डेढ महिनाअघि म भारतको तेलंगना राज्यको महबुवनगर जिल्लास्थित चेगुर गाउँ पुगेको थिएँ।
यो गाउँमा अवस्थित 'कान्हा शान्ति वनम्' नामक ध्यान केन्द्रमा भारतमा 'स्कुलिङ' बाट असन्तुष्ट भएर वैकल्पिक अभ्यास गरिरहेका भारतीयहरूको भेला थियो।
मूलधारको शैक्षिक प्रणालीभन्दा फरक अभ्यास गरिरहेका उनीहरूले आफ्नो अनौपचारिक समूहलाई एउटा नाम दिएका छन् — इन्डियन मल्टिभर्सिटिज अलाइन्स।
यस अलाइन्समा आबद्ध भएका संस्था वा परियोजनाहरूका मूलतः पाँचवटा साझा मार्गदर्शक चरित्र हुने रहेछन्।
मल्टिभर्सिटीहरूमा सिकाइको डिजाइन कुनै बाह्य विज्ञले होइन, स्थानीय समुदाय र सिकारू आफूले गर्ने रहेछन्। यस्तो सिकाइको केन्द्रमा पृथ्वी र पर्यावरणको माया र हेरचाह हुने रहेछ। मल्टिभर्सिटीमा सधैं कोही शिक्षक वा सिकारू हुने रहेनछन्, परिस्थिति अनुसार उनीहरू कहिले शिक्षक, कहिले सिकारू, कहिले सहयोगी, कहिले मेन्टर हुने रहेछन्।
यसमा सहभागी सबै आफू भित्र र बाह्य दुवै परिवर्तनका लागि प्रतिबद्ध हुने रहेछन्। मल्टिभर्सिटीबाट उत्पादित ज्ञान, अनुसन्धान वा सामग्री कुनैमा प्रतिलिपि अधिकार (कपिराइट) नलाग्ने रहेछ। सिकाइ सामग्रीलाई 'कपिलेफ्ट' बमोजिम राखेर सबै सिकारूमा यसको पहुँच सहज गराइने रहेछ।
सबैलाई एउटै बनाउन खोज्ने आजको 'स्कुलिङ' मानवता विरूद्धको एक अपराध हो भन्ने विश्वास गर्ने विभिन्न मानिसहरू यस भेलामा उपस्थित थिए।
जस्तै — आफ्ना बालबालिकालाई पनि घरमै सिकाउने गरेका र विद्यालय पठाउन बन्द गरेका अभिभावकहरू, समुदायलाई नै सिकाइ केन्द्रको रूपमा निर्माण गरेका अभ्यासकर्ताहरू, शिक्षाको उद्देश्यमा प्रश्न उठाउँदै बालबालिका अनुसारको फरकफरक सिकाइ अभ्यास गरिरहेका मानिसहरू, आदि।
यो भेला प्रायः देखिने सम्मेलन (कन्फरेन्स) जस्तो थिएन।
हामी देख्छौं — प्रायः सम्मेलनहरू होटलहरूमा हुन्छन्। त्यहाँ स्टेजमा गएर बोल्ने केही वक्ताहरू हुन्छन्। प्यानल छलफल हुन्छ। प्यानल वा वक्ताको प्रस्तुतिपछि केही मिनेट अन्तर्क्रिया हुन्छ। त्यस अन्तर्क्रियामा पनि कार्यक्रमका सहजकर्ताहरूले छोटोमा प्रश्न राख्न निर्देशन दिन्छन्। त्यहाँ समयको पावन्दी हुन्छ। विशेष अतिथि र आमसहभागीको लागि व्यवहार फरक हुन्छ।
दिगो विकास र पर्यावरणको मु्द्दा उठाउनेहरू भए पनि पैसावाल आयोजक वा दाता भएको सम्मेलनमा हरेक सहभागीको लागि झोला, डायरी र कलम हुन्छन्। प्लास्टिक र कागजले बनेका नेमकार्डहरू हुन्छन्। टेबलभरि प्लास्टिकले नै बनेका पानीका बोतलहरू हुन्छन्। हरेक सहभागीका लागि कार्यक्रम तालिका प्रिन्ट भएको हुन्छ। भव्य तवरको जलपान वा भोजनको व्यवस्था हुन्छ।
तर यो भेला फरक थियो।
भेलाको योजना सहभागीहरूको रूचि र आवश्यकतामा छलफल गरेर बनाइएको थियो। चार दिन सञ्चालित यस भेलाको विस्तृत कार्यतालिका कार्यक्रमअगाडि पूरै बनिसकेको थिएन। मानिसहरू भेला भएसँगै यो अर्गानिक रूपमा अगाडि बढ्न थाल्यो।
अहिले केही घटे पनि केही दशकअगाडिको नेपालमा चौतारो, पानी पँधेरो, चोक वा जाडो मौसममा आगोको धुनी वा अँगेनोको वरिपरि बसेर मानिसबीच सुखदुःखका कुरा हुन्थ्यो। यो भेला पनि त्यस्तै जस्तो लाग्यो। भेलामा कोही 'विज्ञ' र कोही 'अनभिज्ञ' भन्ने थिएन। सबैका आफ्नै कथा, सिकाइ, अनुभव, सफलता र चुनौतीहरू थिए।
सहजीकरण पक्कै थियो तर यो कुनै कडा प्राज्ञिक संरचनामा बाँधिएको थिएन। घर, परिवार र समुदायमा जसरी मानिसबीच संवाद हुन्छ, त्यस्तै शैलीमा संवाद भएको थियो। छलफल गहनतामा गइरहँदा समयको पावन्दी थिएन। मानिसहरू उठेपछि बिहान स्वस्फूर्त रूपमा करिब ७ बजेदेखि सुरू हुने कार्यक्रम राति ११-१२ बजे सकिन्थ्यो।
नेपालमा आफ्नै क्षेत्रमा काम गरिरहेका विभिन्न संस्था र व्यक्तिसँग सहकार्य गर्न खोज्दा देखापरेको उल्झन र अप्ठ्यारो सुनाउँदै एक नेपालका शिक्षाकर्मीले भनेका थिए — सहकार्य गर्न खोज्दा नियतमाथि प्रश्न उठाउँदै जहाँ पनि शंका गर्छन्। सिकाइ साटासाट गरौं न भन्दा प्रतिस्पर्धाको नजरले हेर्छन्। सहकार्यमा पनि पद र पुरस्कार खोज्छन्।
तर यो भेला ती शिक्षाकर्मीले भनेको भन्दा भिन्न थियो।
उस्तै क्षेत्रमा काम गर्ने उनीहरू एकअर्कालाई ध्यानपूर्वक र प्रेमपूर्वक सुनिरहेका थिए। कुरा पूरै नसुनीकन उपदेश दिइरहेका थिएनन्। उनीहरूको उमेर, भूगोल, विचार र मान्यताहरू फरक थिए। तर उनीहरू एकअर्काप्रति पूर्वाग्रह नराखीकन कथाहरू सुनिरहेको भान हुन्थ्यो।
उनीहरू एकअर्काले भोगेको समस्यामा छलफल र चिन्तन गरिरहेका थिए। अरूको समस्याको पनि आफ्नै जस्तो मानेर समाधान खोजिरहेका थिए।
अनौपचारिक रूपमा संगठित भएका उनीहरूबीचको सम्बन्धको गहिराइ देखेर म छक्क परेको थिएँ। उनीहरू सन् २०१७ देखि वर्षमा एकपटक भेट्न थालेका रहेछन्। बीचमा कोभिडले भौतिक रूपमा त्यो हुन दिएन।
यति कम भौतिक भेटघाटमा पनि बनेको सम्बन्धबाट प्रभावित भएर मैले यस अलाइन्सका सूत्रधार मनिष जैनलाई सोधेको थिएँ, 'यो कसरी सम्भव भयो? मानिसहरूबीच इगोको क्ल्यास हुँदैन?'
उनले भने, 'माया र करूणाले यो सम्भव भएको हो।'
वास्तवमा उनले भनेको कुरा सहभागीबीच स्पष्टसँग महसुस गर्न सकिन्थ्यो।
अन्य धेरै कार्यक्रम भन्दा फरक तरिकाले कार्यक्रमको सुरू गर्दै मनिषले भनेका थिए, 'लेट्स स्टार्ट विथ आवर स्टोरी!' (हाम्रो कथाबाट सुरू गरौं।)
वास्तवमा कथाहरू शक्तिशाली हुन्छन्। कथामा तथ्य र तथ्यांक नहोला, सिद्धान्त नहोला, सपाट संरचना नहोला, आदि र अन्त्य स्पष्ट नहोला, तर कथामा अनुभूति र संवेदनाहरू हुन्छन्। तिनै कथाको धागोमा मानिसहरू जोडिएका थिए। कति सहभागीलाई देख्नेबित्तिकै उनीहरूको हाउभाउ, जिउडाल, अनुहारको भावभंगीमा आदिले मेरो दिमागमा पूर्वाग्रह भरिएको थियो। तर कथा सुन्दै गएपछि सबै पूर्वाग्रह हराउँदै गए।
त्यो भेलामा सबै भारतीयहरू थिए, भारत बाहिरको म एक्लै थिएँ। तर मलाई कुनै नयाँ कार्यक्रममा नयाँ मान्छेहरूको भेलामा पुग्दा यति सहज कतै भएको थिएन। उनीहरूको भेलामा पश्चिम बंगालदेखि हिमाञ्चल प्रदेशसम्मका मानिसहरू थिए। किशोरकिशोरीदेखि ७२ वर्ष उमेरसम्मका व्यक्तिहरू थिए।
कार्यक्रमको बहाव नदीजस्तो थियो। एक दिन खाना खाएपछि एक सहभागीका १२ वर्षीय छोरा बिस्तारै एउटा बाल गीत गुनगुनाउँदै थिए। उनले गीत गाएको देखेर रोमाञ्चित हुँदै केही सहभागीले उनीसँगै गाउन थाले। त्यो आवाज बढेर कार्यक्रमभरि फैलियो। अनि, गीतको बोल जान्नेहरू सबैले गुनगुनाउन थाले।
उनको गीत सकिएसँगै पञ्जाबबाट आएका एक सहभागीले 'भाङ्ग्रा' नृत्य गर्न थाले। सबैले उनलाई साथ दिए। त्यसपछि स्वस्फूर्त रूपमा गुजरातको 'गर्वा', राजस्थानको 'घुमर', हिमाञ्चलको 'छोहरा' मा मानिसहरू झुम्न थाले।
यो मेरा लागि एक महत्त्वपूर्ण सिकाइ थियो। बाल्यकालदेखि पढेको सहिष्णुता र आपसी सम्मान झल्झल्ती आफूअगाडि देखिरहेको थिएँ। वृद्धवृद्धा, किशोरकिशोरी, कतिपय 'विद्वान' भनिने व्यक्तिहरू खुला रूपमा नाचिरहेका थिए। उनीहरूको खुलापन, तरलता र सहजता देखेर म अचम्मित भएको थिएँ।
रमाइलो र घुलमिलसँगै गम्भीर छलफल भयो।
भेलामा उपस्थितहरूको एक मत थियो — आजको शिक्षा प्रणाली ध्वस्त हुँदैछ। यसले बेरोजगारको संख्या बढाएको छ। रोजगारमा भएका पनि अधिकांश आफ्नो पेसाप्रति खुसी छैनन्। मानसिक स्वास्थ्यको जटिल समस्या देखापरेको छ। आजको शिक्षाले पर्यावरण बचाउनुपर्ने कुरा गरे पनि यसको अन्तर्यमा प्रकृतिको दोहन छ। त्यसैले जलवायु संकट देखापरेको छ।
उनीहरू भन्दै थिए — आजको शिक्षा र पेसा-व्यवसायले जीविकोपार्जनको उद्देश्य राखे पनि अहिले संसार घातक बाटोमा अगाडि बढिरहेको छ। शिक्षा र पेसा-व्यवसायको केन्द्रमा पैसा र अभाव वा अपर्याप्तताको सोच राखिएको छ। त्यसैले मानिसहरू जसरी पनि पैसा कमाउने दौडमा छन्। जति भए पनि उनीहरूलाई कम नै महसुस हुन्छ। यो क्रममा प्रकृतिको दोहन अत्यधिक भएको छ।
आफूलाई चित्त दुखेको कुरामा यो अलाइन्सका सहभागीले केही प्रयास पनि गरिरहेका रहेछन्। अधिकांशले सिकाइमा कृषि, श्रम र पर्यावरणप्रतिको स्याहार र माया जोडेका रहेछन्। उनीहरू सकेसम्म पैसाको प्रयोग कम गर्ने रहेछन्। सकेसम्म उनीहरू आफ्नो परम्परा र संस्कृतिसँग जोडिएको उपहार लिने-दिने र सापटीको अभ्यासबाट संस्थागत आवश्यकता पूरा गर्ने अभ्यास गर्ने रहेछन्।
एक सहभागी भन्दै थिए — संयुक्त राष्ट्र संघले अघि सारेको 'दिगो विकास' को अवधारणा र अभ्यास अपर्याप्त छ। अब दिगो विकासले हुँदैन, प्रकृतिलाई पुनर्जीवन दिने सोचबाट शिक्षा निर्देशित हुनुपर्छ र सोही अनुसारको पेसा-व्यवसायको परिकल्पना गरिनुपर्छ।
अलाइन्सबाट प्रकृतिलाई पुनर्जीवन दिने ५० वटा पेसा सिर्जना भइसकेको रहेछ।
यो पहलमा केही महत्त्वपूर्ण अभ्यास गरिरहेका गोपाल नेगी पनि भेलामा उपस्थित थिए। हिमाञ्चल प्रदेशका उनी खन्डहर जमिनलाई हरियाली बनाउन र विभिन्न ठाउँमा स्थानीय प्रजातीका वनस्पति लगाउने अभियानमा रहेछन्।
व्यक्तिगत कुराकानीका बेला मैले उनलाई सोधेँ, 'अब शिक्षालाई कसरी पुनर्कल्पना गर्नुपर्छ जस्तो लाग्छ?
उनले दिएको लामो जवाफको भाव यस्तो थियो — मानिस अन्ततः खुसी हुन चाहन्छ। खुसी हुने एउटा आधार भनेको तन्दुरूस्त स्वास्थ्य हो। स्वास्थ्य यत्तिकै प्राप्त हुँदैन। यसका लागि हाम्रो शरीरमा भएका कोस, तन्तु र अंगहरूले राम्रो काम गर्नुपर्छ। फोक्सोले राम्रोसँग शुद्ध हावा लिनुपर्छ। पेटले स्वस्थ खाना पाउनुपर्छ। मुटुले राम्रोसँग रगत पम्प गर्न सक्नुपर्छ। त्यसैले हाम्रो शरीरलाई यस्तो ठाउँमा राख्नुपर्छ जहाँ हाम्रा कोसहरूले राम्रो काम गर्न सकून्। हामीसँग त्यस्तो ठाउँ छैन भने त्यस्तो ठाउँ बनाउने पहल गर्नुपर्छ। कोसहरूले राम्रोसँग काम गर्न पाए भने हामी खुसी हुन्छौं। हाम्रो शिक्षामा छुटेको मूल कुरा यही हो।
तेलंगनाबाट काठमाडौं फर्किरहँदा म सोचिरहेको थिएँ — इन्डियन मल्टिभर्सिटिज अलायन्सका सहभागीहरूको विचार आदर्श मात्र हो कि वास्तविकतामा पनि लागू गर्न सकिन्छ? के सम्पूर्ण प्राणी र वनस्पतिप्रति प्रेम र करूणा जगाउने शिक्षा दिन सम्भव होला र? सबैलाई एउटै बनाउने बाटो छाडेर विविधता सम्बोधन गर्ने शिक्षा सम्भव होला र? के यस्तो शिक्षा आजको हाम्रो स्कुलमा दिन सम्भव होला?
यी प्रश्नहरू मनमा खेलिरहँदा झारखन्डकी एक सहभागीले बोलेको याद आयो।
आफ्नो छोराप्रतिको आकांक्षा सुनाउँदै उनले भनेकी थिइन्, 'मेरो छोरा विनम्र होस्। प्रकृतिलाई आफूलाई जस्तै माया गर्न सिकोस्। उसले पेसा व्यवसाय जे गरे पनि प्रकृतिको दोहन गर्नु मेरो अधिकार हो भनेर नबुझोस्। ऊ अचेत दौडमा नकुदोस्।'
यो भेलासँगै म भारतका केही शैक्षिक संस्थाहरू पनि पुगेको थिएँ। अबका केही लेख म त्यहाँका विभिन्न नवीनतम अभ्यासहरूमा केन्द्रित गर्नेछु। किनभने, यी अभ्यास नेपालका लागि पनि पाठ हुन सक्छन्।
ट्विटर- @mani_bijaya
(विजयमणि पौडेलका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्।)