गत स्थानीय तहको निर्वाचनअघि पनि विजय सुवदीले नेकपा एमालेको तर्फबाट भरतपुर महानगरपालिकको मेयर पदको उम्मेदवार बन्ने इच्छा देखाएका थिए।
पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग उनले भनेका थिए, ‘सक्नुहुन्छ भने मलाई भरतपुरको मेयरको उम्मेदवार बनाउनुस्, नसके वडाध्यक्षकै उम्मेदवार बनाए पनि हुन्छ। मलाई आफ्नै ठाउँमा केही गर्न मन छ।’
पार्टीले देवीप्रसाद ज्ञवालीलाई उम्मेदवार बनायो। तीन पटक जिल्ला पार्टीको नेतृत्व सम्हालिसकेका उनलाई वडाध्यक्षको उम्मेदवार पनि बनाइएन।
आफूभन्दा वरिष्ठ नेतालाई मेयर पदको उम्मेदवार बनाइएपछि उनले गुनासो गरेनन्। ज्ञवालीलाई जिताउन लागि परे। तर ज्ञवाली नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका साझा उम्मेदवार रेनु दाहालसँग करिब २ सय भोट अन्तरले पराजित भए।
त्यसपछि भएको प्रदेश सभाको निर्वाचनमा सुवेदीलाई नेकपा एमालेले चितवन निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ को उम्मेदवार बनायो। उनी विजयी भए। केही समय मन्त्री पनि बने। तर उनी ती पदबाट सन्तुष्ट हुन सकेनन्।
‘पार्टीको चाहनामा म प्रदेश सभा सदस्य भएँ तर मैले त्यहाँ रहेर आफ्नो क्षमता देखाउने अवसर पाइनँ। मेले जाने बुझेका कुरा राखें, प्रदेश सभालाई सार्थक बनाउन धेरै सुझाव दिएँ तर मेरो कुराको सुनुवाइ भएन,’ उनले भने, ‘वरीयतामा उपल्ला पद भए पनि प्रत्यक्ष रूपमा जनताको सेवा गर्न नपाउने पद मेरा लागि उपयुक्त थिएन।’
नेकपा एमालेले यसपालि उनलाई सर्वसम्मत रूपमा भरतपुरको मेयरको उम्मेदवार बनाएको छ। यसलाई महत्वपूर्ण अवसरका रूपमा लिँदै सुवेदी चुनावी मैदानमा होमिएका छन्।
लुम्बिनी विश्वविद्यालयबाट बौद्ध दर्शनमा स्नातकोत्तर गरेका ५८ वर्षीय सुवेदी चितवनमा ‘विकासको भिजन’ भएका नेताका रूपमा परिचित छन्। २०६६ सालमा नवलपरासी र मकवानपुरका केही भागलाई समेत समेटेर वृहत चितवन निर्माण गर्ने गुरूयोजना र २०७१ सालमा चितवनको स्वास्थ्य रणनीति निर्माणको संयोजन गरेका सुवेदी आफ्ना योजना कार्यान्वयन गर्ने निकायमा पुग्न भने सकेका छैनन्।
उनी केही समय भरतपुर अस्पताल विकास समितिको अध्यक्ष हुँदा भएका कामको भने चितवनमा निकै प्रशंसा हुन्छ। उनको कार्यकालमा अस्पतालको ए ब्लक र बी ब्लक भवन निर्माण, सिटिस्क्यान मेसिन सञ्चालन, व्यवस्थित शवगृह, बायोग्यास प्लान्ट, बिएस्सी नर्सिङ, एमडी-एमएस कार्यक्रम सञ्चालन, ६ वटा सुविधासम्पन्न अप्रेसन थिएटर, १२ शैयाको एनआइसियू, अस्पतालको नयाँ गुरूयोजना निर्माण जस्ता महत्वपूर्ण काम भएका थिए।
‘त्यतिखेर पनि मलाई पार्टी अध्यक्षले तपाईं जत्तिको मान्छे जिल्ला अस्पतालको अध्यक्षमा जान हुँदैन भन्नुभएको थियो। मैले मेरो ठाउँको अस्पताल लथालिंग छ म सुधार गर्न चाहन्छु भनें,’ उनले भने, ‘केही न केही सुधार भयो।’
सुवेदी २०५६ सालमा चितवन जिल्ला क्षेत्र नम्बर ४ बाट र २०६४ सालमा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार पनि भएका थिए। ती निर्वाचनमा उनी पाराजित भए।
यसपालि मेयर पदमा उनीसँगै एमाले पोलिटब्युरो सदस्य रहेका देवीप्रसाद ज्ञवाली र प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेलको पनि चर्चा थियो। अन्तिम समयमा ज्ञवालीको प्रस्ताव र पोखरेलको समर्थनमा सुवेदी मेयरको उम्मेदवारमा सिफारिस भएका छन्। ज्ञवाली सुवेदीसँगै घरदैलो कार्यक्रममा देखिन्छन्।
भरतपुरको विगतको निर्वाचनको अंक गणितलाई हेर्दा पाँच दलीय गठबन्धन एक ठाउँमा भएको अवस्थामा नेकपा एमालेलाई भरतपुरको मेयर जित्न सहज देखिँदैन। भरतपुरको मेयर पदको विषयमा गठबन्धनका प्रमुख दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका बीचमा देखिएको विवादको फाइदा नेकपा एमालेलाई पुग्न सक्छ। एमालेले भरतपुरमा राप्रपासँग तालमेलको प्रयास पनि गरिरहेको छ।
राप्रपाले गत निर्वाचनमा भरतपुरको मेयरमा ६ हजार ८ सय ४२ मत ल्याएको थियो। त्यतिखेरका मेयरका उम्मेदवार बद्रीप्रसाद तिमिल्सिना अहिले माओवादी केन्द्रमा पुगेका छन्। यद्यपी राप्रपाको प्रभाव भरतपुरमा राम्रै मानिन्छ। एमाले र राप्रपाले भरतपुर र माडी नगरपालिकामा तालमेलको कसरत गरिरहेका छन्।
त्यसो त एमालेबाट अलग्गिएर बनेको माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीको प्रभाव पनि चितवनमा छ।
भरतपुर महानगरमा एमालेबाट जितेका १४ जना वडाध्यक्ष मध्ये ५ जना एकीकृत समाजवादीतिर गएका छन्। यसको असर निर्वाचनमा देखिन सक्छ।
गठबन्धनबाट माओवादीको उम्मेदवार आउँदा कांग्रेसको सहयोग पाउने आशा एमालेको छ। यसपटक भरतपुरको मेयर आफ्नो पार्टीले पाउनु पर्ने भन्दै नेपाली कांग्रेसका नेता, कार्यकर्ताले शीर्ष नेताहरूलाई दबाब दिइरहेका छन्। पार्टीले मेयरमा फेरि पनि माओवादीका उम्मेदवार उठायो भने स्वतन्त्र उम्मेदवारी दिनेसम्मको तयारीमा कांग्रेस कार्यकर्ता छन्। गठबन्धनभित्रको विवादको फाइदा एमालेले लिन सक्छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य रहेका चितवनका पुराना नेता टेकप्रसाद गुरूङले केही दिनअघि सार्वजनिक कार्यक्रममै गठबन्धनका नाममा फेरि पनि माओवादीका उम्मेदवारलाई उठाइए कार्यकर्ताले एमालेलाई भोट हाल्ने अभिव्यक्ति दिएका थिए।
गत निर्वाचनमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी रेनु दाहाल ४३ हजार १ सय २७ मत प्राप्त गरेर विजयी भएकी थिइन्। प्रतिद्वन्द्वी एमालेका देवीप्रसाद ज्ञवालीले ४२ हजार ९ सय २४ मत प्राप्त गरेका थिए। दुई दल मिल्दा पनि ज्ञवाली २ सय ३ मतले मात्रै पराजित भएका थिए।
नेकपा एमालेको आरोप अघिल्लो निर्वाचनमा मतपत्र च्यातेर आफ्ना उम्मेदवार ज्ञवालीलाई हराइएको भन्ने छ।
‘अघिल्लो पटक निर्वाचन जितिसकेको अवस्थामा मतपत्र च्यातेर हाम्रो पार्टीका उम्मेदवारलाई हराइएको थियो,’ एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने भन्छन्, ‘यसपालि हामीले सर्वसम्मत रूपमा सशक्त उम्मेदवार उठाएका छौं। जति दलको गठबन्धन भए पनि निर्वाचन जित्न सकिन्छ भनेर लागेका छौं।’
नेकपा एमाले चितवनका इन्चार्जसमेत रहेका पोलिटव्युरो सदस्य ज्ञवालीले भरतपुरको मेयर बन्न योग्य नेता धेरै भए पनि पार्टीको बृहत्तर हित र अहिलेको परिस्थितिलाई दृष्टिगत गर्दै जसरी पनि चुनाव जित्न सुवेदीलाई सर्वसम्मतिका साथ मेयरको उम्मेदवार प्रस्ताव गरेको बताए।
‘यसो गरिरहँदा माथिका नेताहरूले त छोड्दा रहेछन्, ठूला नेताहरूका बीचमा मेयर पदमै त विवाद छैन वडामा किन विवाद गर्ने, जित्ने साथीलाई सर्वसम्मत उठाउँछौं भन्ने सन्देश तल्लो तहसम्म पुर्याउन म आफैंले विजयजीलाई मेयरमा प्रस्ताव गरें,’ ज्ञवालीले भने, ‘हामी एक ढिक्का भएर जाँदा निर्वाचन जित्न सक्छौं।’
अर्का नेता कृष्णभक्त पोखरेलले चितवनमा जनस्तरमा राम्रोसँग भिजेका नेता सुवेदीलाई उम्मेदवार बनाउँदा एमाले एक्लैले निर्वाचन जित्न सक्ने आँकलन रहेको बताए।
एमालेले अघि सारेको उम्मेदवार विजय सुवेदीले २०४३ सालको निर्वाचनमा जनपक्षीय उम्मेदवार जागृतप्रसाद भेटवालको चुनाव प्रचार संयोजक बनेर काम गरेका थिए। उनी २०४९ सालदेखि २०५१ सालसम्म पार्टीको चितवन जिल्ला प्रमुख भए। त्यसपछि उनले २०६१–२०६४, २०६४–२०६६ को कार्यकाल पनि पार्टी सचिव बनेर जिल्लाको नेतृत्व गरे।
२०६२/०६३ सालको जनआन्दोलनमा उनले एमालेको नेतृत्व गर्दै समन्वयकारी भूमिका खेलेका थिए। २०७४ सालमा भएको प्रदेश सभाको निर्वाचनमा उनले नेपाली कांग्रेसका उम्मेदवारले भन्दा ८ हजार ९ सय २ मत ल्याएका थिए।
सुवेदी धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गरेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि स्रोत जुटाउने, भरतपुरमा गणेशधाम निर्माणको समन्वय गर्नेजस्ता कामहरू पनि पनि सक्रिय भए। जिल्ला समन्वय समितिले उनकै संयोजनमा चितवनको इतिहास, वर्तमान र भविष्यमा गर्न सकिने कामलाई समेटिएको ‘चितवन दर्पण’ नामको पुस्तक प्रकाशन गरेको छ।
प्रदेश सांसदको रूपमा उनले अघि सारेको भरतपुर एक बगैंचा कार्यक्रमका प्रशंसक पनि भरतपुरमा धेरै छन्। उनले महानगरसँग मिलेर सार्वजनिक र व्यक्तिका खाली जमिनमा फलफूलका बिरूवा रोप्ने अभियान चलाएका थिए। उनले सडकको दुबै छेउमा फलफूलका बिरूवा रोप्ने र खाली जमिनमा पनि वृक्षारोपण गर्ने अभियान सुरू गरेका थिए।
सुवेदीले आफूसँग काम गर्ने दृढ इच्छा शक्ति र भिजन भएको र भरतपुरका मतदातासँग तल्लो तहमै भिजेका कारण निर्वाचन जित्ने दाबी गरे। उनले भरतपुर महानगरलाई अन्तर्राष्ट्रिय मापदण्डको सुन्दर सहरका रूपमा विकास गर्ने आफ्नो योजना रहेको बताए।
भरतपुर महानगरपालिकामा यस पटक ३५ हजार ४ सय ७८ जना मतदाता थपिएका छन्। गत निर्वाचनमा यहाँ १ लाख ५० हजार २ सय ७४ जना मतदाता थिए। १ लाख १२ हजार ८ सय ९७ जनाले मतदान गरेका थिए। थपिएका मतदाताको निर्णय अबको निर्वाचनमा निर्णायक बन्न सक्छ।