राष्ट्रपतिले अध्यादेश जारी गरेलगत्तै निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको तयारी सुरु गरेको छ ।
निर्वाचन आयोगले राष्ट्रपति विद्या भण्डारीले अध्यादेश जारी गरेलगत्तै राष्ट्रिय सभा निर्वाचनको तयारी सुरु गरिएको जानकारी गराएको हो । आयोगका सहसचिव दिनेशकुमार घिमिरेले राष्ट्रिय सभा निर्वाचनको तयारीका लागि आन्तरिक छलफल सुरु भईसकेको बताए। उनले अध्यादेश जारी भएको जानकारी आयोगमा आउने वित्तिकै निर्वाचन तयारी विधिसम्मत ढंगले अघि बढने स्पष्ट पारे। निर्वाचन आयोगले कानुन बमोजिम छोटो समय भित्रै सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्न सरकारलाई आग्रह गर्ने पनि योजना पनि बनाएको छ।
आईतबारसम्ममा निर्वाचनसम्बन्धि राष्ट्रपतिले जारी गरेको अध्यादेशबारे सरकारले औपचारिक जानकारी गराएपछि राष्ट्रिय सभा निर्वाचनको तयारी अघि बढाउने आयोगको योजना छ ।
कानुनको अभावमा निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचन प्रक्रिया समेत अघि बढाउन सकेको थिएन । शुक्रबार राष्ट्रपति विद्या भण्डारीले अध्यादेश जारी गरेपछि राष्ट्रिय सभा निर्वाचनको प्रक्रिया अघि बढाउने बाटो खुलेको हो। ५९ सदस्यीय राष्ट्रिय सभा गठन भएपछि मात्रै संघीय संसदले पूर्णता पाउनेछ ।