आइतबार संसदको अवरोध हटाउन सभामुखले नेपाली कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा एमाले प्रमुख सचेतक महेशकुमार बर्तौला र नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गरेका छन्।
छलफलमा सत्ता र प्रतिपक्षहरुले आ–आफ्नै अडान दोहोर्याउँदा सहमति हुन सकेन।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसदलाई अगाडि बढाउन प्रतिपक्षी सकारात्मक नभएको प्रतिक्रिया दिए।
उनले प्रतिपक्षीले सहयोग गरेको खण्डमा छलफल सकारात्मक ढंगले अगाडि बढ्ने बताए। प्रतिपक्षले असहयोग गरेपनि संसदको कारबाही अगाडि बढाउने जिकिर गर्नुभयो ।
'आजबाट संसद सञ्चालनमा आउँछ । विपक्षी दलहरुले सहयोग गरे राम्रैसँग सञ्चालनमा आउँछ । यदि उहाँहरुले अप्ठ्यारो गरेपनि केही असहज होला तर संसद अगाडि बढ्छ,' घिमिरेले भने।
नेकपा (एमाले)का प्रमुख सचेतक महेशकुमार बर्तौलाले पनि आजदेखि सहमतिको लागि सूचना टाँसेर बैठक स्थगित गर्ने पक्षमा आफूहरु नरहेको बताए।
उनले प्रतिपक्षीले अवरोध गरेपनि र नगरेपनि बैठक बजेटमाथिको छलफल शुरु हुने बताए।
'प्रमुख प्रतिपक्षी दहलहरुले सहमतिको लागि बैठक स्थगित गर्न अपिल गर्नुहुन्थ्यो । हामीले त्यो हामीले मान्दै आयौँ । आजको बैठकमा चाँही हिजोको जस्तो सूचना टाँस गरेर स्थगित गर्ने हिजोको निरन्तरता हुँदैन । आजदेखिको बैठक हामी स्मुथली अगाडि बढाउन चाहन्छौँ । बजेटमाथि आजदेखि छलफल आरम्भ हुन्छ,’ उनले भने।
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लखेककमाथि छानबिन हुनुपर्ने प्रतिपक्षीको अडानका कारण संसद अवरोध हुँदै आएको छ।
निरन्तरको अवरोधका कारण अगामी आर्थिक वर्षको बजेटमाथिको छलफल समेत प्रभावित भएको छ। -न्युज एजेन्सी नेपाल