सिरिल रामापोसा दक्षिण अफ्रिकाको नयाँ राष्ट्रपति नियुक्त भएका छन्। ज्याकोब जुमाले बुधबार साँझ आफ्नो पदबाट राजीनामा दिएपछि संसद्ले बिहीबार रामापोसालाई राष्ट्रपति पदमा चयन गरेको हो।
रामापोसाले छिट्टै राष्ट्रपति पदको शपथ लिने र देशवासीका नाममा सम्बोधन गर्ने बताइएको छ। यसअघि सत्तारुढ दल अफ्रिकी नेसनल कंग्रेस (एएनसी)को तीव्र दबाबपछि दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमाले बुधबार साँझ आफ्नो पदबाट राजीनामा गरेका थिए। यसपछि प्रधानन्यायाधीश मोख्वेङ मोख्वेङले रामापोसा निर्विरोध राष्ट्रपति पदमा निर्वाचित भएको घोषणा गरेका थिए।
सत्तारूढ अफ्रिकन नेसनल कंग्रेस (एएनसी) ले राजीनामा दिन वा सदनमा महाभियोगको सामना गर्नका लागि तयार रहन जुमालाई चेतावनी दिएको थियो। उपराष्ट्रपति एवं पार्टी अध्यक्ष सिरिल रामापोसालाई मार्ग प्रशस्त गर्न ७५ वर्षीय जुमामाथि दवाब बढ्दो थियो। भ्रष्टाचारसहितका कैयौं आरोप झेलिरहेका जुमा सन् २००९ देखि दक्षिण अफ्रिकाको सत्तामा थिए।
नवनियुक्त राष्ट्रपति रामापोसा एक सफल व्यापारी हुन् र उनले गएको डिसेम्बर महिनादेखि सत्तारुढ दलको नेतृत्व गरिरहेका छन्। दक्षिण अफ्रिकाको रंगभेदी शासनको विरोध गर्दा पटकपटक जेल परेका रामापोसा सन् १९९० मा सर्वोच्च नेता नेल्सन मण्डेलालाई जेल मुक्त गर्न गठित समितिको अध्यक्ष थिए।