सर्वोच्च अदालतले व्यापारी अजेयराज सुमार्गीले वैदेशिक लगानीका नाममा विदेशबाट ल्याएको करिब सवा २ अर्ब रुपैयाँ नरोक्न अन्तरकालिन अन्तरिम आदेश दिएको छ।
मंगलबार, न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले बाँकी रहेको रकम रोक्नुपर्ने कुनै स्पष्ट कानूनी आधार र कारण नदेखिएको भन्दै निवेदकको मागअनुसार तत्काल भुक्तानी गराउन नरोक्नू भन्ने आदेश दिएको हो।
सुमार्गीको कम्पनी नेपाल स्याटेलाइट टेलीकम प्रा.लि.ले आफूले ल्याएको वैदेशिक लगानीको रकम राष्ट्र बैंकले अवैधानिकरूपमा रोकेको भन्दै फुकुवा गरिदिन मागसहित आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेको थियो ।
रिट निवेदनको विषय गम्भीर भएको भन्दै फागुन २ गते वृहत्तर छलफलका लागि दुवै पक्षलाई उपस्थित गराउन आदेशसमेत दिएको छ।
'पैसा रोक्ने कानुनी कारण आधार वस्तुगत रुपमा देखिन नआउँदा रोक्नुपर्ने अवस्था रहेन। त्यसकारणले विषयको गम्भीरताले दुवै पक्षलाई राखि वृहत्तम रुपमा छलफल गर्न उचित हुने भएकाले छलफलका लागि २०७४ साल फागुन २ गतेका निम्ती दुवैपक्षलाई बोलाउनु,' न्यायाधीश केसीको इजलासले भनेको छ,'पैसा विना आधार र कारण रोक्दा उद्योगलाई क्षती बेहोर्न परिरहेको देखिन आउँदा सम्पति शुद्धिकरण र राज्यका साविकका निकायबाट अनुसन्धान भैरहेको भए त्यसमा बाधा अड्चन नआउने गरि र प्रस्तुत रकम र सो बाट हुने लाभ समेत विदेश लैजान नपाउने गरि अर्को आदेश नभएसम्म। निवेदकले माग गरेको बखत भक्तानी दिनु दिलाउनु र खाता सञ्चालनमा अवरोध नगर्नु।'
सुमार्गीको उक्त कम्पनीको नाममा नेपाल इन्भेष्टमेन्टमा विदेशबाट आएको सवा २ अर्व रुपैँया बराबरको अमेरिकी डलर राष्ट्रबैँकले रोक्का गरेको थियो। राष्ट्र वैँकका पूर्व गभर्नर यूवराज खतिवडाले उक्त रकम रोक्का गरिदिएका थिए।
त्यो भन्दा पहिले सुमार्गीले आफ्नो नाममा त्यसै गरि विदेशबाट आएको ८ अर्ब बराबर अमेरिकी डलर निकासा र खर्च गरिसकेका थिए। इन्भेष्टमेन्ट बैँकमा आफ्नो पैसा रोकीएपछि कम्पनीले ऋण र क्षति बेहोर्नुपरेको भन्दै सुमार्गीको कम्पनी नेपाल स्याटेलाइटले आइतबार सर्वोच्चमा रिट दायर गरेको हो।