समयमा काम नगर्ने १०६ जना ठेकेदारमध्ये एक हुन् उनी। गृहमन्त्री रामबहादुर थापाले काम नगर्ने ठेकेदारको सूची सार्वजनिक गर्दा शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रा.लि. ६४ नम्बरमा थियो।
र, त्यसका प्रोप्राइटर हुन् शारदाप्रसाद अधिकारी।
यस हिसाबले अधिकारी सरकारको दृष्टिमा ‘बदमासी’ गर्ने ‘क’ श्रेणीका ठेकेदारमध्ये एक हुन्। अधिकारीको अर्को परिचय पनि छ-नेकपा अध्यक्ष पुष्पकमल दाहालका घरबेटी।
समयमा काम नगर्ने र ‘बदमासी' गर्ने ठेकेदारको घरमा बसेको भनेर पार्टीभित्र र बाहिर दाहालको आलोचना हुन थालेपछि उनले कार्यकर्तामाझ अधिकारीको बचाउ गरेका छन्- उनी त सहिद परिवारका व्यक्ति हुन्।
आखिर को हुन्, शारदाप्रसाद अधिकारी?
दाहाललाई आफ्नै घरमा ‘डेरा’ दिएर राख्न सक्ने हैसियत बनाएका उनले माओवादी युद्धकालदेखि अहिलेसम्म लामो यात्रा पूरा गरेका छन्। ठूलो आर्थिक फड्को मारेका छन्।
अधिकारी नुवाकोट बागेश्वरी गाविस (हाल सूर्यगढी गाउँपालिका-३) मा जन्मे हुर्किए। परिवार सामान्य, खानलाउन पुग्ने खालको थियो।
अधिकारी सानै छँदा बाबु बिते। बाल्यकाल आमा, दाजु, दिदीसँग गाँउमै बित्यो। स्कुल पढिसकेपछि उनी पढ्न काठमाडौं हानिए।
‘हामी भूमिगत हुनुपहिले नै शारदा राजधानी आएका थिए ...,’ नेकपाका एक सांसदले एकछिन सोचेर भने, ‘सायद, २०४४ सालतिर उनी काठमाडौं आए।’
ती सांसदका अनुसार एसएलसी सक्नेबित्तिकै अधिकारी काठमाडौं आएका थिए।
उनी सरस्वती क्याम्पस भर्ना भए। आइए पास गरेपछि ललितकला क्याम्पस पनि गए। त्यसपछि त्रिचन्द्रमा बिए पढे।
पढाइसँगै उनले काम पनि खोजे। २०४८ देखि ५१ सालसम्म एउटा कम्प्युटर इन्स्टिच्युटमा काम गरे। व्यावसायिक चाख पस्यो। काम सिकेपछि उनले भोटाहिटीमा कम्प्युटर इन्स्टिच्युट खोले। कम्प्युटर ट्रेनिङ सेन्टरका सञ्चालक बने।
त्यसपछि कम्पयुटर किनबेच थाले।
०५२ सालमा माओवादीले ‘जनयुद्ध ’ सुरू गर्यो। उनी सुरूदेखि नै ‘जनयुद्ध’का समर्थक थिए।
‘सुरूमा उनी युद्धका समर्थक थिए,’ समकक्षी साथीबारे ती सांसदले भने, ‘पछि भित्रभित्र माओवादीलाई सहयोग नै गर्न थाले।’
सेतोपाटीसँगको कुरामा अधिकारीले माओवादी पार्टीसँगको आवद्धता स्वीकारे। ‘म विद्यार्थी छँदै राजनीतिमा लागेको हुँ, युद्धपहिले नै कीर्तिपुरमा प्रचण्डले प्रशिक्षण दिँदा प्रभावित भएको थिएँ,’ उनले भने।
अधिकारी दृश्यमा नआइकन युद्धमा सहयोग गर्थे। उपत्यकाकै तल् तहको कमिटीमा काम गर्थे। नेताहरूलाई सेल्टर दिन थालेपछि भने पार्टी र नेतासँग सुमधुर सम्बन्ध हुँदै गयो।
‘मैले नेताहरूलाई सेल्टर दिएर सहयोग गरेकै हुँ,’ अधिकारीले भने।
अधिकारीको ससुराली सिन्धुली हो। उनले धेरैजसो माओवादीको सिन्धुलीस्थित पूर्वी कमाण्डको नजिक रहेर काम गरे। माओवादी युद्धकै सिलसिलामा उनका ससुरा कमलप्रसाद देवकोटालाई सेनाले सोलुखुम्बुमा मार्यो। साली पनि सेनाबाटै मारिइन्। प्रचण्डले अधिकारीलाई सहिद परिवारको सदस्य भन्नुको कारण त्यही हो।
युद्धताका सिन्धुलीमै सहिद भएका शेरमान कुँवर र काभ्रेका माओवादी कार्यकर्ता दिनेश शर्मासँग उनले निकट रहेर काम गरेको उनका एक सहकर्मी बताउँछन्। शर्मा अहिले वैद्यको पार्टीमा छन्।
अधिकारीले विस्तारै पार्टीलाई आवश्यक पर्ने युद्ध सामग्री खरिद गर्न र ओसार्न सघाउन थालेको उनलाई नजिकबाट चिन्ने माओवादी नेताहरू बताउँछन्।
माओवादी भनेर बाहिर नचिनिएकोले उनलाई विभिन्न ठाउँमा सामानहरू पुर्याउँदा अप्ठेरो नपरेको उनका निकट सहकर्मी बताउँछन्।
अधिकारीले भने युद्ध सामग्री खरिद र ओसारपसार गरेको कुरा अस्वीकार गरे।
उनलाई पार्टीले पछि ठाउँ-ठाउँमा चन्दा उठाउने काममा सक्रिय पार्यो। मुख्य रूपमा ठेकेदारहरूसँग चन्दा उठाउन थाले।
‘युद्धमा सहयोगका लागि ठेकेदारहरूसँग चन्दा उठाउने काममा पार्टीले उहाँलाई खटाएको थियो,’ ती सांसद भन्छन्, ‘माओवादीको नाममा चन्दा लिन जाने व्यक्ति निकै विश्वासिला हुनुपर्थ्यो, उहाँले त्यो विश्वास आर्जन गर्नुभएको थियो।’
अधिकारीले भने आफूले ठेकेदारहरूसँग चन्दा उठाएको अस्वीकार गरे। ‘सानोतिनो’ सहयोग मागिदिएको भने स्वीकारे।
‘कतै कतै भनियो होला, दुई/पाँच सय सहयोग मागियो पनि होला,’ उनले भने, ‘तर, ठूलो रकम चन्दा उठाएको वा उठाउन हिँडेको भने हैन।’
२०५८ सालमा माओवादीले सरकारसँग पहिलो पटक वार्ता गर्यो। त्यसका लागि अनामनगरमा एउटा सम्पर्क कार्यालय स्थापना गरियो। कार्यालय सचिव बनाइएका थिए, नुवाकोटका भरत ढुङ्गाना। कार्यालयमा रहेर ढुगांनासँगै अधिकारीले पनि काम गरेको कतिपय माओवादी नेता बताउँछन्।
उनी भने त्यो स्वीकार्दैनन्। ‘कार्यालय खुल्यो होला, कतै थियो होला, मलाई ढुंगानाको पियन भनेर पनि प्रचार गरियो तर त्यो झुठो हो,’ अधिकारीले प्रष्ट्याए।
वार्ता भंग भयो, कार्यालय पनि बन्द भयो। ढुगांना २०६१ सालमा धादिङमा सेनाद्वारा मारिए।
अधिकारीमाथि पनि संकट आइपर्यो। माओवादीको नाममा चन्दा उठाएर ठूलो रकम हिनामिना गरेको उजुरी पार्टीमा पर्यो।
पार्टीभित्रका कमिटीबाट ‘कारबाही’ गर्नुपर्ने आवाज उठेको अधिकारीका एक पूर्वसहकर्मीले बताए। उनलाई जोगाउन उनका निकट साथीहरूले सहयोग गरे।
यसरी सहयोग गर्नेमा मोहन कार्की पनि थिए। कार्की अहिले नेत्रविक्रम चन्दको नेकपामा छन्। कार्कीका अनुसार अधिकारीको त्यतिबेला अध्यक्ष दाहालसँग सिधा सम्बन्ध थिएन। माओवादीका स्वर्गीय नेता पोस्टबहादुर बोगटीसँग उनको राम्रो हिमचिम थियो। बोगटीको पार्टी अध्यक्षसँग विश्वासको सम्बन्ध थियो।
बोगटीले अधिकारीलाई पार्टी अध्यक्षसँग चिनजान गराए। उनको संकट पनि टर्यो, उनी दाहालसँग पनि नजिक भए।
अधिकारीले यो प्रकरण पनि साँचो नभएको बताए। ‘मैले भूमिगत भएर राजनीति नै गरिनँ, मलाई कारबाही गर्न खोजिएको पनि हैन,’ उनको दाबी छ।
चन्दा उठाउने क्रममा अधिकारीको ठेकेदारहरूसँग नजिकको सम्बन्ध बन्यो। चन्दा संकलनका कारण पार्टीभित्र र ठेकेदार दुबैतिर राम्रो पहुँच बन्यो।
ठेकेदारहरूसँग हिमचिम बढेपछि ठेकेदारीमा उनको चाख बढ्यो।
२०५९ सालमा कम्प्युटरको काम छोडे। इलामको बर्ने र झापाको ज्यामिरगढी खानेपानी निर्माणको खुद्रे ठेक्का लिए।
०६० सालतिर उनले आफ्नै नाममा कम्पनी स्थापना गरे। उनले ‘बी’ श्रेणीको द मोर्डन शेर्पा कन्स्ट्रक्सन कम्पनी किने। त्यसको नाम फेरेर शैलुङ कन्स्ट्रकसन राखे।
आफ्नै नाममा कम्पनी भएपछि उनले ठेक्का लिन थाले। सुरूमा उनले विद्युत प्राधिकरणको ठेक्का लिए। सबैभन्दा पहिले गुल्मीमा उनले ट्रान्समिसन लाइनको काम गरे। ‘सडक निर्माण आफैं ठेक्का लिएर काम गर्न थालेको सार्क सम्मेलनबाट हो,’ उनले भने।
उनको ठेकेदार पेशासँगको सम्बद्धता बनेपा-बर्दिबास सडक पनि जोडिन्छ। हाजमा र श्रेष्ठ कन्स्ट्रक्सनले सो बाटो निर्माणको ठेक्का लिएको थियो। सो कम्पनीबाट २०६४/६५ सालमा पाँच किलोमिटर बाटो बनाउने ठेक्का आफूले लिए।
माओवादी ‘जनयुद्ध’कालमा बनेको सम्बन्धका आधारमा उनले सो बाटोको काम पाएको निकटस्थ बताउँछन्। अधिकारीले भने अस्वीकार गरे। ‘पहिले नै भनें, मैले चन्दा उठाएको हैन,’ उनले भने, ‘मैले आफ्नै बुताबाट ठेक्का पाएको हुँ।’
अधिकारीको ‘व्यावसायिक सफलता’ सँगै उनको प्रचण्डसँगको सम्बन्ध झनै कसिलो बन्यो।
यो सम्बन्ध झाँगिदै पछिल्ला दिनमा अधिकारी दाहालको घरबेटी नै बनेका छन्। खुमलटारस्थित दुई रोपनीभन्दा बढी जग्गामा कम्पाउण्ड घेरेर बनाइएको अधिकारीको घर नै दाहालको अहिलेको ‘डेरा’ हो।
प्रचण्डका छोरा प्रकाश बितेपछि एक दिन अधिकारी लाजिम्पाट पुगेका थिए। छोराको मृत्यु शोकमा प्रचण्ड पत्नी सीतालाई विक्षिप्त देखेको अधिकारी बताउँछन्। ‘यहाँ बस्दा अप्ठेरो लागेको छ भने मेरो घर खाली छ, त्यहीँ बस्न जाउँ भनेको थिएँ,’ अधिकारीले भने।
प्रचण्ड परिवार राजी भयो।
अधिकारीका अनुसार खुमलटारको घर एउटा चिनियाँ कम्पनीलाई भाडामा दिइएको थियो।
‘भद्रगोल थियो, सफाचट पारें,’ उनले भने।
दाहाल योभन्दाअघि अजेयराज सुमार्गीको लाजिम्पाटस्थित यस्तै बंगलाको ‘डेरा’मा बस्थे। सुमार्गीले सो बंगला एक व्यापारीसँग किनेर खासै आर्थिक हैसियत नभएकी आफ्नी जेठी सासूका नाममा राखेका छन्।
सुमार्गीको पनि दाहालसँग निकट सम्बन्ध छ। सुमार्गी लामो समयदेखि व्यवसायमा छन्। तर, उनको आर्थिक कायपलट भने २०६२/६३को जनआन्दोलनपछि भएको देखिन्छ। अधिकारीको आर्थिक छलाङ पनि दोस्रो जनआन्दोलनपछिकै हो। कतिपयले अधिकारीलाई प्रचण्डका अर्का सुमार्गी पनि भन्छन्।
अधिकारीको यो आर्थिक छलाङमा तत्कालीन माओवादी पार्टी र प्रचण्डसँगको निकटताले कति काम गरेको छ/छैन यकिनका साथ भन्न सकिन्न। तर, प्रचण्ड-अधिकारी निकटता भने धेरै गहिरो देखिन्छ।
प्रचण्डका स्वर्गीय पुत्र प्रकाश र उनकी तेस्री श्रीमती बिना, अधिकारीकै घरमा छ महिनाभन्दा धेरै समय बसेको कुराले पनि त्यो निकटता कति गहिरो छ भन्ने संकेत गर्छ।
प्रकाशसँग निकै पहिलेदेखि नै निकटता रहेको अधिकारीले आफैंले बताएका छन्। ‘उहाँ आएर मेरोमा बसिरहनुहुन्थ्यो,’ उनले भने, ‘प्रकाश-बिनाका छोरा त तीन महिनाजति मेरै घरमा हुर्किएका हुन्।’
दोस्री श्रीमती सिर्जना त्रिपाठीसँगै बसेको बेला प्रकाशको बिना मगरसँगको सम्बन्ध बाहिर आयो। प्रचण्डले प्रकाशलाई हेडक्वार्टरबाट ‘निकाला’ गरेको घोषणा गरे।
प्रकाश-बिना केही समय भारतको दिल्ली बसेको चर्चा छ। त्यसपछि नेपाल फर्केर उनीहरू अधिकारीकै ललितपुर सिडिओ कार्यालयसँगैको घरमा बसे। उनीहरूका छोरा छ महिना त्यहीँ हुर्किए।
पछि प्रकाश-बिनाका लागि ललितपुरको सुनाकोठीस्थित सिभिल होम्स कोलनीमा आठ आनामा बनेको छुट्टै बंगला किनियो। त्यो अधिकारीले किनिदिए वा त्यसको आर्थिक व्यवस्थापन प्रचण्डले गरे यकिन छैन।
प्रचण्डले केही समयपछि नै प्रकाशको निलम्बन फुकुवा गरे। उनी सिभिल होम्स धेरै बसेनन्, दाहालको लाजिम्पाटस्थित ‘डेरा’ नै फर्किए। सिभिल होम्सको घर भने अझै पनि मन्त्री बिनाकै अधिनमा छ।
दाहाल-अधिकारीबीचको यो सम्बन्ध लामो समयसम्म धेरै मानिसलाई थाहा थिएन। त्यतिञ्जेल अधिकारीको सार्वजनिक चर्चा पनि थिएन।
सार्वजनिक रूपमा अधिकारीको चर्चा तत्कालीन माओवादी केन्द्र र एमालेबीच पार्टी एकताका क्रममा भएको हो। ललितपुर सिडिओ कार्यालयसँगै जोडिएको अधिकारीको घरमा पटक-पटक दुई पार्टीका नेताहरूको बैठको बस्यो।
उनको राजनीतिक निकटता पनि त्यही बेला उद्घाटित भयो। सेतोपाटीसँग कुरा गर्दै अधिकारीले पूर्वमाओवादीसँग उनको राजनीतिक निकटताका र सो पार्टीमा उनको भूमिकाका थप पाटो खोले।
‘एमाले-माओवादी एकताको मात्र हैन, मातृका यादव, मणि थापा र रामबहादुर थापाहरूको पार्टी एकीकरणको वार्ता पनि यहीँ भएको हो,’ अधिकारीले खुलाए।
ललितपुरको मानभवनस्थित जुन घरमा माओवादीका विभिन्न घटक र माओवादी-एमालेबीच एकता वार्ताहरू भए, त्यो घर पहिले नेपालको इतिहासका एक चर्चित र विवादित पात्र नरशमशेर राणाको थियो।
राणा बितेपछि उनका परिवारले गुण एयरलाइन्सका मालिक राजेन्द्र शाक्यलाई उक्त घर बेचेका थिए। शाक्यले घर प्राइम हाउजिङ कम्पनीका नाममा राखेका थिए। एयरलाइन्स, हाउजिङ कम्पनी र सहकारीहरूमा कारोबार डुबेपछि शाक्य कालोसूचीमा परे।
बैंक, वित्तीय संस्थाबाट कालोसूचीमा परेपछि २०६८/०६९ तिर बैंकले लिलामी गर्न लागेको त्यो घर अधिकारीले किने। साढे २ रोपनी जग्गामा रहेको बंगलासहितका घरहरू अधिकारीले सिद्धार्थ बैंकबाट लिलाम सकारेका थिए।
‘हो, मैले बैंकले लिलाम गर्न लागेको त्यो घर किनेको हुँ,’ अधिकारीले भने।
मुलुकका दुई ठूला वामपन्थी पार्टीको एकीकरण टुंगो लगाएको त्यो घरको अहिलेको चलनचल्तीको मूल्य २२ देखि २५ करोड रूपैयाँ छ।
अधिकारीले राजनीतिक निकटता कायमै राखेर आर्थिक उन्नति गरे पनि उनको राजनीतिक महत्वकांक्षा पूरा भएको छैन।
२०६४ सालमा गाउँमा हल्ला चल्यो- शारदा अधिकारी समानुपातिकतर्फ सांसद सिफारिस हुँदैछन्। तर, अन्तिममा नाम आएन।
गएको संसदीय निर्वाचनमा ललितपुरबाट उनको नाम समानुपातिकतर्फ सिफारिसमा परेको थियो। अन्तिम सूचीमा भने उनको नाम काटियो।
उनको ठेकेदारी व्यवसाय र आर्थिक छलाङ भने जारी छ। आजका दिनमा आफूसँग सात अर्ब बराबरको ठेक्काको काम रहेको उनले बताए। उनका काम विवादरहित छैनन्।
उनले २०६८ सालमा नुवाकोटकै बिदुरबाट चोगटेसम्मको सडक ग्राभेलको ठेक्का लिए। आफ्नो गाउँले ठिटो ठेकेदार बनेको गाउँलेले प्रष्टसँग थाहा पाएको त्यही बेला हो।
१० किलोमिटर बाटो ग्राभेल गर्दा उनले आफ्नै गाउँ-ठाउँका मान्छेको चित्त बुझाउन सकेनन्। ‘एकदमै निम्न स्तरले ग्राभेल भयो, आफ्नै गाउँको मान्छे ठेकेदार हुँदा गुणस्तरको सडक बन्ने अपेक्षा गरेका थियौं, धोका भयो,’ सूर्यगढी गाउँपालिकाका जनप्रतिनिधिहरू भन्छन्।
काम राम्रो गर्न नसकेको अधिकारीले पनि स्वीकारे।
‘मैले गाउँलेको चित्त बुझाउन सकिनँ, भर्खर-भर्खर काम थालेको, राम्रो पनि भएन त्यसपछि मैले त्यहाँ अरू ठेक्का लिइनँ,’ उनले भने।
अधिकारीलाई चिन्ने ठेकेदारहरूका अनुसार उनी ‘होलसेल’ ठेकेदार हुन्। उनलाई राजनीतिक पहुँचमा साना-मझौला जस्तासुकै ठेक्का पर्छन्। कतिपय ठेक्का न्यून रकम कबुलेर पाउँछन्। उनका काममा गुनासो नआएको वर्ष हुँदैन।
‘प्रचण्डको सिफारिसमा निर्माण व्यवसायी महासंघको सल्लाहकार बन्नेलाई कसले कारबाही गर्ने?,’ निर्माण व्यवसायीहरू भन्छन्।
अधिकारी भने राजनीतिक पहुँचले कारबाही रोक्न नसक्ने दाबी गर्छन्। ‘म सहमतिअनुसारै सल्लाहकार भएर आएको हुँ,’ उनले भने, ‘उताको संगठनमा पनि म सल्लाहकार थिएँ।’
अधिकारी करोडौंको ठेक्का लिनसक्ने आर्थिक क्षमताका पनि थिएनन्। उनको पृष्ठभूमि लाखौं-करोडौंको पनि होइन। माओवादीसँग जोडिएपछि उनले विस्तारै वास्तविक जीवनभन्दा माथिल्लो स्तर बनाएको माओवादी नेताहरुले नै भन्छन्।
अधिकारीले गर्ने सडकका काममा धेरै समस्या रहेको र गुनासा आएको कतिपय ठेकेदार बताउँछन्।
अधिकारीकाले गुनासा आएको स्वीकारे तर, त्यसमा आफ्नो मात्र दोष नरहेको बताए।
‘बाधा अवरोध आइरहन्छन्, सरकारले समयमा सडकका रुखबिरुवा हटाइदिँदैन,’ उनी भन्छन्, ‘कम रकममा काम लिन्छु, जोखिम लिएर काम गर्छु।’
काम ढिलो गरेको आरोपमा पनि अरू नै समस्या रहेको अधिकारीले बताए।
‘नगरकोटको सडक बनाउन इन्द्रावती नदीबाट निर्माण समान ल्याउने सम्झौता थियो। पछि त्यहाँबाट ल्याउन दिइएन, पोखराबाट ल्याएर गर्दैछु,’ उनले भने, ‘यस्तो भएपछि केही ढिला भइहाल्छ नि!’
उनले कतिपय अवस्थामा क्षमता नभएर पनि काम ढिलो हुने गरेको बताए। ‘हामी जिम्मा लिन्छौं। अनि पेटी ठेकेदार खोजेर कामको जिम्मा दिने हो। पेटीमा दिनुपर्ने बाध्यता छ,’ उनी भन्छन्, ‘नभए १० जनाले काम गर्दा २० जनाको हाजिर गरेर ल्याउँछन्। पेटी ठेकेदार खटेर काम गर्छ।’
त्यसबाहेक राजनीतिक दल, प्रशासन, स्थानीय मान्छेलाई पनि ‘मिलाउनु पर्ने’ झण्झट रहेको उनले बताए।
‘गुन्डागर्दी त हटेको छ, पहिले गुन्डालाई मिलाइन्थ्यो, अहिले पार्टी र प्रशासन नमिलाई कामै हुँदैन, पार्टीले चन्दा मागेर हैरान पार्छन्,’ उनले भने, ‘मैले लिएको छैन, दिएको मात्र छु। अचेल त चन्दा दिँदिनँ।’
राजनीतिक सिफारिसमा ठेक्का लिएको भने उनी मान्न तयार छैनन्।
‘ठेक्का लिँदा राजनीतिक पहुँचले काम गर्दैन, कहिलेकाहीँ आर्थिक असहजता मिलाउन भने सिफारिस लगाउनुपर्छ, लाग्छ,’ अधिकारी भन्छन्।
पहिले अत्यन्त कम मूल्य कबुलेर ठेकेदारहरूले काम लिने र पछि त्यसले समस्या निम्त्याउने गरेको भने उनले स्वीकारे।
‘कम पैसामा ठेक्का हाल्ने समस्या छ। हामी फिल्डमा नगई, सर्भे नै नगरी ठेक्का हाल्छौं,’ उनले भने, ‘फिल्डमा जानै भ्याइँदैन।’
कतिपय ठूला ठेक्कामा आजकल ठूला ठेकेदारहरू मिलेर एउटाले मात्र प्रतिस्पर्धा गर्ने गरेको पनि उनले स्वीकारे।
‘आज एउटाले लियो। भोलि अर्कोले लियो। त्यसरी नै मिलाउने हो,’ उनले भने।
अधिकारीले ठूला ठेक्का हात पारेको धेरै भएको छैन। प्रचण्डको सिफारिसमा निर्माण व्यवसायी महासंघको सल्लाहकार बनेपछि उनी ठूला ठेक्कामा पौडिन थालेका हुन्।
नाम कहलिएका ठूला कम्पनीले ठूल्ठूला ठेक्कामा मिलेमतो गर्छन्। एउटा ठेक्का एकजनाको भाग, अर्को ठेक्का अर्काको भाग। त्यसैले उनीहरू ठूला ठेक्कामा प्रतिस्पर्धा गर्दैनन्। ठूला र पँहुचवाला ठेकेदारको त्यो ‘एक्सक्लुसिभ क्लव’का सदस्य हुन्. अधिकारी।
त्यो क्लवका सदस्यहरूमाथि राज्यले कारबाही गर्ने विरलै हिम्मत गर्छ।
अधिकारीले लिएका धेरै सडकको काम पनि समयमा सकिएको छैन। गृह मन्त्रालयले त्यही भएर उनलाई समयमा काम नगर्ने ठेकेदारको सूचीमा राखेको हो।
काठमाडौं उपत्यका सडक सुधार योजना कार्यालयका अनुसार उनले त्रिपुरेश्वर-कलंकी-नागढुंगा ९.१ किलोमिटर सडक ठेक्का लिएका छन्। यो सडक एक अर्ब १३ करोड, ८४ लाख ३२ हजार ७३० रूपैयाँमा ठेक्का लागेको हो।
एक वर्षे सम्झौता अनुसार २०७२ असार मसान्तमा उनले ठेक्का लिएका थिए। कार्यालयका अनुसार बढीमा पुस मसान्तसम्म सक्नु पर्नेमा उनले पूरा गरेका छैनन्। अहिले ५० प्रतिशत काममात्र पूरा भएको छ।
यो सडक निर्माण गर्न शैलुङले तीन भाग लगाएको छ। यसको पृष्ठभूमिमा मुख्य ठेकेदार शैलुङ छ, ज्वाइन्ट भेन्चर ठेक्कामा अरू कम्पनी छन्। शैलुङको प्राविधिक पक्ष कमजोर छ, त्यसैले ज्वाइन्ट ठेक्का लिन्छन्।
कलंकी नागढुंगाको तीन किलोमिटर खण्ड एमएस शर्मा, शैलुङ र कान्छाराम जेभी, ३-६ खण्ड एमएस लुम्बिनी-शैलुङ र साप जेभी र ६-९.१ खण्ड एमएस शर्मा-शैलुङ र कान्छाराम जेभीलाई निर्माण जिम्मा दिइएको छ।
२०६९/७० मा सम्झौता भएको भक्तपुर–नगरकोट साढे १५ किलोमिटर कालोपत्रे सडक शैलुङ र भारतीय ठेकेदार कम्पनी अरभाली इन्फ्रापावर समेतले हालसम्म पूरा गरेका छैनन्। ०७२/७३ भित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य थियो। भूकम्प, नाकाबन्दीको समस्या देखाएर ठेकेदारले २०७४ मंसिरसम्म म्याद बढाउन लगाए।
मंसिर बित्यो, सडक ज्यूँकात्यूँ। जेठ मसान्तसम्म फेरि अर्को म्याद थप्दा पनि काम नसकेपछि शैलुङ र भारतीय कम्पनी दुबै कम्पनीलाई २१० दिनको अल्टिमेटम दिइएको छ। यो मितिमा यिनीहरूले दैनिक १ लाख ४५ हजार हाराहारी जरिवाना तिरेर काम गरिरहेका छन्।
सम्झौता उल्लंघन गर्ने कम्पनीलाई दुई सय दिनको समयावधिमा काम सक्न निर्देशन दिई सम्झौताको १० प्रतिशत हर्जाना तिराउने नियम छ। उक्त समयसीमा पनि गुजारे पेश्की रकम तान्ने, सम्झौता रद्ध गर्ने, बैंकबाट पैसा फिर्ता लिने र कालोसूचीमा राख्ने नियम छ। तर, शैलुङलाई अहिलेसम्म कालोसूचीमा राखिएको छैन।
भक्तपुर-नगरकोट-सिपाघाट-बल्खु-दक्षिणकाली सडक योजना प्रमुख नरेन्द्र कोइरालाका अनुसार अन्तिम विकल्पका रूपमा पेनाल्टी तिराएर काम लगाउन थालिएको हो।
‘अहिले ४७ प्रतिशत काम सकिएको छ, २१० दिनसम्म यसरी नै काम लगाउने हो,’ उनले भने, ‘त्यो मितिमा पनि नसकिए कानुनअनुसार कारबाही गर्छौं।’
पर्यटकीय गन्तव्य नगरकोटको मुख्य सडक भक्तपुर-नगरकोट-सिपाघाट सडकको प्रगति ४० प्रतिशत मात्र सकिएको छ। २७ करोड ९० लाख १९ हजार ६६३ रुपैयाँमा ठेक्का सम्झौता गरिएको उक्त सडक अलिअलि बन्ने र भत्किने गरिरहेको छ।
सुख्खामा धूलो र वर्षातमा हिलो बेस्सरी हुने भएकाले हिँडडुल गर्नै समस्या छ। नगरकोट सडक निर्माण तथा विस्तार समयमै नभएको भन्दै स्थानीय, नगरकोट तथा नाल्दुमका पर्यटन व्यवसायीहरूले जिल्ला प्रशासनमा बारम्बार मौखिक उजुरी गर्ने गरेका छन्। ‘कुरा आइरहन्छ, हामीले सडक कार्यालयलाई ध्यानाकर्षण गराइरहेकै छौं,’ भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भने।
बालाजु-रानीपौवा-त्रिशुली सडक पनि शैलुङ र अर्को एउटा कम्पनीले संयुक्त रूपमा लिएका थिए। सडक पाँच वर्षदेखि अलपत्र छ। २७ करोड ४७ लाख ४७ हजार ७०८ रुपैयाँमा ५६ किलोमिटर सडक निर्माण सम्झौता भएको उक्त सडक ठेकेदार कम्पनीको लापरबाहीले लथालिंग भएको हो।
आर्थिक वर्ष २०७३/७४ मा सम्झौता भएको भोलागिटी-सुनाकोठी-चापागाउँको ३.२ किलोमिटर सडक पनि शैलुङले अलपत्र पारेको छ। सोही आर्थिक वर्षमा सक्नुपर्ने भए पनि अहिलेसम्म सम्पन्न भएको छैन।
‘त्यहाँको सडकमा स्थानीयको अबरोध रहेको कुरा आएको छ,’ सडक सुधार आयोजना प्रमुख दीपक केसीले भने, ‘म्याद सकिइसके पनि अबरोधको कारणले पुनः थपिएको हो।’
शैलुङले नै ठेक्का लिएको काठमाडौं क्षेत्र नम्बर ४ को सुन्दरबस्ती, आदर्शनगर, चुनिखेल, टुपेक, टुसाल, जग्दोले राष्ट्रिय सहिद पार्क बाटोको म्याद २०७४ साउन २० गते नै सकिएको छ। त्यस्तै, आकाशेधारा, बालुवाखानी, साततले सडक, राम मन्दिर, कृष्ण मन्दिर सडकको म्याद २०७४ असोज ३० गते सकिएको छ।
८ करोडमा ठेक्का लागेको चितवनको चौबिसकोठी-रामपुर-चनौली-गोलाघाट १२ किलोमिटर सडक तीन पटक म्याद थपिएपछि बल्ल सकिएको छ। शैलुङ र भारतीय कम्पनीले यो सडकको ठेक्का लिएका थिए।
२०७४ असार मसान्तसम्म सक्नुपर्ने सम्झौता थियो। त्यसअघि नै २०७३ कात्तिकसम्ममा सक्नुपर्ने गरी ठेकेदार कम्पनीसँग सम्झौता थियो। बढाएर २०७४ असार मसान्त पुर्याए पनि सकिएन। गत फेब्रुअरीमा उक्त सडक हस्तान्तरण भइसकेको अधिकारीले दाबी गरे।
‘यति राम्रो सडक छ कि, बिमस्टेक सकेर मौका मिलाएर अस्ति प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गर्ने तयारी गरिएको थियो,’ अधिकारीले भने, ‘अन्तिममा समय मिलेन।’
सडक डिभिजन कार्यालयले भने सडक हस्तान्तरण भइनसकेको बताएको छ।
‘१२ किलोमिटर सडकको छेउछाउका डिल निर्माण भइरहेको छ,’ डिभिजन सडक कार्यालय भरतपुरकी इन्जिनियर गीताञ्जली कोइरालाले भनिन्, ‘हस्तान्तरण भइरहेको छैन, सडक छेउछाउका डिल निर्माण भइसकेको छैन।’
यी ठूला सडकसँगै काठमाडौं उपत्यकाभित्र शैलुङले अन्य सडक गरी ९ सडक पुल ठेक्का लिएको छ। शैलुङले मेलम्ची खानेपानी आयोजनाले पाइप पुर्दा खनेका सडकको काम पाएको छ। डेढ वर्षअघि सम्झौता भएको सडक ३५ करोड लागतको हो।
नेपाली सेनाले जिम्मा लिएको फास्ट ट्रयाकको पाँच किलोमिटर ठेक्का पनि शैलुङले पाएको छ। एउटा २.८ किलोमिटरको एउटा र एक किलोमिटर अर्को खण्डमा शैलुङले काम गरिरहेको छ।
कतिपय ठेकेदारहरू थोरै पैसामा काम लिने र कमसल काम गर्ने ठेकेदारको रूपमा उनलाई प्रस्तुत गर्छन्।
‘उहाँ ‘लो रेट’मा जताततै ठेक्का लिने र नतिजा पनि ‘लो क्वालिटी’कै दिने गर्नुहुन्छ, निर्माण व्यवसायी महासंघमा यस्ता गुनासो कति छन्, कति,’ अधिकारीलाई नजिकबाट चिन्ने एक निर्माण व्यवसायीले भने।
अधिकारीले हालसम्म ७० वटा जति साना ठूला ठेक्का लिई काम गरेका छन्। उनले आफूले गरेको काममा गुणस्तरको प्रश्न नरहेको बताए।
‘क्वालिटीको विषयमा द्विविधा छैन, बनाएको सडक एक वर्षसम्म भत्किए हामी आफैंले बनाउनैपर्छ,’ अधिकारी भन्छन्, ‘लोडर लगाउँदा छरिएका मसिना गिट्टी खिचेर टिभीमा कम गुणस्तरको बनायो भनेर दुस्प्रचार गरिन्छ, साह्रै दुःख लाग्छ।’
अधिकारीले सडकको कामले हैरान भएकोले अब सानातिना ठेक्का नलिने बताए।
‘अहिलेका सडक परियोजना सकिएपछि म ५० करोडभन्दा मूनिको ठेक्का लिन्नँ,’ उनले भने, ‘बरू जलविद्यत् विकासमा काम गर्छु।’
जलविद्युत् आयोजनामा उनले हात हालिसकेका छन्। शैलुङ पावर कम्पनी खोलेका छन्। उनले झन्डै ८ अर्बको लगानीमा ४० मेगावाटको भोटेकोसी जलविद्युत् आयोजना निर्माण गर्ने बताए।
‘फाइनान्सियल क्लोजिङ भएको छैन,’ उनले भने, ‘लगानी कहाँ-कहाँ बाट जुटाउने भन्ने टुंगो लाग्नेबित्तिकै निर्माण थाल्छु।’
अधिकारीलाई सडकबारे ‘साना' विषयमा मिडियामा आएका खबरले त्यति चित्त दुखाएको छैन, जति प्रचण्डका घरबेटी भनिएको छ। ‘जे गर्दा, जहाँ पनि प्रचण्डको घरबेटीले यस्तो बिगार्यो भन्छन्,’ अधिकारीले गुनासो गरे।
‘मेरो त अरू परिचय नै हराइसक्यो। म प्रचण्डको घरबेटी भन्नेमा सीमित भएँ,’ उनले गुनासो गरे।
अधिकारीसँग सेतोपाटीले लिएको अन्तर्वार्ता हेर्नुहोस्