राप्ती नगरपालिका-१२ स्थित यौरालीटारको पखेरोमा चार हल गोरू र केही मान्छे जोत्ने र मकै लगाउने काममा व्यस्त छन्। थप एक हल गोरू नार्दै थिए आइतराम चेपाङ।
दुधे बच्चालाई ढाडमा बोकेकी श्रीमती आसमाया मकैको बीउ राखेको झोला भिरेर तयार भइन्। आइतराम जुवामा हलो जोडेर गोरू धपाउन थाले। आसमाया पनि हलोले बनाएको सियोमा झोलाबाट मुठ्ठीभरी मकै झिकेर एक–एक गेडा झर्दै अघि बढिन्।
यो परिवारलाई देश चुनावमा होमिएकोमा कुनै रंग छैन। बिहान, बेलुकाको छाक टार्ने अन्नको जोहो गर्न छिमेकी वीरबहादुर तामाङको मेलामा पुगेका थिए उनीहरू। ‘चुनाव आएर हामीलाई के पो हुन्छ र। बिहान, बेलुकाको छाक टार्नु नै ठूलो कुरा छ हामीलाई, यसका लागि नजोती हुँदैन’ आइतरामले भने, ‘भोट त सधैँ हालेकै हौं। खै के भयो र हामीलाई?’
आसमायाले एक-दुई दिन काम नगरे परिवारका सबैको पेट खाली हुने बताइन्। ‘कोही रूखमा, कोही घाममा भोट दिनु भन्दै गाउँ डुलेका छन्। उनीहरुको पछि लागेर हामीलाई खान पुग्दैन,’ उनले भनिन्, ‘जे मा भोट हाले पनि खाने त आफ्नै कमाई हो।’
चितवनका पहाडी गाउँहरुमा अहिले मकै लगाउने चटारो छ। पहाडी गाउँमा मकै र कोदो नै मूख्य बाली हुन्। तर उब्जिएको बालीले वर्षभरी खान पुग्नेको संख्या कम छ।
गत वर्ष मकैमा फौजी किराले नोक्सान गरिदिएको थियो। त्यसैले उत्पादन राम्रो भएन। राप्ती–१३ का रेशम चेपाङले भने, ‘पोहोर मकै फौजी किराले सक्यो, कोदो आकासे पानीले राम्रो फल्न दिएन। चेपाङ बस्तीमा भोकमरी नै लाग्यो।’
उनले केही सामाजिक संस्थाहरुले दिएको खाद्यान्न सहयोगले धेरैले राहत पाएको बताए।
‘यसपालि पनि त्यस्तै अवस्था आउँछ कि भन्ने त्रास सबैमा छ। बेलैमा राम्रोसँग मकै लगाउन पाए राम्रो फल्थ्यो कि भनेर खेतीमै ध्यान दिएका छौं। चुनावतिर दौडिने फुर्सत पनि छैन,’ उनले भने, ‘पहिले त पेट भर्ने काम नै गर्नुपर्यो।’
राप्तीका वडा नम्बर १२ र १३ मा चेपाङ समुदायको बाहुल्यता छ। यी दुवै वडाबाट चेपाङ समुदायकै उम्मेदवारले वडाध्यक्षमा चुनाव जितेका थिए। वडा नम्बर १२ बाट नेपाली कांग्रेसका अर्जुन चेपाङ र १३ बाट नेकपा एमालेका सूर्य बहादुर चेपाङले चुनाव जितेका थिए।
कालिका नगरपालिका र इच्छाकामना गाउँपलिकाका पहाडी क्षेत्रमा पनि चेपाङ समुदायको बसोबास बाक्लो छ। त्यस क्षेत्रमा पनि अहिले धमाधम मकै लगाउने काम चलिरहेको छ।
कालिका–११ का रामबहादुर चेपाङले चुनाव लागेपछि नेताहरुले गाउँ सम्झिएको बताए। ‘खेतैमा आएर यसो गर्छु, उसो गर्छु भन्न थालेका छन्। तर मलाई त विश्वास छैन। अघिल्लो चुनावअघि पनि यही भनेका हुन्,’ उनले भने, ‘भोट हाल्न त जानैपर्ला।’
यो वडाबाट नेकपा एमालेका कृष्णबहादुर प्रजाले चुनाव जितेका थिए। उनी यसपालि पनि वडाध्यक्ष कै उम्मेदवार बन्दैछन्।
इच्छाकामना गाउँपालिकाको वडा नम्बर २ को वडाध्यक्षमा नेकपा एमालेका पञ्च चेपाङ विजयी भएका थिए। उनी यसपालि पनि वडाध्यक्षमा उठ्ने तयारीमा छन्। उनले चेपाङ बाहुल्य क्षेत्रमा त्यही समुदायका वडाध्यक्ष हुँदा काम गर्न सहज हुने बताए।
आफैं पनि किसान रहेका पञ्च चेपाङ वडाध्यक्षका लागि चुनावी प्रचारमा हिँडिसकेका छन्। ‘म आफैं किसान हुँ। गाउँमा मकै, तरकारी लगाउने चटारो छ। बडाबासीको आग्रहका कारण यसपालि पनि उम्मेदवार बन्ने निधो गरेँ। खेतीपाती गर्दै समय निकालेर चुनावको प्रचारमा हिँडेको छु,’ उनले भने। मूख्य बाली मकै लगाउने समय भएकाले धेरैजसो मतदातालाई भेट्न बारीतिरै पुग्ने गरेको बताए।
क्षेत्रफलमा इच्छाकामनाको सबैभन्दा ठूलो यस वडाका मतदातालाई पनि चुनावतिर भन्दा खेतबारीतिरै बढी चासो छ। ‘यसपालि त भोट पनि नहालौं जस्तो लागिरहेको छ,’ ५६ वर्षीय सन्तराम प्रजाले भने, ‘जसलाई भोट दिएर जिताए पनि आफ्नो दुःख आफैंसँग छ। कसैले आएर तेरो के समस्या छ भनेर सोध्दैनन्। आफ्नो काम छोडी–छोडी भोटको लाइनमा गएर के काम?’
चेपाङ बाहुल्य क्षेत्रमा नागरिकता नहुँदा मतदानबाट बञ्चित हुनेको संख्या पनि धेरै छ। चुनावलाई लक्षित गरेर राजनीतिक दलका स्थानीय नेताले नागरिकता र मतदाता परिचय पत्र बनाउन धेरैलाई जिल्ला प्रशासन कार्यालय पुर्याएका थिए।