'पाँच वर्ष अगाडिसम्म सरकारी विद्यालयको शिक्षक भनेर आफूलाई चिनाउन र विद्यालयको पोशाक लाएर हिँड्न लाज लाग्थ्यो। अचेल गर्व लाग्छ।'
ललितपुरको महालक्ष्मी नगरपालिकामा रहेको भानोदय आधारभूत विद्यालयका शिक्षकहरूसँग कुराकानी गर्दा अधिकांशले यस्तै भन्छन्। अचेल त उनीहरूले आफ्ना सन्तानलाई यही विद्यालयमा भर्ना पनि गरेका छन्।
पाँच वर्षअगाडि यो विद्यालमा जम्मा १५ जना विद्यार्थी थिए। बन्द हुनै लागेको थियो। तर अहिले यहाँ दुई सय ५० भन्दा बढी विद्यार्थी पढ्छन्।
विद्यालयकी प्रारम्भिक बाल विकास संयोजक सदिक्षा श्रेष्ठलाई यो परिवर्तन एक मीठो सपनाजस्तो लाग्छ।
उनको सम्झनामा पाँच वर्षअगाडि विद्यालय एक खन्डहरजस्तो थियो। विद्यालयको भवन पुरानो भएर फुंग उडेको थियो। चौरमा खाल्डाखुल्डी र फोहोर अस्तव्यस्त हुन्थ्यो। वर्षाका बेला छेउको खेतको पानी आएर विद्यालयको चौर डुबान हुन्थ्यो। विद्यालय साँझ-बिहान मद्यपान, धूमपान र लागूपदार्थ सेवन गर्नेहरूको अखडा थियो।
स्कुल परिसर गाउँको डम्पिङ साइटजस्तो थियो।
ती दिनहरू सम्झिँदै उनी भन्छिन्, 'विद्यालय स्थानीयको नजरबाट ओझेल परेको थियो। सायद कसैलाई वास्ता थिएन। कतै विकल्प नभएका अभिभावकले मात्र विद्यालयमा आफ्ना बच्चाहरू ल्याएर छाडिदिन्थे।'
यो अवस्था देखेर विद्यालयका प्रधानाध्यापक बहादुर महर्जनलाई निरीह महसुस भएको थियो। उनलाई विद्यालयको प्रधानाध्यापक बनाइएको दुई वर्ष भएको थियो। उनलाई विद्यालय बन्द गर्न मन थिएन। तर, कुनै बेला १०-१२ जना शिक्षक र सयौं विद्यार्थी भएको यस विद्यालयलाई पुनर्जीवन दिने साहस र जाँगर पनि थिएन। चार जना शिक्षकले १५ जना विद्यार्थीलाई दुइटा कक्षामा बाँडेर जेनतेन पढाइ भइरहेको थियो।
यस विद्यालयको कायापलट त्यहाँबाट सुरू भयो, जब एक स्थानीय युवा एक दिन विद्यालयमा पाइला टेक्न पुगे।
लुभू बजार छेउमा घर भएका २९ वर्षीय सगेन्द्र श्रेष्ठलाई शिक्षामा केही गर्ने हुटहुटी थियो। श्रीलंकाबाट 'बौद्ध तथा पाली विश्ववविद्यालय' मा बौद्ध दर्शन सिकेर आएका उनले ललितपुरकै सिद्धिमंगल माध्यमिक विद्यालयमा दुई वर्ष काम गरेका थिए। उनी काठमाडौं विश्वविद्यालयबाट गणित शिक्षामा स्नातकोत्तर गर्दै पनि थिए।
बि.सं. २०७२ साल चैतको कुरा हो। आफ्नो समुदायका शिक्षण संस्थाहरू घुम्ने क्रममा उनी एक दिन तत्कालीन भानोदय प्राथमिक विद्यालय पुगे। स्कुलको अवस्था देखेपछि छाँगाबाट खसेजस्तो भए। लुभू बजारबाट गोदावरी खोला कटेर सानागाउँको स्कुल चोकको बाटो उनी सधैं ओहोरदोहोर गर्थे। तर उनलाई थाहा थिएन, आफ्नै घर छेउको विद्यालय कस्तो छ भनेर!
दुई वर्ष शिक्षकका रूपमा काम गरेका सगेन्द्रलाई विद्यालयको व्यवस्थापन मजबुत बनाउन सकियो भने धेरै कुरा गर्न सकिन्छ जस्तो लाग्थ्यो। उनले आफ्ना केही अग्रजसँग सल्लाह गरे। विद्यालयमा अनगिन्ती सम्भावना देखेर उनले व्यवस्थापनमा सहयोग गर्ने प्रस्ताव प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समिति समक्ष राखे।
सबैले समर्थन जनाएपछि विद्यालयमा एउटा भेला भयो। विद्यालयका संस्थापकहरू, शिक्षकहरू, स्थानीय अगुवाहरू र स्कुललाई माया गर्ने मानिसहरू सँगै बसेर सुधारको योजना बनाए। शिक्षकहरू र उनले मात्र सबै योजना कार्यान्वयन गर्न सम्भव थिएन। उनले आफ्ना साथीहरूसँग सहयोगको अपिल गरे। शिक्षा र पत्रकारिताको अनुभव भएकी काठमान्डौं बसन्तपुरकी इभा मानन्धर पनि होस्टेमा हैंसे गर्न तयार भइन्। सगेन्द्र र इभा स्वयंसेवककै रूपमा काम गर्न तयार भए।
सुरूमा विद्यालय परिवार समुदायमा घरदैलो गर्न गयो। समुदायमा मानिसहरूसँग कुरा गर्दा उनीहरूले पत्ता लगाए कि मानिसहरूमा विद्यालयप्रति विश्वास थिएन।
मानिसहरूले उनीहरूलाई भने, 'तपाईंहरूको विद्यालयमा हाम्रा सन्तान सुरक्षित हुन्छन् जस्तो लाग्दैन।'
यसका लागि उनीहरूले समुदायका सदस्यहरूसँग सहयोग मागे। विद्यार्थीका अभिभावक र स्थानीय युनिटी क्लबका युवाहरूले श्रमदान गरेर विद्यालय वरिपरि पर्खाल लगाए। चौरको खाल्डाखुल्डी पुरे। स्कुल भवनको बाहिर र भित्रका भित्ताहरूमा रङ लगाए। यसबाट विद्यालय केही आकर्षित देखियो। दुर्व्यसन गर्न आउनेहरूका लागि विद्यालय बन्द भयो। बालबालिका नै खतरामा हुने गरी दिउँसो विद्यालयको चौरमा चर्न आउने गाईभैंसी पनि पस्न पाएनन्।
केही हदसम्म सुरक्षाको प्रत्याभूति हुने वातावरण बनाए पनि मा विद्यार्थीहरू टिकिरहेका थिएनन्। बिहान स्कुल आए पनि दिउँसो घर फर्किहाल्थे। उनीहरूसँग लेख्नका लागि कापी-कलम हुँदैन थियो।
यसपछि स्कुलले खाजा तथा स्टेसनरी व्यवस्था गर्ने योजना बनायो। तीन महिनामै उनीहरूले विद्यार्थीहरूलाई खाजा खुवाउने प्रबन्ध गरे। खाजा खान पाएपछि विद्यार्थीहरू विद्यालयमा बस्न थाले।
स्कुलमा नयाँ प्रयास सुरू भएको तीन-चार महिना भइसकेको थियो। विद्यार्थीहरू नियमित जस्तो विद्यालय आउन थालेका थिए। अब विद्यार्थीहरूमा अध्ययनप्रति चासो जगाउनु पर्ने थियो। तर विद्यार्थीहरूले फरक व्यवहार देखाइरहेका थिए। शिक्षकहरूसँग विद्रोह गर्न खोजिरहेका थिए। एक अर्काबीच झगडा गर्थे।
'हाम्रा विद्यार्थीहरू कठिन पृष्ठभूमिबाट आउँछन्। उनीहरूलाई दुई छाक खान पनि हम्मेहम्मे हुन्छ। अहिलेको अवस्थाबाट अगाडि बढ्ने एउटा मूख्य आधार नै उनीहरूका लागि पढाइ हो,' हरेक विद्यार्थीको जीवनलाई नजिकबाट नियालेपछि सगेन्द्रलाई महसुस हुन थाल्यो।
यसपछि विद्यालयमा शिक्षकहरू मिलेर सिकाइलाई रमाइलो बनाउने तरिकाहरू खोज्न थाले। उनीहरूले पाठ्यवस्तु सिकाइकै प्रक्रियामा गीत, नृत्य, चित्रकला, परियोजना आदि जोड्न थाले। यसबाट विद्यार्थीहरू रमाउन थाले।
सुरुमा विद्यार्थीहरू आफ्ना साना-साना भाइबहिनी लिएर कक्षामा आउँथे। भाइबहिनीको कारणले उनीहरूले कक्षामा राम्रोसँग ध्यान दिन पाउँथेनन्। उनीहरूका अभिभावक श्रमका लागि घरबाट बिहानै निस्केर राति मात्र घर फर्किन्थे। आफ्ना शिशुहरूलाई स्याहार्ने र हेर्ने फुर्सद उनीहरूसँग थिएन।
यसका लागि विद्यालयले स्थानीय एक शिक्षक खोजेर प्रारम्भिक बाल विकास (Early Childhood Development) को कक्षा पनि सुरू गर्यो।
सानो कक्षामा पढ्ने बालबालिकाहरू फोहोर भएर आउँथे। शिक्षकहरूले उनीहरूलाई विद्यालयमै नुहाइदिए। नङ काटिदिए। सफा हुन सिकाए।
पहिलो वर्षका अनेकन प्रयासको फलस्वरूप १५ जनाबाट दोस्रो वर्षमा ४० जना विद्यार्थी भर्ना भए। यसबाट शिक्षकहरूमा परिवर्तन सम्भव रहेछ भन्ने आत्मबल आयो। तर स्कुलमा आवश्यक कतिपय स्रोत जुटाउन हम्मेहम्मे परेको थियो। यसका लागि उनीहरू 'कोल्याबोरेटिभ स्कुल्स नेटवर्क' मा आबद्ध भए। २०७४ सालदेखि उनीहरू स्थानीय सरकारसँग साझेदारी गरेर काम गर्न थाले।
आज २०७८ सालमा, यो स्कुलमा दुई सय ५० भन्दा बढी विद्यार्थी भर्ना भएका छन्। करिब ५० विद्यार्थीहरू निजी विद्यालयबाट पनि आएका छन्। शिक्षकको संख्या पनि चार जनाबाट बीस पुगेको छ। यसमा दस जना सरकारी दरबन्दी र दस जना निजी स्रोत र स्वयंसेवकका रूपमा छन्।
ठाउँको सीमितताले भर्ना हुन खोज्ने सबैलाई लिन नसकिएको शिक्षकहरू बताउँछन्।
गत दुई वर्ष कोभिड महामारीबाट भौतिक रूपमा विद्यालय नखुल्ने स्थिति भयो। पहिलो लकडाउनको पहिलो महिना उनीहरूलाई निकै खटपट भयो। उनीहरूले आफ्ना विद्यार्थीहरूका लागि केही गर्न सकिरहेका थिएनन्।
उनीहरूलाई महसुस भएको थियो, विद्यालय बन्द भए पनि सिकाइ बन्द हुनु हुँदैन। कडा लकडाउनको एक महिनापछि उनीहरूले विद्यार्थीहरूलाई सिकाइमा केन्द्रित गर्ने विभिन्न प्रयासहरू गर्न थाले। ठूला कक्षामा विद्यार्थीहरूलाई अनलाइन सिकाउन सुरू गरे। सबै विद्यार्थीका अभिभावकसँग स्मार्टफोन थिएन। फोन नहुनेलाई उनीहरूले विद्यालय आएर अनलाइन जोडिने व्यवस्था मिलाए। फोन भएर पनि इन्टरनेटको पैसा तिर्न कठिन हुनेहरूलाई विद्यालयबाटै पैसा पठाए।
सानो कक्षामा अनलाइन व्यावहारिक भएन। उनीहरूले कार्यपुस्तिकाहरू तयार गरे। विद्यालयमा अभिभावक र विद्यार्थीलाई सँगसँगै बोलाए। कार्यपुस्तिकाबाट कसरी सिकाउने भनेर अभिभावकलाई तालिम दिएर पठाए।
लकडाउनका बेला अभिभावकसँग कुरा गर्दा विद्यालय परिवारलाई थाहा भयो, अधिकांश विद्यार्थीको परिवारमा दुई छाक खान मुश्किल भएको छ। दैनिक ज्यालामा काम गर्ने अभिभावकको काम ठप्प भएको छ।
यसबाट विद्यालयले 'शिक्षा र खाना सँगसँगै' भन्ने हिसाबले विभिन्न व्यक्ति तथा संघ-संस्थासँग सहयोग मागेर विद्यार्थीहरूका परिवारका लागि खाना व्यवस्था गर्यो।
'अचेल आफ्ना विद्यार्थीहरू आफ्ना छोराछोरीजस्तै लाग्छ। उनीहरूको पीडा र खुसी आफ्नै सन्तानको जस्तै लाग्छ,' विद्यालयका विज्ञान शिक्षक प्रजापति शर्मा भावुक हुँदै भन्छन्।
३२ वर्षअगाडि रूपन्देहीको गंगोलियाबाट शिक्षण सुरू गरेका र पाँच विद्यालयमा काम गरिसकेका प्रजापति विगत तीन वर्षदेखि भानोदय आधारभूत विद्यालयमा छन्। उनले आफ्नो नाति निजीबाट निकालेर आफ्नै विद्यालयमा भर्ना गरेका छन्।
उनी सेवा निवृत्त हुन दुई वर्ष बाँकी छ। तर विद्यालयमा सबैको जोस र जाँगरबाट आफू उत्साहित भएको भन्दै उनी भन्छन्, 'मलाई त भर्खर नियुक्ति लिएजस्तो लागिरहेको छ।'
आफ्नो पालो परेको दिन उनी विद्यालयको गेटमा बिहान ९ः३० देखि विद्यार्थीहरूको स्वागत गर्न उभिन्छन्। विद्यार्थीहरूलाई आफैंले अभिवादन गर्छन्, हालखबर सोध्छन्। तीन दशकभन्दा बढीको शिक्षण अनुभवमा उनलाई यस्तो रोमाञ्चक अनुभव कहिल्यै भएन।
आफूभन्दा कम उमेरका सहकर्मी र विद्यार्थीबाट धेरै कुरा सिकेको स्मरण गर्दै उनी भन्छन्, 'शिक्षक आफूलाई सबै कुरा थाहा नहुने रहेछ। यसका लागि सबैसँग लाज नमानीकन सिक्नु पर्ने रहेछ।'
दुई दशक बढी शिक्षण गरेका सानागाउँकै स्थानीय सानुकाजी महर्जनको पनि उस्तै अनुभव छ। पहिलेको दिन सम्झिँदै सानुकाजी भन्छन्, 'पहिले पैसा कमाउने सोच मात्र थियो। अहिले पूरै शिक्षणमा नै छु। आफ्नो क्षमताले भ्याएसम्म विद्यालय र विद्यार्थीको प्रगतिको लागि काम गर्नु मेरो दायित्व हो।'
उनलाई लाग्छ, विगत दुई दशकमा नगरेको काम उनले पाँच वर्षमा गरेका छन्। उनलाई शिक्षणको दुई दशक कम मेहनत गरेर बिताएकोमा आजकाल पछुतो लाग्छ।
विद्यालयमा सबभन्दा कम बिदा लिने शिक्षकमा उनी पनि पर्छन्। एकपटक उनी आफ्नो स्वास्थ्य जाँचको लागि एक अस्पतालमा गए। चिकित्सकले थप परीक्षणका लागि उनलाई अर्को दिन बोलाए। तर चिकित्सकले भनेको दिन विद्यालय खुला थियो। उनलाई बिदा लिन पटक्कै मन थिएन। उनले आफ्नो कारण बताएपछि चिकित्सक खुसी हुँदै सानुकाजीकै मिल्ने समयमा बोलाए।
शिक्षकहरूको ऊर्जा र उत्प्रेरणा विद्यार्थीहरूमा पनि सिञ्चित भएको देखिन्छ।
कक्षा तीनमा अध्ययन गर्ने करिना तामाङलाई शिक्षकहरू बिहानै गेटमा स्वागत गर्दै बसेको र छुट्टी हुने बेला पनि गेटसम्म आएर बिदा गरेको साह्रै मन पर्छ। कक्षा आठका मुनाल सुनार विद्यालयले नियमित रूपमा अतिरिक्त क्रियाकलापहरू गरेको कारणले आफ्नो आत्मबल बढेको बताउँछन्। कक्षा पाँचकी करुणा तामाङलाई विद्यार्थीहरूले नै 'स्कुल एसेम्ब्ली' गरेको र बाल क्लबमा सहभागी हुन पाएकोमा साह्रै खुसी लाग्छ।
पाँच वर्षमा विद्यालयको कायापलट हुन सक्छ भनेर भानोदय आधारभूत विद्यालयको अनुभवले देखाएको छ। विद्यालयका शिक्षकहरू धराशायी हुन लागेका सरकारी र निजी विद्यालयले भानोदयको अनुभवबाट केही कुराहरू सिक्न सकिने बताउँछन्।
पहिलो, विद्यालयको व्यवस्थापन मजबुत बनाउने। सामान्यतया विद्यालय व्यवस्थापनको अधिकार विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकलाई हुन्छ। भानोदयको अनुभवले भन्छ, स्थानीय सरकार र समुदायका विभिन्न सदस्यहरूले पनि व्यवस्थापनमा अपनत्व लिनु पर्छ। व्यवस्थापनमा शिक्षकहरूलाई पनि सहभागी गराउनु पर्छ। व्यवस्थापनका विविध पक्षमा शिक्षक आफैं सहभागी भएपछि विद्यालयको हरेक काममा दायित्वबोध बढ्ने रहेछ।
दोस्रो, विद्यालयमा स्थानीय समुदायको सहभागिता गराउने। विद्यालयमा अभिभावकसँगै स्थानीय बालबालिका, युवा तथा वृद्धवृद्धा सबैलाई आउने बाटो खुलाउनु पर्छ। निरन्तर घरदैलो र अभिभावकसँगको सम्पर्कले कुनै बैठकमा ९० प्रतिशतभन्दा बढी अभिभावक उपस्थित हुन्छन्।
भानोदयका शिक्षकहरू विद्यालयमा केही समस्या पर्नेबित्तिकै स्थानीयलाई गुहार्छन्। स्थानीयहरू पनि आफूले भ्याएसम्म सहयोग गर्छन्। अचेल स्थानीय युवाहरू विद्यालयको प्रांगणमा बिहान-बेलुकाको समयमा विभिन्न खेल खेल्न आउँछन्। पहिले ओझेलमा परेको यो विद्यालय अचेल स्थानीयहरूको लागि पनि आकर्षण र आशाको केन्द्र भएको छ।
तेस्रो, विद्यालयमा बाह्य मानिसहरूको पनि सहभागिता गराउने। भानोदयले स्थानीयहरूलाई मात्र होइन, बाहिरी समुदायका मानिसलाई पनि विद्यालयसँग जोडेको छ। भानोदयको अनुभव छ, विद्यालयमा ठूलो ठूलो परियोजना र दाता मात्र आउनु पर्छ भन्ने छैन। यसनिम्ति कसैले विद्यार्थीहरूका लागि आफ्नो जन्मदिनमा खाजा खुवाउँछन्। कसैले आएर विद्यालयको पर्खालमा रङ लगाइदिन्छन्। कसैले एक जना विद्यार्थीको वर्षभरिको अभिभावकत्व ग्रहण गर्छन्। कसैले विद्यार्थीलाई निःशुल्क रूपमा कुनै सीपको तालिम दिन्छन्।
चौथौ, शिक्षकहरूबीच निरन्तर छलफल गर्ने र एकअर्कासँग सिक्ने। भानोदयमा शिक्षकहरू एकअर्कासँग निरन्तर छलफल गर्छन्। हरेक दिन स्कुल छुट्टी भएपछि उनीहरू दिनको समीक्षा गर्छन् र भोलिका लागि योजना बनाउँछन्। विद्यार्थीहरूको सिकाइबारे निरन्तर अन्तरक्रिया गर्छन्। हरेक दुःखसुखका कुरा एकअर्कासँग बाँड्नाले शिक्षकहरू एकअर्कालाई परेका बेला विद्यालय तथा पारिवारिक काममा पनि सहयोग गर्छन्।
पाचौं, अनुभव र ऊर्जाको समन्वय गर्ने। भानोदयमा अनुभवी शिक्षक र नयाँ शिक्षकबीच द्वन्द्व नगन्य रूपमा देखिन्छ। अनुभवी शिक्षकहरू भर्खरै शिक्षणमा आएका युवाका लागि 'मेन्टर' जस्ता छन्। उनीहरू नयाँ शिक्षकबाट सिक्न लाज मान्दैनन्। विद्यालयमा अनुभवले आर्जित ज्ञान र सीपको 'सेयरिङ' अनुभवी शिक्षकले गर्छन्। नयाँ प्रविधि र शिक्षण पद्धतिको सेयरिङ नयाँहरूले गर्छन्। भानोदयको शक्ति र सुन्दरता नै यी दुईको सम्मिश्रण हो।
भानोदय एउटा उदाहरण हो। फरकफरक नविनतम अभ्यास गरिरहेका खोटाङको जनजागृति मा.वि., सुर्खेतको जनज्योति मा.वि., फर्पिङको शिखरापुर मा.वि. लगायतका अरू धेरै स्कुल छन्। आफ्नै बलबुतामा सफल भएका यस्ता विद्यालयको सामर्थ्य र चुनौती पहिचान गरेर अगाडि बढ्ने हो भने शैक्षिक सुधारका अनगिन्ति सम्भावना देखिन्छन्।
भारतको नयाँ दिल्लीमा आम आदमी पार्टीले शिक्षालाई प्राथमिकतामा राखेर काम गरेजस्तो आउने वर्षको सबै निर्वाचनमा अब हरेक राजनीतिक पार्टीलाई हामीले सोध्नै पर्छ- विद्यालय बनाउने तपाईंहरूको 'भिजन' के हो? योजना के हो?
ट्विटरः @mani_bijaya
(विजयमणि पौडेलका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)