नेपालमा गान्धीवादी भनेर चिनिएका कृष्णप्रसाद भट्टराई र महेन्द्रनारायण निधि हुन्।
यसअघिको बसाइमा कृष्णप्रसाद भट्टराईबारे चर्चा हुँदा रातभरि रक्सी खाने मान्छे के को गान्धीवादी भन्ने कुरा उठ्यो। मैले ती वक्तालाई सच्याएर भनेँ- राति मात्र होइन, किसुनजी दिउँसो पनि रक्सी पिउनुहुन्थ्यो।
तीनपटक हतियार बोकेको मान्छे वा पार्टी गान्धीवादी हुन सक्छ कि सक्दैन? दिउँसै रक्सी खाने कृष्णप्रसाद भट्टराई गान्धीवादी हुन सक्छन् कि सक्दैनन्?
२१ औं शताब्दीमा गान्धीबारे कुरा गर्दा गान्धीको अमूर्त सत्यलाई हेर्ने विभिन्न पक्ष छन्। एक चरणमा उनी वर्ण व्यवस्था मान्दथे, अर्को चरणमा कुनै पनि समजातिको व्यवहारमा जाँदैनथे।
कुनै समय ब्रिटिस सरकारका वफादार सिपाही भन्थे र अंग्रेजमा सिपाही भर्ती गराएका थिए। श्रीमतीले आफूलाई टेरिन भनेर हातपात गरेका थिए। कुनै समय महिला अधिकारका सबैभन्दा ठूलो प्रवक्ता पनि भए।
उनैले पटेल र नेहरुले नमान्दा नमान्दै अमेरिकीलाई भारतको संविधानसभाको पहिलो मस्यौदाकार नियुक्त गरे। उनको व्यक्तित्वमा ठूलो अन्तरविरोध छ। त्यस अन्तरविरोधको ब्याख्या उनका शिष्य, उनले मन पराएका मान्छे जवाहरलाल नेहरुले गरेका छन्। नेहरुको आत्मकथा पठनीय छ। ठाउँ-ठाउँमा गान्धीको कुरा उठेको छ।
गान्धीको अन्तरविरोधबारे सबै कुरा आत्मकथामा छ। एक ठाउँमा गान्धीबारे नेहरु सटिक कुरा भन्छन्- गान्धी आयो हामी सबैलाई प्रभावमा पार्यो। अब यसको नेतृत्वमा मात्रै जनता जाग्छन्। यसको विकल्प छैन। यस्तो झक्किपनन, बहुलठ्ठी। कहिले बाख्राको दूध खान्छु भन्या छ। कहिले तीन दिन बोल्दिन भन्या छ। स्वाधीन भारतमा गान्धीको झक्किपना चल्दैन।
उनी लेख्छन्- यो मान्छेमा अचम्म रहस्यमयीता छ। राजनीतिज्ञका रूपमा हेर्नुस् धार्मिक प्रतीत हुन्छ। धार्मिकका रूपमा हेर्नुस् राजनीतिक प्रतीत हुन्छ। दिनरात कीर्तन गरिराख्छ। पाकिस्तानलाई भारत सरकारले पैसा दिएन भनेर अनशन गर्छ। गान्धीको व्यक्तत्व यति विचित्र छ। बहुमुखी छ।
हामीले गान्धीको वास्तविक क्रान्तिकारिता अझै पनि रेखाङ्कित गरेका छैनौं। गान्धीवादी हुन नेपाली कांग्रेसले कतिपटक हतियार बोक्यो भन्ने गन्ती पनि महत्वपूर्ण छैन। कृष्णप्रसाद भट्टराईले रक्सी खान्थे/खाँदैनथे भन्ने महत्वपूर्ण छैन।
भट्टराईजीको भनाइ रक्सी खाने मान्छेलाई कांग्रेसको सदस्यता नै दिनु हुँदैन भन्ने थियो। रक्सीभन्दा माथि, हतियारभन्दा माथि कुनै गान्धीको तत्व छ कि छैन? त्यसको खोजी २१ औं शताब्दीको सबैभन्दा ठूलो खोजी हो।
गान्धीको सबैभन्दा ठूलो विशेषता भनेको जस्तै पराजित अवस्थामा, जस्तै अपमानित अवस्थामा, जस्तै कमजोर अवस्थामा पनि तिमी आफ्ना अत्याचारीलाई आँखामा आँखा मिलाएर ल भन के भन्नु छ? भन्न सक्छन्। यसको निम्ति तपाईंले ज्यान हत्केलामा लिएको हुनुपर्छ।
गान्धीले सिकाएको इज्जतका साथ, आत्मसम्मानका साथ बाँच्नुस्। न राजासँग, न मन्त्रीसँग, न नेतासँग, न देवतासँग, न सरकारसँग, न बाह्मणसँग र विद्वानसँग। कोहीसँग पनि आत्माका विरुद्ध नडराउनुहोस् यही हो गान्धीको केन्द्रीय शिक्षा।
२१ औं शताब्दीका लागि गान्धीजीका तीनवटा महत्वपूर्ण कुरा छन् भन्ने मलाई लाग्छ। हिन्दु र मुसलमान अलग होइन भनेर गान्धीजीले बलिदानी दिनुभयो। लगभग त्यही चिज हामीले नेपालमा देख्ने खतरा अस्तिसम्म थियो। मधेश र पहाड। जनजाति र खस। जनजाति र बाहुनको लडाइँ। युरोप अमेरिकामा आज पनि नश्लबाद भइराखेको छ।
सबै मनुष्य एक हुन्। पहिचान अनेक छन्। हामीले यो भन्नुपर्छ। म को भन्दा म एउटा पुरुष हो। म पुत्र पनि हो। पिता हो। नेपाली हो। समुदाय हो। त्यसमध्ये नेपाली कांग्रेस हो। कांग्रेसमध्ये (सभापति शेरबहादुर देउवालाई हेर्दै) देउवा गुट पनि हो। मेरो पहिचान भन्दैमा पौडेल गुटको कठालो समात्ने? कांग्रेस हुँ भन्दैमा घनश्याम भुसाललाई सुदुरपश्चिम पस्नै नदिने? गान्धीजीको जीवन यस्ता भेदभावविरुद्ध प्रतिरोध थियो।
दोस्रो उपभोक्ताबाद। के खोजेको साम्राज्यबादी देशहरुले? हाम्रा मान्छेलाई लगेर, कजाएर, हाम्रो देश लुटेर, भारतलाई लुटेर अरबपति करोडपति भएका मान्छेलाई भिसा लिन हामीले चाकडी गर्नुपर्ने उनीहरुको पूँजी ल्याउनलाई प्रार्थना गर्नुपर्ने? उपभोक्ताबादले हामीलाई दास बनाउँदैछ। मानिस बन्न दिएको छैन।
गान्धीजी भन्नुहुन्थ्यो, ज्ञान भनेको हवाइजहाज उडाउने ज्ञानलाई भन्या छैन। ज्ञान भनेको आफूलाई चिन्ने ज्ञान। सबैभन्दा ठूलो विद्या आत्मविद्या। सबैभन्दा ठूलो ज्ञान आत्मज्ञान। अमेरिकाबाट समाचार आउँछ मानिस बौलाएको छ। बैंकको ऋणले गर्दा। चीनबाट समाचार आउँछ आइफोन/ट्याव किन्न त्यहाँको युवकले किड्नी बेच्छ। यो उपभोक्ताबादले विश्वलाई आतंक गरेको बेला नंगाफकिरको बसाइ खुवाइ सुताइ केही चाहिँदैन भन्ने उसको दावा २१ औं शताब्दीको अर्को सन्देश हो।
यसरी नै संसार लुट्न हिँड्ने हो भने सबले धाने पनि पृथ्वीमाताले धान्न सक्दिनन्। आगामी ५० वर्षमा इकोलोजिकल डिजास्टर आउँछ। मानिस आफ्ना कमजोरीले आफैँ मर्छ। इकोलोजीप्रति गान्धीको समवेदना हो, मानिसले अनावश्यक भोग गर्न हुँदैन। अनावश्यक रुख नास्न हुँदैन। पानी नास्न हुँदैन भन्ने कुरा २१ औं शताब्दीमा सिंगो विश्वले बुझ्न बाध्य छ। होइन भने सहर, गाउँ डुब्नेछन्। हाम्रो मधेशमा ८/१० दिन वर्षमा घाम देख्न पाइदैन्थ्यो। अहिले दुई महिना घाम देख्न पाइँदैन। किन? जंगल मासेर भन्ने जानकारको भनाइ छ।
गान्धीले चर्खा आन्दोलन गरे। महिला जागृतिको आन्दोलन गरे। गाई सेवा आन्दोलन गरे। गान्धीको जीवनमा रचनात्मक आन्दोलन अत्यन्त महत्वपूर्ण कुरा थियो। आज नेपाली कांग्रेसको समस्या के छ भने कांग्रेसले आफ्ना साथीहरुलाई टिकट दिए भने शेरबहादुर जिन्दाबाद। टिकट दिएनन् भने के गर्ने त? कुनै काम छैन। गान्धीजीले आफ्ना कार्यकर्तालाई काम दिनुहुन्थ्यो। म आज यही भन्छु पार्टी सभापतिलाई। पार्टीले जवरजस्त रुपमा रचनात्मक कार्यको अभियान चलाओस् अनि गान्धीबादी भइन्छ।
एनजिओ राम्रो छैन होला। हामीसँग भएको एनजिओ/रेडियो सबै घनश्यामजीको पार्टीसँग छ। गान्धीले आत्मकथामा लेखेका छन्, म राजनीति गर्न राजनीतिमा आएको होइन। म आत्मसाक्षात्कारका लागि राजनीतिमा आएको हो। गान्धीका लागि प्रत्येक व्यक्ति ईश्वरको प्रतीक थियो। गान्धी सधैं आफूलाई प्रश्न गर्थे म को हुँ? म किन राजनीति गर्छु?
गान्धी आमजनताले बुझेको धार्मिक थिएनन्। प्रारम्भमा गान्धी भन्थे 'गड इज ट्रुथ'। पछि गान्धी भन्न थाले 'ट्रुथ इज गड'। ईश्वरको बास तिमीमा छ म मा पनि छ मन्दिरमा या पूजारीमा छ भन्नु गलत हो। यो कुरा नबुझेकोले हामीले गान्धीलाई धार्मिक मानेको, यथास्थितिबादी मानेको हुनसक्छ।
महेन्द्रनारायण निधिसँग पारिवारिक सम्वन्ध थियो अहिले पनि छ। उहाँ जेलबाट छुटेर आउँदा पहिलोपटक मैले हिंस्रक राजनीतिको कुरा गर्दा महेन्द्रनारायणजीले मलाई गान्धीबारे भन्नुभएको। त्यतिबेला पत्यार लागेको थिएन। उमेर छिप्पिदै गयो पत्यार लाग्दै आयो।
(राजधानीमा मंगलबार आयोजित अन्तर्राष्ट्रिय अहिंसा दिवस तथा १५०औं गान्धी जयन्ती २१औं शताब्दीको लोकतन्त्र र गान्धी विचार विषयक कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य तथा चिन्तक प्रदीप गिरिले राखेको मन्तव्यको सम्पादित अंश)