वैकल्पिक शिक्षाको अभ्यास गरिरहेका भारतीयहरूको भेलामा तेलांगना पुग्दा मैले 'म्युजियम स्कुल' सञ्चालन गरिरहेका शिवानी घोष र प्रदीप घोषलाई भेट्ने मौका पाएँ।
शिक्षामा नवप्रवर्तनका लागि यस स्कुलले सन् १०१६ मा युनेस्कोको पुरस्कार समेत पाएको थियो। यो लेखमा म्युजियम स्कुलको अभ्यास समेट्ने प्रयास गरेको छु।
म्युजियम स्कुलको जन्म
सन् २००५ जनवरीमा भारतको मध्य प्रदेशस्थित भोपाल सहरको सडक पेटीमा एक दम्पती हिँडिरहेको थियो। त्यस ताका पत्नी शिवानी घोष बि.एड. पढिरहेकी थिइन् भने पति प्रदीप घोष 'ओएसिस' नामक समाजमा विभिन्न नवप्रवर्तनको मोडलहरू खोज्ने एक सामाजिक उद्यम सञ्चालन गरिरहेका थिए।
बस चढ्न उनीहरू एउटा बस स्टपमा उभिए। त्यस समय उनीहरूले दुइटा दृश्य देखे।
एउटा, उनीहरूकै छेउमा केही बालबालिकाहरू बोरा बोकेर सडक पेटीबाट फोहोर टिप्दै थिए।
अर्को, एउटा स्कुल बस आएर रोकियो। केही बालबालिका ओर्लिए। ओर्लिने बित्तिकै ती बालबालिकालाई त्यहाँ पर्खिरहेका आफ्ना अभिभावकले अँगालो हाले। अनि, कसैलाई हातमा डोहोर्याएर त कसैलाई बोकेर आफ्नो बाटो लागे। बोरा बोकेका बालबालिकाले यो सबै हेरिरहेका थिए।
यो देखेर शिवानी र प्रदीप भावुक भए। मुखामुख गरे।
प्रदीपले शिवानीलाई सोधे, 'यी बालबालिकाबीच तिमीले केही समानता पायौ?'
शिवानी छक्क परिन्, केही बोल्न सकिनन्। उनले भिन्नता र असमानता मात्र देखेकी थिइन्।
त्यस समय लामो सुस्केरा हाल्दै प्रदीपले भनेका थिए, 'एउटा कुरा समान छ, दुवै थरी बच्चाले केही न केही बोकेका छन्। फरक यति मात्र हो कि केही बच्चासँग किताब र कापी भएको झोला छ भने केही बच्चासँग फोहोर बोतल, कागज र प्लास्टिकले भरिएको बोरा छ।'
शिवानी र प्रदीप ती बोरा बोक्ने बालबालिकालाई पछ्याउन थाले। केही बेर हिँडेपछि ती बालबालिकाहरू झिँगा भन्किरहेको र कुहिएको फोहोर गनाइरहेको बस्ती नजिक अर्को बालबालिकाको समूहसँग मिसिए। अर्को समूहमा केही बालबालिकाहरू तास खेलिरहेका थिए।
आफ्ना साथीहरूसँग एकछिन भेटेपछि उनीहरू छेउको एउटा मानिसलाई भेट्न गए। आफूले बोकेको बोरा उसलाई थमाए। उक्त मानिसबाट केही सिक्काहरू लिए र नजिकको पसलमा गए। पसलबाट केही किनेर खान थाले।
ती बालबालिकाको छेउमा पुगेर शिवानीले सोधिन्, 'क्या खा रहे हो?' (के खाँदै छौ?)
एउटा बालकले बिस्कुटको प्याकेट देखाए।
उनले फेरि सोधिन्, 'तुम लोगों ने सुबह क्या खाया?' (तिमीहरूले बिहान के खायौ?)
उनीहरूले केही नखाएको बताए।
एक बालकले भने, 'हमारे माँ-बाप सुबह जल्दी काम पर चले जाते हैं। वे रात को लौटेंगे, तब हम खाना खायेंगे।' (हाम्रा आमाबुबा बिहानै काममा जान्छन्। उनीहरू रातमा फर्केपछि हामी खाना खान्छौं।)
बालबालिकालाई भविष्यको सपना सोध्दा सबैले पुलिस बन्न चाहेको बताए।
यसको कारण उनीहरूले बताए, 'पुलिसहरू बेला बेला गाउँमा पसेर हाम्रो बुबा र दाइहरूलाई पिट्छन र जेलमा लान्छन्। हामी पुलिस भयौं भने त्यस्तो हुन दिँदैनौं।'
शिवानी र प्रदीपले थाहा पाए — ती बालबालिका स्कुल जाँदैनन्।
यसको कारण सोध्दा उनीहरूले भने, 'हामीलाई स्कुल राम्रो लाग्दैन। फोहोरी भयौ भनेर गाली गर्छन्। केही लेख्न-पढ्न आएन भने हातमा छडी लिएर शिक्षकले पिट्छन्।'
ती बालबालिकाको स्कुल जाँदाको अनुभव सुनेर शिवानी र प्रदीप निकै मर्माहत भए।
उनीहरूले ती बालबालिका आउने समुदायका स्कुलहरू अवलोकन गर्न थाले।
आफ्नै सहरमा उनीहरूले शिक्षामा गहिरो विभेद देखे। केही बालबालिकाको लागि सुविधा सम्पन्न स्कुल, पर्याप्त शिक्षक र प्रशस्त शैक्षिक सामग्री थिए। केहीका लागि भने भौतिक रूपमा पनि खन्डहर जस्तो स्कुल र अपर्याप्त शिक्षक थिए। कति स्कुलमा पाँचवटा कक्षाका लागि एक जना शिक्षक थिए। ती शिक्षक पनि बालबालिकाप्रति लगाव नभएका र सिकाउन नजान्ने थिए। बालबालिकाहरू स्कुल गए पनि कतिपय स्कुलले उनीहरूलाई वास्ता गर्दैन थिए। कतिपय अभिभावकले भने आफ्ना सन्तानलाई सानैदेखि मजदुरीमा लगाउँथे।
शिवानीलाई शिक्षक बन्न मन थियो, त्यसैले उनी निकै गम्भीर भएर बि.एड. कोर्स अध्ययन गरिरहेकी थिइन्।
कोर्स अध्ययन गर्दा उनलाई लागेको थियो — उनी यो कोर्सबाट जे सिकिरहेकी थिइन्, त्यसलाई स्कुलहरूले राम्रोसँग प्रयोग गर्न सके सार्वजनिक शिक्षा बलियो हुन्छ।
तर सार्वजनिक स्कुल भित्रको जटिलता देख्दै गर्दा उनलाई लाग्यो — सार्वजनिक स्कुल अप्रभावकारी प्रणालीको जालोमा यस्तरी बेरिएको छ कि, त्यहाँभित्र एक नागरिकको पहलमा सुधार ल्याउन निकै कठिन छ।
अनि, शिवानी र प्रदीपले संयुक्त रूपमा अठोट गरे — उनीहरूले भेटेका बोरा बोक्ने बालबालिकाका लागि 'गुणस्तरीय शिक्षा' दिन मूलधारको स्कुलबाहिर बसेर स्वतन्त्र रूपमै पहल गर्ने।
त्यसपछि उनीहरूले कक्षाकोठाको चार पर्खालभित्र राखेर एउटै पाठ रटाउने भन्दा फरक अभ्यास गरिरहेका उदाहरणहरू खोज्न थाले। यही क्रममा उनीहरू भारतका विभिन्न ठाउँ पुगे। पोन्डिचेरीस्थित अरूबिन्दो आश्रम, आन्द्र प्रदेशस्थित जिद्दु कृष्णमूर्तिले सुरू गरेको ऋषि भ्याली स्कुल, पश्चिम बंगालमा रहेको रवीन्द्रनाथ ठाकुरले सुरू गरेको शान्ति निकेतन, आदि।
उनीहरू सिकाइका लागि विभिन्न ठाउँमा घुम्दै गर्दा प्रदीपले सञ्चालन गरेको सोसल इनोभेसन ल्याबले भोपालमा गुणस्तरीय शिक्षामा मापदन्ड के के रहेछन् भन्ने अध्ययन गर्यो। उक्त ल्याबले उत्कृष्ट अभ्यास गरिरहेका र कमजोर स्कुलबीच तुलनात्मक अध्ययन गर्यो। उक्त अध्ययनले तीनवटा पक्षले गुणस्तर निर्धारण गर्छ भन्ने निष्कर्ष निकाल्यो।
पहिलो, बालबालिकालाई सहज र सुरक्षित महसुस हुने संरचना जहाँ बालबालिकाहरू रमाउन र जिज्ञासु हुन सकून्।
दोस्रो, सबल, सक्षम र बालबालिकाप्रति समर्पित हुने पर्याप्त संख्यामा शिक्षकहरू जसले बालबालिकालाई सपना देखाउन सक्छन् र सोही बाटोमा साथ दिन सक्छन्।
तेस्रो, सिकाइका लागि आवश्यक उचित शैक्षिक सामग्री र स्रोतहरू।
उनीहरूको यो अध्ययनले देखायो — साँच्चिकै गुणस्तरीय शिक्षा प्रदान गर्ने हो भने उच्चतम लगानी चाहिने रहेछ। पैसा हुनेहरूसँग गुणस्तरीय शिक्षाको पहुँच छ तर नहुनेसँग छैन।
उनीहरूलाई लाग्यो — सरकारले केही लगानी त गरेको छ तर त्यो पर्याप्त र सही ठाउँमा छैन। त्यो लगानीले शिक्षकको गुणस्तर बढाउन सकेको छैन। स्कुललाई बालबालिकाका लागि आकर्षणको केन्द्र बनाउन सकेको छैन। सरकारद्वारा सञ्चालित सर्व शिक्षा अभियान र दिवा खाजा जस्ता कार्यक्रमले बालबालिकालाई केही समय स्कुलमा ल्याउन सकेको छ तर टिकाउन र सिकाउन सकेको छैन।
उनीहरू कम खर्चमा गुणस्तरीय शिक्षा दिने उपाय खोज्न थाले। नवीन अभ्यास गरिरहेका शैक्षिक संस्थाहरूको सिकाइ संश्लेषण गर्दै गर्दा उनीहरूलाई नयाँ जुक्ति आयो।
गुणस्तरीय शिक्षाका लागि आवश्यक माथि उल्लिखित तीन पक्ष उनीहरूले जुटाए।
पहिलो, भोपालमा धेरै म्युजियम (संग्रहालय) थिए। यसलाई उपयोग गरेर सिकाइका लागि जोड्ने उनीहरूले योजना गरे। म्युजियमलाई सिकाइ केन्द्र (लर्निङ सेन्टर) बनाउने सम्भावना देखे। अनि, विज्ञान, पुरातत्व, प्राकृतिक इतिहास, आदि म्युजियमसँग सहकार्यको प्रस्ताव अगाडि सारे।
म्युजियमबाट सकारात्मक जवाफ आयो किनकि म्युजियमको अर्थपूर्ण उपयोग भइरहेको थिएन। मानिसहरू कहिलेकाहीँ आउँथे, फोटो खिचेर जान्थे तर सिकाइका लागि प्रयोग भएको थिएन। बालबालिकाहरूले म्युजियममा आएर सिक्न सक्ने योजना सुनेर म्युजियमका सदस्यहरू साह्रै खुसी भए।
दोस्रो, म्युजियमका कर्मचारीहरू त्यहाँ राखिएको प्रदर्शनीमा दक्ष थिए तर अन्य जिम्मेवारीले गर्दा उनीहरूको सधैं समय नमिल्ने थियो। शिवानी र प्रदीपले बि.एड. पढाउने कलेजसँग सम्पर्क गरे। उनीहरूले देखे कि स्नातकको अन्तिम वर्षमा विद्यार्थीहरूले पाठयोजना बनाउनुपर्छ र अभ्यास शिक्षण गर्नुपर्छ। तर प्रायःले यसमा औपचारिकता मात्र निर्वाह गर्थे र प्रतिवेदन बुझाउँथे। उनीहरूले कलेज प्रशासनसँग कुरा गरेर प्रयोगात्मक मूल्यांकनका रूपमा अभ्यास शिक्षण गर्नुपर्ने केही विद्यार्थीहरूलाई म्युजियमबाट सिकाउने शिक्षक बनाइदिन प्रस्ताव राखे। कलेजबाट स्वीकृत भयो।
तेस्रो, शिक्षण सामग्रीको रूपमा म्युजियमहरू पुरै सम्पन्न थिए।
उनीहरूले केही स्वयंसेवक परिचालन गरेर सरकारले तोकेको पाठ्यक्रम र म्युजियमका सामग्रीबीच रेखांकन सुरू गरे। पाठ्यक्रमको हरेक पाठसँग सम्बन्धित सामग्री म्युजियममा भेट्टाए।
माथि उल्लिखित बोरा बोकेका बालबालिका रहेको बस्ती र तिनको आसपासको बस्तीमा रहेका विद्यालय नजाने बालबालिकाको सूची बनाए। भोपाल सहरको केन्द्रबाट करिब ५-६ किलोमिटरको दूरीमा रहेका श्यामनगर, पन्चशील, नरेला गाउँ, मिरा नगर लगायत अन्य चार बस्तीबाट बालबालिकाको सूची बन्यो। यी सूचीका रहेका बालबालिकाहरू मूलधारको स्कुल त गएका थिए, तर सजायको त्रास, अपमान, शिक्षकको व्यवहारबाट 'ड्रप-आउट' भएका थिए।
उनीहरूले बालबालिका आउने बस्तीबाटै शिक्षकहरू छनौट गरे। यसको कारण थियो — समुदायको विश्वास प्राप्त गर्न र बालबालिकालाई २४ सै घन्टा सहयोग गर्न सक्ने संयन्त्र निर्माण गर्न। शिक्षकहरू छनौटपछि म्युजियम, कलेज र अन्य शिक्षाकर्मीसँग मिलेर उनीहरूले शैक्षणिक विधि र बाल मनोविज्ञान सम्बन्धी प्रशिक्षण गरे।
अनि सन् २००५ को सेप्टेम्बर ५ बाट बीस जना बालबालिकाको साथमा उनीहरूको यात्रा सुरू भयो।
सुरूमा सूचीमा भएका सबै बालबालिका आउन मानेनन्। कतिपय अभिभावक बालबालिकालाई पठाउन राजी पनि भएनन्।
सुरूमा यस सिकाइ केन्द्रका लागि उनीहरूले दिएको नाम थियो — पर्वरिस। तर यसले पारेको प्रभाव फैलिँदै गएपछि यसलाई मानिसहरूले 'म्युजियम स्कुल' भन्न थाले।
आज बर्सेनि ८० देखि १०० बालबालिकाहरू 'म्युजियम स्कुल' मा आउँछन्। सुरूआतदेखि आजसम्मको १८ वर्षमा करिब पाँच हजार विद्यार्थी यस पहलबाट लाभान्वित भइसकेका छन्।
म्युजियम स्कुलमा प्राप्त गरेको ज्ञान र सीपबाट आत्मबल पाएर माध्यमिक तहमा बालबालिकाहरू डिग्री प्राप्त गर्न मूलधारको स्कुलमा फर्किने गरेका छन्। अनि आफ्नो स्कुल सँगसँगै म्युजियम स्कुलका लागि समय मिलाउने गरेका छन्। विभिन्न कारण वा बहाना बनाएर स्कुलमा अनुपस्थित हुनेहरू पनि म्युजियम स्कुलमा भने दिनहुँ जसो आउने गरेको प्रदीप बताउँछन्। उनका अनुसार यसमा उपस्थिति दर सधैं ९० प्रतिशतभन्दा माथि नै हुने गरेको छ।
म्युजियम स्कुलको दैनिकी र सिक्ने प्रक्रिया
दिउँसो २ बजेतिर शिक्षकहरू बालबालिका जम्मा गर्न उनीहरूको घरघर पुग्छन्। बालबालिकालाई लिन जाँदा शिक्षकहरूले अभिभावकसँग पनि भेटघाट गर्छन्। हालखबर सोध्छन् र बालबालिकाहरूबारे छोटो कुराकानी गर्छन्।
एक ठाउँ बालबालिका जम्मा भएपछि हिँड्दै बस चढ्न जान्छन्। हिँडेर जाँदै गर्दा उनीहरू पालैपालो हिजो देखिको आफ्नो अनुभव र अनुभूति सुनाउँछन्। हिजो राति के भयो, बिहान उठेपछि के भयो, आफ्नो स्कुल र घरमा के भयो — आफ्नो खुसी, दुःख, चिन्ता, तनाव, रोमाञ्चकता सबै सुनाउँछन्।
यो क्रम बस चढेपछि म्युजियम नपुगुन्जेल जारी रहन्छ। म्युजियममा भेला भएर उनीहरू विद्यासम्बन्धी प्रार्थना गीत गाउँछन्। अनि विभिन्न समूहमा विभाजित भएर म्युजियमको विभिन्न ठाउँमा शिक्षकहरूसँग जान्छन्।
शिक्षकहरूले सहजताका लागि बालबालिकाको विभिन्न समूह बनाउँछन्। समूह बालबालिकाको उमेर, कक्षा वा उनीहरूले प्राप्त गर्ने अंकको आधारमा होइन, म्युजियम अवलोकनपछि उनीहरूले सोध्ने प्रश्नको आधारमा बनाउँछन्।
शिक्षकहरूले हरेक दिन कसरी रोमाञ्चक हिसाबले बुझाउन सकिन्छ भनेर योजना बनाएका हुन्छन्। म्युजियममा उनीहरू सोही अनुसार कक्षा सञ्चालन गर्छन्।
उनीहरूको शिक्षण पद्धति मूलतः बालबालिकाको जिज्ञासा र प्रश्नमा आधारित हुन्छ। कक्षा सुरू गर्नुभन्दा अगाडि बालबालिकाहरूले खुला रूपमा अवलोकन गर्छन्। मनमा लागेका प्रश्नहरू सोध्छन्, आफ्ना धारणाहरू सुनाउँछन्। त्यसपछि बालबालिकाको प्रश्नको आधारमा शिक्षकले कति ठाउँमा प्रतिप्रश्न गर्छन्, कल्पना गर्न लगाउँछन् वा व्याख्या गर्छन्। त्यसपछि आफ्नो सिकाइलाई बालबालिकाहरू विश्लेषण र संश्लेषण गर्छन्।
अवधारणाको बुझाइसँगै बालबालिकाहरू आफ्नो विचारलाई बोलेर, लेखेर वा कलाको माध्यमबाट अभिव्यक्त गर्न सिक्छन्। कतिपय अवस्थामा अभिव्यक्तिका लागि आवश्यक साक्षरता र सीपको लागि अतिरिक्त कार्यशालाहरू सञ्चालन हुन्छन्।
दिउँसो ३ बजेदेखि ५ बजेसम्म उनीहरू म्युजियममा हुन्छन्। बेलुका बसमा उनीहरू निस्फ्रिक्री गीत गाउँदै फर्किन्छन्। बेलुका सधैं गीत गुन्जिने भएकाले बाटो छेउछाउका मानिसहरूको ध्यान बसमा पर्न थाल्यो। अनि 'म्युजियम स्कुल' सँगै यस स्कुललाई मानिसहरूले 'बसवाली स्कुल' भनेर बोलाउन थाले।
म्युजियमको सिकाइसँगै विज्ञान प्रविधि, संगीत, चित्रकला, हस्तकला, अभिनय, आदि प्रयोगात्मक रूपमा सिकाउन म्युजियम स्कुलले धेरै विज्ञ, अभ्यासकर्ता र संस्थाहरूसँग सहकार्य गर्ने गरेको छ।
अभिभावक दैनिक मजदुरीमा बिहानदेखि साँझसम्म व्यस्त हुने भएर बालबालिकाले आफ्ना अभिभावकको समय खासै पाउँदैनन्। चाडपर्व र उत्सवहरू खासै मनाउँदैनन्। त्यसैले 'म्युजियम स्कुल' ले कतिपय चाडपर्वहरू सँगै मनाउँछ।
उपलब्धिहरू
'म्युजियम स्कुलको सबैभन्दा मुख्य उपलब्धि के हो?,' मैले प्रदीपलाई सोधेको थिएँ।
उनले भने, 'समुदाय, परिवार र स्कुलमा सधैं अपहेलित र अपमानित हुने बालबालिकाले म्युजियम स्कुलमा माया र सम्मान पाए। यसले उनीहरूको सिकाइका लागि आधार तयार गर्यो र सिक्न सक्छु भन्ने आत्मबल बढायो।'
आत्मब सँगै बालबालिकाको लागि सिकाइ वास्तविक जीवनसँग केही नजिक भयो।
शिवानीले आफ्नो अनुभव सुनाउँदै भनिन्, 'पहिले बालबालिकाको नजरमा हात्ती र मुसाको आकार उस्तै थियो। दुबै किताबको पानामा अट्थे। जब उनीहरूले वास्तविक हात्ती र मुसा देखे, बल्ल आकारको अन्दाज गर्न सके।'
किताबको पानाको श्याम-श्वेत तस्बिर हेर्नुभन्दा म्युजियमका मूर्तिहरू, तस्बिरहरू, प्रोटोटाइप, प्रयोगात्मक प्रदर्शनी हेर्नु बालबालिकाको लागि रोमाञ्चक भयो। यसले उनीहरूलाई विभिन्न अवधारणा बुझ्न सहज बनायो।
एक दिन एक शिक्षक म्युजियममा आइज्याक न्युटनको तस्बिर अगाडि उभिएर गुरूत्वाकर्षण बुझाउँदै थिइन्।
आकाशतिर बल फाल्दै पृथ्वीले सबै वस्तु आफ्नो केन्द्रतिर आकर्षण गर्छ भन्ने अवधारणा बुझाउँदै गर्दा एक बालकले सोधे, 'त्यसो भए धुवाँ चाहिँ किन माथि उडेको त?'
शिवानी भन्दै थिइन्, 'यस्ता अनेकन प्रश्नहरूले हामीलाई रोमाञ्चित बनाउँछ। अनि यस्तो सिकाइमा कुनै विषय मात्र हुँदैन, धेरै विषयका कुरा एकैपटक सिकिरहेका हुन्छन् विद्यार्थीहरू।'
यहाँ बालबालिकाहरू डिग्रीका लागि दिनको पुर्वार्द्धमा मूलधारको स्कुल जान्थे भने उत्तरार्द्धमा म्युजियम स्कुल पनि आउँथे।
तर एकपटक केही दिन कोही म्युजियम स्कुल आएन।
स्थापना कालदेखि यस्तो कहिल्यै भएको थिएन। यो घटनाले सबैलाई चकित बनायो। उनीहरूले बालबालिकालाई कारण सोधे।
मूलधारका स्कुलका शिक्षकले बालबालिकालाई गाली गर्दै भनेका रहेछन्, 'कि म्युजियम स्कुल जाओ, कि हाम्रोमा आओ। अबदेखि हाम्रोमा आएर म्युजियम स्कुल गयौ भने हामी पढाउँदैनौं र परीक्षामा बस्न पनि दिँदैनौं।'
यसबाट अचम्मित भएर शिवानी र प्रदीप स्कुलका शिक्षकहरूसँग कुरा गर्न गए।
शिक्षकहरूले भने, 'म्युजियम स्कुल गएका बालबालिका धेरै प्रश्न गर्छन्। यसले हामीलाई जवाफ दिन र कक्षा चलाउन गाह्रो हुन्छ।'
शिवानी र प्रदीपले ती शिक्षकहरूलाई बालबालिकालाई प्रश्नहरू टिपेर म्युजियम स्कुलमा सोध्न लगाइदिनु भनेर फकाए। त्यसपछि हरेकको कापीमा धेरै प्रश्न हुन्थे। बिस्तारै ती प्रश्नहरू हराउँदै गए। प्रतिस्पर्धाको भावनाले शिक्षकहरूले स्कुलमै बालबालिकाका लागि जवाफ खोज्न थालेछन्।
१८ वर्षको दौरान सबभन्दा खुसी लागेको क्षणबारे सोध्दा प्रदीपले सन् २००५ को पहिलो ब्याचमा सिक्न आएकी एक किशोरीको कथा सुनाए।
आर्थिक रूपले विपन्न परिवारकी उनी जेठी छोरी थिइन्। उनीभन्दा पछि आठ भाइबहिनी थिए। कक्षा दस पढ्दै गर्दा उनलाई बिहे गर्ने दबाब आउन थाल्यो।
बिहे गर्दिनँ भन्दा उनले धेरै गाली र मानसिक यातना सहनुपर्यो।
त्यसपछि उनले भनिछिन्, 'म बिहे गर्छु तर कक्षा १२ नसकीकन बुढाको घर जाँदिनँ। मैले तपाईंहरूको कुरा माने, तपाईंहरूले पनि मेरो सर्त मान्नुपर्छ।'
उनी कक्षा १२ पास नहुन्जेल श्रीमानको घर गइनन्। आफ्ना बाबु र पति कसैमा निर्भर हुँदिनँ भनेर उनले आफ्ना लागि आफैं कमाउन थालिन्। यसरी आफ्नो परिवारमा महिलाले कक्षा १२ पास गरेको र घरबाहिर गएर कमाउन थालेको यो पहिलो घटना थियो।
म्युजियम स्कुलबाट प्राप्त आत्मबलले उनलाई यति प्रभावित गर्यो कि पछि आफ्नो छोरालाई पनि म्युजियम स्कुलमा भर्ना गराइन्।
यस्ता विभिन्न घटना सुनाउँदै प्रदीप र शिवानीले १८ वर्षका निम्न उपलब्धिहरू संश्लेषण गरेर सुनाए।
पहिलो, बालबालिकाको सर्वांगीण विकास भयो। शिक्षा डिग्री वा प्रमाणपत्रका रूपमा मात्र होइन, जीवनोपयोगी सीप विकास गर्ने प्रक्रियाको रूपमा स्थापित भयो।
दोस्रो, बालबालिकाले आफ्नो रूचिको क्षेत्र पहिचान गर्न सके। सोही अनुसार आज उनीहरू धेरै पेसा, व्यवसाय र उद्यममा छन्।
तेस्रो, समाजप्रति सेवाको भाव पनि विकसित भयो। विभिन्न स्थानमा रहे पनि उनीहरूले आफ्नो ठाउँका समाजमा पछाडि परेका परिवार र मानिसहरूबारे सोचेर काम गरेका छन्।
चौथो, शिक्षा कक्षाकोठाको भित्ताभित्र मात्र होइन, बाहिर पनि सम्भव छ भनेर प्रमाणित भयो।
आर्थिक व्यवस्थापन
सुरूआती दिनमा शिवानी र प्रदीपले आफ्नै बचत रकम प्रयोग गरे। त्यसपछि उनीहरूका आफन्त र साथीहरूले सहयोग गरे। परिचित हुँदै गएपछि सर डोराबजी टाटा ट्रस्टले आफैं आएर उनीहरूलाई सहयोग गर्यो। त्यसपछि केही विदेशमा बस्ने भारतीयहरूले सहयोग गरे।
सन् २०१७ पछाडि भने उनीहरूले मानिसहरूलाई एक एक जनाको जिम्मेवारी लिइदिन अनुरोध गरे। मासिक प्रतिव्यक्ति खर्च भारू ८०० लाग्ने रहेछ। यो अनुरोध स्वीकार गर्दै धेरै मानिसहरूले स्वस्फूर्त रूपमा सहयोग गर्न थाले।
अचेल बालबालिकाका अभिभावक, समुदायका सदस्यहरू र अन्य सरोकारवालाहरूले यसमा अपनत्व लिएका छन्।
नेपालका लागि के सिक्न सक्छौं?
म्युजियम स्कुलबारे बुझेर फर्किँदा म सोच्दै थिएँ — नेपालमा त त्यति धेरै म्युजियम छैनन्। राजधानी काठमाडौंमा नै धेरै म्युजियम छैनन्। भएका म्युजियम पनि शासकको इतिहास र गौरवगाथा देखाउने खालका छन्।
तर उनीहरूले उपयोग गरेको 'म्युजियम' त एक माध्यम हो। उनीहरूको सहरमा जे थियो, त्यही उपयोग गरे। बालबालिकाको सिकाइको लागि हामी हाम्रो टोल, गाउँ वा सहरमा भएका स्थलहरूलाई उपयोग गर्न सक्छौं कि?
उनीहरूले मूलधारको स्कुलभन्दा फरक गरे? हामी स्कुल सँगै जोडेर पनि गर्न सक्छौं कि?
गाउँमा चौताराहरू छन्, सहरमा चोकहरू छन्। हामीसँग गुम्बा, मस्जिद, चर्च र मन्दिर छन्। प्रदर्शनी स्थलहरू छन्। जंगल, नदी र खोल्साहरू छन्। बगर, पुल र गल्लीहरू छन्। चिडियाखाना, उद्योगधन्दा र हाट बजार छन्।
कक्षाकोठाको चार पर्खालभित्र सीमित गर्नुभन्दा हाम्रो पाठ्यक्रमसँग सम्बन्ध खोजेर विभिन्न स्थानमा पनि कक्षाहरू सञ्चालन हुन सक्छन् कि?
ट्विटर- @mani_bijaya
(विजयमणि पौडेलका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्।)