नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष नैनसिंह महरले दाङको तुलसीपुरबाट प्रहरीले पक्राउ गरेका प्रकाश चौधरीलाई तत्काल रिहा गर्न माग गरेका छन्।
कम्युनिष्ट सरकारले तीन महिनामा ५ पटक पेट्रोलियम पर्दाथको मूल्यवृद्धि गरेको हुँदा त्यसको विरोधमा सुरू गरिएको चौंथो चरणको आन्दोलनका क्रममा नेविसंघ दाङले आयोजना गरेको शान्तिपूर्ण आन्दोलनमा रहेका प्रकाश चौधरीलाई गिरफ्तार गरिएको भन्दै त्यसप्रति खेट प्रकट गरिएको छ।
संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘लोकतान्त्रिक शासन व्यवस्थामा अभिव्यक्ति स्वतन्त्रता र फरक मत राख्ने संवैधानिक अधिकारको समेत खिल्ली उडाउँदै ओली सरकारले विद्यार्थीलाई गिरफ्तार गर्नु निन्दनीय छ।’
पक्राउ गरिएका विद्यार्थी नेता चौधरीलाई बिनासर्त तत्काल रिहा गर्न माग गर्दै अध्यक्ष महरले अन्यथा आफूहरू कडा खालको आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिएका छन् । त्यसबाट उत्पन्न परिस्थितिको जिम्मा ओली सरकार र स्थानीय प्रशासनले लिनुपर्ने महरले उल्लेख गरेका छन्।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाले भने नेविसंघको आन्दोलन उग्र बन्न थालेपछि पक्राउ गर्नु परेको बताएका छन्।
नेविसंघले आइतबार तुलसीपुरमा तीन वटा सरकारी गाडीमा तोडफोड गरेको हुँदा शान्ति सुरक्षा बिग्रन नदिन पक्राउ गर्नु परेको सापकोटाले बताए। तर, नेविसंघका क्षेत्र नं. ४ का क्षेत्रीय सभापति एकराज खड्काले भने प्रकाश चौधरी बजारमा हिँडिरहेका बेला प्रहरीले बिनाकारण पक्राउ गरेको बताएका छन् । घटनाको नेविसंघका जिल्ला सभापति राजकुमार डाँगीले पनि निन्दा गरेका छन्।