टर्कीको इस्तानबुलस्थित साउदी दूतावासभित्र गरिएका पत्रकार जमाल खसोग्जीको हत्या उच्च साउदी गुप्तचर अधिकारीको आदेशमा भएको तर, यस घटनामा साउदी राजकुमार मोहम्मद बिन सलमानको कुनै हात नरहेको साउदीले जनाएको छ ।
साउदी गुप्तचर निकायले राजकुमार सलमानको कटु आलोचक वासिंगटन पोष्टका स्तम्भकार तथा चर्चित पत्रकार जमाल खसोज्गीलाई साउदी ल्याउने जिम्मेवारी गुप्तचर अधिकृतलाई दिइएको बताएको छ।
अक्टोबर २ तारिखको दिन आफ्नी प्रेमिकालाई दूतावास बाहिर राखेर भित्र पसेका खसोज्गीको भित्रै हत्या गरिएको थियो।
यो पनि हेर्नुहोस्
प्रियतमालाई बाहिर छाडेर दूतावासमै बिलाए खासोग्जी
दूतावासभित्र पसेका जमाललाई बाँधेर बेहोस पार्ने लेथल सूई दिएर हत्या गरिएको र उनको शरीरलाई टुक्राटुक्रा पारिएको साउदी अधिकारीले बताए पनि टर्कीले जमाललाई चरम यातना दिएर मारिएको बताएको छ।
टर्कीले यातना दिएको टेप आफूहरुसँग सुरक्षित रहेको र उनको शरीरलाई धारिलो बस्तुले काटेर टुक्राटुक्रा पारि एसिडमा हालेको हुनसक्ने पटक पटक बताउँदै आएको छ।
टर्कीका राष्ट्रपति रेसेप एर्दोगानले आफूले भएका प्रमाणहरू साउदी सरकार, अमेरिका र युरोपेली मुलुकहरुलाई दिइएको बताएका छन्। उनले मानवताविरोधी साउदी अपराधको जति नै निन्दा गरे पनि कम हुने संसदमासमेत बताएका थिए ।
सेना, अर्थतन्त्र र राज्यको सबै अधिकार हातमा लिएर सर्वेसर्वा शासन गरिरहेका साउदी राजकुमार मोहम्मद बिन सलमानको घटनामा संलग्नता भएको चर्चा चलेपछि साउदी सरकार संसारसामू संकटमा परेको थियो।
पत्रकार जमालको हत्या भइसकेपछि ‘तिम्रा बोसलाई भन्दिनू जमाल मारियो’ भनेको संवाद रेकर्ड हुनु र राजकुमारकै निजी अंगरक्षक घटनामा संलग्न हुनुले घटनालाई थप रहस्यमय बनाउँदै लगेको थियो।
घटना घट्नुअघि दुई वटा निजी विमानमा साउदी गुप्तचरहरू इस्तानबुल आएका थिए। शुरूमा जमाल खसोग्जी दूतावासबाट निस्किएको भनेर झूठ बयान दिएको थियो साउदीले।
अन्तर्राष्ट्रियस्तरमा चर्को दबाब परेपछि जमाल दूतावासमा मारिएको बताइएको थियो भने अहिले साउदी गुप्तचर निकायका उच्च अधिकारीको आदेशमा उनको हत्या भएको स्वीकारेको छ।
एक्काइस जना संदिग्धमाथि साउदी अदालतमा छानविन भएको छ त्यसमध्ये ५ जनालाई फाँसीको माग गरिएको सरकारले बताएको छ। आलोचकहरु भन्छन्, ‘सबैतिरका सर्वेसर्वा राजकुमारलाई यो घटना थाहा थिएन भनेर उनलाई बचाउन खोजिएको मात्र हो।’
अन्तर्राष्ट्रियस्तरमा बदनाम भइरहेको साउदी छवि बचाउने प्रयासको रुपमा लिइएको उनीहरुको भनाइ छ ।
संसारभरी मानवअधिकारको भाषण गर्दै नाकाबन्दीका कुरा गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड टम्पले साउदीको यो क्रुरता विरुद्ध कुनै कदम चाल्लान् भनेर मानवअधिकारवादी संघसंस्था र संचारसंस्थाहरुले आशा गरेका छैनन्।
घटनाको निन्दा गरे पनि साउदीसँग सय बिलियनभन्दा धेरैको ब्यापार रहेको हुनाले सम्बन्ध बिगार्न नहुने कुरामा राष्ट्रपति सचेत छन्।
युरोपेली मुलुकहरुका पनि आफ्नै ब्यापारिक स्वार्थहरु छन् किनभने साउदी ठूलो तेल बिक्रेता र लगानीकर्ता हो। हुनत पत्रकार खसोग्जी मारिने बित्तिकै रियादमा आयोजित लगानीकर्ताको सम्मेलनमा क्यानडालगायत ठूला कम्पनीहरुले पत्रकार जमालको पक्षमा बोल्दै साउदीको कडा आलोचना गरेका थिए।
साउदी अधिकारीहरूले नै गुप्तचर अधिकारीहरुको संलग्नता रहेको स्वीकारिसकेपछि अब निर्णायक भूमिका खेल्ने देशहरु र संयुक्त राष्टसंघले के कदम चाल्ने हो? त्यसबाटै जमाल खसोग्जीको हत्याको वास्तविक अपराधी खोज्न र आवश्यक कारबाही गर्न सहयोग पुग्ने देखिएको छ। तर पनि साउदी तेल र सम्पन्नताको अगाडि ठूला देशहरुको भूमिका फासफूस पार्ने नै हुने देखिन्छ।
रूसी संचारमाध्यमहरुले लेखेका छन्- जमाल खसोग्जी पुटिनका विरोधी हुन्थे या चिनियाँ सरकार विरोधी हुन्थे, अनि उनी यसैगरी दूतावासमा मारिन्थे भने संसारमा आगो बलिसक्थ्यो। नाकाबन्दी र मानवअधिकारका कुरा उठ्थे। अमेरिकी सहयोगी साउदीमा त्यत्रो जघन्य अपराध हुँदा पनि सब जिब्रो चपाइरहेका छन् ।
विभिन्न एजेन्सीहरुको सहयोगमा ।