'दाइ, मेरो पेट धेरै दर्द गरिराखेको छ, मलाई औषधि दिनुहोस् न!,' हामीले इमर्जेन्सीबाट भर्ना गरेको बिरामीको आग्रह हो यो।
उनी अहिले जनरल वार्डको बेड नम्बर ९ मा लमतन्न परेर सुतेकी छन्। १९ वर्षकी केटीको पेट विगत १५ दिनदेखि दमाहा जसरी फुलेको थियो। हामीले पढेको मेडिकल साइन्सको विधिले सिकाएअनुरूप सबभन्दा पहिला रोग पत्ता लगाउनु थियो। तत्पश्चात रोगको निवारणतर्फ पाइला अगाडि बढाउनु थियो।
एमबिबिएस पढिरहेका भाइ-बहिनीहरूको जिम्मा थियो बिरामी र बिरामीका बाआमासँग कुरा गरेर रोगको 'हिस्ट्री' अर्थात इतिहास क्रम पत्ता लगाउनु।
बिहानी राउन्डका लागि म र एक जना साथी वार्डमा भित्रिँदा केही मेडिकल स्टुडेन्ट भाइहरू त्यही बेड नम्बर ९ को वरिपरि झुम्मिएका थिए। एक जना भाइ ती बिरामी किशोरीलाई जाँच्दै थिए भने अरू दुई जना किशोरीका अभिभावकसँग गफ गर्दै थिए। बाँकी दुई जना भने बिरामीको रेकर्ड फाइल र औषधि लेख्ने कागज पल्टाउँदै थिए। म र मेरो साथीलाई देखेर उनीहरू सबै हामी भएतिर आए।
'दाइ अब राउन्ड सुरू गरौं,' यति भनेर हाम्रो अनुमति लिँदै एक जना भाइ पहिलो बेडको बिरामीको अवस्थाबारे हामीलाई जानकारी गराउन थाल्छन्। मसँगै वार्ड छिरेको साथी बेडमा बसेको बिरामीलाई विगत २४ घन्टाको हालचाल सोध्छन्। त्यसपछि ती बिरामीले पाइरहेको औषधिको नाम एक जना अर्को भाइले खरर पढ्छन्। म र मेरो साथी सल्लाह गरेर केही औषधि काँटछाँट गर्छौं। सबै कुरा ठीक रहे भोलि बिरामीलाई डिस्चार्ज गर्ने निर्णय गरेपछि हाम्रो राउन्ड अगाडि बढ्छ। पहिलो बेडपछि क्रमशः दुई, तीन, चार गर्दैगर्दै हामी अगाडि बढ्छौं।
अब हामी पुग्छौं बेड नम्बर ९ जहाँ पेट दुखाइले आलसतालस परेकी उनै किशोरी छन्। वार्डकी सिस्टरले उनलाई औषधि दिइराखेकी छन्।
म प्रश्न सुरू गर्छु— बहिनी अहिले कस्तो छ?
मेरो प्रश्नमा उनी खासै केही बोल्दिनन्। सिर्फ हात आफ्नो पेटमाथि राखेर आँखा चिम्लिन्छन्।
म र मेरो साथी ती किशोरीको हिजो भर्ना हुँदा गरिएका रगत र पिसाबका रिपोर्टहरू हेर्न थाल्छौं। रिपोर्टहरू लगभग सामान्य नै छन्। तर उनको दुखिरहेको र फुलिरहेको पेटले जति उनलाई सताइरहेको थियो, त्यति नै हामी डाक्टरहरूलाई पनि चिन्तित बनाइराखेको थियो।
पेटको अल्ट्रासाउन्ड तत्काल गरौं भन्ने हाम्रो सल्लाह भयो।
भिडिओ एक्स-रे गर्दा प्रयोग गर्ने चिसो जेल ती किशोरीको पेटमा घस्दै अनि मनिटरतिर हेर्दै मेरो साथी बोल्छ, 'पेटमा धेरै पानी भरिएको छ, मूत्रथैली माथि ठूलो मास (मासु) जस्तो डल्लो देखिन्छ।'
'हामीले हिजो पठाएको पेटको पानीवाला जाँचको रिपोर्ट आउन बाँकी छ दाइ,' साइडमा उभिएको एक जना भाइ हामीतिर हेर्दै भन्छन्।
भिडिओ एक्स-रे मेसिन बन्द गर्दै मेरो साथी बोल्छ, 'मूत्रथैली माथिको त्यो मासुको डल्लो के कस्तो हो, त्यसको फैलावट के छ भनेर हेर्न पेटको सिटी-स्क्यान जरूरी छ। अहिले नै बिरामीलाई रिफर गरौं। सिटी स्क्यान गरेपछि यी नानीलाई सर्जन डाक्टर र प्रसूति सम्बन्धी डाक्टरले संयुक्त रूपमा हेर्नुपर्छ। सिटी स्क्यान नगरी यहाँ राख्नु ठीक हुँदैन।'
किशोरीको पेट दुखाइ अघिभन्दा अलिक सन्चो भएजस्तो देखिन्थ्यो। तर हामीलाई थाहा थियो, यो दुखाइ कम गर्ने कडा खालको औषधिको प्रभाव थियो। औषधिको असर कम हुँदै जादा दुखाइ बढ्ने प्रायः निश्चित थियो। दुखाइ मात्रै कम गराउने भन्दा पनि रोगको निर्क्यौल समयमा हुनु पर्छ भन्ने मेडिकल साइन्सको सिद्धान्त हाम्रो टिमले पालना गरेको थियो। त्यसका लागि किशोरीको पेटको सिटी स्क्यान गर्न नजिकैको ठूलो मेडिकल कलेजमा उनलाई रिफर गर्नुपर्छ भन्ने निधोमा हामी पुगेका थियौं।
हामी यही कुरा किशोरीका बाआमालाई भन्छौं। हाम्रा भाइहरू किशोरीको रिफर कागज बनाउन थाल्छन्। हाम्रो कुरा सुनेर किशोरीका बाआमा भने मुखामुख गरिरहेका थिए। एकैछिनमा वार्डमा अन्दाजी २०-२२ वर्षको केटा भित्रिन्छ र हामी भएतिर आउँछन्। ती युवकलाई देखेर किशोरीका बा दाह्रा किट्न थाल्छन् र आँखा राताराता पार्छन्। ती युवक अलि हच्किन्छन् र वार्डको मूलगेटतर्फ पुगेर कुर्छन्।
मलाई त्यो दृश्य किनकिन ननिको लाग्यो। म कुरा के रहेछ पत्ता लगाउन चाहन्थेँ तर समयको पावन्दी थियो। वार्डको राउन्ड सकेर फटाफट ओपिडी पुग्नु थियो जहाँ बिरामीको लाइन लागिसकेको अनुमान सजिलै गर्न सकिन्थ्यो।
म साइडमा उभिएको भाइसँग कानेखुसी गर्छु— कुरा के रहेछ पत्ता लगाएर मलाई भन है!
उनी मलाई हेरेर फिस्स हाँस्छन्।
अस्पताल नजिकैको क्यान्टिनमा एक कप चिया र एउटा तातो समोसा खाएर म ओपिडी पुग्छु। सबै बिरामी डाक्टरकै प्रतीक्षामा छन्। म बिरामी जाँच्न थाल्छु। करिब आधा घन्टा भएको हुँदो हो, मेरो फोन एकाएक बज्न थाल्छ।
फोन गर्ने मान्छे बिहानी राउन्डमा भएका हाम्रो मेडिकल स्टुडेन्ट भाइ थिए।
मैले यताबाट 'अँ भन भाइ' भन्नासाथ उनले सुरू गरे, 'दाइ, त्यो बेड नम्बर ९ को बिरामी बैनीलाई उसका बाआमाले घर लैजाने रे!'
'डाक्टरको सल्लाह विपरीत डिस्चार्ज लिन्छु भन्ने फारममा ल्याप्चे गरेर घरै लान्छु भन्दै छन् दाइ उनीहरू! के गर्ने होला? त्यो बैनीलाई यसरी घर लग्यो भने त ऊ मर्छे होला दाइ,' भाइको बोलीमा म चिन्ता र आक्रोश दुवै पहिल्याउन सक्थेँ।
मैले उनलाई आफू एकैछिनमा वार्डमा आउने र उनका बाआमालाई सम्झाउने कुरा राखेँ। ओपिडीमा थप दुई-तीन जना बिरामीहरू हेरेर म वार्डतर्फ लागेँ।
बेड नम्बर ९ मा भीड लागेको छ।
मलाई अघि फोन गर्ने भाइ किशोरीका बाआमालाई सम्झाउँदै छन्।
मैले बेड नजिक पुगेर ती भाइतिर हेर्दै सोधेँ— किन घर लग्ने रे?
भाइ अलि रिसाउँदै बोले, 'खोइ दाइ, उहाँहरूको कुरा गरी साध्य छैन। कारण खासै केही दिनु हुन्न तर छोरीलाई घर लग्छु कि लग्छु भनेर जात्रा छ।'
मैले किशोरीका बाआमालाई मतिर आउन इशारा गरेँ। उनीहरू हिचकिचाउँदै मेरो नजिक आए।
मैले कुरा राखेँ— यी नानीलाई उपचार नगरी घर लैजानुभयो भने यी मर्छिन्। बिन्ती, यस्तो अपराध नगर्नुस्। बरू मेडिकल कलेजसम्म जान हामी फ्रीमा एम्बुलेन्सको व्यवस्था गर्दिन्छौं। घर नलैजानुस्। बरू ठूलो अस्पताल लैजानुस्।
मेरो कुरा सुनिरहेको भाइले मतिर आएर भने, 'दाइ, बरू उता गएर उपचारका लागि पैसा नभएको हो भने हामीले अहिले सय-पचास उठाएर केही जोरजाम गर्दिऊँ। कम्तीमा ठूलो अस्पतालको एउटा तहको उपचारसम्म त पुग्छिन् यी बैनी। बरू पछि ठूलो आर्थिक सहयोग जुटाउन अरू प्रयास पनि गरौंला।'
भाइको कुरा मलाई पनि मुनासिब लाग्यो। तर हाम्रो कुरा सुनिरहेका किशोरीका बाबु आफ्नो ढिट देखिए। १९ वर्षकी आफ्नी छोरीलाई यति सजिलै माया मारेको बाबु देख्दा निक्कै दुःख लागिरहेको थियो। दुखसँगै मलाई त्यो दृश्य निक्कै अप्राकृतिक पनि लाग्यो।
धेरैबेर केरकार गरेपछि किशोरीका बाबुले बोली फुटाए, 'हामी धेरै नपढेको मान्छे, धेरै कुरा जान्दैनौं। पैसा पनि धैरै छैन। बरू यसलाई घरै लग्छु। यो मरी भने पनि घरमा मेरी अरू चार वटी छोरी छन्।'
किशोरीका बाबुका कुरा सुनेर म छाँगाबाट खसेजस्तो भएँ। एउटी छोरी मरेर केही हुन्न, घरमा अरू छोरी छन् भन्ने उनको कुराले मलाई ज्यादै पीडा दियो।
अचम्म पनि थियो। त्यो कुरा गरिरहँदा उनको भावभंगीमा विवशता अथवा लाचारीभन्दा पनि कठोरताको दम्भ झल्किरहेको थियो।
हामीले केही न केही हिसाबले सहयोग गर्नेछौं र ठूलो मेडिकल कलेजमा पनि कुरा गरिदिने छौं भन्दाभन्दै पनि ती बाबुले जबर्जस्ती घर लैजान्छु भनेर कागजमा ल्याप्चे ठोके।
मैले अझै पनि अन्तिम पटक प्रयास गर्छु भनेर किशोरीकी आमालाई सम्झाउन खोजेँ। तर उनको अनुहार पनि भावशून्य थियो।
यो घटनाले मलाई जति पीडा भइराखेको थियो, त्यसको क्लेशमात्र पनि मैले किशोरीका अभिभावकमा भेटिनँ। म भित्रभित्रै नराम्ररी चिमोटिएँ। अन्तिम पटक किशोरीको अनुहार हेरेँ अनि फरक्क फर्केर ओपिडी पुगेँ। मेरा हात बाँधिएका थिए। बिरामीलाई जबर्जस्ती उपचार गराउनै पर्छ भनेर अड्डी कस्ने अधिकार मलाई कानुनले दिँदैन।
साँझ खाना खाने बेलामा भाइसँग भेट भयो। उनी निन्याउरो मुख लगाएर बसेका थिए।
मलाई देख्नासाथ बोले, 'दाइ, ती बैनी त एकदुई दिनमै मर्छे होला है? कस्ता पापी रहेछन् बाउआमा पनि। त्यस्तो बिरामीलाई घर लैजान सक्ने!'
भाइको कुराले मेरो मन झन् अमिलो भयो। झटपट दुई गाँस निलेर कौसीमा निस्केँ। चुठेको हात पुछ्दै भाइ मतिर आए।
'दाइ, मान्छेको सबैभन्दा ठूलो रोग त अशिक्षा र गरिबी रहेछ। मैले आज थाहा पाएँ। हामीले किताबमा पढेका ठूला-ठूला डरलाग्दा रोग त केही होइन रहेछन्,' यति बोलेर उसले खुइइ गर्यो।
मैले भनेँ— भाइ, मलाई चाँहि खोइ किनकिन यो घटनामा अशिक्षा र गरिबी मात्रै कारण हो भन्ने लागेको छैन। छोरालाई काखा, छोरीलाई पाखा मात्रै पनि होइन भन्ने लाग्छ मलाई। आज जे भयो त्यो पछाडिको कारण!
हामी केहीबेर कुराकानी गरेर छुट्टिन लाग्छौं।
जाने बेलामा भाइले भन्यो, 'दाइ, साँच्चै दिउँसो वार्डमा आएको त्यो युवक ती किशोरीको प्रेमी रहेछ। खासमा उनीहरू भागेर बिहे समेत गर्न खोजेका रहेछन्। तर जातपातको कुराले गर्दा केटीका परिवारले दुई जनालाई छुट्याएको रहेछ।'
भाइको यस्तो कुरा सुनेर म टक्क अडिएँ।
उनी थप्दै थिए, 'दाइ, उसले त केटीको परिवारबाट मारिने धम्कीसमेत पाएको रहेछ। तर आफ्नी प्रेमिका बिरामी परेको कुरा सुनेर अस्पतालमा भेट्न आएको रहेछ।'
प्रेमिल जोडीको यो अधुरो प्रेम वर्णन सुनेर मेरो मन झन् नरमाइलो भयो।
मैले भोलिपल्ट अस्पतालका नर्सहरूका लागि तालिम सञ्चालन गर्नुपर्ने थियो। तयारी गर्न भ्याएको थिइनँ। त्यसैले सामग्री तयार गर्न आफ्नो कोठातिर लागेँ।
जिल्ला बसाइका केही महिनापछि मलाई फेरि काठमाडौंले बोलायो। थेसिसको कामले मलाई घनघोर रूपमा घेरेको थियो। त्यसमाथि एमडी अन्तिम वर्षको परीक्षा मुखैमा आइसकेको थियो। साथमा ड्युटीको मारामार त यथावत थियो नै।
एक साँझ ड्युटी सकेर घर फर्किनै लाग्दा साथीको फोन आयो। ऊ मेरो स्कुलदेखिको साथी हो। पेसाले पत्रकार। केही समय विदेशमा पढेर आएपछि उनी अहिले एउटा राष्ट्रिय दैनिकमा काम गर्छ।
ऊ उताबाट बोल्यो, 'म पाटनढोका नजिकैको क्याफेमा छु, तेरो फुर्सद छ भने भेटौं एकछिन।'
ऊसँग भेट्ने सहमतिसाथ म पाटनढोका पुगेँ र क्याफेभित्र छिरेँ। ऊ कफी पिउँदै थियो। भर्खरै निभाएको चुरोटको धुवाँ वरिपरि फैलिएको थियो।
मैले हात मिलाएर सोधेँ— आजकल केमा व्यस्त?
ऊ बट्टाबाट अर्को चुरोट निकालेर आगो झोस्छ र एकलट धुवाँ फाल्दै बोल्छ, 'तेरो डाक्टरी जस्तै मेरो पत्रकार जीवन पनि शुष्क छ यार! त्यसैले आजकल एउटा नयाँ उपन्यासमा काम गर्दैछु। यसले मलाई थोरबहुत शान्ति दिएको छ।'
उपन्यास केका बारेमा हो? कसका बारेमा हो? मलाई खुलदुली जाग्यो। सोधिहालेँ।
ऊ कफीको घुट्को निल्दै बोल्छ, ‘अनर किलिङ। नेपालका लागि सायद यो नयाँ कुरा हो।'
अनर किलिङ, मैले सुनेको शब्दावली हो तर मलाई यसको वास्तविक अर्थ थाहा थिएन। ट्वाइलेट जाने निहुँले म बाहिर निस्केँ र गुगललाई उल्था गर्न लगाएँ। गुगलले अनर किलिङलाई नेपालीमा ‘सम्मान हत्या’ भनेर चुत्थो उल्था गरिदियो। हिन्दीमा के भन्दो रहेछ त भनेर सोधेको ‘इज्जत के लिए प्यार करने वालों की हत्या करना’ भनेर सुझाइदियो। मैले गुगलको उल्थागिरी देखेर जिब्रो काटेँ।
भित्र छिरेर साथी बसेको टेबलतर्फ लागेँ। मैले अर्डर गरेको कफी आइसकेको रहेछ। साथी फोनमा केही हेर्दै थियो।
म बस्नासाथ उसले सुरू गर्यो, 'हेर्, यो अनर किलिङ नेपालमा पनि बढ्दो छ। बाहिर कुरा मात्रै नआएका हुन्। जातपातको नाममा, धनीगरिबका नाममा इज्जत फालेको निर्क्यौल गर्दै परिवार नै मिलेर प्रेम गर्ने, विवाह गर्नेहरूको हत्या गरिन्छ। अनर किलिङका लागि बदनाम देश चाँहि पाकिस्तान हो। त्यसपछि भारत। अब नेपाल पनि यो दौडमा छ। मेरो उपन्यास यही विषयमा आधारित छ।'
ऊ बोल्दै थियो। चुरोट फुक्दै थियो। कफी निल्दै थियो।
म भने एकाएक ‘फ्लास-ब्याकमा’ पुगेँ। मैले केही समयअघि जाँचेको ती किशोरीलाई सम्झेँ। उसको कथित जात नमिल्ने प्रेमीलाई सम्झेँ। उसको प्रेमीले बुनेको बिहेको सपनाका बारेमा सम्झेँ। उपचार हुनसक्ने १९ वर्षकी ती किशोरीलाई उपचार नगराई घर लैजाने उसका आमाबालाई सम्झेँ।
मैले एमबिबिएस पढिरहेको त्यो भाइलाई सम्झेँ जो मलाई बारम्बार सोध्थे, 'दाइ, त्यो केटी जिउँदै छे कि मरी होला?'
मलाई भनन्न रिँगटा लाग्यो। ओठ मुख सुक्यो।
मैले कफी सक्दै गरेको साथीलाई भनेँ— म घर जान्छु। भोलि सबेरै अस्पताल आउनु छ।
उसले भन्यो, 'उपन्यास सकेर फेरि तँलाई भेट्ने छु। शीर्षक फाइनल गरौंला दुई भाइ बसेर।'
मैले टाउको हल्लाएँ र क्याफेबाट निस्केँ। पाटनढोकाको विशाल ढोकाबाट फुत्त बाहिर निस्केर भाटभटेनीलाई देब्रे पार्दै कृष्णगल्लीतर्फ हान्निए।
साथीले लेख्दै गरेको उपन्यासको कथा मलाई थाहा छैन। न म पात्रहरूलाई चिन्छु। न त मलाई उपन्यासको प्लट थाहा छ।
तर मेरो दिमागमा एउटै शीर्षक घुमिरहेको छ— उ मरेकी होइन, मारिएकी हो।
ट्विटर: @luintelaayas
(आयास लुइँटेलका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)