नेपाल प्रहरीले बिहीबार बिहान १ बजे पक्राउ गरेका २१ जना नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरू बैठक बसिरहेको अवस्थामा पक्राउ गरेको खुलेको छ।
उनीहरूलाई दाङ जिल्लाको नेपाल-भारत सिमामा पर्ने राप्ती गाउँपालिकाको वडा नम्बर ४ मा रहेको जंगलबाट पक्राउ गरिएको हो। दाङ प्रहरीका प्रवक्ता विनोदविक्रम शाहले त्यहाँ तीन दिनदेखि केन्द्रीय सदस्यसहितको उपस्थितिमा राप्ती व्यूरोको बैठक बसिरहेको थाहा पाएपछि प्रहरीले घेरावन्दी हालेर उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ पर्नेमा विप्लवका केन्द्रीय नेता र राप्ती व्यूरो इञ्चार्जसहितका नेता कार्यकर्ता हुनसक्ने प्रहरीको अनुमान छ।
सो बैठकमा विप्लवका दाइ चन्द्र बहादुर चन्द 'वीरजंग'सहित साविक राप्तीका पाँच जिल्लाहरु दाङ, सल्यान, प्यूठान, रोल्पा र रुकुमका इन्चार्जहरू पनि पक्राउ परेको हुनसक्ने प्रहरीको भनाइ छ।
प्रहरीले पक्राउ पर्नेहरुको नाम सार्वजनिक गरेको छैन।
पक्राउ गरिएकाहरुलाई जिल्ला प्रहरी कार्यालय घोराही ल्याइंदैछ। घोराही ल्याएपछि अनुसन्धानबाट पक्राउ परेकाहरू कोको हुन भनेर एकिन हुने जिल्ला प्रहरी प्रवक्ता विनोद विक्रम शाहले जानकारी दिए ।
उनीहरुलाई बिहीबार दिउँसो दुई-तीन बजेसम्ममा घोराही ल्याइपुर्याइने प्रहरीको भनाइ छ।
पक्राउ पर्दा विप्लवका कार्यकर्ताहरू राप्ती गाउँपालिका वडा नं. ४ स्थित ज्ञानेन्द्र वलीको घरवाट बैठक बसिरहेका थिए। वलीको परिवार घरमा बस्दैन।
उनको घर रित्तै थियो। त्यही रित्तो घरमा विगत तीन दिनदेखि विप्लवका नेता कार्यकर्ताको बैठक बसिरहेको थाहा पाएर गोप्य सूचनाको आधारमा मध्यरातमा घेराहालेर उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
बैठक स्थलमै छापा मारेर नेता कार्यकर्ता पक्राउ गरेको हुँदा हातहतियार, विष्फोटक पदार्थ तथा महत्वपूर्ण सूचना बरामद भएको प्रहरीको दावी छ।
राप्ती गाँउपालिका हातहतियार ओसारपसारको मुख्य नाका
दश वर्षे माओवादी युद्धको समयमा दाङलाई तात्कालिन माओवादीले मुख्य रुपमा उपयोग गरेको थियो । माओवादीका सबैजसो ठूला नेताहरु दाङ उपत्यकामा नै बस्ने गरेका थिए। दाङ र भारतका बीचमा झन्डै ३८ किलोमिटर जंगल जोडिएको खुल्ला सीमा छ। यही जंगलको बाटो प्रयोग गरेर माओवादीहरुले ‘जनयुद्द’ कालमा पनि सहज रुपमा हातहतियार र विष्फोटक पदार्थ भित्र्याउने गरेका थिए।
विप्लवले पनि आफ्नो पार्टीको गठन दाङमै गरेका थिए । तुलसीपुर बजारमा रहेको एक सिनेमा हलमा दुई दिन सम्म भेला गरेर विप्लवले नयाँ पार्टी गठन गर्दै आफुलाई महासचिव घोषणा गरेका थिए ।
रोल्पामा जन्मिएका विप्लव हाल बसाई सरेर कपिलबस्तुमा बस्दै आएका छन्। तर अहिले पनि उनी अधिकांश समय दाङ र रोल्पाकै सेरोफेरोमा बस्दै आएको प्रहरीले दाबी गर्दै आएको छ।