हरियाली प्रवद्र्धन र प्लाष्टिकमुक्त नगर बनाउने अभियान सहित सरसफाईलाई प्रमुख कार्यको रुपमा अगाडि बढाएको रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आफ्नो कार्यकालको मध्यावधि समीक्षा गरेको छ।
नेपालमै पहिलो स्थानीय कानुन बनाएको नगरपालिकाले ५ वर्षे कार्यकालको मध्यावधिमा आउँदै गर्दा सन्तोषजनक अवस्था रहेको दावी गरेको छ।
आइतबार नगरपालिकामा आयोजित मध्यावधि समीक्षामा बोल्दै नगरपालिकाका प्रमुख बासुदेब घिमिरेले २ दशक जनप्रतिनिधी विहीन बनेको स्थानीय तहमा निर्वाचित भएर आएपनि नगरबासीको तीव्र चाहनालाई पुरा गर्न सकेको दाबी गरे।
उनले स्थानीय कानुन बनाउने पहिलो नगर तिलोत्तमा भएको बताउँदै स्थानीय सरकारको कामलाई पारदर्शी बनाउन ५० बढी कानुनको तर्जुमा गरिसकेको जानकारी दिए।
शिक्षा क्षेत्रमा नगरका सबै सामुदायिक विद्यालयमा १ देखि ५ कक्षासम्मका विद्यार्थीलाई खाजाको व्यवस्था, सबै विद्यालयको समान रङ्ग, शिक्षक अनुदान, सवारी साधनमा अनुदान, छात्राहरुलाई निशुल्क सेनेटरी प्याडको ब्यवस्था गरिएको नगरप्रमुख घिमिरेले बताए।
बालबालिकाको बीचमै विद्यालय छोड्ने प्रवृत्तिलाई हटाउन कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने सामुदायिक विद्यालयका विद्यार्थीलाई दैनिक २५ रुपैयाँको दरले खाजा रकम उपलब्ध गराइँदै आएको छ।
सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्राहरुलाई सेनेटरी प्याड र गर्भवती महिलालाई क्याल्सियम चक्की निशुल्क उपलब्ध गराउँदै आएको नगरपालिकाले रगत आवश्यक पर्ने नगरवासीलाई रगतको व्याग उपलब्ध गराईरहेको छ।
७० वर्ष नाघेका जेष्ठ नागरिक तथा गर्भवती र सुत्केरी महिलालाई जिल्ला भित्रका अस्पतालमा उपचारको लागि लैजानुपरे निशुल्क रुपमा एम्वुलेन्सको व्यवस्था र स्वास्थ्य स्वयमसेवीलाई नगरपालिकाले विशेष प्याकेज सहित सुविधा उपलब्ध गराउँदै आएको छ।
नगरपालिकाभित्र मेडिकल कलेज निर्माणको तयारी भइरहेको छ भने गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको भवन निर्माणको लागि जग्गा उपलब्ध गराउने प्रकृया अगाडि बढेको छ।
नगरभित्र ५ वटा सहरी स्वास्थ्य केन्द्र निर्माणाधिन अवस्थामा रहेका छन्। नगरपालिकाले चैत्र महिनाभित्रै पूर्ण बालमैत्री र लैंगिकमैत्री नगर घोषणाका लागि कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।
कृषिमा वडाहरुलाई पकेट जोनका रुपमा विकास गरी अनुदानमार्फत उत्पादन बढाउने नीति नगरपालिकाले लिएको छ। दुग्ध उत्पादक किसानलाई यस वर्ष मात्र ४० लाख रुपैयाँ अनुदान दिइएको छ। उत्पादनमा आधारित उक्त अनुदानबाट किसानहरुले वर्षभरी सहकारीलाई दुध बेचेको अनुपातको आधारमा प्रति लिटर १ रुपैयाँका दरले रकम प्राप्त गरेका छन्।
पशु बीमा रकममा ५० प्रतिशत अनुदान वितरण गरिएको छ। बाली तथा पशु संरक्षण राहत कोष व्यवस्था गरिएको छ भने महिलाहरुको समूहलाई कृषि तथा पशु पालनमा लिईएको ऋणमा १० लाखको साँवामा २ प्रतिशत ब्याज अनुदान दिइएको छ।
मकैको बिउमा ८० प्रतिशत अनुदान र गहुँको बिउमा ४० प्रतिशत अनुदान दिएको नगरपालिकाले यस वर्ष मात्रै १ हजार ३ सय ६५ क्विन्टल गहुँको बिउ वितरण गरेको छ।
सिंचाईमा सम्मानजनक अनुदान व्यवस्थापन गरी वडा नं. १४ लाई तरकारी खेतीको विशेष पकेट क्षेत्रका रुपमा सम्वोधन गरिएको नगरप्रमुख घिमिरेले बताए।
नगरपालिकाले फूल खेतीमा लाग्ने कृषकहरुलाई प्रोत्साहित गरी आयातित फुल निषेध गरेको छ भने कृषि हाटबजारहरुलाई पनि व्यवस्थित गरेको जनाएको छ।
नगरपालिकाले भौतीक पुर्वाधारमा जेष्ठनागरिक मिलन केन्द्र, बनबाटिकामा भ्यु टावर, ३६ किलोमिटर सडक कालोपत्रे, १ सय ४६ किलोमिटर सडकमा ग्राभेल तथा १ हजार २ सय ७० वटा विद्युतको नयाँ पोल वितरण भएको जनाएको छ।
प्रदेशको राजधानीलाई मध्यनजर गर्दै तिलोत्तमामा अन्तर्राष्ट्रिय स्तरको बस टर्मिनल तथा औद्योगिक ग्रामको योजनालाई अगाडि बढाएको नगरले जनाएको छ।
गत साउन १ गते प्लाष्टिकका झोला, गिलास, लगायतका प्लाष्टिकजन्य सामग्री प्रयोगलाई निषेध गरेको नगरपालिकाले प्रत्येक साता सडकमा फालिएका प्लाष्टिकका टुक्राहरु संकलन गर्दै आएको छ।
नगरलाई प्लाष्टिकमुक्त बनाउने अभियान कार्यान्वयनको लागि आगामी माघ १० गते १५ हजार विद्यार्थी र ५ हजार स्थानीय नागरिक गरी २० हजारको सहभागितामा सरसफाई सभा आयोजना गर्दै छ।
हालसम्म बनस्पती तथा फलफूलजन्य ९० हजार बिरुवा रोपी सकेको नगरपालिकाले नगरवाशीलाई आफ्नो जन्मदिनमा कम्तिमा एउटा विरुवा रोप्न अभिप्रेरित गर्दै आएको छ। रोपिएका ९० प्रतिशत विरुवा हुर्किएको र अबको साढे दुई बर्षभित्र १ लाख ६० हजार बिरुवा रोप्ने नगरपालिकाको लक्ष्य छ।
सडक निर्माण गर्दा दुवै किनारमा बिरुवा लगाउन र नयाँ घर निर्माण गर्दा ३ वटा बिरुवा रोप्न बाध्यकारी बनाइएको छ। काठमाडौं बाहिर पहिलो पटक लगानी सम्मेलन आयोजना गरि सफलता पुर्वक सम्पन्न गरेको नगरपालिकाले त्यसको प्रतिफल देखिन थालेको दावी गरेको छ।
लगानी सम्मेलनकै कारण संघीय सरकारबाट तिलोत्तमा औद्योगिक ग्रामको स्वीकृती भएको नगरको दावी छ। प्रस्तावित ठूला उद्योगहरु मध्ये तिलोत्तमा दुग्ध संकलन तथा प्रशोधन केन्द्र, प्रदेश भरीका ५० वटा सहकारीहरुको एकीकृत लगानीमा शुरु गर्न लागिएको युएचटी पाश्चराईजेसन अल्ट्रा हाई टेम्प्रेचर (दुधको प्याकेट बनाउने) रहेका छन्।
तिलोत्तमा नगरपालिकाले रेलवे कम्पनीको काम सुरु गरेको छ भने ५५ किलोमिटर रिङरोड बनाउने र पहिलो चरणमा योगिकुटी देखि जनभावना माविसम्मको ८ किलोमिटर सम्म दुरीमा यातायात सेवा सञ्चालन गर्ने योजना पनि अगाडि सारेको छ।
वडा नं १७ मा कृषि उपज संकलन केन्द्र, वडा नं १३ मा मासु प्रसोधन केन्द्र र वडा नं ८ मा सरसफाई व्यवस्थापन केन्द्र स्थापनाको काम अघि बढाएको छ। नगरपालिकाको ७ करोडको लगानीमा आफ्नै प्रशासनिक भवनको निर्माण अन्तिम चरणमा छ।
साविकका सात वटा गाउँपालिकाका कार्यालय बाहेक ३ वटा वडा कार्यालय निर्माण भई सकेका छन्। ५ वटा वडा कार्यालयको भवन निर्माणाधीन अवस्थामा रहेका छन् भने बाँकी २ वटा आउने आर्थिक बर्षमा सम्पन्न गर्ने तयारीमा नगरपालिका छ।
तिलोत्तमा भ्यु टावरको ८ औं तला ढलानको क्रममा छ। आउँदो मंसिर महिनामा उक्त भ्यु टावर निर्माण भई सञ्चालनमा आउने नगरपालिकाले दावी गरेको छ। वडा नं ९ को केउलानीमा तिलोत्तमा अतिथिगृह र १५ सय जना क्षमता रहेको सामुदायिक सभाहल सम्पन्न हुने क्रममा छ।
वडा नं. १४ को पत्थरडांडामा बन्ने तिलोत्तमा सिटी कलेज निर्माणका लागि टेण्डर गरिएको छ।