आजसम्मका मानव सभ्यता नियाल्ने हो भने पानी र प्रकृतिलाई श्रद्धा गर्ने सभ्यता मात्र संसारमा दिगो छ। काठमाडौं उपत्यकाको नेवार सभ्यताको जग पनि पानी र प्रकृतिप्रतिको आदरबाट अभिप्रेरित छ।
त्यही पानी सभ्यताको धरोहर ऐतिहासिक पर्व सिथिनखः नेवारहरूले आज पनि मनाइरहेका छन्।
कतिपय नेवारले सिथिनखःलाई साँघुरो अर्थमा सरसफाइ गतिविधिका रूपमा लिन्छन् र वः र चतामरीको स्वादमा रमाउने गर्छन्। गैरनेवारहरू पनि किनारमा बसेर चाड मनाएको हेर्ने रहर गर्छन्।
त्यसैले समग्र पृथ्वीप्रति समर्पित पर्व सिथिनखःको विशेषता, यसमा गरिने गतिविधि र त्यसका कारण खोतल्ने प्रयास मैले यो लेखमा गरेको छु।
पानी तथा सरसफाइ दिवस सिथिनखः
यो चाड जेठ महिनाको जेष्ठशुक्ल षष्ठी तिथिमा मनाइन्छ। कुमारको जन्मदिनका रूपमा मनाइने हुँदा यसलाई 'कुमार षष्ठी' पनि भनिन्छ।
यो दिन स्थानीय बासिन्दाहरू मिलेर आफ्नो टोल-छिमेकको पानीका मुहान, इनार, हिति, ढल र मंगाल सफा गर्ने गर्छन्। चन्द्रमासमा आधारित हाम्रो पात्रोअनुसार यो वर्षको सबभन्दा लामो दिन हो। सुख्खा यामको अन्तिम दिन भएकाले पानीका पूर्वाधार सफा गर्ने योभन्दा उत्तम दिन अरू हुन सक्दैन।
अहिले इनारहरूमा पानीको सतह तल झरेको हुन्छ। राजकुला र ढलहरू सुख्खा हुन्छन्। हितिहरूको बहाव वर्षकै न्यून अवस्थामा पुगेको हुन्छ। यस्तो समय पानीका पूर्वाधारको सरसफाइ र मर्मतसम्भार गरेर आउन लागेको बर्खा यामका लागि तयारी गर्नु बुद्धिमत्तापूर्ण कार्य ठहरिन्छ।
यस दिन नेवारहरू कागजको फिरफिरे बनाई अग्लो थुम्कोमा गाडेर हावाको वेग हेर्छन् र त्यसै आधारमा वर्षाको सम्भावनाको आकलन गर्छन् (राजनलाल जोशी, लः व घः (नेपाल भाषा) २०७२)।
इनार लगायतका पूर्वाधार सफा गर्दा सामान्यतया कपासको नाग (पुइं) बनाएर अक्षता, गाईको दूध लगायत सामग्रीबाट नागको पूजा गरिन्छ र त्यसपछि मात्र सरसफाइको काम थालिन्छ। इनारमा पानी भित्रिने स-साना छिद्र वर्षभरि पानीको बहावसँगै आएका स-साना कणले टालिन थालेका हुन्छन्। ती छिद्र खोल्ने, इनारको पिँधमा खसेका र जमेका फोहोर निकाल्ने लगायत काम युवाहरू मिलेर गर्छन्। यसरी इनारभित्र पस्दा पहिले दियो बालेर भित्र अक्सिजन भए-नभएको यकिन गर्न भुल्नु हुँदैन।
इनारको पिँधमा साधारणतया साफि ल्हों भनिने एक प्रकारका गोला चिल्ला सेता ढुंगाहरू खसालिएका हुन्छन्। यी ढुंगाले वर्षभरि इनारको पिँधमा जम्मा हुने फोहोर तथा लेउहरू आफ्नो सतहमा टाँसेर राखेका हुन्छन्। वर्षभरिको फोहोरले कालो हरियो भएर बसेका यी ढुंगा यो दिन बाहिर निकालेर फेरि सेतो हुने गरी सफा पारिन्छ र पुनः इनारको पिँधमा खसालिन्छ।
यति मात्र होइन, इनारमा जम्मा भएका लवण तथा धातुजन्य पदार्थलाई ढिका पार्न एउटा इनारमा करिब सानो केराउ जत्रो परिमाणमा पारोको दाना पनि पिँधमा पानीसँगै राखिन्छ (सामान्यतया पारोलाई विषका रूपमा लिइने भएकाले आधुनिक विज्ञानले पानीमा पारो राख्न नहुने बताउँछ। यसबारे ठोस अध्ययन आवश्यक छ, तर नितान्त सानो मात्रामा राख्ने र त्यो पानी चार दिनसम्म नचलाउने तरिका पारोको प्रभाव हटाउन अपनाइएको हुनुपर्छ- भुवन श्रेष्ठसँगको संवादबाट)। इनार वरिपरि चुन छर्केर सफाइ पनि गरिन्छ।
यसरी सफाइ गरिसकेपछि चार दिनसम्म उक्त इनारको पानी कसैले नचलाओस् भनेर इनारलाई नर्कटको त्रिखुट्टी बनाएर छोपिन्छ। चार दिनपछि फेरि नाग पूजा गरेर इनारलाई उपयोगमा ल्याइन्छ।
सार्वजनिक पूर्वाधारहरूको मर्मतसम्भारमा स्थानीयले वास्ता गर्न छाडेपछि यक्ष मल्लले विधान बाँधेर सिथिनख: पर्व सुरू गरेको भनाइ छ (लिलाभक्त मुनंनकर्मी, हाम्रा सांस्कृतिक पर्व र जात्राहरू - २०४३)। तर सिथिनखः परम्पराको इतिहास लिच्छविकाल र त्योभन्दा पनि पुरानो भएको परम्परागत गतिविधिहरूबाट बुझ्न सकिन्छ।
यति मिहिनेत गरिसकेपछि स्वाभाविक रूपमा त्यो साँझ खानपिन र रमाइलो त हुने नै भयो। नेवारहरू कुनै पनि शुभकार्य कुमारको पूजा नगरी गर्दैनन्। प्रत्येक बिहान आफ्नो दैलो अगाडिको पिखालखु अर्थात् कुमारको पूजा नगरी परिवारको दिनचर्या सुरू हुँदैन।
अझ सिथिनखः वा कुमारको जन्मदिनको दिन त पिखालखु राम्ररी नै सजाइएको हुन्छ। यस दिन कम्तिमा चारथरीका वःसहित समयबजीको भाग पिखालखुमा चढाएर सिथिनखः मनाइन्छ। मास, मुंग, सानो केराउ र मुसुरको वः लगायत चतामरी र अन्य व्यञ्जन यो चाडका विशेषता हुन्।
दिगुपुजाः प्रकृति संरक्षणको चाड
सिथिनखःसँग अन्योन्याश्रित रूपमा जोडिएको अर्को सांस्कृतिक पूजा देगु पूजा (वा दिगुपूजा) हो, जसलाई 'देवाली' पनि भनिन्छ।
नेवारहरूले आफ्नो कुल देवताको पूजाका रूपमा बर्सेनि मनाउने भएकाले प्रत्येक परिवारमा यसको आफ्नै महत्त्व छ। यो पूजा सामान्यतया अक्षय तृतीयाबाट सुरू भएर सिथिनखः अर्थात् जेष्ठ शुक्ल षष्ठी तिथिमा सकिन्छ।
परिवारहरू आफ्नो सुविधा हेरेर अक्षय तृतीया पछाडिको कुनै आइतबार वा बिहीबारको दिन आ-आफ्नो कुलदेवता स्थानमा पूजा गर्न जान्छन्। यो दिनलाई नेवारहरू तःदिं अर्थात् 'ठूलो दिन' भन्छन्। कथंकदाचित् यी दिनमा भ्याइएन भने बाँकी सबैले सिथिनखःको दिन पूजा गर्छन्।
आजबाट मौसम गृष्मबाट वर्षा ऋतुमा परिवर्तन हुने भएकाले सिथिनखःपछि कुनै पूजाआजाका कार्य गरिँदैन।
दिगुपूजा वा देगु पूजाको वास्तविक अर्थ दे अर्थात् देश वा बस्ती र गुँ अर्थात् वन वा पहाड हो (प्राध्यापक डा. गोविन्दबोल श्रेष्ठसँगको संवादबाट)। यसको अर्थ नेवारहरू यो पूजा बस्तीभित्र होइन, आफ्नो बस्तीबाहिर वन वा प्रकृतिमा गर्छन्। अचेल कतिपय परिवारको दिगुद्य (कुलदेवता) बस्तीको बीचमा पनि पाइन्छ।
यी बस्तीको इतिहास खोतल्ने हो भने ती स्थान कुनै समय बस्ती बाहिरको चउर वा वन थियो जहाँ समयकालमा मानव बस्ती विस्तार गरियो भन्ने थाहा हुन्छ। यसको ज्वलन्त उदाहरण पाटनको बस्तीबीचमा रहेको पूर्णचण्डीलाई लिन सकिन्छ।
दिगुपूजा स्थल सामान्यतया बस्ती नजिकको ख्य: (चउर), पोखरीको डिल, पानीको स्रोतस्थल लगायत पर्यावरणीय हिसाबले संवेदनशील क्षेत्रमा राखिएको हुन्छ। यी क्षेत्रमा मानवीय गतिविधि नहुन् भनेर यसो गरिएको हो।
कोही टाढाबाट त्यहाँ बसाइ सरेको छ भने कतिपय अवस्थामा आफू आएको दिशाबाट नजिकको स्थलमा कुलदेवता सारिएको हुन्छ। उदाहरणका लागि, पाटनको पुल्चोकका अधिकांश बासिन्दा कीर्तिपुरबाट बसाइ सरेकाले उनीहरूको दिगुद्य (कुल देवता) हालको सेन्टमेरिज स्कुलबाट उत्तर सानो चउरमा छ। कुनै समय राजकुलोको बगलमा रहेको उक्त चउर हाल पार्किङका लागि प्रयोगमा ल्याइएको छ।
त्यस्तै काठमाडौंको टुँडिखेल, लैनचउर, बुरांख्योः, मचली, पचली लगायत स्थानमा पनि दिगुद्य देखिन्छ। भक्तपुर सहर वरिपरिका सिद्धपोखरी, कमलविनायक पोखरी, रानीपोखरी, नापुखु लगायत थुप्रै ठाउँमा दिगुपूजा गरेको भेट्न सकिन्छ।
प्रत्येक परिवार, कुल वा जातिको आ-आफ्नै कुल देवता हुन्छ। एउटै चउरमा पनि यस्ता देवस्थल पीठहरू थुप्रै हुन्छन्। यी पीठलाई नियालेर हेर्ने हो भने नेवारहरूको दिगुद्य (अर्थात् कुलदेवता) मा कुनै देवदेवीको आकृति कुँदिएको हुँदैन। खोलाको चिल्लो ढुंगा प्रतिस्थापन गरिने यी देवस्थलमा मठ-मन्दिर जस्ता निर्माण कार्य गर्न वर्जित छ।
यी प्राकृतिक आधारभूमिमा मानिसहरूको कमभन्दा कम हस्तक्षेप मात्र स्वीकार्य छ भन्ने ज्ञानबाट यो प्रक्रिया निर्देशित भएको प्रस्ट बुझ्न सकिन्छ। अन्यथा, प्रस्तर कलामा पोख्त नेवारहरू आफ्ना पुर्खासँग जोडिएका यी महत्त्वपूर्ण देवताका लागि यतिबिघ्न सामान्य रूपमा प्रस्तुत हुनु उनीहरूको बेवास्ता वा कञ्जुस्याइँ होइन। बरू प्रकृतिमा कमभन्दा कम हस्तक्षेप गर्ने उद्देश्य हुनुपर्छ।
यस्ता पीठ यतिबिघ्न सामान्य भइकन पनि यहाँका देवतालाई प्रस्तर तोरणले सजाइएको हुन्छ। प्राकृतिक आधार क्षेत्रमा स्थापित यी पीठमा सजाइएको तोरणमा छ्यपु, नाग र मकरका आकृति कुँदिएका हुन्छन्। यी आकृतिले प्रत्येकचोटि हामीलाई नेपाल मण्डल कुनै बेला दह थियो जसमा यी जीवजन्तुहरूले राज गर्थे भन्ने सम्झाउँछ।
उनीहरूको कृपाबाट नै आज हामी यो उपत्यकामा बस्न सम्भव भएकाले ढुंगाका तोरणहरूले कृतज्ञता व्यक्त गरिरहेको हुन्छ। अझ यो तोरणको ढुंगाले यस संवेदनशील क्षेत्रको हावासमेत नरोकोस् भनेर त्यसमा तीनकुने प्वाल पारेर वायुद्वार बनाइएको हुन्छ।
यसरी वर्षको एकचोटि भए पनि प्रकृति पुज्न निक्लेका परिवारले प्राकृतिक धरोहरसँगको सम्बन्ध ताजा गर्ने अवसरका रूपमा दिगुपूजालाई लिन सकिन्छ।
स्वाभाविक रूपले त्यस क्षेत्रमा वर्षदिनमा बिग्रेका बाटा, पहिरो वा अन्य क्षतिबारे थाहा पाउने र त्यसको मर्मतसम्भारमा जुट्ने अवसरका रूपमा दिगुपुजालाई बुझ्नुपर्छ। त्यसैले यो चाड प्राकृतिको परम्परागत वार्षिक अडिट पनि हो भन्दा अत्युक्ति नहोला।
धारांकुरणः वर्षातको जन्म अर्थात् कुमार षष्ठी
कुमार षष्ठी प्रकृति पूजा मात्र होइन, जीवनयापनको सुरूआतको संकेत पनि हो। यस दिन महादेव र पार्वतीको प्रथम पुत्रका रूपमा कुमारको जन्म भएको धार्मिक विश्वास भए पनि प्रकृतिसँगको यसको नाता वर्षातसँग जोडिएको छ।
कृषिमा आधारित तत्कालीन समाजमा वर्षाको बच्चाका रूपमा चिनिने कुमारको जन्म वास्तवमा वर्षाको जन्मको द्योतक हो। मनसुन वर्षामा आश्रित दक्षिण एसिया क्षेत्रको पर्यावरणमा वर्षाको सुरूआतले निकै ठूलो अर्थ राख्छ।
शरद ऋतुमा नै गर्भाधान गरेको बादलबाट वर्षाको पहिलो बुँदसँगै यिनको जन्म हुन्छ भन्ने मान्यताले तत्कालीन समाज यसलाई धारांकुरण अर्थात् धाराको अंकुरण भएको दिनका रूपमा मनाउने गर्छ (गौतमबज्र बज्राचार्य, The Creatures of the Rain, Rivers, Cloud, Lakes: Newars Saw Them, So Did Ancient India - 2009)। वैदिक युगभन्दा पहिले नै उपयोगमा आएको यो संस्कृतिलाई वैदिक समाजले निरन्तरता दिएको भए पनि दक्षिण एसियाका प्रायः मुलुकमा लोप भइसकेको यो पूर्व वैदिक संस्कारलाई नेपाल मण्डलका नेवारहरूले निरन्तरता दिँदै आएको तथ्य प्राध्यापक गौतमबज्र बज्राचार्यले सप्रमाण प्रस्तुत गर्नुभएको छ।
यस दिन वर्षाको जन्मपछि नेवार किसानहरू प्वाचा तय्गु अर्थात् पुवा प्वा (धानको बिउ) राख्ने कार्यको सुरूआत गर्छन्। त्यसैले पनि ऋतुअनुसार सिथिनखः नेवारहरूको कृषि क्यालेन्डरको वर्षको अन्तिम चाड हो।
यसपछि दुई महिना कृषि कार्य हुन्छ, अनि मात्र अर्को वर्षको चाडपर्वको क्यालेन्डर सुरू हुन्छ।
खेतीकर्म खासगरी धान रोपाइँको सुरूआत हुने भएकाले नै हुनुपर्छ, यो दिनपछि सिनाज्या (रोपाइँ) गीत गाउन थालिन्छ।
नेवार सभ्यतामा लाक्षणिकताको धेरै महत्त्व छ। तेजवान कुमार सांकेतिक रूपमा वर्षाका प्रतीक हुन्। मनसुनी वर्षाको वेगको प्रतिविम्बका रूपमा यस भूमिपुत्रको भाव जनमानसमा दिन खोजेको बुझिन्छ।
सिथिनखःको दिन वर्षाको प्रतीकका रूपमा जन्मेका कुमार दुई सातामै वेगवान युवामा विकसित भएको सम्झनामा नेवारहरूले थप परम्परालाई निरन्तरता दिँदै आएको पाइन्छ। पूर्ववैदिक शब्द भल भल (वा वल वल) ले मुसलधारे पानीको वर्षालाई जनाउँछ। यही पानीको धारलाई नेवारहरू भल भल देवी, भल भल नदी आदि नामले पुकार्थे, जसलाई पछिल्लो कालमा महाकाली देवीका रूपमा व्याख्या गरिएको पाइन्छ (प्राध्यापक डा. सुदर्शनराज तिवारीसँगको संवादबाट)।
त्यसैले आज पनि भक्तपुरको नवदुर्गाको ख्वापा सेलाउने कार्य भल भल अष्टमीको दिन नवदुर्गा मन्दिर छेउका वल धःमा गरिन्छ।
'वर्षातको यो प्रवाह वलको ध्वनिमा बर्सियोस्' जस्ता वाक्यांश अथर्व वेद लगायतका पौराणिक ग्रन्थमा व्यक्त गरिएको पाइन्छ। सिथिनखःसँग वल वलको सम्बन्ध वर्षाको जन्मसँग सम्बन्धित छ भन्ने ग्वलः अर्थात् देवपतन पशुपतिमा बर्सेनि मनाइने त्रिशूल जात्राले पनि प्रस्ट्याउँछ।
सिथिनखःको १७ दिनपछि असार कृष्ण अष्टमीको दिनलाई नेवारहरू भल भल अष्टमी भन्छन्। यस दिन ग्वलः देशमा आठ-नौ वर्षका किशोर-किशोरीलाई कुमार र कुमारीका रूपमा तान्त्रिक विधिपूर्वक त्रिशूलमा रोपेर आकाशतिर फर्काएर नगर परिक्रमा गरिन्छ। यसलाई ब्रह्माण्डबाट बर्सने तीन धारको नदी सोहोरिएर एकधार भई मुसलधारे वर्षा भल नदीका रूपमा पृथ्वीमा बर्सने कार्यका रूपमा सम्झने गरिन्छ।
युवावस्थाको यो वर्षाको जन्म सिथिनखःको दिन भएको प्रतीकका रूपमा त्रिशूल जात्रामा उनिने कुमार र कुमारीको चयन सिथिनखःको दिन गरिन्छ।
यसरी सिथिनखः वर्षाको जन्म र नयाँ कृषि वर्षको तयारीका रूपमा मनाइने सांस्कृतिक चाड हो। जसरी सिथिनखःपछि धानको बिउ राख्न सुरू हुन्छ, त्यसरी नै दुई साता पछाडि भल भल अष्टमीबाट धान रोपाइँ सुरू गरिन्छ।
सिथिनखः एक ऐतिहासिक पृथ्वी दिवस
मानवीय आवश्यकताले नीति नियम बन्छ र यसको गुणात्मक निरन्तरताले संस्कृतिको जन्म हुन्छ। अन्य थुप्रै समाजले जस्तै नेवार सभ्यताले पनि प्रकृति व्यवस्थापनलाई संस्कारका रूपमा अंगालेको पाइन्छ।
युगौंअघि नै सहरीकरण भएको नेवारी समाजका लागि प्रकृति संरक्षण अझ बढी सान्दर्भिक थियो। त्यसैले हुनुपर्छ, यो समाजमा सामाजिक र प्रकृति व्यवस्थापनका परम्परा सुरूदेखि रहिआएको छ। त्यसको राम्रो उदाहरण सिथिनखः पर्व पनि हो।
यो दिन पानीका पूर्वाधारको मर्मतसम्भार मात्र होइन, घर-घरमा गरिने पारिवारिक पूजामा पनि पृथ्वीलाई केन्द्र भागमा राखिएको पाइन्छ। सामान्यतया घरको माथिल्लो तल्लामा पूजाआजा गर्ने नेवारहरूको सिथिपूजा पृथ्वी अर्थात् भूमिमा हुन्छ। त्यसका लागि यो पूजा भुइँतलामा गरिन्छ।
यस दिन मण्डपको बीचमा गोलाकार पृथ्वी बनाइएको हुन्छ (रमापतिराज शर्मा, खोपृगं संग्रह भाग १ - २०७४)। पहेँलो रंगलाई पृथ्वीको प्रतीकका रूपमा लिइने हुनाले यस दिन पहेँलो टीकाबाट मण्डप बनाइन्छ भने पहेँलो कपडा अर्पण गर्ने चलन छ। दिगुपूजामा पनि पहेँलो कपडा चढाइन्छ। जयन्ती, जाई जस्ता पहेँला फूलहरू यस दिनका आकर्षण हुन्।
यसरी सिथिनखः पानी र प्रकृतिको व्यवस्थापन र संरक्षणको दिन भएकाले यो नेपालको मौलिक पृथ्वी दिवस हो।
हामीले के सिक्ने?
सिथिनखःबाट सबभन्दा बलियो सिकाइ स्थानीय जनताको सहभागितामा सहर व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने ऐतिहासिक पाठ हो।
यसलाई नगरपालिकाहरूले योजनाबद्ध तरिकाले उपयोगमा ल्याउने हो भने वातावरण संरक्षणदेखि पानी सम्बर्द्धनका थुप्रै कार्य दिगो रूपमा सञ्चालन गर्न सकिन्छ। जनतामा कर थोपरेर ठेकेदारी प्रथाबाट दिगो सहरी व्यवस्थापन सम्भव छैन भन्ने विश्वव्यापी अनुभवबाट सिक्ने हो भने स्थानीय सहभागिता कसरी ल्याउने, उनीहरूलाई वातावरण संरक्षणको एजेन्डामा कसरी सहभागी गराउने भन्ने उपाय यो चाडबाट सिक्न सकिन्छ।
आज सरसफाइको आवश्यकता विस्तार भएको छ। गैरकृषि पेसाको बाहुल्य भएको आजको अवस्थामा सिथिनखः जस्ता चाड उपयोगको कार्यक्षेत्र पनि विस्तारित हुन जरूरी छ। सहरहरूमा बिस्तारै परम्परागत इनार हराउँदै गएका छन् भने प्रत्येक घरमा पानी ट्यांकी राख्ने चलन छ। ती ट्यांकी वर्षौं सफा नगरिने हुँदा पानीको गुणस्तर बिग्रनु स्वाभाविकै हो। त्यसैले आजको दिनलाई सार्वजनिक मात्र होइन, निजी पानीका पूर्वाधार सरसफाइ गर्ने अनिवार्य अवसरका रूपमा उपयोग गर्नु उपयुक्त हुन्छ।
जनस्वास्थ्यका लागि जिम्मेवार नगरपालिकाहरूले डेंगी लगायत पानीजन्य रोगहरूको रोकथामका लागि यस्ता अभियानको नेतृत्व गर्नु जरूरी छ।
त्यस्तै, सहरको फोक्सोका रूपमा छुट्याइएको ख्योः अर्थात् टुँडिखेल, लगनखेल, जावलाखेल लगायत स-साना देवाली गर्ने चउर, मैदान र पोखरीहरूलाई मिचाहा संस्थाहरूबाट फिर्ता लिने अभियानको थालनी गर्नु जरूरी छ। चाहे सरकारले मिचेको टुँडिखेल होस् वा लगनखेलमा बनेका सरकारी अड्डा-अदालत; यी पर्यावरणीय धरोहरहरू प्रकृतिलाई फर्काउने अभियानको सुरूआत पनि सिथिनखः मनाउने काइदा हुन सक्छ।
पुल्चोकबाट झम्सीखेल जाने चउरमा मिचिएको देवाली स्थल होस् वा बाँसबारी छालाजुत्ताको जग्गाको मिचाइ; यी सबै हाम्रा पुर्खाले प्राकृतिक धरोहरका रूपमा स्थापित गरेका पवित्र भूमि हुन्। यी भूमिको महत्त्व कुनै भव्य मन्दिरभन्दा कम होइन भन्ने चेत सिथिनखःलाई बुझ्ने मान्छेले सजिलै लगाउन सक्छ।
देश गणतन्त्रात्मक संघीयतामा गएको अवस्थामा यी संस्कृतिहरूको उत्थान हुनुपर्ने हो। तर संघीयताको सफलतामा शंका गर्नेहरूले के बुझ्न जरूरी छ भने प्रादेशिक सरकार र मुख्यमन्त्रीहरूको व्यवस्थाले संघीयता दरिलो बन्ने होइन। उनीहरू त माध्यम मात्र हुन्। जबसम्म स्थानीय कला, संस्कृति र विज्ञानलाई नेवार, गुरूङ, लिम्बू, मधेसी वा थारूको भनेर सानो भूगोलमा संकुचित पारिन्छ, तबसम्म संघीयताको ऊर्जा उपयोग हुने छैन र यसको असफलताका लागि बहाना मात्र बन्ने छ।
जब यी जाति तथा जनजातिका संस्कृतिमा उनिएका विज्ञान, प्रविधि र दर्शनलाई राष्ट्रिय संस्कृतिमा एकाकार गरिन्छ, तब मात्र यो राष्ट्र मेरो पनि हो, र हाम्रो हो भन्ने भावनाको ऊर्जाले परिचालित हुन पुग्छ। त्यस बेला नेपाल साँचो रूपमा समस्त नेपालीको आफ्नो हुन जान्छ।
सिथिनखः नेपालको मौलिक पृथ्वी दिवस हो। आजको विश्व जलवायु परिवर्तनको प्रहार खेप्न बाध्य भइरहेका बेला प्रकृति संरक्षणको यस अभियानलाई विश्वव्यापीकरण गर्न जरूरी छ। तर सुरूआत राष्ट्रिय संस्कृतिका रूपमा उपयोगमा ल्याएर गर्न सकिन्छ।
नेपालमा २५० वर्षभन्दा बढी राज गर्ने शाह राजाहरूले काठमाडौंमै बसेर यहाँको संस्कृतिभन्दा आफूलाई माथि र फरक गर्ने प्रयत्नले नै उनीहरूले धरातलमा खुट्टा टेक्ने ठाउँ नपाएका हुन्। गणतान्त्रिक नेपालका आजका शासकहरूले पनि राजनीतिक शुभलाभमा यस्ता पर्वलाई 'जयजयकार' गरे पनि राष्ट्रिय संस्कृतिमा आत्मसात् नगरेसम्म उनीहरू जराबिनाको रूख हुने निश्चित छ।
त्यसैले जाति-जनजातिहरूले संरक्षण र सम्बर्द्धन गरेर राखेका सांस्कृतिक धरोहरहरूलाई राष्ट्रिय संस्कृतिमा एकाकार गर्न कोसिस गर्नु जरूरी छ। त्यसको सुरूआत सिथिनखःलाई नेपालको पृथ्वी दिवसका रूपमा मनाउनेबाट किन नगर्ने?
***