नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वमन्त्री गगन थापाले पूर्वाधार विकासको कामलाई समयमै सम्पन्न नगर्ने ठेकेदार कम्पनीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्।
नेता थापाले पूर्वाधार विकासको कामलाई तीव्रता दिन सरकारले सरोकारवाला निकायसँगको अनुगमनको कामलाई तीव्रता दिनुपर्ने धारणा समेत राखे। शुक्रबार राष्ट्रिय योजना आयोगले आयोजना गरेको पूर्वाधार विकाससम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पूर्वाधार विकासका लागि समयमै काम सम्पन्न गर्ने ठेकेदार कम्पनीलाई छनोट गर्नुपर्ने आवश्यकता औल्याए। नेता थापाले सडक निर्माण गर्ने परिपाटीमा पनि परिवर्तन ल्याउनुपर्नेमा जोड दिए।
कार्यक्रममा बोल्दै एमाले नेता रविन्द्र अधिकारीले सरकारको क्षमता कमजोर भएकै कारण पूर्वाधार विकासको कामले गति लिन नसकेको दाबी गरे। उनले निजी क्षेत्रलाई समेत साथमा लिएर सडक निर्माणको कामलाई सहज रुपमा अघि बढाउन सरकार आफैं सक्षम हुनुपर्ने आवश्यक्ता औंल्याए। नेता अधिकारीले कतिपय सडक निर्माणको काम सरकारको गलत नियतकै कारण अघि बढन नसकेको आरोप समेत लगाए।
राष्ट्रिय योजना आयोगले पूर्वाधार विकासका लागि आवश्यक रणनीति तय गर्न सम्बद्ध सबै पक्षसँगको छलफललाई तीव्रता दिँदै आएको छ।