प्रदेश ५ सरकारले दुई अस्पतालमा पदाधिकारी नियुक्त गरेको छ। प्रदेश ५ को सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको अध्यक्षमा सूर्यबहादुर भट्टराईलाई नियुक्त गरेको हो।
मन्त्रिपरिषद् बैठककोे निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीले सो अस्पतालको संचालक सदस्यमा बुटवलकी रिज्जु श्रेष्ठ अर्याललाई नियुक्त गरिएको जानकारी दिए।
पाल्पामा जन्मिएका ५५ वर्षिय भट्टराई २०५९ सालमा पश्चिम नेपाल बस ब्यवसायी संघको अध्यक्ष भएका थिए भने पछिल्लो समय बुटवलस्थित रम्भादेवी कलेज अफ मेडिकल साईन्सेजको अध्यक्ष थिए।
त्यस्तै रोल्पा अस्पताल रेउघाको अध्यक्षमा फविन्द्र आचार्य र सदस्यमा निमकुमारी सिंहलाई नियुक्ति गरिएको चौधरीले जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकले फागुन १० गतेदेखि १२ गतेसम्म दाङमा हुन लागेको प्रदेश एक्स्पोका लागि ५० लाख बजेट स्वीकृत गरेको छ। बैठकले प्रदेश पुर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत बन्न ३५ वर्ष पुरा गरेको व्यक्तिलाई नियुक्त गर्न सकिने प्रावधान सहितको उमेर हदबन्दी कायम गरेको छ।
विपक्षी दलका नेता बलदेवशर्मा पोखरेलको निधनप्रति मन्त्रिपरिषद् बैठकले शोकप्रस्ताव पारित गरेको छ।