विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता अनिल शर्मा ‘बिरही’लाई प्रहरीले अस्पतालबाटै नियन्त्रणमा लिएको छ।
लामो समयदेखि भरतपुर अस्पतालमा उपचाररत् शर्मालाई अस्पतालले डिस्चार्ज गरेलगत्तै प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले धनुषामा उनीविरूद्ध मुद्दा भएकाले नियन्त्रणमा लिइएको जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय धनुषाको पत्रको आधारमा उनलाई अस्पतालले डिस्चार्ज गरेसँगै नियन्त्रणमा लिइएको थापाले बताए।
जिल्ला प्रहरी कार्यालयको भ्यानमा राखेर उनलाई प्रहरी कार्यालय पुर्याइएको छ।
हेडक्वारटरसँग समन्वय भइरहेको जानकारी दिँदै प्रवक्ता थापाले शर्मालाई धनुषा पठाइने जानकारी दिए।
शर्मालाई चितवन प्रहरीले गत वैशाख २३ गते पनि अस्पतालबाटै पक्राउ गरेको थियो।
जिल्ला अदालतले रिहा गर्न आदेश दिएपछि उनी पुनः भरतपुर अस्पतालमा उपचार गराइरहेका थिए।
उपचारका क्रममा पनि हतियारसहितका प्रहरीले निगरानी गरिरहेको भन्दै आलोचना भएको थियो।
उक्त पार्टीका पोलिटव्युरो सदस्य तथा प्रकाशन विभागका प्रमुख रहेका नेता शर्मालाई प्रहरीले नियन्त्रणमा लिएर राज्यविरूद्धको अपराधमा मुद्दा चलाएको थियो।
जिल्ला अदालत चितवनले जेठ २८ गते उनलाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो।
विरहीले धनुुषा जिल्लामा भएको एक घटनामा आफूलाई विपक्षी बनाएर निगरानी गरिरहेको बताउँदै आएका थिए।
यसअघि रत्ननगर नगरपालिका–५ स्थित घरमा लडेपछि भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार गराइरहेका उनलाई प्रहरीले अस्पतालबाटै पक्राउ गरेको थियो।
अदालतको आदेशपछि भने उनलाई सरकारी अस्पतालमा राखिएको थियो। उनी मधुमेहका बिरामी पनि हुन्। प्रहरीले उनीमाथि विभिन्न स्थानमा बम विस्फोटका घटनामा संलग्न रहेको आरोप लगाउँदै आएको छ।