरालाका ती भनाइ र तर्क पढेपछि मैले लामो सास तानेँ।
हुन त योभन्दा पहिला पनि यी तर्क र भनाइ पढेको थिएँ। तर सास छोटै थियो। मन शान्त भयो। ठूला ठूला मान्छेलाई समेत समयले बोली फेर्न लगाउँदो रहेछ। मजस्ता झिनो मान्छेलाई त के भो र!
मैले पनि त कति साथी र सार्वजनिक ठाउँमै भनेको थिएँ, 'म उपन्यास लेख्दिनँ। त्यो मेरो लागि फोकट्या काम हो।
तर अहिले भन्छु- उपन्यास लेख्छु। त्यसमा मज्जा छ।
...
आइसोलेसनमा खास गाह्रो भएन। तीन-चार दिन डाइरिया भयो। कमजोरी अनुभूत भयो। टाउको दुख्यो। जीउ दुख्यो। जुन एकदम सामान्य हो।
महामारी भनिएको रोगको इज्जत राख्न भए पनि अलिअलि दुख्नु र पीडा हुनु जरुरी थियो। तर, मेरो ज्यानले कोरोनाको इज्जत राख्न सकेन। हल्ला र डरको तुलनामा मेरो दुखाइ र भोगाइ साह्रै कम भयो।
नौ दिनपछि मेरो रिपोर्ट नेगेटिभ आयो। घर फर्किएँ। नियमित काममा गएँ। तर बेलाबेला मनमा अप्रासंगिक प्रश्न अइरहन्छ– के माओवादीले मान्छेको मासु खाएकै हुन् त?
(नोट- यी सबै मेरा अनुभव हुन्। विज्ञका भनाइ र सल्लाह मान्नु होला।)
ट्विटरः @rashayans