वीरगन्जमा प्लाज्मा थेरापीका लागि तयारी गर्दैगर्दा कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।
गण्डक कोभिड अस्पतालको आइसियूमा उपचाररत् बाराका ५९ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको हो। अस्पतालका संयोजक डाक्टर उदयनारायण सिंहका अनुसार ती पुरुष भदौ ६ गतेदेखि अस्पतालको आइसियूमा थिए।
भदौ ५ गते कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना गरिएका उनी निमोनियाँका बिरामी थिए। अस्पतालले प्लाज्मा थेरापीका लागि तयारी गर्दैगर्दा उनको मृत्यु भएको डा. सिंहले बताए।
सिंहका अनुसार वीरगन्जमा पहिलोपटक उनैमा प्लाज्मा थेरापीको तयारी हुँदैथियो। ती व्यक्ति बाराको महागढीमाई नगरपालिकाका हुन्।
बाराकै सुवर्ण गाउँपालिका–४ परशुरामपुरका ७२ वर्षीय वृद्धको पनि सोही अस्पतालमा उपचारका क्रममा मंगलबार मृत्यु भएको छ। भदौ ६ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई सोमबार राति मात्रै अस्पताल पुर्याइएको थियो।
‘राति १० बजेतिर उहाँलाई अस्पताल ल्याइयो, आइसियू खाली नभएका कारण हामीले आकस्मिक कक्षमा राखेर उपचार गर्दै थियौं। मंगलबार विहान मृत्यु भयो,’ डा. सिंहले सेतोपाटीलाई भने, ‘उनमा पनि निमोनियाको समस्या थियो, अस्पताल ल्याउन पनि ढिला भयो।’
उनका अनुसार गण्डक अस्पतालको आइसियूका १० शैया र अन्य ७ शैयामा निमोनियाँ भएका कोरोना संक्रमितहरू छन्। उनीहरूमध्ये दुई जनाको अवस्था गम्भीर छ। आइसियू खाली नभएका कारण गम्भीर अवस्थाका बिरामीहरूलाई पनि सामान्य शैयामा अक्सिजन दिएर राखिएको छ।
अस्पतालको कुल क्षमता ५० शैयाको रहे पनि अहिले ५५ जना बिरामीहरूको उपचार भइरहेको उनले बताए। वीरगञ्जमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४१ पुगेको छ।
पर्सा जिल्लाका मात्रै ३१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। पर्सामा अहिलेसम्म १ हजार ९ सय ७९ जनामा कोरोना संक्रमण भएकोमा ३ सय ७८ जना निको भएर घर फर्किएका छन्। मंगलबार मात्रै जिल्लाभरमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।