प्रधानमन्त्री केपी शर्मा ओलीसहित ६५ देशका प्रमुख, बिल गेट्सलगायत विश्वका धनी ब्यापारीहरु र संसारका अभियन्ताहरुको जमघट हुने स्विट्जरल्याण्डको हिउँ नै हिउँले छोपिएको डाभोस शहरको इकोनोमिक फोरमका प्रमुख आकर्षण भने ब्राजिलका दक्षिणपन्थी राष्ट्रपति जाइर बोल्सोनारो हुने आयोजकहरुले बताएका छन् ।
चौथो औद्योगिक क्रान्तिको लागि विश्वव्यापी आर्किटेक्चरको मूल नारा सहित संसारभरका झण्डै तीन हजार राजनीतिकर्मी सहभागी हुने सो बैठकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने आन्तरिक समस्याको कारण नआउने बताएका छन् ।
आउँदो मंगलबारको उद्घाटन सत्रको मुख्य मन्तव्य प्रस्तुत गर्दै आफ्ना अर्थमन्त्री पाउलो गेद्स, कानूनमन्त्री सर्जियो मोरो र विदेशमन्त्री एरनेष्टो आराउजोले विश्वव्यापी रुपमा बढिरहेको भ्रष्टाचारलाई रोक्ने र नयाँ ब्राजिल कसरी निर्माण गरिँदैछ भन्ने भावि खाका प्रष्ट पार्नेछन्।
ब्राजिलका पूर्वराष्ट्रपति तथा मजदूर वामपन्थी नेता लुला दि सिल्भा भ्रष्टाचारको आरोपमा जेल परेपछि निकै लोकप्रिय भएर सैनिक पृष्ठभूमिका बोल्सोनारो राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनको मन्त्री परिषदका धेरै सदस्यहरु पनि पूर्व सैनिक जनरलहरु छन्।
भ्रष्टाचारको विकल्पको रुपमा उदाउन थालेको दक्षिणपन्थी शक्तिको लोकप्रियताको सन्दर्भमा आगामी विश्वको अर्थतन्त्र कसरी जाने भन्ने विषयमा बहस केन्द्रित गर्न बोल्सोनारोलाई मूल वक्ता बनाइएको हुनसक्ने विश्लेषकहरुले बताएका छन् ।
विश्व इकोनोमिक फोरमका सँस्थापक तथा कार्यकारी अध्यक्ष क्लाउस स्क्वाबले विश्वव्यापीकरणले सँसारैभरी धनी र गरीबको बीचमा खाडल खडा गरिरहेको बताए । उनले विश्वव्यापीकरणले जित्ने र हार्ने गरी दुई ध्रुवमा समाजलाई छुट्याइरहेको हुनाले हार्नेहरुको पक्षमा मन्चमा गतिलो बहस हुने अपेक्षा गरेको बताए ।
इराक, कोलम्बिया, अफगानिस्तान, रुवान्डा, जिम्बाबे, पेरुका राष्ट्रप्रमुखहरु समेत सहभागी हुने सो वैठकमा जर्मन चान्सलर एन्जेला मर्केल, न्यूजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डेन, जापानी प्रधानमन्त्री सिन्जो आबे लगायत इटाली,स्पेन,इजरायल,निदरल्याण्ड,नर्वे,दक्षिण अफ्रिका, भियतनामका प्रधानमन्त्रीहरु पनि सहभागी हुनेछन् ।
सँयुक्त राष्ट्रसँघका महासचिव आन्तोनियो गुटेरास लगायत सँयुक्त राष्ट्रसँघका श्रम,ब्यापार,शरणार्थी लगायत मानवअधिकार क्षेत्र हेर्ने प्रमुख पनि सामेल हुनेछन् । उत्तर एटलान्टिक सन्धी सँगठन नाटो, विश्वब्याँक र अन्तर्राष्ट्रिय मुद्राकोषका प्रमुखहरु सहित १७ सय ठूला कम्पनीका प्रमुखहरु सामेल हुने बताइएको छ ।
मौसम परिवर्तनले मानिसहरुमा पारेको प्रभावका विषयमा सक्रिय रुपमा लागेकी स्विडेनकी १५ वर्षीया बालिका ग्रेटा टनवर्ग पनि आउने भएकी छिन् । उनी स्वीडेनबाट डाभोस जाने रेल चढिसकेको स्वीडिस टेलिभिजनहरुले प्रसारण गरेका छन् ।
अनौपचारिक छलफल भएर रणनीतिक रुपमा सहमतिपत्र बनाइ घोषणापत्र जारी गरेर टुँगिने डाभोसको वार्षिक भेलामा समाजवाद उन्मुख समृद्धिको चर्चा गरिरहने नेपालकै प्रधानमन्त्रीले आफ्नो राजनीतिक र अर्थनीति प्रष्ट पार्ने मौका जुर्ने विश्लेषकहरुको भनाइ छ । भर्खरै सँघिय गणतन्त्रको अभ्यास गरिरहेको र दुई ठूला आर्थिक रुपमा उन्नति गरेका देशहरुको बीचमा रहेको सानो मुलुकका कम्युनिष्ट प्रधानमन्त्रीको प्रस्तुति विश्व समुदायमा रुचिको विषय हुनसक्ने मानिएको छ ।