तुलसीपुर उपमहानगरपालिकाले आफ्नो घर आँगन र पसल वरिपरि फोहोर गर्नेहरूलाई चेतावनी पत्र दिएको छ।
उपमहानगरपालिकाले पटक/ पटक सार्वजनिक सूचनामार्फत् घर आँगन सफा राख्नका लागि आह्वान गर्दा समेत अटेर गर्ने ‘क’लाइनका ३५ जनालाई चेतावनी पत्र दिएको हो। उनीहरूलाई आगामी दिनमा अटेर गरे कारवाही गर्ने पनि उपमहानगरपालिकाले जनाएको छ।
तुलसीपुरलाई सुन्दर र हराभरा बनाउने लक्ष्यका साथमा सञ्चालन गरिएको ‘हाम्रो तुलसीपुर, राम्रो तुलसीपुर’को ९९ औ श्रृंखलाका क्रममा उनीहरूलाई कारवाही गरिएको वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक नवराज लामिछानेले बताएका छन्।
उनले सरसफाइ गर्नु सबै नागरिकको दायित्व भएको भन्दै अटेर गर्नेलाई कारबाही गरेर भए पनि सरसफाइ अभियानलाई सार्थकता दिने बताए। अभियानलाई सम्बोधन गर्दै तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख माया आचार्यले तुलसीपुरलाई हराभरा बनाउने अभियानमा सबैले साथ दिनुपर्नेमा जोड दिइन्।