हाल बन्द अवस्थामा रहेको बुटवलको धागो कारखाना रहेको भवनलाई आइसोलेसन अस्पतालका रुपमा संचालन गरिने भएको छ।
बुटवल उपमहानगरपालिकाको अगुवाईमा रामनगरस्थित औद्योगिक क्षेत्रमा बन्द कारखानाको भवनमा अस्पताल संचालन गर्न लागिएको हो।
२४ घण्टा भित्र संचालनमा ल्याउनेगरी एकसय बेडको आइसोलेसन अस्पताल संचालनका लागि तीव्र रुपमा काम सुरू गरिएको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जानकारी दिए।
यसअघि बुटवलभित्रकै सरकारी तथा निजी अस्पतालहरुमा कोरोना संक्रमणका विरामीहरुको उपचारका लागि डेढ दर्जन बढी आइसोलेसन बेड तयार रहेको दावी गरिएपनि कोरोनासँग मिल्दो लक्षण लिएर आउने विरामीलाई अस्पतालहरुले अन्यत्र पठाउन थालेपछि अस्थायी रुपमा छुट्टै अस्पताल संचालन गर्न लागिएको हो।
धागो कारखानाका भवनमा खाली अवस्थामा रहेका हलको प्रयोग गरी बेड राखेर आइसोलेसन अस्पताल संचालन गर्न लागिएको उपमहानगरपालिकाले जानकारी दिएको छ।
उपमहानगरपालिकाका प्रमुख सुवेदीका स्वकीय सचिव मेघराज भट्टराईका अनुसार अस्पताल संचालनका लागि आवश्यक बेड यहाँका निजी अस्पतालहरुले समेत उपलब्ध गराउने छन् भने आवश्यक प्राविधिक सहयोग लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले गर्ने छ।
फलामका तीस वटा भन्दा बढी बेड कारखानामा अलपत्र अवस्थामा रहेकाले त्यसलाई बेडको रुपमा प्रयोग गर्न सकिने उनले बताए।
शनिबार साँझसम्म संचालनमा ल्याउने तयारी स्वरुप अहिले धागो कारखाना परिसरमा शौचालय निर्माण, विद्युत जडान तथा रङरोगनको काम भइरहेको छ। निर्माण व्यवसायी संघ रुपन्देहीले अस्पतालको लागि ३० वटा अस्थायी शौचालय निर्माण गरिदिने भएको छ।
त्यस्तै बिरामीको उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीको लागि एकसय थान सुरक्षित एप्रोन काठमाडौंबाट ल्याइने भट्टराईले बताए।