सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग विपद् व्यवस्थापनसम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।
शुक्रबार आयोजित कार्यक्रममा सहभागी सबै प्रतिनिधिहरूले विपद् व्यवस्थापनमा सुरक्षा निकाय र राजनीतिक दलबीच सहकार्य र समन्वय आवश्यक रहेको धारणा व्यक्त गरे।
नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्रमान श्रेष्ठले नेपाल उच्च जोखिमको मुलुक भएकाले पूर्वतयारी र जनचेतना आवश्यक रहेको बताए।
उनले सशस्त्र प्रहरीले विद्यालयस्तरमा सञ्चालन गरेको तालिम प्रभावकारी भएको पनि उल्लेख गरे।
राप्रपाका सांसद उद्धव थापाले विपद् उद्धारमा सशस्त्र प्रहरीले देखाएको साहस जनताको विश्वासको कारण भएको भन्दै, राजनीतिक दल र सुरक्षाकर्मीको संयुक्त प्रयास आवश्यक रहेको बताए।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले समुदायस्तरको सहभागिता र समन्वयले जोखिम न्यूनीकरणमा प्रभाव पार्ने भन्दै, सरकारको सहयोगले काम अझ प्रभावकारी बनेको बताए।
कार्यक्रममा अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले स्थानीय तहसँग समन्वय गर्दै काम भइरहेको बताए।
कांग्रेसका कल्याण गुरूङले वडास्तरमै १०० जनालाई तालिम दिनुपर्ने, स्वयंसेवक तयार पार्नुपर्ने सुझाव दिए।
एमालेका खिमलाल भट्टराईले पूर्वसूचना प्रभावकारी हुने भएकाले सूचना प्रणाली सुदृढ गर्नुपर्ने बताए।
माओवादी केन्द्रका नारायण काफ्लेले स्थानीय संरचना बलियो बनाउनुपर्ने र उपकरणको अभाव हटाउनुपर्ने धारणा राखे।
रास्वपाका विष्णुकुमार श्रेष्ठ, जनमत पार्टीका शरदसिंह यादव, जसपाका माधव देव, लोकतान्त्रिक समाजवादी पार्टीका लक्ष्मणलाल कर्ण लगायतले पनि आफ्ना सुझाव राखे। उनीहरूले स्रोत साधनको अभाव, पूर्वसूचना, स्वयंसेवक उत्पादन, दमकल व्यवस्थापन, नीतिगत सुधार र समन्वयको आवश्यकता औँल्याए।
कार्यक्रममा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग्विजय सुवेदीले उद्धार कार्य र साधन स्रोतको बारेमा जानकारी गराए। दलका प्रतिनिधिहरूले उद्धार सामग्रीको अवलोकनसमेत गरे।
कार्यक्रममा विभिन्न दलका वातावरण तथा विपद् विभागका प्रतिनिधि र सशस्त्र प्रहरीका उच्च अधिकारीहरू सहभागी थिए।