मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभामा सदस्य मनोनयनका लागि सिफारिस गर्ने जिम्मा प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको छ।
बैठकपछि सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले शनिबार प्रधानमन्त्रीले नाम सिफारिस गर्ने जानकारी दिए। संविधान अनुसार ५९ सदस्यीय राष्ट्रिय सभाका ३ जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्र्पतिले नियुक्त गर्नेछिन्। जसमध्ये एक महिला हुनुपर्नेछ।
बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा राष्ट्रिय सभामा मनोनयन गर्ने विषयमा छलफल भएको थियो।
स्रोतका अनुसार देउवाले गोपाल बस्नेत, चाँदनी जोशी र कृष्णप्रसाद पौडेललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्न लागेका छन्।
बस्नेत झापाका कांग्रेस नेता हुन्। उनी कांग्रेस झापाका पूर्वसचिव हुन्। कांग्रेस विभाजित हुँदा उनी शेरबहादुर देउवा नेतृत्वको कांग्रेस प्रजातान्त्रिकका जिल्ला सभापति बनेका थिए।
जोशी महिला विकासका लागि संयुक्त राष्ट्र संघीय कोष (युएनआइएफइएम) को दक्षिण एसिया क्षेत्रकी पूर्वनिर्देशक हुन्। ७२ वर्षीया जोशीले पद्यकन्या क्याम्पसमा पनि प्राध्यापन गरेकी थिइन्।
कृष्णप्रसाद पौडल कांग्रेस केन्द्रीय कार्यालयका सचिव हुन्। स्याङ्जाका पौडेल यसअघि नेपाल शिक्षक संघ काठमाडौंका अध्यक्ष हुन्। उनी २ वर्षअघि केन्द्रीय कार्यालयका मुख्य सचिवमा नियुक्त भएका थिए।