उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले विभिन्न वस्तु तथा सेवामा भएको मूल्यवृद्धिको सरकारले अनुगमन गर्ने बताएका छन्।
प्रतिनिधि सभाको आईतबारको बैठकमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिँदै मन्त्री बडूले असार १२ गतेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर १९९ रूपैयाँ बाट २० रूपैयाँ घटाई १७९ रुपैयाँ र डिजेलमा प्रतिलिटर १९२ रूपैयाँबाट २९ रूपैयाँ घटाई १६३ रुपैयाँ मूल्य कायम गरिएको बताए।
उनले पेट्रोलियम पदार्थको मूल्य घटेसँगै अन्य वस्तु र सेवामा पनि मूल्य घट्न आवश्यक रहेको बताए। उनले बजारमा विभिन्न वस्तु तथा सेवाको मूल्य घटे, नघटेको सन्दर्भमा विषयगत मन्त्रालय र नियामक निकायहरुले आ–आफ्नो क्षेत्रबाट र संयुक्त रुपमा अनुगमन गर्ने व्यवस्था मिलाइएको बताए।
‘संसदको दुवै सदनमा माननीयज्यूहरुले व्यक्त गरेका विचार, प्रधानमन्त्रीज्यूको चासो र निर्देशन तथा सत्ता गठबन्धनका नेतृत्व समेतको छलफलको सुझावको आधारमा नेपाल सरकारले पेट्रोल र डिजेलमा विगतदेखि लगाइआइरहेको करमा पुनः भारी कटौती गर्ने निर्णय गरेको छ’, उनले भने, ‘सोही आधारमा नेपाल आयल निगम सञ्चालक समितिले आजै मिति २०७९ असार १२ गतेदेखि लागू हुनेगरी प्रतिलिटर पेट्रोलमा १९९ बाट रु. २० घटाई रु. १७९ र डिजेलमा प्रतिलिटर रु. १९२ बाट रु. २९ घटाई रु. १६३ मुल्य कायम गरेको छ।’
‘पेट्रोलियम पद्धार्थको मूल्य घटेपश्चात् अन्य वस्तु तथा सेवामा पनि मुल्य घट्न आवश्यक छ । यसको लागि विषयगत मन्त्रालय र नियामक निकायहरुले आ–आफ्नो क्षेत्रबाट तथा संयुक्त रुपमा सघन अनुगमन गर्ने व्यवस्था मिलाइएको छ’, उनले भने, ‘यो अनुगमन कार्यमा दुवै सदनका माननीय सदस्यज्यूहरु, सरकारी निकाय, स्थानीय प्रशासन, प्रदेश सरकार, स्थानीय तहका सरकारहरू, निजी क्षेत्र, नागरिक समाज र मिडियाको सक्रिय र सकारात्मक सहयोगको समेत अपेक्षा सरकारले गरेको छ।’
मन्त्री बडूले सरकार जनताको हित र चासोप्रति सधैँ संवेदनशील रहेको स्पष्ट पारे।