सहरी विकासमन्त्री दिलनाथ गिरीलाई बर्खास्त गर्न उपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्रीलाई पत्र पठाएका छन्।
सहरी विकास मन्त्रालयमा सचिवको नियुक्तिलाई लिएर उपप्रधानमन्त्री थापा तथा मन्त्री गिरीबीच बिहिबार मन्त्रिपरिषद बैठकमा चर्काचर्की भएको थियो।
थापाले गिरीलाई राजीनामा दिन आदेश दिएका थिए। मन्त्री गिरीले ‘मैले राजीनामा तपाईँलाई होइन, प्रधानमन्त्रीलाई दिने हो’ भनेको २४ घन्टा नबित्दै उपप्रधानमन्त्री थापाले शुक्रबार उनको बर्खास्तगीका लागि प्रधानमन्त्रीलाई पत्र लेखेका हुन्।
नयाँ संविधान अनुसार कुनै पनि मन्त्रीलाई हटाउन पार्टीले पत्र पठाउनुपर्ने हुन्छ। पत्र आउनासाथ मन्त्री स्वतः पदमुक्त हुनेछन्। थापाको पत्र प्रधानमन्त्री कार्यालयमा पुगेकाले गिरी पदमुक्त भएको प्रधानमन्त्री निकट स्रोतले बतायो। प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा प्रत्यक्षतर्फ कुनै सिट नजितेको राप्रपा निर्वाचनभन्दा केही समयपहिले मात्र सरकारमा सहभागी भएको थियो।
थापाको पत्रअनुसार गिरी पदमुक्त भएको प्रधानमन्त्री निकट स्रोतले सेतोपाटीलाई जानकारी दिएको छ।
दोस्रो संविधानसभादेखि थापा निकट रहेका गिरी दोस्रो पटक मन्त्री भएका हुन्। तर सरकारबाट बाहिरिने समयमा गिरीले थापाले भनेको व्यक्तिलाई सचिव नियुक्त नगरेपछि हटाइएका हुन्।
के थियो विवादबिहीबारको क्याबिनेट बैठकमा उपप्रधानमन्त्री थापा र सहरी विकास मन्त्रीबीच चर्काचर्की परेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नै हस्तक्षेप गर्नु परेको थियो।
सचिव फेर्ने विषयलाई लिएर थापा र गिरीकाे चर्कचर्की परेकाे हाे। एक मन्त्रीका अनुसार बैठकमा सबैजसो मन्त्रीले सचिवले नटेरेकाेले काम गर्न कठिन भएको गुनासो गरेका थिए।
मन्त्रीहरूले यसको दाेष मुख्यसचिव लाेकदर्षन रेग्मीलाई दिएका थिए। जवाफमा मुख्यसचिव रेग्मीले आफूलाई यही सरकारले नै मुख्यसचिव बनाएकाेले सरकारप्रति उत्तरदायी हुने बताएका थिए।
रेग्मीले अाफू नेपाल सरकारप्रति सधैँ उत्तरदायी हुने र सधैं रहिरहने बताएका थिए।
सचिव मन्त्रीको सहयोगी भएकोले अाफूलाई असहयोग गर्ने सचिवलाई मन्त्रीले हटाउन सक्ने रेग्मीले सुझाव दिएका थिए।
रेग्मीको भनाइलगत्तै सहरी विकास मन्त्री गिरीले मन्त्रालयका सचिव दीपेन्द्र शर्माको दुई वर्षे कार्यकाल सकिएकाले अर्को सचिव फेर्न चाहेकाे बताएका थिए।
गिरीले शर्माको ठाउँमा सहरी विकासमा पिएचडी गरेका रमेशप्रसाद सिंहलाई ल्याउन प्रस्ताव गरेका थिए। गिरीको प्रस्ताव अाउनसाथै थापाले अाफूलाई नसाेधी प्रस्ताव ल्याएको भन्दै गिरीलाई हप्काएकाे श्राेतले बतायो।
अाफूलाई नभनी प्रस्ताव ल्याएकोले मन्त्रीबाट हटाउने चेतावनी थापाले गिरीलाई दिएका थिए।
जवाफमा गिरीले थापालाई म त राजीनामा नै दिन्छु तर तपाईंलाई मन्त्री बन्ने जनादेश छ र? भनेर सोधेका थिए।