‘पर्यटक आगमन ३३ वर्षयता कै कम’ शीर्षकमा आएका समाचार हामीले पढेकै होउँला। सन् १९८७ मा २ लाख ४८ हजार ८० अन्तर्राष्ट्रिय पर्यटक भित्रिएपछि सन् २०२० मै हो त्यसयताको सर्वाधिक न्यून २ लाख ३० हजार ८५ को आवागमन।
यस बीचमा नेपाल भ्रमण वर्ष १९९८ मनाएको अर्को वर्ष सन् १९९९ मा करिब पाँच लाख अर्थात ४ लाख ९१ हजार ५ सय ४ जना, विस्तृत शान्ति सम्झौता पश्चात २००७ मा पहिलो पटक पाँच लाख पर्यटक संख्या कटेको (५ लाख २६ हजार ७ सय पाँच), नेपाल पर्यटन वर्ष २०११ मनाएको अर्को वर्ष सन् २०१२ मा ८ लाख ३ हजार बयानब्बे र हालसम्मकै उच्च सन् २०१९ मा ११ लाख ९७ हजार १ सय एकानब्बे भएको पाइन्छ।
सुरूमैं पट्यार लाग्दो पर्यटक आगमनको संख्या उल्लेख गर्नुको पछाडि कारण छ। समाचारमा अलि जोडले प्रयोग हुने अनि ठाउँ पाउने शब्द नै ‘सर्वाधिक’ जस्ता विशेषण हुन्, जुन देखिँदा पढ्ने पाठकका आँखा पनि ठूला हुन्छन् र पढ्नका लागि सकसक बनाउँछन्।
यही सर्वाधिक विशेषण २०२० मा अर्को हिसावले नि जोडिँदो रहेछ। औसत बसाई १५.१ दिनको सन् १९७५ मा हिसाब राख्न सुरूगरे यताकै उच्च हो । प्रत्येक पर्यटकले दैनिक गर्ने खर्च पनि ६५ अमेरिकी डलर पुगेको छ। जुन पाँच वर्ष यताको सर्वाधिक हो। २०१६ मा ५३, २०१७ मा ५४, २०१८ मा ४४ र २०१९ मा ४८ रहेको थियो।
पर्यटनबाट हुने आम्दानी तीन वटा कुरामा निर्भर हुन्छ। पर्यटकको संख्या, औसत बसाइ दिन र प्रत्येक पर्यटकले गर्ने औसत दैनिक खर्च। हिसावकै भाषामा भन्दा यी तीनको गुणनफलबाट प्राप्त हुने उत्तर नै पर्यटकबाट हुने कूल आम्दानी हो।
लक्ष्यका कुरा गर्दा पनि सुरूमा पर्यटक आगमन संख्याकै कुरो सुनिन्छ। जस्तो १९९८ को भ्रमण वर्षमा ५ लाख पर्यटक, २०११ को नेपाल पर्यटन वर्षमा १० लाख, २०२० को बीचैमा रोकिएको भ्रमण वर्षमा २० लाख पर्यटक संख्या लक्ष्य राखिएको थियो।
जबकि, यस्ता अभियानको मुख्य लक्ष्य नै पर्यटन आम्दानी बृद्धि गर्नु र त्यो लाभको बिस्तार गर्नु हुन्छ।
नेपाल पर्यटन वर्ष २०११ को अर्को लक्ष्य सो वर्ष आउने पर्यटकमध्ये कम्तीमा ४० प्रतिशतलाई पहिले स्थापित गन्तब्यभन्दा नयाँ गन्तब्य वा क्रियाकलापमा लगाउने रहेको थियो ।
अब मूल कुरो, कोरोनाका कारण विश्व हल्लिएको छ, झट्का हाम्रातिर सवत्र महशूस गरिएको छ। पर्यटकका संख्या घटाउने कारक यही नै हो। चाँदीको घेरा जस्तो विषय खर्च र औसत बसाइका दिन बढ्नु रह्यो। अन्य अवयव समान नै मान्दा आएकाहरू चाहेका समयमा फिर्ता हुन नसकेर पनि औसत बसाइ लम्बिएको हुनसक्छ।
मनन गर्नपर्ने र आगामी दिनका लागि मार्ग देखाउने कुरो भनेको बसाइ लम्बाउने, खर्च बढाउने तर संख्यामा केन्द्रित नहुने। नेपाल जुन भौगालिक विशिष्टतामा रहेको छ त्यसले मूलत संख्यात्मक पर्यटनलाई भन्दा गुणात्मक पर्यटनलाई नै भरथेग गर्छ।
यहाँ अनुभव गरिने क्रियाकलाप मास अर्थात एकैपटकमा धेरैले गर्ने किसिमको नभएर क्लास अर्थात विशिष्ट अनुभव चाहनेका लागि हो। सौराहाको सूर्यास्त, लुम्बिनीको शान्ति, सगरमाथाको उच्चता यही क्लासले उपभोग गर्ने विषय हो।
तनहुँको मानहुँकोट आन्तरिक पर्यटकले भरियो। जानेले सञ्जालमा बादलमाथिको सुन्दर तस्बिर र भिडियो हेरेर उता जाने मनस्थिति बनाएका थिए। स्थानीय ब्यवसायी आफूले धान्ने भन्दा माथिको चाप आएपछि छिर्ने कोटा निर्धारण गर्नसम्म बाध्य भएका थिए। संख्या कै पछि लाग्दा दुःख पाइने कुरोको स्थानीय उदाहरण यो हो।
चिनियाँ पर्यटकलाई संसारभर खर्च गर्ने पर्यटकका रूपमा बुझिन्छ। ती यहाँ आउँदा टिप्ससमेत कति दिने भनेर निश्चित गरेर आउँछन्। संसारभर ठीक भएको कुरो हाम्रै ठाउँमा बेठिक मात्र हैन चिनियाँ पर्यटक केन्द्रित ट्राभल एजेन्सीहरु बन्द हुने अवस्थामा पनि भेटिएका छन्।
देश चिनाउने, प्रचार गर्ने काम जटिल लाग्छन् र गन्तब्य अस्पस्ट पनि छन्। त्यँही विचारणीय कुरो के छ भने जिम्मी रोबर्टस्ले पदयात्रा, जिम एड्वाड्र्सले वन्यजन्तु पर्यटन, एडमण्ड हिलारीले सगरमाथा क्षेत्र बनाएका हुन्, विकास गरेका हुन्। विदेशीले बसालेको जगलाई बलियो बनाउने जिम्मा अहिलेको पुस्तामा छ। यसको अवयव दीगो पर्यटनको बलमा हाशिल हुनेछ।
अब संख्यालाई दूरदूर र अनुभवलाई बढावा दिने रणनीतिमा जानुको विकल्प छैन। संख्याका प्रधानताले मूल्यको ठूलो प्रतिस्पर्धामा पर्यटनलाई धकेल्यो जुन दलदलबाट उभिन अहिले यो सम्पूर्ण क्षेत्र प्रयासरत छ। विगतमा सांग्रिला उपमा भएको गन्तब्य, सस्तो अनि पैसा बचाउने गन्तब्यमा सिमित रह्यो। यसले नै विस्तार हुने, झाङ्गिने पर्यटनको गुणलाई सुसुप्त बनायो।
रन्थनिएको पर्यटन क्षेत्रलाई मल्हमपट्टी गर्न अहिले क्रियाशील जनशक्तिलाई बचाउन जरूरी छ। एक दुई वर्ष असर गर्ने प्रक्षेपणमा अब दशक नै भन्न थालिएको छ। यो कथन विदारक छ, सँगै यसले सुझबुझका साथ पाइला चाल्न प्रेरित गर्छ। विगतमा नेपालले आफूलाई सबै विधा-साहसिक, सांस्कृतिक, जैविक लगायत सम्पूर्ण क्षेत्रको अगुवा भनिराख्दा धेरै पछि पर्यटनमा बामे सरेका देशहरुले हामीलाई माथ गरेको तीतो तथ्य हामी माझ ताजै छ।
संसारभर कहलिएका साहसिक क्रियाकलाप ती चाहे पदयात्रा, जलयात्रा, पर्वतारोहण वा अन्य केही किन नहोऊन् तिनमा नेपाली सिप प्रयोग भएको पाइन्छ नै। यो स्तरको मानव संशाधन र यिनलाई चाहिने उर्वरभूमि नेपाल जतिको उत्तम त बिरलै भेटिन्छ। अबको दिशा भनेको अनुभवमा आधारित पर्यटन पस्कने हो। यी अनुभव भनेको जीवनकाल भरिलाई संग्रहित हुने अनुभव हो।
दिगो पर्यटनलाई आत्मसाथ गरी अनुभवका परिधि ब्यापक बनाउने दिशामा लम्किनुपर्छ। मानव संशाधन र प्रकृतिको अनुपम संगमलाई जोड्ने कडी दीगो पर्यटन नै हो जसले यस क्षेत्रमा आश्रितलाई जिविकोपार्जन, प्रकृतिलाई कम हानी र समुदायमा बढी प्रतिफल ल्याउनेछ।
लेखक नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत हुन्।