जब मनसुनको उग्रताले मेलम्ची खोलाको शान्त लहर भड्काउँछ, तब एक खोलाको प्रवृत्ति मात्र होइन, सम्पूर्ण समुदायको अस्तित्व संकटमा पर्छ।
जलवायु परिवर्तनले थपिएको तापमान, अतिवृष्टि र हिमताल विस्फोटले मेलम्ची खोला र यस आसपासका क्षेत्रहरू निरन्तर संकटमा छन्। हिउँदमा शान्त भए पनि, मनसुनको आगमनसँगै खोलाको बर्खे क्रोधको सामना गर्न बाध्य छन्।
कहिले दायाँ, कहिले बायाँ, सर्प आकारमा बग्दै जाने खोलाले तटीय क्षेत्रका बासिन्दाहरू, खोला किनारै किनार यात्रा गर्नेहरू र स्थानीय सरकारहरूमा त्रास र तनावको वातावरण सिर्जना गरिरहेको छ।
२०७८ सालको मेलम्ची बाढीपछि हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिका सबभन्दा बढी सास्ती र त्रास भोग्न बाध्य भएका हुन्। जल तथा मौसम विज्ञान विभागको तथ्यांक अनुसार बाढी आउनुअघि तार्केग्याङ र सेर्माथाङ जल मापन केन्द्रहरूमा पाँच दिनसम्म लगातार २०० मिलिमिटर (मिमी) भन्दा बढी वर्षा भएको थियो। लगातार वर्षाले विनाशकारी बाढीको शक्तिलाई बढायो। करोडौंको क्षति बेहोर्न बाध्य बनायो।
मेलम्ची नगरपालिका विशेषगरी मेलम्ची खोला र इन्द्रावती नदीको क्रोध सहनुपर्ने अवस्थामा छ।
हालसालै, २०८१ असार ३१ गते आएको बाढीले मेलम्ची नगरपालिकाको ९ र १० नम्बर वडाका तटीय क्षेत्रमा ठूलो क्षति पुर्यायो। यो बाढीले नगरपालिकामा पुनः त्रासको वातावरण सिर्जना गर्दै विगतका दुःखद स्मृतिहरू ताजा गराइरहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार, उक्त दिन गौरीशंकर हिमशृंखला क्षेत्रमा १२५ मिमी वर्षा भएको थियो। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले राखेको गञ्जला स्टेसनमा ३१.६ मिमी वर्षा देखिएको थियो। उक्त स्टेसन चार हजार मिटरमाथिको उच्च भूभागमा छ।
हेलम्बु गाउँपालिकामा बाढीपहिरोको जोखिम उच्च छ। भिरालो जमिन र नदीको उच्च बहावका कारण, हेलम्बु क्षेत्र विशेषगरी बर्खामा थप संवेदनशील हुन्छ।
यस्तो बेलामा, हेलम्बु गाउँपालिकाका विपद फोकल पर्सन हरिबहादुर श्रेष्ठको दैनिकी थप व्यस्त हुन्छ।
उनी जोखिमयुक्त बस्तीहरूमा बाढीको सूचना प्रवाह, पूर्वकार्यहरूको समन्वय र सडक मार्गहरू तत्काल खुलाउने काममा लागि पर्छन्। उनलाई साथ दिन श्याम सुन्दर लामिछाने अहोरात्र खटिरहेका हुन्छन्।
लामिछाने पूर्वसूचना प्रणाली परियोजना सञ्चालन गरिरहेको स्थानीय गैरसरकारी संस्थामा कार्यरत छन्। उनी पूर्वसूचना र पूर्वकार्यका लागि सामुदायिक तयारीमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै, हेलम्बु गाउँपालिकाको स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्रसँग सहकार्य गर्दै जोखिमयुक्त समुदायहरूलाई सचेत गराउन लागि परेका छन्। हेलम्बु क्षेत्रमा मानवीय संकट हुन नदिन सडक यातायात सञ्चालनमा छ। बाढीको जोखिम हटाउन हेभी मेसिनहरू तम्तयार अवस्थामा छन्।
यसपालिको मनसुनमा दर्जनौंपटक बाढी र पहिरोजन्य घटनाहरूले समुदाय र खोला किनारका सडकमार्गलाई क्षति तथा अवरोध पुर्याइरहेको छ।
हरिबहादुर, श्याम सुन्दर, वडा अध्यक्षहरू तथा गाउँपालिका अध्यक्ष प्रतिकार्यमा खटिरहेका छन्। मानवीय संकट टारिरहेका छन्। बाढीको थप क्षति रोकिरहेका छन्। त्रास र डर हटाउने प्रयास गरिरहेका छन्।
२०८१ साउन २५ गते मेलम्ची खोलामा आएको बाढीले हेलम्बु गाउँपालिकामा रहेको मेलम्ची भ्याली क्याम्पसलाई उच्च जोखिम बनायो। क्याम्पस संरक्षणका लागि बनाइएको तटबन्ध नै भत्कियो। गाउँपालिकाको नेतृत्व र टिम तीन दिनसम्म क्याम्पस बचाउन अहोरात्र खटिए। हाललाई विपद टरेको छ। तर त्रास र जोखिम निर्मूल भइसकेको छैन।
हेलम्बु गाउँपालिकाले बर्सेनि लाखौं खर्च गरेर नदी नियन्त्रण र खोला तटीय क्षेत्रका सडक मर्मत/सम्भार र व्यवस्थापन गर्ने गरेको छ। यसले गर्दा विपदका घटना कम भएका छन्। सवारी आवतजावतमा अड्चन भएको छैन।
जल तथा मौसम विज्ञान विभागका अनुसार गौरीशंकर हिम शृंखला बढी वर्षा हुने क्षेत्र अन्तर्गत पर्छ। यो हिम शृंखलाबाट मेलम्ची र इन्द्रावती नदीहरू बग्छन्। यी हिम क्षेत्रहरूमा पछिल्लो समयमा अतिवृष्टि भइरहेको छ। कमजोर हिमाली भूबनोटका कारण नदीका मुहानमा समस्या हुन थालेको छ। बेँसीमा बाढी आउने गरेको छ।
मेलम्ची बाढीको उदगम स्थल भ्रेमाथाङ क्षेत्रमा १७ मेट्रिक टन ग्रेगान रहेको अनुसन्धानले देखाएको छ। भ्रेमाथाङमा मेलम्ची धार परिवर्तन गरी बग्छ। उल्लेख्य मात्रमा गेग्रान बग्छ, कटान गर्छ र भिरालो जमिनमा बढी बहावमा बग्छ। यसले गर्दा स-साना पहिरो जान सक्ने र पहिरोले खोला थुनिन सक्ने सम्भावना धेरै छ। थुनिएको खोला विस्फोट भएर बाढी आउने जोखिम उच्च छ।
हेलम्बु र मेलम्ची नगरपालिकाले विपद जोखिम न्यूनीकरणका लागि बजेट छुट्ट्याएका छन्। विपदको बहुआयामिक जोखिम व्यवस्थापन गर्नुपर्ने बजेट नदी तथा बाढी र पहिरो नियन्त्रण, जोखिमयुक्त बस्ती संरक्षणमै सकिने गरेको छ। पालिकाहरूसँग स्रोतसाधन तथा बजेट धेरै न्यून छ। त्यसैले समुदायको अपेक्षा बमोजिम दिगो र प्रभावकारी कार्य गर्न सकिरहेका छैनन्। प्रदेश र संघीय सरकारले यथाशीघ्र पर्याप्त बजेटसहितको नीति, कार्यक्रम निर्माण र कार्यान्वयन गर्नुपर्ने देखिन्छ।
हरेक विपदको पहिलो असर समुदायमा हुन्छ। समुदाय नै विपदको पहिलो प्रतिकारक पनि हो। समुदायलाई बहुप्रकोप, यसको शक्ति र यसले गर्ने क्षतिबारे राम्रो जानकारी हुनुपर्छ। आफू बच्ने र अरूलाई पनि बचाउन सामूहिकताको भावना जागृत गराउनुपर्छ। सरोकारवाला निकायहरूसँग समन्वय र सहकार्य गर्नुपर्छ। सम्भावित विपद तथा प्रकोपसँग जुध्न आवश्यक स्रोत, साधन, ज्ञान, सीप, क्षमता सबै जोहो हुनुपर्छ।
साथै, विज्ञहरूले सुझाएका उपायहरू कार्यान्वयन गर्नुपर्छ।
मेलम्ची बाढीको जोखिम न्यूनीकरणका लागि अल्पकालीन र दीर्घकालीन उपायबारे त्रिवि इञ्जिनियरिङ अध्ययन संस्थान विपद अध्ययन केन्द्रका निर्देशक डा. वसन्त राज अधिकारी र प्राक्टिकल एक्सनका जलवायु विज्ञ डा. धरम राज उप्रेतीले विभिन्न सुझाव तथा राय दिएका छन्। यी विज्ञद्वय मेलम्ची बाढीपछि हेलम्बु-मेलम्ची क्षेत्रमा जलवायु तथा विपद जोखिम सम्बन्धी खोज तथा अनुसन्धानमा निरन्तर सक्रिय छन्।
अल्पकालीन उपाय:
- जोखिमयुक्त बस्तीहरू केन्द्रित पूर्वसूचना प्रणालीको विकास र प्रभावकारी प्रयोग।
- नदी तटीय क्षेत्रमा रहेका जोखिमयुक्त बस्ती संरक्षणका लागि अल्पीकरण र रोकथामका उपायहरू गर्ने।
- खोलामा चुलिँदै गएको गेग्रान सही तवरले उत्खनन गरी खोलालाई पुरानो लयमा फर्काउने।
- गेग्रानसहितको भेल बाढीको एक स्थानबाट अर्को स्थानमा पुग्न लाग्ने समय पत्ता लगाउने। यसले जोखिममा रहेका समुदाय तथा व्यक्तिहरूलाई पूर्वतयारी र पूर्वकार्य गर्ने समय उपलब्ध हुन्छ।
दीर्घकालीन उपाय:
- बाढीको उदगम स्थल भ्रेमाथाङमा थुप्रिएको गेग्रानले गर्दा मेलम्ची खोला अनियन्त्रित भएर बगेको छ। उक्त खोलाको बग्ने प्रवृत्ति र थुप्रिएको गेग्रानबारे अनुसन्धान र अध्ययन गर्ने। यसले गर्दा खोलाको बहाव र दिशा पत्ता लगाउन सकिन्छ।
- भ्रेमाथाङ भन्दा मुनिका नदी तटीय क्षेत्रहरूमा नदीको बेग, बहाव र दिशा नियन्त्रण गर्ने भौतिक संरचनाहरू विकास गर्ने। यसले नदीको वेग नियन्त्रण गर्छ।
- मेलम्ची र इन्द्रावती नदी करिडोरमा रहेका बस्तीहरूको बहुआयामिक जोखिमहरू अध्ययन गरी सोही अनुरूप बस्ती स्थानान्तरण या निरन्तरताबारे विस्तृत कार्यक्रम निर्माण गर्ने। जोखिमयुक्त बस्तीहरू सुरक्षित स्थानमा स्थानान्तरण गर्ने। नदी करिडोरमा बस्ती विकासका लागि वैज्ञानिक अध्ययन, अनुसन्धान र सुरक्षित मापदण्ड तयार गर्ने।
यसरी नै सम्भावित विपदको असर कम गर्दै गयौं भने हामी थप सुरक्षित हुन सक्छौं।
(लेखक मिनेश गुरूङ विपद जोखिम न्यूनीकरण तथा पूर्वसूचना प्रणाली क्षेत्रमा कार्यरत छन्)
ट्विटरः @minesh_gurung