प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीट्जरल्याण्डको ज्युरिखमा बोल्दै युरोपेली युनियनलगायत पश्चिमा देशहरूले नेपालको द्वन्द्व व्यवस्थापनको विषयलाई लिएर गरेको वक्तव्यबाजीप्रति आपत्ति जनाएका छन्।
नेपाली दूतावासले प्रधानमन्त्रीको सम्मानमा आयोजना गरेको कार्यक्रममा स्वीस व्यापारी, स्वीसमा रहेका नेपाली र विदेशी कूटनीतिज्ञलगायतको अगाडि प्रष्ट रुपमा प्रधानमन्त्री ओलीले भने, ‘के नेपालमा द्वन्द्व व्यवस्थापन हुनु राम्रो होइन? अनावश्यक रुपमा विदेशी दूतावासहरुले गठजोड र गुटबन्दी गर्न जरूरि छैन। हिजो लडाइँ थियो। मारामार थियो । हामीले शान्ति प्रकृया अगाडि बढायौं। लडाकु व्यवस्थापन गर्यौं। हतियार व्यवस्थापन गर्यौं। शान्ति प्रकृयामा विदेशी मित्रहरुले सहयोग पो गर्नुपर्छ । कतै द्वन्द्व व्यवस्थापन होला भन्ने चिन्ता हो कि के हो?’
फ्रान्सबाट किनेका जहाजको प्रसंग र युरोपमा नेपाली जहाजलाई प्रवेश निषेध गरिएको सन्दर्भ झिक्दै व्यंगात्मक शैलीमा प्रधानमन्त्री ओलीले भने, ‘नेपालको विमानस्थलमा बस्न पनि सक्छ, उड्न पनि सक्छ भनेर मित्र राष्ट्र फ्रान्सले हामीलाई दुई वटा जहाज बेच्यो। अब त्यही जहाज फ्रान्समा आउन मिल्दैन भन्छ।’
नेपाल भन्दा कमजोर तथ्यांक भएको भारतको विमानले युरोपमा सहजै प्रवेश पाउने तर नेपाललाई प्रतिबन्ध लगाउने कुराको समाधान गर्न आफूहरुले पहल गरिरहेको पनि प्रधानमन्त्रीले बताए।
छिट्टै नै विमान सम्बन्धी समस्या समाधान हुने विश्वास अनुसार काम भैरहेको बताउँदै उनले भने, ‘सार्वभौम राष्ट्रको रुपमा सबै राष्ट्रहरु बराबरी छन् भन्ने मान्यताका आधारमा आफूहरुले बिना हिच्किचाहट सबै सरोकारवालाहरुसँग कुरा राखेको छु।’
कनेक्टिभिटीको काममा सरकारले धेरै प्रगति गरिसकेको दाबी गर्दै भारत र चीन दुवैतिर रेलको सम्भाव्यता अध्ययन भैरहेको बताउँदै ओलीले चीनतिर बाटो खुल्न लागेको र ब्यापार परिवहन सम्झौता भएकोमा केहीलाई टाउको दुखेको बताए।
टाउको दुख्नेको टाउको दुखे पनि आफूहरूले मूर्ति जस्तो चुपचाप बस्ने इमान्दार होइन, सक्रिय इमान्दार भएर जनताको मतको जिम्मेवारी पूरा गर्ने बताए । ‘इमान्दार मात्र भएर होइन, सक्रिय इमान्दार भएर काम गर्छु र जनताको बाचा पूरा गर्छु,’ उनले भने ।
अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओको मान्यता अनुसार रोजगारदाता, श्रमिक,सरोकारवाला सबै मिलेर कानून बनाइएको हुनाले श्रम सम्बन्धी कुनै समस्या नेपालमा समस्या नरहेको र कुनै अप्ठेरो भए सरकारले बाधा अड्चन फुकाउने बताउँदै अन्तर्राष्ट्रिय समुदायलाई लगानी गर्न उनले आग्रह गरे ।
परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडालगायत डाभोसमा सहभागी टोली सामेल सो कार्यक्रममा स्विसका लागि नेपाली राजदूत दीपक धिताल, स्विस नेपाल फ्रेन्डसिप एशोसिएसनका अध्यक्ष माक्र्स रुक्तुल, गैर आवासिय नेपाली सँघका स्विट्जरल्याण्डका अध्यक्ष भूमि गुरूङले मन्तव्य व्यक्त गरेका थिए ।