नेकपा एमालेले प्रदेशस्तरीय संसदीय दलको नेतामा सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रियाबाट चयन गर्ने भएको छ।
मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थायी समिति बैठकले सहमति जुट्न नसकेका स्थानमा निर्वाचन प्रक्रियाबाट संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको हो।
प्रदेश संसदीय दलको नेताका आकांक्षी धेरै भएपछि बैठकले सहमति नजुटेका स्थानमा निर्वाचन प्रक्रियाबाट नेता चयन गर्ने निर्णय गरेको एमाले उपाध्यक्ष वामदेव गौतमले जानकारी गराए।
त्यसैगरी बैठकले राष्ट्रिय सभा सदस्य निर्वाचन केन्द्रीत आन्तरिक निर्देशन जारी गर्ने भएको छ। एकल संक्रमणको अवस्था भएका जटिल स्थानमा निर्वाचन मण्डलका सदस्यलाई प्रशिक्षण दिनका लागि टोलि परिचालन गर्ने निर्णय पनि बैठकले गरेको छ।
एमालेले आगामी १८ गते देखि २१ गते सम्म प्रशिक्षण सञ्चालन हुने पनि जनाएको छ ।
वाम गठबन्धनको भागवण्डा अनुसार प्रदेश नम्बर १, ३, ४ र ५ को मुख्य मन्त्रीमा एमालेका हुनेछन्।
प्रदेश ५ मा शंकर पोखरेल संसदीय दलको नेता भइसके पनि अन्य प्रदेशमा टुंगो लागेको छैन। मुख्य मन्त्री हुन संसदीय दलको नेता हुनुपर्छ।
प्रदेश ६ र ७ का दलका नेता भने मुख्यमन्त्री बन्ने छैनन्। वाम गठबन्धनको सहमति अनुसार उक्त दुई प्रदेशको मुख्यमन्त्री माओवादीको भागमा परेको छ ।
यद्यपि एमालेले दलको नेता भने त्यहाँ पनि छान्ने छ। प्रदेशसभाहरुको पहिलो बैठकले आफ्नो कार्यविधि तय गरेपछि दलको नेता चयन प्रक्रिया अघि बढ्नेछ।
नेकपा एमालेका लागि प्रदेश १ को मुख्यमन्त्रीमा सचिव भीम आचार्य र शेरधन राईले दाबी गरेका छन् भने ३ मा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डेले दाबेदारी प्रस्तुत गरेका छन्।
यसैगरी प्रदेश नम्बर ४ को मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरूङ र नेता किरण गुरूङले दाबी गर्दै आएका छन्।
यस्तो छ एमालेको आजको निर्णयहरू१. राष्ट्रियसभा निर्वाचनको तयारी सम्बन्धमा राष्ट्रियसभाको निर्वाचनमा मतदाता रहनुभएका निर्वाचक मण्डलका सदस्यहरु अर्थात् पार्टीको तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य, महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरू र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षहरू राष्ट्रियसभाको निर्वाचन सम्पन्न नभएसम्म देश बाहिर र प्रदेश बाहिर नजाने ।
राष्ट्रियसभा सदस्य पदको निर्वाचनमा प्रयोग हुने एकल संक्रमणीय निर्वाचन प्रणालीका सम्बन्धमा सम्पूर्ण मतदाताहरूलाई अनिवार्य रुपमा मतदान सम्बन्धी तालिम दिन जरुरी छ । त्यसर्थ प्रदेश संगठन कमिटीका संयोजकले केन्द्रीय निर्वाचन विभागसँंग समन्वय गरी प्रशिक्षणको व्यवस्था गर्ने । यही माघ २१ गते राती १२ बजेबाट मौन अवधि सुरु हुने हुनाले सो अगावै प्रशिक्षणको व्यवस्था गर्ने ।
राष्ट्रियसभाका लागि तय भएका नेकपा (एमाले) र नेकपा (माओवादी–केन्द्र)का साझा उम्मेदवारहरूलाई विजयी बनाउन पारस्परिक सल्लाहका आधारमा दुवै पार्टीको तर्फबाट संयुक्त रुपमा प्रचार–प्रसार, मतदाता शिक्षा, व्यवस्थापन लगायतका कार्यहरू गर्ने ।
२. प्रदेशसभा संसदीय दलको बैठक र दल नेताको निर्वाचन सम्बन्धमा सातै प्रदेशका प्रदेश प्रमुखहरूबाट सम्बन्धित प्रदेशसभाहरूको पहिलो बैठक आह्वान भइसकेको छ । त्यसर्थ प्रदेशसभाको प्रथम बैठक अगावै प्रदेशसभा संसदीय दलको बैठक आयोजना गर्ने । प्रदेशसभामा दल तथा दलका सदस्यहरूका तर्फबाट निर्वाह गर्नुपर्ने भूमिकाका सम्बन्धमा छलफल गर्ने र आवश्यक निर्णय गर्ने ।
दल नेताको निर्वाचन सम्पन्न भएको प्रदेशमा दल नेताको अध्यक्षतामा र दल नेताको निर्वाचन सम्पन्न हुन बाँकी रहेका प्रदेशमा ज्येष्ठ सदस्यको अध्यक्षतामा प्रदेशसभा संसदीय दलको बैठक बस्ने ।
प्रदेशसभा संसदीय दलको नेता चयन हुन बाँकी रहेका प्रदेशहरूमा यही माघ २४ गते राष्ट्रियसभा सदस्यको निर्वाचन सम्पन्न भए लगत्तै ज्येष्ठ सदस्यको अध्यक्षतामा प्रदेशसभा संसदीय दलको बैठक बस्ने र दल नेताको चयन गर्ने ।
ज्येष्ठ सदस्यको अध्यक्षतामा सञ्चालित प्रदेशसभा संसदीय दलको बैठकले दल नेताको चयन सम्बन्धी विधि र प्रक्रिया तय गर्ने । दल नेताको निर्वाचनका लागि दलको बैठकबाट ३ सदस्यीय निर्वाचन कमिटी गठन गर्ने ।
प्रदेशसभा संसदीय दलको नेताका लागि एक भन्दा बढीको उम्मेदवारी भएमा गोप्य मतदानद्वारा निर्णय गर्ने ।
दलको नेता वा सभामुखको निर्वाचन लगायत निर्वाचनको सिलसिलामा कुनै पनि प्रकारका अनुचित र अस्वस्थ गतिविधि नगर्ने÷हुन नदिने ।
४. सरकारका गतल कार्यहरूका सम्बन्धमा:शेरबहादुर देउवाको नेतृत्वमा रहेको वर्तमान काम चालाउ सरकारका संविधान, कानुन, लोकतान्त्रिक मूल्य मान्यता र नैतिकता विपरीतका कार्यहरूप्रति बैठकको गम्भीर ध्यानाकर्षण भएको छ।
नेकपा (एमाले) लगायतका ताजा जनादेश प्राप्त राजनीतिक दलहरू, सञ्चार जगत र आमनागरिकको आलोचना र विरोधलाई बेवास्ता गर्दै काम चलाउ देउवा सरकारले गरेका राष्ट्रिय ढुकुटीको नाङ्गो दुरुपयोग, मनपरी ढंगले गरिएको नियुक्ति, सरुवा तथा बढुवाजस्ता स्वेच्छाचारी, अराजकतापूर्ण र जनहीत एवं राष्ट्रहीत विपरितका निर्णयहरूको बैठकले घोर निन्दा एवं भ्रत्सना गरेको छ।
https://youtu.be/apSpdmi_fK4