मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले लोकतन्त्रको संस्थागत विकासका लागि सञ्चारकर्मीको महत्वपूर्ण भूमिका भएको बताएका छन्।
अग्निवाण पाक्षिक पत्रिकाको १०औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार रिपोर्टर्स क्लबमा आयोजित ‘अग्निवाण क्रियाशील राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण तथा व्यक्तित्व सम्मान’ कार्यक्रममा कसैको आग्रह र पूर्वाग्रहमा नलागी सत्य, तथ्य र विश्वसनीय समाचार सम्प्रेषण गर्न आग्रह गर्दै उनले लोकतन्त्रको रक्षा र संविधान कार्यान्वयनलाई केन्द्रमा राखेर कलम चलाउन आग्रह गरे।
पूर्व अध्यक्ष रेग्मीले वर्तमान राजनीतिक संक्रमणको अन्त्य गरी मुलुकलाई दिशाविहीन नबनाउन राजनीतिक दलहरुलाई आग्रह गर्दै राष्ट्रियसभासम्बन्धि अध्यादेश पास गरेकोमा राष्ट्रपतिलाई समेत धन्यवाद दिए।
त्यस्तै कार्यक्रममा रक्षामन्त्री एवम् नेपाली कांग्रेसका नेता भीमसेनादास प्रधानले पत्रिकाको प्रगती कामना गर्दै आगामी दिनहरुमा एकता, सहमति र सहकार्यको मार्गबाट मुलुकको समृद्धिमा टेवा पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
उनले भने,‘आजमात्रै गरौ कि नगरौको बीचमा राष्ट्रपतिले अध्यादेश पारित गर्नुभएको छ, नगरी सुखै थिएन, अझै ढिला गर्नुभयो, उहाँले कानुनी जटिलतासँगै सबै कुरालाई मध्यनजर गर्दै अध्यादेश प्रमाणिकरण गर्नुभएको छ, संक्रमणको अन्त्य भएको छ, अब मुलुक समृद्धिको मुल बाटोमा हिँड्नेछ, संसद बन्ने र राष्ट्रिय सभाको गठन हुने नयाँ सरकार बन्ने बाटो खुलेको छ।’
पत्रिकाको १० औँ वार्षिकोत्सवको अवसरमा नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टले तीन तहको सरकारले पत्रकारीतालाई उचित प्रकारले सम्बोधन गर्नुपर्ने धारणा राखेका छन् ।
विष्टले राजनीतिक संक्रमणको अन्त्य भएपनि पत्रकारिताको संक्रमण शुरु भएको गुनासो पोखे । उनले भने‘ठूलो र साना मिडियाहरुलाई राज्यले दिने विज्ञापन समानुपातिक हुनुपर्छ।’
पत्रिकाको वार्षिकोत्सवको अवसरमा अमेरिकामा रहेर पत्रकारिता गरिरहेका पत्रकार किरण मरहठालाई २५ हजार नगदसहित सम्मान गरिएको छ । विश्व चर्चित फुटवलर लियोनल मेसीको अन्तरवार्ता लिने उनी दक्षिण एशियाको पहिलो पत्रकार हुन्।
त्यस्तै कार्यक्रममा व्यक्तित्वतर्फ खड्कबहादुर श्रेष्ठ र अपाङगताका क्षेत्रमा क्रियाशिल भोजराज श्रेष्ठलाई सम्मान गरिएको छ ।