धेरै उत्साहसाथ जर्मनीबाट मास्टर्स सकेर सात वर्ष अगाडि म नेपाल फर्केँ। आफ्नो मातृभूमि फर्केँ।
तर सबभन्दा अचम्म म त्यतिखेर भएँ, जब मेरा आमाबुबा नै म फर्केकोमा खुसी हुनु भएन।
पछि मैले प्रेम बिहे गर्ने भनेर अभिभावकलाई मेरी अहिले श्रीमती भइसकेकी उनीबारे सुनाएँ।
'अन्तर समुदाय बिहा गर्ने हो भने विदेश गएर गर' भनेर सल्लाह दिनु भयो।
उता प्रेमिकाकी आमाले पनि उनलाई त्यही भन्नु भयो, 'आफ्नो जात, धर्म र कुलमा बिहे नगर्ने हो भने त झन् नेपाल बस्नु हुँदैन!'
ठूला भइसकेको सन्तानले राम्रैसँग बुझेका र कुनै भावना वा आवेशमा नआइकन यो निर्णय लिएको उहाँहरूलाई थाहा थियो। त्यही भएर हामीलाई आफ्नै कुलघरानमा सम्बन्ध गाँस्न दबाब नदिए पनि, 'नेपाल चाहिँ बस्नै हुँदैन' भनी सल्लाह भनौं वा दबाब सधैं पाइराख्यौं।
'तिमीहरूले उतै बिहा गरेको भए झन् सजिलो हुन्थ्यो' धेरै जनाले भन्नु भयो। तर हामी गलत गरेका थिएनौं, लुकेर सुटुक्क बिहा गर्ने मन थिएन।
पारिवारिक र सामाजिक रूपमा कठिनाइ हुने पूर्वानुमान हामीले गरेकै हो। त्यही अनुरुप हामी दृढ पनि थियौं।
सँगै अर्को महत्वपूर्ण काम थियो, हाम्रो कर्मको मार्ग तय गर्नु।
जर्मनी जानु अगावै निरन्तर मिहेनत साथ दुवैले व्यावसायिक र स्वयंसेवकका रूपमा आ-आफ्नो पहिचान बनाइसकेका थियौं। ममा अत्यधिक आत्मविश्वास थियो, मसँग प्रशस्त अवसर हुनेछन् भनेर।
तर विस्तारै मैले अनुभव गर्न थालेँ, विगतका मेरा प्रशंसक अहिले आलोचक भइसके। विगतमा मलाई विश्वास गरेर मसँग काम गर्न चाहने कैयौंले वर्तमान समयमा मसँग सहकार्य गर्न खासै चाहेनन्।
सबैको एउटै कुरा हुन्थ्यो, 'यो नेपाल हो, जर्मनी होइन।'
राम्रो संस्कार, राम्रो विचार वा नवीन कार्य स्वीकार्य नहुनु नै हाम्रो देशको प्रसंग हो भन्ने कुरा मैले कहिल्यै विश्वास गरिनँ। विगतमा पनि नवीन कार्य गरेकै हो, कठिनाइ भएकै थियो, कहिले सकारात्मक त कहिले नकारात्मक परिणाम भोगेकै हो। तर आफूलाई मन लागेको काम गर्न म कहिल्यै रोकिइनँ।
त्यति खेर दुई कुराले साह्रै सताएको थियो मलाई, पहिलो मेरा विगतका सहयात्रीले नै मलाई विश्वास नगरेको। अनि अर्को मेरो विचारलाई चुनौती नगरी मलाई बारम्बार महसुस गराउन खोज्ने, सकारात्मक कामका लागि नेपालमा धेरै ठाउँ छैन भनेर।
विस्तारै निरन्तर रूपमा मैले अर्को अनौठो प्रश्न सामना गरिरहेँ, 'तपाईं नेपाल किन फर्किनु भएको हो?'
कसैले कटाक्ष त कसैले कौतुहलता/जिज्ञासाका रूपमा सोध्थे- तपाईं नेपाल किन फर्किनु भएको?
कोही कोही नकारात्मक कुरा गरेर, म नेपाल फर्किनु नै गलत भएको प्रमाणितै गर्न खोज्थे।
मेरा लागि यो प्रश्न नयाँ थिएन, सन्दर्भ नयाँ थियो।
जर्मनी हुँदा कैयौं सामूहिक र व्यक्तिगत भेटघाटमा नेपाली खाना खाने, संगीत सुन्ने, यतैको पहिरन लगाउने, कुरा र व्यवहार नेपाली पाराकै हुने। सगरमाथा, बुद्ध, जलस्रोत, सुन्दरता र विरताको कुरामा मग्न हुने। अनि राजनीतिक/सामाजिक कुरा गर्दा त्यही समूहहरू खिन्न हुने वा विभाजित हुने।
यस्तै कुनै बेला मैले नेपाल फर्किने कुरा गरेँ भने कटाक्ष वा जिज्ञासाका रूपमा सोध्थे- तपाईं नेपाल किन जाने?
कोहीकोहीले कहिलेकाहीँ भन्थे, 'म पनि विस्तारै नेपाल फर्कन्छु।'
तर विस्तृतमा बुझ्दै जाँदा उहाँ बुढेसकालमा सेवानिवृत्त योजनाको रुपमा फर्किने सोच्नु भएको रहेछ।
म जर्मनीबाट नेपाल फर्किनुभन्दा केही दिनअगाडि एकजना बहिनीले साहै गहन तरिकाले मार्मिक प्रश्न गरिन्-नेपाल अस्तव्यस्त छ, अवसर खासै छैन, अनि यस्तो बेला नेपाल गएर के गर्नु हुन्छ? बरू यतै काम गरेर नेपालमा केही पैसा पठाउनु भयो भने देश विकासमा योगदान हुन्थ्यो कि!
मैले खासै पूर्ण रूपमा कामको खोजी नगरी नेपाल फर्किने तयारीमा थिएँ। तर मलाई थाहा थियो, जर्मनीमा नेपालभन्दा बढी अवसर छन् जुन व्यक्तिगत रूपमा मेरा लागि फलदायी हुनेछ।
सन् २०१३ मा नेपाल फर्किने बेला जर्मनीमा सन् २००८ को आर्थिक मन्दी पार गरी धमाधम नयाँ अवसर सिर्जना भएको बेला थियो। मेरी प्रेमिका कार्यरत अनुसन्धान केन्द्रमा नयाँ सम्भावना थपिएका थिए र अरू संस्थानबाट कामको प्रस्ताव पनि आएको थियो।
हामी नेपाल फर्किनुमा आफ्नै घर फर्किने चाहना मात्रै थियो। मनमा केही डर, केही आश र केही विश्वास लिएर फर्केका थियौं।
फर्केपछि सुरूआती समयमा आफ्ना विचार स्थापित गर्न साह्रै गाह्रो भयो। मेरी श्रीमती महावीर पुनसँग सहकार्य गर्दै विकट गाउँमा शिक्षा र प्रविधि विकासका लागि योगदान पुर्याउन थालिन्। म युवा सशक्तिकरण, प्रविधिमूलक शिक्षामा केही नवीन कार्यक्रम गर्न थालेँ।
कर्म गर्दागर्दै कैयौं सहयोगी र मार्गदर्शन गराउने हात भेटेँ जसले हाम्रो निर्णयलाई सार्थक बनायो। हाम्रो माटोको यथार्थ र धेरै अभियन्ताको यात्राले प्रेरणा थपिरह्यो। हामी विस्तारै हाम्रो देशको अवसर र चुनौतीसँग अवगत हुँदै परिपक्व हुँदै गयौं। सात वर्षअघि नेपाल फर्किनुको निर्णय कहिल्यै गलत लागेन हामीलाई।
नेपालमा हामी जस्तो युवालाई मध्यमवर्गीय जीवन बिताउन खासै कठिन हुँदैन। आत्मियता, परिवारसँग हुनुको आनन्दसँगै आफ्नो योगदानले उत्पन्न आत्म सन्तुष्टिको मज्जा विदेशभन्दा कैयौं गुणा बढी यहाँ पाएँ। यसको अगाडि विदेशको चम्किलो जीवनशैलीले कहिले लोभ्याएन। तर आफ्नै देशमा सुरक्षा र सुनिश्चिता नहुँदा बेला बेलामा साह्रै चिन्तित हुन्छु।
नेपाल फर्केको केही समयपछि एक जना फपाजु किड्नीको समस्याका कारण विराटनगरको एक निजी अस्पताल भर्ना हुनु भयो। पटक-पटक निजी अस्पताल भर्ना हुनु र हामी कुरुवा हुनु सामान्यजस्तै भइसकेको थियो।
त्यो निजी अस्पतालमा पैसा र सेवाको सोझै सम्बन्ध देखिन्थ्यो। पूरै अस्पताल भरिएको थियो मध्यमवर्गीय र निम्नवर्गीय बिरामी र कुरुवाले। अस्पतालको सेवागृहदेखि औषधि पसलसम्म हस्याङफस्याङ गरेरै समय बित्थ्यो। एकातिर गोजी रित्तिराखेको, अर्कोतिर ज्यानको सुनिश्चतता नभएको।
यस्तै क्रममा केही व्यक्तिसँग कुरा गर्दा गहना बेचेर, घर पालुवा जनावर बेचेर, जग्गा साहुसँग बन्धक राखेर, ऋण जगेडा गरेर आफ्नो परिवारको सदस्यको उपचार गर्न आएको थाहा पाएँ। हामी मध्यमवर्गीयसँग जीवनभर मिहेनत गरेर आर्जित थोरै सम्पत्ति त्यहाँ खर्चनुको विकल्प थिएन। त्यहीँ निम्नवर्गीयले आफ्नो सर्वस्व खर्चिनुको विकल्प थिएन।
केही वर्षअगाडि एक ऊर्जाशील दाइ सपरिवार डिभी पाएर अमेरिका जाने भन्ने खबर पाएँ। जानुअघि एक दिन हाम्रो भेटमा उहाँलाई सोधेँ, 'दाइ, तपाईंले सामाजिक, आर्थिक र पारिवारिक रूपमा राम्रै गर्दैगर्दा पनि किन यसरी विदेशिन लाग्नु भएको?'
उहाँको सरल उत्तर थियो, 'छोराछोरीका लागि। राम्रो विद्यालय भर्ना गर्न, गुणस्तरीय शिक्षाको सम्भावना र अवसरहरू मेरो सन्तानका लागि मैले यहाँ बसेर सुनिश्चित गर्न सक्दिनँ। सर्वश्व त्याग गरे पनि आम मानिसले निजी विद्यालयदेखि अस्पतालसम्म पारदर्शीता र गुणस्तरीयताको अपेक्षा खासै राख्दैनन्।'
यहीँनिर म अभाव महसुस गर्छु, थोरै समयको मेरो जर्मनी बसाइलाई। शिक्षा र स्वास्थ्य राज्यले जिम्मा लिइदिएपछि, म आप्रवासी नागरिकले त सुरक्षा र सुनिश्चितता महसुस गर्थेँ भने त्यहाँका नागरिकले झन् कति ढुक्क आफूलाई पाउँथे होला। जर्मन सरकारले गहन प्रणाली बनाउँदै जनताले तिरेको करको सही मूल्यांकन गर्न सकेको छ। सायद त्यही भएर होला कर तिर्न आम जनता उत्साहित भएकै मैले पाएँ।
जति नै दिक्क लागे पनि कर तिर्न आम नेपाली जनता पछि हटेको देखिँदैन। तर यति हुँदा पनि खै त आम नेपाली जनताले आधारभूत सुविधा पाउन सकेको? शिक्षा, स्वास्थ्यसँगै सरकारी सेवाले हामीलाई टेवा दिन सकेको? शिक्षा, स्वास्थ्यसँगै सरकारी सेवामा सरकारले लगानी गरे अनुरुप सुक्ष्म फल पाएको देखिन्छ। एक व्यावहारिक प्रणाली नहुँदा आज नेपाली जनताले भविष्यको खोजीमा विदेश पलायन भइनै रहे।
आज संसारभर नै महामारी छ। यस्तो संकट बेला मैले सरकारसँग आश किन नगर्ने? यस्तो अवस्थामा पनि सरकारबाट कुनै भरोसा नपाउँदा, सुरक्षा र सुनिश्चितताको अनुभूति हुँदैन। वर्तमान समयमा हामी कति निरीह रहेछौं भन्ने अझै धेरै अनुभूति हामीले गरेकै होला।
यही बेला सरकारको 'अन्धभक्त'हरू हाम्रो सामर्थ्यको कुरा गर्छन्, संगै अरू देशको उदाहरण दिन्छन्।
कुरा कता-कता पूर्ण रुपमा असत्य पनि होइन। हामीसँग पूर्ण स्रोत र साधन नहोला। हाम्रो क्षमता पनि चाहे जति परिपक्व नहोला। तर आज नेतृत्वको नियतले नियति निर्धारण गरेको पाइन्छ। यस्तो नियति नेपाली आमनागरिक र नेपाल देशले मात्रै भोगेको होइन, विकासोन्मुख एसिया, अफ्रिका सम्भवतः दक्षिण अमेरिकाका अधिकांश राष्ट्रहरू यही अवस्थामा छन्।
जब कसैले नेतृत्वको कुशासनको कुरा गर्छन्, त्यति खेर असफल राष्ट्र र प्रणालीसँग दाँज्ने अभ्यास आफैंमा घातक हो। फलस्वरूप नेपाल जस्तो अनेकौं राज्य जहाँ नेतृत्वले त्यहीको आम नागरिकको मर्म बुझ्न सकेको हुँदैनन्, त्यहीँ पढेलेखेका मध्यमवर्गीयहरू अमेरिका, क्यानडा, अस्ट्रेलिया, युरोप जस्ता देशमा आप्रवासी नागरिक हुनुको विकल्प देख्दैनन्।
यही महामारीबीचमा भर्करै नयाँ तरंग आएको छ। पहिलो पटक संयुक्त राज्य अमेरिकामा महिला उपराष्ट्रपति चयन भयो। यो आफैंमा प्रगतिशील भएको भनेर ठूलै चर्चा भइरहेको छ।
कमला ह्यारिसको प्रतिनिधित्व महिला सँगसँगै अल्पसंख्यक र दोस्रो पुस्ताको आप्रवासी अमेरिकन नागिरिकको प्रतिनिधित्व पनि हो। यो नवीन परिवर्तनले पुँजीवादी र अग्रणी राष्ट्रमा मात्रै नयाँ आश नदेखिएर एउटा प्रगतिशील अभ्यास संसारभर नै स्थापना गर्ने सम्भावना देखिएको छ।
तर गहन रूपले सोच्ने हो भने हाम्रो जस्तो देशमा यसप्रकारको परिवर्तनले कुनै ठोस जग बसाल्ने छैन। दोस्रो विश्व युद्धपछि विस्तारै उपनिवेश र निरंकुश परम्परा ढल्दै जनताको शासनको लहरसँगै संस्कारका पनि स्थापना सुदृढ हुँदै गयो। पछिल्लो केही दशकमा सकारात्मक परिवर्तनको प्रशस्तै तथ्यांक पनि नेपालजस्तो देशमा भेटिन्छ। तर योसँगै विभेदले नयाँ स्वरूप लिन थालेको छ।
परिवर्तनशील नयाँ युगमा अवसर सबैका लागि समान भएको सिद्धान्तमा भेटिन्छ तर व्यवहारमा देखिँदैन। प्रगतिशील सिद्धान्त धेरै नै नवीन उपलब्धि हो नयाँ युगको। तर समस्या भने पहुँचको हो।
संसारभरि नै राजनीतिक परिवर्तनसँगै समाजिक परिवर्तन हुँदै जब यो युगको सुरू भयो, अधिकांश मध्यम आय वर्गको पहुँच बढ्दै गयो। नेपालमा सामाजिक रूपमा पहिलो दर्जा भएको व्यक्तिहरू (कथित उच्च जाति र समुदाय) नै मध्यम आय वर्गका हुन्।
शिक्षाको प्रारम्भिक लाभ आधिकांश यही मध्यमवर्गले लिन पुगे। लाभको सही सदुपयोग गरेर मिहेनत गरेअनुसार श्रोत र क्षमता बढ्यो। विकासोन्मुख राष्ट्रको एउटा सानो सक्षम जमात विकसित देशको भौतिकस्तरको आवश्यकता अनुसार तयार भए।
अमेरिका, क्यानाडा, अस्ट्रेलिया, युरोप जस्ता विकसित देशमा युवा जनसंख्यामा कमी आउनु एउटा समस्या बढ्दै गयो, अनि क्षमतावान जनशक्तिको आवश्कता उस्तै धेरै हुँदै गयो। तसर्थ नेपाल जस्तै देशका युवाको लागि विकसित मुलुकमा अवसर बढ्दै गयो।
कति युवाहरू चमकधमक देखेर पलायन हुन लालायित भए। कतिले राम्रो पेसा र स्तरीय जीवनयापन सम्भावना देखेर विकसित मुलुकमै बस्ने निधो गरे। कतिले आफ्नो सन्तानको भविष्य जोखिममा राख्न चाहेनन्। विदेशिएका नेपाली होस् वा हामी जस्तै अल्पविकसित देशका आप्रवासी, यस्तै कारण हुन्छन् विकसित मुलुकमा बस्ने।
आप्रवासीको ट्याग लाइन लाग्नु र पहिलो दर्जाको नागरिक नहुनुबाहेक अरू केही जोखिम देख्दैनन्। तर विस्तारै आफ्नो परिवेश, संस्कृति, खानपान त्यही देशले पनि अंगाल्न थालेपछि यो जोखिम पनि कम हुन थालेको छ। बिस्तारै यही आप्रवासी र अर्को पुस्ताहरू अनुसन्धान, विज्ञान, स्वास्थ्य, सेवा जस्तै विविध क्षेत्रमा अनुकरणीय उपलब्धिमा निरन्तर वृद्धि नै भएको पाइन्छ।
पछिलो केही समयमा आप्रवासीले राजनीतिक र प्रशासनिक क्षेत्रमा आफ्नो पकड बनाउन थाले। यसको ज्वलन्त उदाहरण कमला ह्यारिस हो तर उहाँ पहिलो चाहिँ अवश्य होइन।
खाडी मुलुक र मलेसियाको उदयसँगै निम्नवर्ग विदेशिँदै आय बढ्न थाल्यो। यसले नेपालसँगै एसिया र अफ्रिकनको जिडिपीमा महत्वपूर्ण योगदान गर्यो। तर यो वृद्धि दिगो नहुनुसँगै साह्रै सुक्ष्म छ। शिक्षा, स्वास्थ्यसँगै आधारभूत सेवा-सुविधा आफ्नो आर्जनले सुनिश्चित हुन नसक्नु र सक्षम प्रणाली नहुनु मुख्य कारण भइरहेको छ यो दुश्चक्र निरन्तर हुनुमा।
आज जमाइका र भारतमा, एसिया र अफ्रिकामा वा सम्पूर्ण जगतमा कमला ह्यारिसको प्रतिनिधित्वले जति गौरवान्वित छौं, के त्यहीअनुरूप सम्भावना हाम्रो देशमा सिर्जना गर्न सक्छौं?
यसरी अन्तरसमुदायमा बिहे गर्नुलाई सामान्य मानिन्छ त? यसरी यहाँका यस्तै सक्षम व्यक्तिले राजनीतिको सर्वोत्तम शिखरमा पुग्न सक्छ त? यस्तो सम्भावना जति नै दुर्लभ भए पनि, योसँग लड्न धेरै युवा आफ्नै देशमा तयार छन्। तर सुरक्षा र सुनिश्चितताको प्रत्याभूति नहुँदा विकल्प खोज्नु स्वाभाविक पनि हो।
शिक्षा, स्वास्थ्य र आधारभूत आवश्यकताको सुनिश्चितता हुन सके धेरै सक्षम जनशक्तिले नेपालमै सम्भावना सिर्जना गर्थे होला। कुनै पनि देशमा प्राकृतिक स्रोतले भन्दा पनि सक्षम जनशक्तिले नै सकारात्मक परिवर्तन ल्याएको देखिन्छ। सात वर्षको मेरो अनुभवले नेपाल फर्किनु पर्ने अनेकौं कारणमध्ये एक कारण चाहिँ, यो देश विकासका लागि सक्षम जनशक्तिको आवश्यकता हो।
नयाँ नेपाल बनाउन धेरै युवा जमात, सक्षम जनशक्ति नेपालमै सम्भावना सिर्जना गर्दैछन्। विदेशबाट ज्ञान, सीपहरू आर्जन गरेर नेपाल फर्केर निरन्तर प्रयास गर्ने क्रम पनि बढ्दो छ। तर नेतृत्वले आधारभूत सुख, सुविधा सुनिश्चित गर्न नसकी अस्थिरतातिर मुलुक उन्मुख भइरहुँदा कैयन प्रतिभावान् नेपाली विदेश पलायन भई कमला ह्यारिसजस्तो अनेक उदाहरण बन्न सक्नेछन्। तर हाम्रो देश बन्ने छैन।