हिजो फेरि प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि सत्तारूढ पार्टीका नेताले आफ्नै गृह जिल्लामा नै अवरोध सिर्जना गर्दै प्रहरी हस्तक्षेपमा केही समय हिरासतमा राख्दै पछि रिहा गरिएको समाचारले सामाजिक सञ्जाल तात्यो।
केही दिन अगाडि सत्तारूढ पार्टीकै (सत्ताका नजिक रहेका) कार्यकर्ताहरूले आफ्नै पार्टीका स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डेमाथि नाराबाजी गर्दै कार्यक्रम नै बिथोलिएका समाचारले स्थान पाएको थियो।
अहिले नेपालका सत्ताका शिखरमा चढेका नेताहरूबीच जनताप्रति बेप्रवाह एकापसमा आफू आफू हानाथाप, आरोप-प्रत्यारोप र छिनाझिम्टी देखिँदा यी नेतामा एक किसिमको भ्रमले ठाउँ लिएको देखिन्छ।
यस्तो भ्रम कि म नै सबभन्दा ठूलो अनि शक्तिशाली हुँ, मैले जे गरेको छु, ठिक गरेको छु अर्थात् मैले जे गरे पनि हुन्छ भन्ने सोच पलाएको देखिन्छ।
आफूबाहेक अरूले गरेको गतिविधि अपाच्य हुने, श्री ३ महाराज जुद्ध शमसेर शैलीले गाँज्दै गरेको अवस्था छ। वरपरका ‘हो हो हजुर नै हो, हजुरबाहेक अरू त को हो को?’ भन्नेहरूको भीडबाट प्रभावित हुँदै सत्ता नायकहरूले ‘मेरो अनि मैले गरेको कार्यको बारेमा टिप्पणी गर्नु, विमति जनाउन पाइँदैन है’ को अहमताले ठाउँ लिएको देखिन्छ।
सार्वजनिक जीवनमा रहेका व्यक्तिमा यस किसिमको अहमताले ढाक्यो भने त्यो व्यक्तिलाई त छँदैछ, ऊ संवद्ध संस्थालाई नै विरोधाभासमा जाकिदिन्छ - अझ सरकार अर्थात् देशकै निर्णायक तहमा रहेछ भने त देशलाई नै।
यस्ता भ्रम ठूला साना सबै तप्कामा बेलाबखत देखिन्छ। यस्ता भ्रमले गाँजेको बेला 'म' र 'मेरो' लाई 'कसैले छुने हैन, विरोधमा बोल्ने हैन है' भन्ने भावले गाँजेको हुन्छ।
कतिले निश्चित अवधिको लागि जनविश्वासमा आफूले प्राप्त गरेको पद र पदको पावरलाई निरपेक्ष रूपमा प्राप्ति गरेको शक्तिको रूपमा लिएका देखिन्छन् र त्यस वरपर नाचोस् भन्ने चाहना राखेझैं देखिन्छन्।
उसले यो सोच्न बिर्सन्छ कि- मैले जनविश्वासमा उनीहरूप्रति केही गर्ने कर्तव्यसहित यो जिम्मेवारी पाएको छु। जसमा सहायक अंग बनेर बसेका छन् ती नन्दी भ्रिंगीहरू -जो अहिले राज्यसत्ता नायकका वरपर रहेका अनि राजनीतिक रूपमा एउटै लाइनमा रहेकाहरू समेत आफ्ना नायकको बारेमा कुनै नकारात्मक कुरा सुन्न समेत तयार छैनन्।
चाहे ती स्वदेशमा उनीहरूकै वरिपरि रहेर सत्ताका स्वाद लिइरहेकाहरू हुन् वा सत्ताभन्दा धेरै पर परदेशमा आफ्नै बलबुतामा संघर्ष गरिरहेकाहरू नै किन हुन्।
जसले सामाजिक सञ्जालको जगजगीमा कुनै कुनै तवरले आफ्ना भाव पोखिरहेका हुन्छन्। जो, अहिलेको लोकतन्त्रमा सरकारका नायकहरूका बारेमा कुनै टिप्पणी गर्नु लोकतन्त्र विरोधी गतिविधिका रूपमा बुझ्छन् र सरकारले जनअपेक्षा अनुसार काम गरून् कि नगरून्, तर सत्ताका नायकहरूलाई छुनै हुँदैन। त्यसविरूद्ध उनीहरू जुनकुनै तरिकाले भिड्न तयार छन्।
ती सत्ता नायकहरू यिनै आफ्ना वरपरका नन्दी भ्रिंगीहरूको क्रिया प्रतिक्रिया देखेर-पढेर दंगदास परिरहेका हुन्छन्। त्यही गतिविधिमा नै उनीहरू अरू कसैका कुरा सुन्न समेत चाहँदैनन्। वि.स. १९९७ सालको शहिद पर्व हुने ताका तत्कालीन श्री ३ महाराज जुद्ध शमसेर आफ्ना चाकरीवाजहरूलाई अघि पछि लगाएर सिंहदरबारको अगाडिको बगैंचामा टहलिँदै गर्दा एक्कासि एउटा आँपको रूख देखाएर सोधेछन् - यो आँपको रूख कस्तो सिधा छ नि? महाराजको बोलीमा लोली थप्दै सबैले ‘हो मा हो मिलाउँदै’ हो महाराज, आँपको रूख त साह्रै सिधा।'
आँपको रूख पनि कहीँ सिधा हुन्छ?
तर अहिलेका सल्लाहकारहरूले जसरी नै त्यतिखेर पनि कसैले पनि सोचेनन् अनि सोधेनन् महाराजले कसरी त्यस्तो गलत कुरा गरे? तर वरपर बस्नेलाई त्यसको के मतलब? बस् प्रभुलाई रिझाएर फाइदा लिनुसँग न सरोकार थियो।
अनि महाराजलाई पनि ठिक/बेठिक जे होस् वरपरका सबैको वाह वाह न चाहिएको थियो।
तर चाकडीवाजको झुण्डमा एक जना सुब्बा भने चुप बसेको देखेर महाराजले छक्क पर्दै 'एइ सुब्बा, तँ तँ चुप छस् किन केही भन्दैनस्?' भनेर सोधेछन्।
तब ती सुब्बाले आफ्नो घाँटी मसार्दै भनेछन् 'खै महाराज, मेरो घाँटी चिलाएको हो कि? के हो? म त आँपको रूख बाङ्गै देख्छु।'
यदि त्यतिखेर २-४ जना अरू थप त्यस्तै सुब्बा सा'बहरू भइदिएको भए सायद ९७ सालको शहिद पर्व हुँदैन थियो होला, जुन पर्वको कारक (नकारात्मक दृष्टिले) को रूपमा जुद्ध शमसेरलाई सम्झिइने गरिन्छ।
अहिलेको यी गतिविधि हेर्दा मलाई एउटा १६-१७ वर्ष अगाडिको एउटा घटना सम्झना याद आयो - जुन बेला म जिल्ला प्रहरी कार्यालय लमजुङमा कार्यरत थिएँ। माओवादी गतिविधिको जगजगी थियो, सुरक्षा सतर्कता उच्च थियो। हामी प्रहरी अधिकारीहरू प्रत्येक साँझ 'इभनिङ वाक' मा निस्किन्थ्यौं, स्थानीय पनि यसरी नै टहलिन निस्कन्थे।
सदरमुकाम बेंशीसहरमा भीडभाड हुने गर्थ्यो। यस्तैमा एक साँझ अन्य २ जना सहकर्मी इन्स्पेक्टरसहित हामी इभनिङ वाकमा थियौं, हाम्रा पछाडि ३ जना बडीगार्ड पनि थिए। मानिसहरूको ओहोरदोहोर थियो, वातावरण रमाइलो थियो।
यस्तैमा हामी ३ प्रहरी अधिकृत हिँडिरहेको पछाडि खल्याङ-मल्याङ आवाज आएको सुनेर यसो पछाडि फर्केर हेरेको त हाम्रा बडीगार्डले भर्खरै हाम्रो विपरीत दिशाबाट इभनिङ वाकमा आएकामध्ये एक जना युवालाई लडाएर लक लगाइरहेको रहेछ।
के भएको भनेर सोधेको त, हाम्रो बडीगार्डले 'सर, यसले हजुरलाई टच (छुदै) गर्दै आयो।' भनेर जवाफ दियो। तर ती युवाले भने ‘मैले छोएको छैन सर।’
मलाई पनि ती युवाले छोएको जस्तो आभास भएन। त्यसपछि मैले उस (बडीगार्ड) लाई छोड्न लगाए। बडीगार्डको हर्कत देखेर मलाई रिस पनि उठ्यो र बडीगार्डलाइ हल्का रिस देखाउँदै भने -त्यस्तो गर्नु हुँदैन, बाटोमा हिँड्दा छुन पनि सक्छ नि।'
बडीगार्ड चुपचाप उभिइरह्यो।
तब मसँगै हिँडेका सहकर्मी इन्स्पेक्टरले बिस्तारै भने 'सर, यो हामीप्रति एकदम लोयल छ, यसले हाम्रो बारेमा कसैले केही कुरा गरेको पनि सहन सक्दैन, त्यसैले अहिले केही नभनौं हजुर, फेरि यो ‘डिमोरोलाइज’ होला।'
मनमा भने सोचाइ आइरह्यो- हामी को हौं त त्यस्तो छुनै नहुने? आफूलाई ठूलै मान्छे भएको अनुभूति गराउन खोज्ने 'के हाम्रो बडीगार्डले गरेको ठिक हो त? बाटोमा हिँड्दा जनतासँग अनायास ठोक्किनु पनि अपराधै हो त?'
अनि सोचे,'के मेरा सहकर्मी इन्स्पेक्टरले भनेझैं ऊ साँच्चै ‘लोयल’ भएरै यसो गरेको हो कि ? आफूसँग भएको पोजिसन अथवा हाम्रो पदको आडमा जनतामा आफ्नो अदब देखाइरहेछ। अनि मैले उसलाई केही भन्दा उसको मनोबल गिर्ला त?'
अनि एउटा कुरा- सरकारको कुनै अंगमा कार्यरत हुनु भनेको शक्तिशाली हुनु हो? ठूलो मान्छे हुनु हो? हामी सरकारको कुनै अंगमा कार्यरत रहेकाहरूले नै सायद जनताबीच एउटा भ्रम पालेका हुन्छौं कि हामी ठूला मान्छे हौं, हामीले गरेका सबै ठिक हुन्।
त्यतिखेर राजाको प्रत्यक्ष शासनकाल थियो, हतियारहरूको बोलवाला थियो, त्यसैले सबै रमिते थिए अर्थात् सरकारी अंगमा हुनेहरूले जे गरे पनि चुप। सबै रमिते भएर कसैले आवाज नउठाएपछि झन् एउटा भ्रम हुँदोरहेछ- 'म को हुँ?'
अहिले सोच्छु- एउटा सामान्य प्रहरी अधिकृतमा त यस्तो भ्रम सिर्जना हुन सक्दोरहेछ भने पूरै सत्ताको बागडोर सम्हालिरहेका अनि जे गरे पनि 'वाह वाह उहाँ त' भन्नेहरू वरपर प्रशस्त भएपछि बस् के चाहियो र?
अहिले सत्ताको बागडोर सम्हाल्नेहरूलाई आफूले जे जस्तो गरे पनि यिनै देश-परदेशमा बसेर 'वाह वाह' भन्ने नन्दी भ्रिंगीहरू प्रशस्त भएकैले अरूको कुरा सुन्न नहुने, सुन्न नसक्ने अनि आफूलाई सर्वशक्तिमान भएको भ्रम सिर्जना गरिदिएका त होइनन्?
त्यस साँझ हामीले बडीगार्डलाई लोयल भएकोमा धन्यवाद दिँदै सम्झायौं 'तत्कालै प्रतिक्रिया नजनाउनू, त्यसबाट जनतामा नकारात्मक प्रभाव पर्नसक्छ ', उसले सहमत जनाउँदै टाउको हल्लायो।
एउटा विश्वास भो - उसको समर्पण भाव पनि नमर्ने अनि शक्ति भावले हुनसक्ने आगामी क्रियाकलापमा पनि नियन्त्रण हुने।
इभनिङ वाक सकेर क्वार्टरमा फर्केर आइन्जेल एउटा कुरा मनमा खेलिरह्यो - ती युवाले हाम्रोबारेमा कस्तो धारणा बनायो होला?
तब ५-६ वर्ष अगाडि माओवादीको उद्गम थलो रूकुममा कार्यरत रहँदाका क्षण याद आयो। जुन ठाउँमा म कमान्डर बनेर गएको थिएँ।
२-३ दिनको बाटोभित्र पर्ने एरियामा म नै सर्वेसर्वा थिएँ, न्यायाधीश भनौं, सिडिओ भनौं, वकिल भनौं, पुलिस भनौं वा जे भनौं म नै थिएँ- मैले बोले कानुन बन्ने कोही नबोल्ने।
७५० घर रहेको त्यो गाउँमा मैले बोले प्रतिवादमा कोही नबोल्ने, मैले यो बाटो नहिँड्नु भने कोही नहिँड्ने, स्थानीयले मनाइरहेको पर्व जात्रा बन्द गर्नु भने बन्द हुने, आज स्कुल बन्द गर्नु भने बन्द हुने, आज जंगल कोही नजानू भने जंगल नजाने, कुनै घरमा खानतलासी लिन मन लागे जति खेर जसरी गरे पनि हुने सबै चुप।
किनकी मेरो आदेश पालना गराउन मेरा प्रहरी जवानहरू तयार, वरपर रहेका प्रहरीका नजिकका मान्छेहरू (नन्दी भ्रिंगी) मेरा ठिक/बेठिक आदेशहरू जनतामा पुर्याउन कुदिहाल्ने, कसैले चुइक्क विरोधमा बोले आफैं ठिक पार्ने नत्र प्रहरीमा आएर सुनाइ हाल्ने-अर्थात् प्रहरीको आदेशको बारेमा कसैले प्रश्न उठाउन पाइँदैन।
५-६ महिना वरपर यही वातावरणमा बस्दै जाँदा मलाई झन्डै एक किसिमको भ्रम सिर्जना हुन थालेको थियो-म को हुँ?
तल हेर्यो भुइँ, माथि हेर्यो शून्य आकाश, वरपर ठूला ठूला पहाड, सुने पनि नसुने पनि त्यही रेडियो नेपाल- रातिको ११ बजे त्यसबखतको राष्ट्रिय गान 'श्रीमान गम्भीर... ' सकिएर स्या स्या गरेपछि मात्रै रेडियो बन्द गरेर गाउँभरिको भोटे कुकुरको विरक्त लाग्दो एकोहोरो भुकाइमा माओवादी आउने बाटो कुर्यो, बस्यो।
हो, यही वातावरणमा कि त मैले जे आदेश गर्यो त्यही मान्ने र मनाउनेहरूको भीड कि त अर्को पारि जंगलबाट आउन सक्ने एउटा समूहको पर्खाइमा बस्दै प्रत्येक दिनहरू बिताउने वातावरणमा दिन बिताउँदै गर्दा एक किसिमको भ्रम सिर्जना हुँदै जाँदोरहेछ।
हो, यस्तै वातावरणमा लगातार बस्दै गर्दा मलाई त्यस्तो भ्रम हुनु सायद स्वभाविकै थियो कि ? अहिले सत्तामा भएकाहरूलाई जस्तै: कि त यताका कि त उताका।
तर म सजग थिएँ -त्यस बखत एक जना स्वास्थ्यकर्मीले एक प्रसंगमा मलाई भनेको कुरा सम्झिएँ।
यस्तो परिस्थिति भए पनि म स्थानीय स्कुलमा पढाउन भनेर जान्थें, अनि स्कुलमा बर्खायाममा पस्ने गरेको खोलामा हामी प्रहरीले बाँध बाधिदियौं र १५-२० वर्ष अगाडि बनेको भत्किँदै गरेको झोलुंगे पुलको पुनर्निर्माणमा सहयोग गरेका थियौं।
हाम्रा यिनै गतिविधि बीच हेर्दाहेर्दै जनता हामीसँग अलिक नजिक भएको देखेर ती स्वास्थ्यकर्मीले भनेका थिए 'सर, यी जनता आफूलाई पुलिसले दु:ख दिए, माओवादी आएर पुलिस अफिस हान्दिए हुन्थ्यो भन्दा रहेछन् अनि आफूप्रति सदासयता देखाउने पुलिस भए आक्रमण गर्न लागेका माओवादीले त्यसो नगरिदिए हुन्थ्यो भन्ने चाहँदै प्रहरीलाई माओवादीको योजना थाहा दिन खोज्दा रहेछन्।
हो, एकदिन अनकन्टार जंगलको बाटो गस्ती गर्दै जादा जंगल छेउको बारीमा मकै गोड्दै गरेको एक वृद्ध महिलाले हामीलाई अप्रत्यक्ष रूपमा दिनु भएको संकेत सम्झिएँ अर्थात् जनताले सरकारी अंगहरूको व्यवहार अनुसारको धारणा बनाउँदा रहेछन्।
अहिले सरकारमा बस्नेहरूका सल्लाहकार र वरपर बस्नेहरूको उक्साहट र त्यस उक्साहटबाट दंग परेर आफ्नो विगतको पृष्ठभूमि, धरातल अनि परिवेश बिर्सेर सत्ता नायकले परिस्थितिलाई सम्हाल्ने भन्दा पनि अझ बिगार्दै गएको देख्दा जुद्ध शमसेरको वरिपरि घुम्ने चाकडीबाजको झुण्डमा ती घाँटी मुसार्दै आँपको रूख बाङ्गो भएको यथार्थ बताउन हिम्मत गर्ने राणाकालीन सुब्बाको अभाव महशुस भएको छ।
अहिले सामाजिक सञ्जाल ग्याल्ग्याल्ती छन, सबै कुरा खुला छन् -कसले के धारणा राखेका छन्।
सबै छिनछिनमा पढ्न देख्न अनि सुन्न पाइन्छन्। कतिपय कुराहरूमा सत्ताका बागडोर सम्हाल्नेहरूका व्यवहार र बोलीहरू विरक्त लाग्दा छन् तर त्यो भन्दा पनि दिक्क लाग्दा देश परदेशमा रहेका नन्दी भ्रिंगीहरूका देखिन्छन्।
जसले यी बागडोर सम्हालेकाहरूमा एउटा भ्रम सिर्जना गरिदिएका छन् - जो सोच्छन् म नै सर्वेसर्वा हुँ, मैले जे गरेको छु, ठिक गरेको छु - मैले गरेका कुनै पनि कार्यविरूद्ध बोल्ने अनि प्रतिक्रिया दिनेहरू सबै गलत हुन्।
सायद त्यसैको परिणाम हुन सक्छ सत्ताको बागडोर सम्हाल्नेहरूको 'वाह वाह' को मातमा अहिले देश जताततै, त्यसैत्यसै अल्मलिरहेझैं लाग्छ।
आफ्ना वरपरका नन्दी भ्रिंगीले सिर्जना गरेको भ्रममा रमाउने प्रवृति र सत्ताका नायकहरूका स्तुति गाएर उनीहरूलाई जे गरे पनि हुन्छ है भन्ने भ्रम सिर्जना गर्ने नन्दी भ्रिंगी दुवै प्रवृत्ति अहिलेका समस्याका कारक हुन्।