अचेल हरेक साँझ जनकपुरको शिव चोकमा गाडीहरूको जाम बढ्न थाल्छ। हर्नको आवाज चर्को र बाक्लो हुन थाल्छ। भूतनाथ महादेवको मन्दिर छेउबाट मानिसहरूको भीड उत्तरतिर लम्किन थाल्छ। धनुषा सागरबाट पूर्वतिर बिस्तारै चहलपहल बढ्न थाल्छ।
यसरी साँझ परेसँगै जनकपुरका स्थानीय र घुम्न आएका स्वदेशी र विदेशी पाहुनाहरू एकै ठाउँ आइपुग्छन्।
त्यो ठाउँ हो — गंगासागर।
गंगासागरको वरिपरि सिँढीमा बस्ने र उभिने मानिसहरूको भीड लाग्छ। अनि झमक्क साँझ परेपछि सुरू हुन्छ पूजा र आरती। शंख र घन्टको ध्वनी। बिजुली बत्तीको झिलिमिली।
धुपबत्तीको सुगन्धसँगै हुने आरतीको अन्तिमतिर लाउड स्पिकरमा एउटा गीत बज्छ- इएह छी हमर जनकपुर, ई सीता के जनकपुर।
मन्त्र उच्चारणको समयमा हात जोडेर प्रार्थना गर्नेहरू यो गीत बज्दा ताली बजाएर सँगसँगै गुनगुनाउन थाल्छन्। रमेश रन्जन झाको शब्द र सुनिल मल्लिकको संगीत र गायनमा सिर्जित यो मैथिली गीतको शब्द र भाका आरती सकेर बाहिर निस्किँदा पनि मनमा गुन्जिरहन्छ।
यो गीत सुन्दा यस्तो लाग्छ — सायद नेपालको कुनै अर्को ठाउँको महिमा समेटेर यस्तो गीत आजसम्म बनेको छैन!
करिब १२ वर्षयता नियमित छ गंगासागरको यो आकर्षण, भव्यता र रौनक।
मैले बाल्यकालदेखि देखेको ठाउँ हो जनकपुर। उपचार गर्नका लागि होस् वा जानकी मन्दिर दर्शन गर्न, नजिकको जिल्लाबाट मानिसहरू नियमित आउने ठाउँ थियो जनकपुर। कुनै समय गंगासागर फोहोरको डंगुर भएको याद छ। गंगासागरको वरिपरि नाक थुनेर हिँड्नुपरेको याद छ।
१२ वर्षअघि यसको कायापलट भयो। गंगासागर अब जुनसुकै कामले जनकपुर पुग्दा साँझमा पुग्नैपर्ने ठाउँ बनेको छ।
यो रूपान्तरणको कथा बुझ्न केही वर्षदेखि नै जिज्ञासा लागेको थियो। मनभित्र विभिन्न प्रश्न थिए — कसरी सफा भयो गंगासागर? कसरी नियमित सरसफाइ हुन्छ? अनि कसरी सुरू भयो भव्य आरती?
खोज्दै जाँदा थाहा भयो — सरसफाइ अभियान र आरतीको थालनी 'सेभ हिस्टोरिकल जनकपुरधाम' भन्ने संस्थाको पहल रहेछ। यो संस्था औपचारिक रूपमा सुरू हुनुभन्दा अगाडि नै सरसफाइ अभियान सुरू भएको रहेछ।
यो संस्था र अभियानमा जनकपुरका धेरै सरोकारवालालाई जोड्ने पहलको संयोजन गरेका रहेछन् राम आशिष यादवले। 'सेभ हिस्टोरिकल जनकपुरधाम' का पूर्वअध्यक्ष र सरसफाइ अभियानका संयोजक उनी हाल मधेस प्रदेशका सांसद समेत हुन्। दोस्रोपटक निर्वाचित भएर उनी अहिले मधेस प्रदेशको संसदमा छन्।
जनकपुरलाई बाल्यकालदेखि नै देखेको हिसाबले यो सरसफाइको प्रयास मलाई उदाहरणीय लाग्यो। आजभन्दा केही दशक अगाडि समुदायकै पहलमा विभिन्न कामहरू भएका उदाहरण देख्न सकिन्छ। यसरी यहाँ विभिन्न विद्यालय, क्याम्पस खुलेका र विकासका कामहरू भएको देख्न सकिन्छ।
तर विभिन्न ठाउँ भ्रमण गर्दै गर्दा पछिल्लो समयमा समुदायको पहलमा हुने कामहरू कम भएको देखिन्छ। यस अर्थमा पनि जनकपुरको यो अभियान एक विरल उदाहरण हो।
आफ्नो ठाउँको सानो-सानो कामका लागि सरकार र अन्य निकायको मुख ताकेर बस्ने अहिलेको अवस्थामा समुदायको सहभागिता गराउँदै स्वःस्फूर्त अभियान सञ्चालन गर्ने राम आशिष यादवको जीवनबारे मलाई कुतूहलता लाग्यो।
शिक्षाको कर्ममा लागेको मानिसका रूपमा मेरा स्वाभाविक जिज्ञासा थिए — समाज, नदी र प्रकृतिलाई सफा गर्नेभन्दा पनि फोहोर गर्ने जनसंख्या बढी भएको देशमा राम आशिष यादवले के प्रेरणाले सरसफाइ सुरू गरे? उनको सोच कसरी पलायो? उनको सोच र कर्ममा उनी पढेको स्कुल र समुदायको सिकाइको भूमिका कस्तो छ?
अभियानको कथा बुझ्न र उनको जीवनको अनुभव खोतल्न मैले राम आशिष यादवलाई सम्पर्क गरेँ। उनले जनकपुर भानु चोकस्थित आफ्नै घरमा बोलाए। भानु चोक नजिकै रामभजन टेन्ट हाउसको गल्ली हुँदै म उनको घर पुगेँ र कुराकानी सुरू गरेँ। त्यस्तै, यो अभियानलाई नजिकबाट देखेका केही स्थानीयसँग पनि कुरा गरेँ।
राम आशिष जनकपुरबाट तीन किलोमिटर पूर्वतिरको कनकपट्टि भन्ने गाउँमा जन्मिए। एसएसलीसम्म गाउँको सरकारी स्कुलमा पढे। त्यसपछि प्रविणतापत्र तह (प्लस-टु सरह) पढ्ने समयमा उनको जनकपुरसँग सम्बन्ध गाँसियो। अनि सामाजिक काममा उनको ध्यान तानिँदै गयो।
क्याम्पस पढ्दै गर्दा उनी स्वःस्फूर्त रूपमा गाउँ गाउँमा सरसफाइ अभियानमा जोडिन थाले। छोराछोरीलाई पढाउनुपर्छ भनेर घर घर पुगेर मानिसहरूलाई सम्झाउन थाले।
उनलाई भलिबल असाध्यै मनपर्थ्यो। स्थानीय समूहको कप्तान भएर धेरै समय खेले। नाटक गर्न मनपर्थ्यो। अभिनय गर्दै निर्देशकको भूमिका पनि निर्वाह गर्न थाले।
उनी सम्पन्न राजनीतिक परिवारमा जन्मिएका थिए। उनका जेठा दाजु प्रधानपञ्च र माहिला दाजु गाविस अध्यक्ष भएका थिए। उनको घर समुदायको केन्द्र थियो। त्यहाँ उनले समुदायका मानिसहरूको कथा सुने, राजनीति र समाजबारे फरक फरक विचार सुने। कलिलै उमेरदेखि उनी आफूभन्दा ठूलाको संगतमा पुगेछन्। अहिले फर्केर हेर्दा उनलाई लाग्छ — उनको संगतले पनि उनको विचार र सोच परिवर्तन गरेको छ।
किशोरावस्थादेखि नै उनी विभिन्न अग्रजको साथमा सामाजिक गतिविधिमा सहभागी हुन थाले — वरिष्ठ चिकित्सक डा. विजय कुमार सिंह, होटल व्यवसायी विजय कुमार झुनझुनवाला, स्व. मदनलाल जैन, विजयराज जैन, प्रा.डा. भोगेन्द्र झा, इञ्जिनियर रत्नेश्वरलाल कर्ण, ओम प्रकाश सराफ, स्व. इफ्तिकार अहमद।
'उहाँहरूले देखाउनुभएको बाटोले मलाई समाजसँग नजिक बनायो,' आफ्ना मेन्टरहरू सम्झिँदै उनी भन्छन्।
आफ्ना मेन्टरका अलावा महात्मा गान्धी, ज्योतीराओ फूले, नेल्सन मन्डेला आदिको जीवनी अध्ययनले पनि उनलाई प्रभावित गरेको छ। विभिन्न संगत र अध्ययनबाट आफ्नो जीवन गतिशील भएको उनी बताउँछन्।
औपचारिक अध्ययनपछि उनले शिक्षक भएर काभ्रेमा पढाए। पत्रकार भएर रेडियो नेपाल, इमेज च्यानल, अन्नपूर्ण पोस्ट लगायत मिडियामा काम गरे। आफैले जनकपुर एफएम र तहल्का नेपाल सञ्चालन गरे। एकपटक पत्रकार महासंघ धनुषाको अध्यक्ष समेत भए। रेयुकाई नेपाल, एमनेस्टी इन्टरनेसनल, रोटरी क्लबबाट सामाजिक काममा पनि जुटेन। पछिल्लो समय भने उनी राजनीतिमा छन्।
२०६९ सालमा उनी आफ्नी श्रीमतीसँग ब्रह्मकुमारीको मुख्यालय भारतस्थित माउन्ट आबु पुगेका थिए। त्यहाँको स्वच्छता र भव्यता देखेर उनी चकित भए। त्यस समय उनको मनमा सपनाको एक बीज पलायो — जनकपुरमा पनि यस्तै गर्न पाए कस्तो हुँदो हो?
माउन्ट आबुमै उनले एक अठोट लिए — जनकपुर पौराणिक र ऐतिहासिक ठाउँ हो। यो रामायणकालीन जीवन्त अवशेष पनि हो। त्यसैले यहाँ केही न केही त गर्नैपर्छ!
त्यो बेला काठमाडौंमा लीलामणि पौडेलको संयोजकत्वमा बागमती सरसफाइ अभियान चल्दै थियो। भारतमा पनि गंगा सफाइ अभियान चलेको थियो। जनकपुर फर्केर उनले चार जना; विजय झुनझुनवाला, डा. विजय दत्त, राज कुमार महासेठ र अमर चन्द्र अनिलसँग छलफल गरे।
छलफलको सामूहिक निचोड सुनाउँदै राम आशिषले भने, 'पानी बिना मानव सभ्यता कल्पना गर्न पनि सकिँदैन, तर हाम्रोमा पानी फोहोर थियो। तालतलैया फोहोर थिए। त्यसैले हामीले पवित्र गंगासागर सरसफाइ अभियान चलाउने निर्णय गर्यौं।'
अन्ततः २०७० फागुन ११ शनिबारबाट उनीहरूले सरसफाइ अभियान उद्घाटन गरे। यो सरसफाइ कुनै संस्था वा संगठनबाट थिएन। उनीहरूले स्वःस्फूर्त रूपमा आफ्ना आफन्त र साथीहरूलाई बोलाएर काम थाले।
उनीहरूले हरेक शनिबार दुई घन्टा श्रमदानका लागि आग्रह गरेका थिए। बिस्तारै सयौं मानिस जोडिँदै गए। विद्यार्थी, पत्रकार, मानव अधिकारकर्मी, व्यवसायी सशस्त्र र जनपद प्रहरी, नेपाली सेना सबै आए। सुरूमा कसैबाट आर्थिक सहयोग नलिइ श्रमदानको माध्यमबाट सरसफाइ गरियो।
स्वःस्फूर्त मानिस आएर सरसफाइ गर्दा सफा त भयो, तर राम आशिष र उनको समूहलाई डर भयो — कतै यो दिगो भएन भने? कतै सरसफाइ संस्कृतिको रूपमा स्थापित भएन भने? कतै सरसफाइ एउटा बोझ मात्र भयो भने?
अनि उनीहरूले निष्कर्ष निकाले — सफा त अब हुन्छ। आरती पनि सुरू गर्यौं भने प्रकृति सधैंभरि बाँच्छ र संस्कृति पनि बाँच्छ!
त्यसपछि २०७१ जेठ २५ गते गंगा दशहराको मौका पारेर उनीहरूले आरती सुरू गरे। आफ्नो अनौपचारिक समूहलाई पनि गुठीका रूपमा दर्ता गरे। राम आशिष त्यसको अध्यक्ष भए।
आरती सुरू गर्ने तय भएपछि उनीहरू बनारस गएका थिए। त्यहाँबाट तीन जना पुजारी ल्याएर जनकपुरमा सात दिनको प्रशिक्षण गराए।
गंगासागर आरतीको ख्याति सुनाउँदै राम आशिष भन्छन्, 'आज जनकपुरको आरती यति प्रख्यात भयो कि नेपालभरिबाट आरती गर्नुपर्यो भने प्रशिक्षणको लागि हामीलाई बोलाउँछन्।'
उनीहरूको समूहले पोखरा, वीरगञ्ज, महोत्तरी, हलेशी, सुनसरी, देवघाट लगायत विभिन्न ठाउँका आरतीमा प्रशिक्षण गरेका छन्।
गंगासागर आरतीमा आज स्थानीय, छेउछाउका जिल्लाका दर्शनार्थी, देशभरिका दर्शनार्थीसँगै विशिष्ट पाहुना पनि आउँछन्। नेपालको प्रथम राष्ट्रपति रामवरण यादव लगायत भारत, जापान, अमेरिका, इजरायल र चीनका राजदूतले भ्रमण गरेका छन्। भारतबाट प्रसिद्ध कथावाचकहरू, शंकराचार्य, विहारमा उपमुख्यमन्त्री सुशील मोदी लगायत अन्य धेरै व्यक्ति गंगासागरको आरतीमा समावेश भएका छन्।
राम आशिषलाई लाग्छ — महागंगा आरती शब्द मात्र होइन, यो जनकपुरधामको समृद्धिको मन्त्र हो।
यो अभियानले के सिकायो, अरू प्रभाव के भयो — मेरो यो प्रश्नमा उनी भन्छन्, 'गंगासागर सफाइले अरू धेरै तालतलैया र पोखरीको कल्याण भयो। मानिसहरू आफैले सरसफाइ गर्न थाले। सरकारले पनि आफ्नो योजनामा सरसफाइलाई समेट्यो।'
सेभ हिस्टोरिकल जनकपुरधामबाट यसरी जल सफाइ र आरती भएसँगै जमिन सफाइ र वायु सफाइको पनि काम सुरू भयो। 'क्लिन जनकपुर, ग्रीन जनकपुर' भन्दै उनीहरूले सडक सफाइ र वृक्षारोपण अभियान सुरू गरे। यही क्रममा यी सबै अभियानको संयोजन र नेतृत्व गर्ने राम आशिषलाई राजनीतिको अनुभव गर्न मन लाग्यो। अनि २०७४ सालको निर्वाचनमा धनुषाको २ (ख) बाट उनी प्रदेश निर्वाचनमा नेपालको सर्वाधिक मतसहित निर्वाचित भए। फेरि २०७९ सालमा पनि निर्वाचित भएर उनी दोस्रो कार्यकालमा छन्।
पहिलो निर्वाचनपछि उनले आफ्नो जिम्मेवारी तत्कालीन उपाध्यक्षलाई हस्तान्तरण गरेर पूर्णकालीन राजनीतिमा लागे। तर गंगासागर सरसफाइमा अझै जोडिरहेका देखिन्छन्। आरतीमा अझै पुगिरहेका देखिन्छन्। हरेक साँझ 'इएह छी हमर जनकपुर, ई सीता के जनकपुर' भन्ने गीतमा ताली बजाउँदै मन्त्रमुग्ध देखिन्छन्।
सरसफाइ अभियानले के सिकायो भन्ने प्रश्नमा उनको जबाफ छ, 'गरेपछि हुँदो रहेछ। सपना देखेपछि डटेर काममा लाग्यो भने पूरा हुने रहेछ। पैसा महत्त्वपूर्ण कुरा हो, तर समाजको परिवर्तनमा पहिलो कुरा इच्छाशक्ति रहेछ।'
नागरिकहरूलाई उनको अनुरोध छ, 'कुनै पनि काम गर्न नेतृत्वमा मात्र भर पर्नु भएन। कुनै असल नियतबाट काम गर्न खोज्नुभएको छ भने चुनौती त हुन्छ, तर स्वःस्फूर्त समाज जोडिँदै जान्छ। एक दिन नेतृत्व पनि जनताको पछाडि आउँछ। सरकार पनि जोडिन्छ। मुख्य कुरा, नियत सफा हुनुपर्यो।'
आफूले संयोजन गरेको सामाजिक अभियानको सफलता, प्रभाव, नेतृत्व हस्तान्तरण र दिगोपनको दृष्टिकोणबाट हेर्दा राम आशिष यादव एक अब्बल व्यवस्थापक र नेतृत्वकर्ता हुन्। उनले समुदायमा स्रोत र पुँजी देखे। समुदायको शक्ति बुझे। समुदायको मनोविज्ञान बुझे। र, सोही अनुसार रणनीतिहरू प्रयोग गरे।
कुनै पद पाए आमुल परिवर्तन गरिदिन्छु भन्नेहरूले राम आशिषको जीवनबाट थाहा पाउन सक्छन् — कुनै काम गर्न पद नै चाहिन्छ भन्ने छैन। इच्छाशक्ति, प्रतिबद्धता र मेहनत भए पनि धेरै काम गर्न सकिन्छ।
हामीलाई धेरै 'राम आशिष यादव' हरू चाहिन्छ जसले समुदायको भूमिका बुझेको होस्; जसले समुदायलाई सहभागी गराएर जटिल भनिएका काम गर्न सकोस्; जसले समुदायलाई गरिब मात्र होइन शक्ति त स्रोतले सम्पन्न देखोस्; जसले समुदायको कमजोरी भन्दा शक्ति परिचालन गरेर काम गर्न सकोस्; जसले प्रकृतिमाथि शासन गर्ने भन्दा माया गर्न सकोस्।
राम आशिषको जीवन नियालेर हेरेपछि र गंगासागर सरसफाइ अभियानको कथा बुझेपछि शिक्षा क्षेत्रमा काम गरेको एक मानिसको हिसाबले मेरो मनमा केही प्रश्न उब्जिए — प्रकृतिलाई माया गर्ने मानिस तयार गर्न हाम्रा स्कुल र विश्वविद्यालयमा के गर्न सकिन्छ होला? समुदायलाई सँगै लैजाने मानिसलाई कसरी तयार गर्न सकिन्छ होला?
यी प्रश्नमा मैले केही निचोड निकालेको छु।
पहिलो, गंगासागर सरसफाइ अभियान र राम आशिषको भूमिका हाम्रा स्कुल र विश्वविद्यालयमा पढाउन सकिने एक महत्त्वपूर्ण स्थानीय पाठ हुन सक्छ। त्यहाँबाट हाम्रा शिक्षक र विद्यार्थीहरूले आफ्नै परिवेशको जीवन्त कथाबारे बुझ्नेछन्। त्यसको प्रभाव उनीहरूको आफ्नै जीवनमा पर्न सक्छ।
दोस्रो, बालबालिकाले आफूलाई अभिव्यक्त गर्ने विभिन्न माध्यमहरू स्कुल र समुदायमा हुनुपर्छ। चाहेर होस् या नचाहेर, राम आशिषले बाल्यकाल र किशोरावस्थामा आफूलाई अभिव्यक्त गर्ने विभिन्न माध्यम पाए। खेलकुद, अभिनय, नाटक निर्देशन, सरसफाइ लगायत गतिविधिबाट उनको आत्मबल बढेको देखिन्छ। उनी रमाउन पाएको देखिन्छ। आफ्नो नेतृत्व परीक्षण गर्ने अवसर पाएको देखिन्छ। वयस्क हुँदा पनि उनले विभिन्न स्थानमा काम गरेको देखिन्छ।
तेस्रो, विभिन्न व्यक्तिहरूसँगको 'एक्सपोजर'। उनका लागि एक संयोग थियो, उनी राजनीतिक परिवारमा जन्मिए र सानैदेखि समाजका विभिन्न व्यक्तिसँग साक्षात्कार र संगत भयो। सबै परिवारमा त्यस्तो हुँदैन। स्कुल र परिवारले पनि विभिन्न मानिससँग भेटघाट गर्ने, विभिन्न संस्कृति बुझ्ने अवसर सिर्जना गरिदिनुपर्छ। विभिन्न मानिसको जीवन हेर्ने, जीवनी पढ्ने अवसरले पनि बालबालिकाले संसार हेर्ने दायरा फराकिलो बनाउन सक्छन्।
चौथो, वातावरणसँग जोडिने, प्रकृतिसँग नजिक हुने उनको स्वभाव एक्कासि वयस्क हुँदा आएको होइन। उनको कथा सुन्दा देखिन्छ, बाल्यकालदेखि नै उनले सरसफाइ गरेको देखे र आफै पनि सहभागी भए। बालबालिकालाई पनि सानैदेखि प्रकृतिसँगको सह-अस्तित्व देखाउन र बुझाउने सके, त्यो जिन्दगीभर कायम भइरहन सक्छ। प्रकृतिलाई दोहन होइन, माया गर्न बाल्यकालबाट नै अभ्यास गराउनुपर्ने रहेछ।
मिडिया, सामाजिक संस्था, राजनीति र प्रकृति र संस्कृति बचाउने अभियानमा धेरै वर्ष लागेपछि राम आशिषलाई केही वर्षदेखि अनुभूति हुन थालेको छ — सम्पूर्ण परिवर्तनको आधार शिक्षा हो। बालबालिकामा समाज र सरकारले अत्यधिक लगानी गर्नुपर्छ।
यसका लागि अहिले उनी आफ्नै पहलमा विभिन्न स्कुलसँग जोडिन थालेका छन्।
उनी भन्छन्, 'अब म वास्तवमै शिक्षामा बदलाव ल्याउन चाहन्छु।'
गंगासागर सरसफाइको उनको 'मिसन' सफल भए जस्तै विद्यालय सम्बन्धी मिसन पनि सफल होस्!
एक्स (ट्विटर)- @mani_bijaya
(विजयमणि पौडेलका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्।)