गत साता कश्मिरको स्वशासित अधिकार अचानक समाप्त पारिएयता राजा मोहिउद्दीनको दैनिकी फेरिएको छ। एकाबिहानै उठ्न थालेका उनी अहिले पनि कश्मिरमा प्रकाशन भइरहेका थोरै अखबारमध्ये एउटाको सम्पादक हुन्।
घडीले दुई बजेको देखाउना साथ उनी पकेटमा हार्डड्राइभ राख्दै श्रीनगरका गल्लीहरू हुँदै मोटरसाइकलमा हुत्तिन्छन्। मोटरसाइकलको घ्यार्रघ्यार्र सहरका पुराना र जब्बर इँट्टाले बनेका पर्खालसँग ठोक्किँदाको प्रतिध्वनि झनै चर्को सुनिन्छ।
उनको यात्रा फलामका काँडेतारहरूको छेउछेवै अघि बढ्छ, अँध्यारा घरका अघिल्तिर अघिल्लो दिन प्रदर्शनकारीहरूले फालेका इँटाहरूको थुप्रो छल्दै अनि भारतीय सैनिकहरूतर्फ नजर दौडाउँदै।
उनका सहयोगीहरू छापाखानासम्म पुग्न पाएका हुँदैनन्। उनीहरू पूरै सम्पर्कविहीन अवस्थामा टोलतिरै हुन्छन्। भारत सरकारले मोबाइल, इन्टरनेट र घरका टेलिफोनसमेत बन्द गरिदिएकाले कुनै पनि जानकारी इमेल वा कुनै अन्य विद्युतीय माध्यमबाट सम्प्रेषण गर्न सक्ने कुरै भएन।
यस्तो अवस्थामा मोहिउद्दीनले भोलिपल्टको अखबार छाप्न घरबाटै सामग्री बोकेर ल्याएका हुन्छन् र आफैंले छापाखानाका भीमकाय मेसिनहरू चलाउन सुरू गर्छन्, जुन काम उनले यसअघि कहिल्यै गरेका थिएनन्।
एकछिनसम्मको मिहिनेतपछि बिहान पाँच बजेतिर जसोतसो एउटा कामचलाउ पत्रिका तयार हुन्छ जुन यदाकदा एउटै पानाको दुईतिर मात्र छापिएको संस्करण हुन्छ। जे जस्तो भए पनि ठूलो भिड आफ्नो अखबार पढ्न पर्खेर बसिरहने गरेको एक्काइसौं शताब्दीमा श्रीनगरको पत्रकारिता धानेर बसेका सम्पादक सुनाउँछन्।
'अखबार भनेपछि मानिस हुरुक्कै हुन्छन्,' उनले सुनाए, 'हिजो मात्रै पाँच मिनेटमा पाँच सयप्रति सिद्धिएको थियो।'
मुश्लिम बहुल युद्धग्रस्त यस क्षेत्रमा जकडिएका कश्मिरी पत्रकारहरू कसरी आफूलाई थेगेर राख्ने र यस्ता अवसरहरूमा कसरी अघि बढ्ने भन्ने मामिलामा संघर्षरत छन्।
यसरी बन्दी अवस्थामै एक साता बिताएको कश्मिरमा सोमबार पनि भारतीय सुरक्षा बलले मुख्य सडक सुनसानै राखेका छन्, आकाशमा घरिघरि हेलिकप्टर घुमिरहन्छन्। गल्ली र केटाकेटी खेल्ने बगैंचा निर्जन राखेका छन्।
मुसलमान धर्मावलम्बीहरूका निम्ति सर्वाधिक महत्वका दुई पर्व मध्येमै पर्छ 'इद उल जोहा'। यस्तो दिनमा पनि अधिकांश मश्जिदहरू तालाबन्दी अवस्थामै राख्ने आदेश दिइएको थियो।
मुसलमान पात्रोकै यो हर्षोल्लासपूर्वक मनाइने पर्वमा यसपालि भने परिवारहरू तिनका आफन्त र साथीभाइसँग नभइ घरभित्रै एक्लै कुण्ठित रहन बाध्य भएका थिए। बाहिर प्रदर्शन जारी थियो। स्थानीयका अनुसार तन्नेरीहरूको जमातले सुरक्षा अधिकारीमाथि ढुंगामुढा गरिरहेका थिए।
उता नयाँदिल्लीमा भने पत्रकार सम्मेलन गरेर कश्मिरको बेग्लै चित्र उभ्याउने भारतीय अधिकारीहरूको प्रयास जारी थियो। उनीहरू अधिकांश कश्मिरीहरू सामान्य दैनिकीमा फर्किसकेको दाबी प्रस्तुत गरिरहेका थिए। गतसाताको प्रदर्शनमा सुरक्षा निकायको तर्फबाट एउटै पनि गोली नचलेको दाबी उनीहरू लगातार गरिरहेका थिए जबकि संसारभर फैलिएको बिबिसीको भिडिओले शुक्रबार हजारौं प्रदर्शनकारी श्रीनगरका सडकमा हिँडिरहँदा स्वचालित बन्दुकबाट छुटेका गोलीका छर्रा छेल्न भिडमा भागदौड मच्चिरहेको दृश्य स्पष्ट देखिन्थ्यो।
जब उक्त भिडिओका बारेमा सोधियो, एक वरिष्ठ भारतीय अधिकारी आक्रोशित बने।
'भारत सरकारले जे भन्छ, भारत सरकारको कुरा त्यही हो,' आफूलाई उल्लेख नगर्ने शर्तमा विदेशी पत्रकारहरूका सामु उपस्थित भएका उनले थपे, 'तपाईंहरूका समाचार यथार्थमा आधारित हुन् कि होइनन् भनेर मैले पनि प्रश्न गरिरहेको छैन।'
भारतका मानवअधिकार अभियन्ता र धेरै बुद्धिजिवीहरू सरकारले कश्मिरमा यो खतरनाक खेल खेलिरहेको बताउँछन्। भारत र पाकिस्तान बीचको यो विवादास्पद भूभागलाई वर्षौंदेखि विद्रोह र युद्धले थिलथिलो पार्दै लगेको छ।
यस्तो अवस्थामा बितेको साता प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारत सरकारले सन् ४० को दशकदेखि थोरै मात्रामा उपभोग गर्दै आएको स्वायत्तता पनि अचानक संविधानबाट हटाइदिएर कश्मिरलाई झनै बढी भयावहतर्फ धकेलिदिएको छ। सरकारको त्यो कदमले पाकिस्तानसँगको तनाव पनि तत्काल बढाइदिएको थियो।
थोरै स्वायत्तता लिएर अत्यन्त बढी हिन्दु जनसंख्या भएको मुलुक भारतमा आफूलाई अटाउँदै आएको एकमात्र मुश्लिम बहुल राज्य कश्मिरमा त्यो घटनाले सायद दसकौंयताकै सबभन्दा ठूलो राजनीतिक भुइँचालोको काम गरिदिएको छ। लामो समयदेखिको आपसी सम्बन्ध रसातलमा पुगेको छ।
कश्मिर माथिको यो हस्तक्षेपले विष्फोटक रुपमा अलोकप्रियता आर्जन हुनेछ भन्ने कुरा भारत सरकारलाई थाहा थियो। यो घोषणा गर्नुभन्दा केही दिनअघि हजारौंको संख्यामा भारतीय सेनाका अतिरिक्त टुकडीहरू यता ल्याइएको थियो।
त्यसैगरी केही घन्टाअघि नै भारतीय सुरक्षा बलले इन्टरनेट, मोबाइल फोन र घर घरका टेलिफोन बन्द गरिदिएको थियो जसले कश्मिर उपत्यकाका झण्डै असी लाख बासिन्दालाई सम्पर्क सूत्रबाट पूरै बिमुख पारिदियो। राज्यको विशेषाधिकार खारेज गरिएको समाचार दिउञ्जेल खुला छाडिएको टेलिभिजन च्यानलहरूलाई पनि लगत्तै बन्द गरियो।
कश्मिरबाट प्रकाशन हुँदै आएका ५० वटाजति प्रसिद्ध स्थानीय अखबारमध्ये यतिबेला झण्डै आधा दर्जन मात्र छापिँदै गरेका देखिन्छ। ती पनि असाध्यै पातला भएका छन्। बढीमा आठ पेजसम्म छापिने। अनि तिनै अखबार तत्काल हातहातै बिक्री भएर दिनभर एकापसमा बाँडिएर पढिने माध्यम बनिरहेका छन्।
संवाददाताहरूको कुनै पनि समाचार संस्था वा सामाजिक सञ्जालसँग पटक्कै पहुँच छैन। आफ्नो समाचारको विश्वसनीयता कायम गर्न इन्टरनेट वा टेलिफोन गर्नेसम्मको सुविधा उनीहरूले पाइरहेका छैनन्। केवल नोटबुक र कलमले काम चलाइरहेका उनीहरूको पत्रकारिता युगौं पछाडि धकेलिएको छ।
हरेक बिहान उनीहरू छ वा आठ जनाको समूहमा मोटरसाइकल चढ्दै श्रीनगरका सडक चहार्छन्। गल्लीहरू घुम्छन्। आफूले खोजिरहेका समाचार प्रत्यक्ष साक्षात्कार गर्न यत्रतत्र फैलिन्छन्। चाहे त्यो सडकमा हुने प्रदर्शन होस्, ग्यास सिलिण्डरको अभाव होस् वा कुनै राजनीतिक नेता हिरासतमा लिइएको घटना। गत साता मात्रै सयौं मानिस पक्राउ परेका थिए।
धेरै पत्रकारहरू काम सकिएपछि समाचार कक्षकै भुइँमा सुतिरहेका देखिन्छन्। त्यसमा मुख्यकारण असाध्यै धेरै चेक प्वाइन्टहरूले गर्दा घर पुग्नै मुश्किल हुने गरेकाले हो।
पछिल्ला वर्षमा थुप्रै कश्मिरी पत्रकारहरू मारिएका र धेरै गिरफ्तारीमा परेका अवस्थामा उनीहरूलाई यस्ता खतरा बानी पर्दै गइसकेको थियो। तर, सूचनै ठप्प हुनेगरी अहिले गरिएको कारवाही भने उनीहरूका निम्ति एकदमै नयाँ परिस्थिति हो।
'बाहिर कता के भइरहेको छ, हामी थाहै पाइरहेका छैनौं,' दैनिक हजारप्रति बिक्री हुने राइजिङ कश्मिर अखबारका राजनीतिक सम्पादक फैजल यासिन भन्छन्, 'हामी अँध्यारो कोठामा थुनिएका छौं जहाँ सूचनाको सत्यतथ्यसम्बन्धि पहुँच भनेकै अत्यन्तै सानो दुलो बनेको छ।'
भारतीय अधिकारीहरू उपद्रो फैलन नदिन सञ्चारमा कडाइ गर्नु अनिवार्य भएको बताउँछन्। तर, थोरै संख्यामा अझै पनि छापिइरहेका यी अखबारमाथि कारवाही गर्ने कुनै योजना नरहेको पनि उनीहरूले सुनाए।
यति हुँदाहुँदै पनि कश्मिरकै सबभन्दा पुरानोमध्येको एक अखबार 'कश्मिर टाइम्स'का सम्पादकले वाक स्वतन्त्रता कुण्ठित पारेर गैरसंवैधानिक काम गरिएको भन्दै भारतको सर्वोच्च अदालतमा सरकारलाई चुनौती दिएका छन्।
अखबार छाप्न कागज र मसी आवश्यक पर्ने भएकाले कश्मिरी पत्रकारहरूको यो जोडबल कहिलेसम्म चलिरहन्छ भन्ने अन्यौलमै छ।
बिहान अन्धकारमै दौडधूप गरिभ्याउने सम्पादक मोहिउद्दीन भने यसबारेमा आफू त्यति चिन्तित नभएको सुनाउँछन्।
'कश्मिरमा हामी यी सबै कुरामा अभ्यस्त छौं,' उनले भने, 'मैले एक महिनाकै लागि पुग्दो कागज र मसी थुपारेको छु।'
मोहिउद्दीन तै पनि ढुक्क भने छैनन्।
'तर,' उनले थपे, 'यति नराम्रो त कहिल्यै भएको थिएन।'
स्थानीयबासीका अनुसार आक्रोश दिनप्रतिदिन बढ्दै गइरहेको छ। यस्तोमा भिडले पनि खासै वास्ता नगर्ने पत्रकारहरू हिंस्रक भिडन्तहरूमा चेपिनुपर्ने अवस्था आइरहेको छ।
शुक्रबार दिउँसो मात्रै एक अखबारका डिजाइनर शमिर भट काममा जाने तयारीमा थिए।
'होशियार होऊ है,' उनकी आमा भनिरहेकी थिइन्, 'त्यहाँ सडकमा ढुंगा हिर्काउनेहरूले प्रहरीसँग लडाइँ गरिरहेका छन्।'
भटका अनुसार उनले जसै दैलोमा खुट्टा राखे, बन्दुक चल्न थाल्यो। कश्मिरका सुरक्षा अधिकारीहरूले भिड नियन्त्रण गर्नुपरे 'शट गन' प्रयोग गर्छन्। यसका छर्राहरूले आँखामा लागेर सयौं तन्नेरी कश्मिरी अन्धा भइसकेका छन्।
यस्तोमा भटले आँखा छोप्ने कोशिश गरे। उनको अनुहारमै प्रहार भयो र लडे।
अर्को दिनै जब उनी अस्पतालबाट बाहिरिएर समाचार कक्षमा पुगे उनका दुवै आँखा काला देखिन्थे।
'के गर्नु?' उनी भनिरहेका थिए, 'मैले अखबारको डिजाइन गर्नुपर्छ।'
घटनाक्रमले कश्मिरीहरूलाई तर्साइरहेको छ, आक्रोशित बनाइरहेको छ र अन्यौलतातर्फ धकेलिरहेको छ। उनीहरू शिलबन्दीमा परेको अनुभव गरिरहेका छन्। उनीहरू समाचार खोजिरहेका छन्।
हरेक बिहान होटलका म्यानेजर विवेक वजिरले ब्यग्रतासाथ 'ग्रेटर कश्मिर'को प्रति पर्खेर बसिरहेका हुन्छन्।
'यी दुइटा पाना नै संसार हेर्ने मेरो एउटा मात्र झ्याल बन्न पुगेको छ,' उनी भनिरहेका थिए।
सबै तस्बिरः द न्यूयोर्क टाइम्स