पुल निर्माणका लागि पहाडको चट्टान फोर्न नारायणगढ-मुग्लिन सडक खण्ड दैनिक चार घन्टा अवरूद्ध हुने गरेको छ। गत पुस ५ गतेदेखि एक महिनाका लागि बन्द गरिए पनि सो अवधिमा काम नसकिएपछि थप एक महिना बन्द गरिँदैछ।
नारायणगढ-मुग्लिन सडक आयोजनाकाअनुसार ठाडो भीरहरूका कडा चट्टान फोर्दा सडक असुरक्षित हुने भएकाले दैनिक चार घन्टा सडक नै बन्द गरेर काम गर्नु परेको हो। चार वटा पुलका लागि ८ वटा पहाड काटेर पहुँचमार्ग तयार पार्ने लक्ष्यमा करिब पाँच हप्तामा के प्रगति भयो?
यो जान्न हामी निर्माणको काम भइरहेको ठाउँमा पुग्यौं।
मुग्लिनबाट नारायणगढतर्फ आउँदा तेस्रो नम्बरमा पर्ने तुइन खोला नजिकै नारायणगढ-मुग्लिन सडक आयोजनाका कर्मचारी भेटिए। करिब ११ बजेतिर हामी यहाँ पुग्दा खोलाको दुईतर्फका पहराको टाकुरामा देखिएका रक ब्रेकर(पत्थर फुटाउने मेसिन) कामका लागि तयारी गर्दै थिए।
‘१२ बजेदेखि सवारी साधन रोकिन्छन्, त्यसपछि मेसिनले पहरो फोर्ने काम सुरू गर्छ,’ आयोजनाका सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले सेतोपाटीसँग भने।
आचार्यका अनुसार करिब पाँच हप्ताको अवधिमा चारमध्ये दुई वटा पुलको पहुँचमार्ग तयार गर्ने काम सकिइसकेको छ। कालीखोला र सिमलतालमा दुबैतर्फको पहाड काटेर पुलका लागि पहुँचमार्ग तयार भइसकेको उनले बताए। त्यहाँ अहिले पुल निर्माणको काम पनि सुरू भइसकेको छ। अन्य दुई खोलामा भने पहरो फोर्ने काम चलिरहेको छ।
तुइन खोला र चिसेन्जी खोलामा नयाँ पुल बनाउन भौगोलिक रूपले सबैभन्दा कठिन छ। अहिले यी दुई पुलको दायाँ-बायाँका ठाडो भीरको कडा चट्टान फुटाल्न रक ब्रेकर मेसिनले प्रयास गरिरहेका छन्। इन्जिनियर आचार्यका अनुसार चिसेन्जी पुलको दायाँतर्फको चट्टान फोर्ने काम लगभग सकिएको छ। बायाँतर्फ ५० प्रतिशतभन्दा बढी फोरेर सकिएको छ। तुइन खोलाको पनि बायाँतर्फको पहाड करिब ५० प्रतिशत काटिसकेको आचार्यले बताए। तर यसको दायाँतर्फको चट्टान फुटाउन भने असाध्यै गाह्रो भइरहेको उनले बताए।
‘तुइन खोलाको दायाँतर्फको ६० मिटर अग्लो पहरोको कडा चट्टान फुटाल्नका लागि टाकुरामा पुगेका रक ब्रेकरहरूले निरन्तर प्रयास गरिरहेका छन्। अहिलेसम्म करिब १५ मिटर चट्टान काट्न सकिएको छ। बाँकी ४५ मिटर चट्टान फोर्न उस्तै गाह्रो छ,’ आचार्यले भने, ‘चिसेन्जीको बायाँतर्फको पहरोको चट्टान पनि सुरूमा त सजिलै फुटिरहेको थियो। आधाजति सकिएपछि गाह्रो हुन थालेको छ।’
उनले चट्टानको प्रकृतिले फुटाउन लाग्ने समयको निर्धारण गर्ने बताए। एक महिनामा उचाइ घटाउन सकियो भने त्यसपछि केही समयमात्रै बन्द गरेर काम गर्न सकिने उनले बताए। अहिले दुई वटा पुलका लागि चट्टान फुटाउन १२ वटा मेसिनको प्रयोग गरिएको छ। तुइन खोलाको माथिका पहाडमा मात्रै ७ वटा मेसिन प्रयोग भएका छन्। मेसिनले सम्भव नभए अर्को विकल्प विष्फोट गर्ने हो।
आचार्यले सडक माथिबाट चट्टान फोरेर झार्नुपर्ने भएकाले सडक बन्द गर्नु परेको बताए। उनले थपिएको अवधिमा यी दुई पहरो फुटाल्न सक्दो प्रयास हुने बताए।
मुग्लिनदेखि पाँच किलोमिटर नारायणगढतर्फको सडकमा पर्ने पुराना पुलहरू साँघुरा र जीर्ण छन्। त्यसैले यहाँ धेरै ट्राफिक जाम हुने र दुर्घटनाको जोखिम छ। अहिले नयाँ पुललाई दुई लेनको बनाउनका लागि त्यही अनुपातमा डाँडो काटेर ठाउँ बनाइएको हो।
नारायणगढ-मुग्लिन सडकमा पर्ने १९ मध्ये चार वटा पुल बनेर सञ्चालन भइसकेका छन्। बाँकी १५ वटा पुल निर्माणका लागि २०७६ सालको चैत १० गते ठेक्का सम्झौता भएको थियो। गत पुस १० गते यो सम्झौताको म्याद सकिएर पुनः एक वर्ष थप गरिएको छ।
यो अवधिमा ९ वटा पुलको निर्माण कार्य सकिएको, पाँच वटा पुल निर्माणधीन रहेको र एउटाको निर्माणको काम सुरू हुनै बाँकी रहेको आयोजनाका सूचना अधिकारी आचार्यले बताए। निर्माणाधीन पाँचमध्ये चारवटा पुलको जग र पुलको सब स्ट्रक्चर निर्माणको काम भइरहेको छ। तुइन खोलाको पुलका लागि पहाड फोरेर पहुँचमार्ग बनाइँदैछ।
मुग्लिनबाट नारायणगढतर्फको पहिलो खहरे पुल निर्माणको काम भने सुरू हुनै सकेको छैन। यहाँ हाल सञ्चालनमा रहेको पुलबाट त्रिशूली नदीतर्फको क्षेत्रमा नयाँ पुल बनाउने गरी डिजाइन बनेको छ।
‘यसका लागि हाल सडकको छेउमा रहेका घरहरू भत्काएर पहुँचमार्ग तयार पार्नुपर्ने हुन्छ। नेपाल सरकारले घरधनीलाई क्षतिपूर्ति दिने रकम नपठाउँदा काम अघि बढाउन सकिएको छैन,’ आचार्यले भने।
नारायणगढ-मुग्लिन सडक आयोजनाका प्रमुख इन्जिनियर किरण कार्कीले विश्व बैंक र नेपाल सरकारबीच भएको सहमतिअनुसार नेपाल सरकारले क्षतिपूर्ति दिएपछि मात्रै सडक छेउका घर हटाउन पाइने बताए।
‘सडकको अधिकार क्षेत्रभित्रै पर्ने भए पनि हामीले आफूखुसी हटाउन मिल्दैन। विश्व बैंकले ऋण लगानी गर्दा राखेको सर्तमा उनीहरूलाई नेपाल सरकारले क्षतिपूर्ति दिलाएर हटाउनुपर्ने भनेको छ,’ इन्जिनियर कार्कीले भने, ‘यताबाट क्षतिपूर्तिको मूल्यांकन र सिफारिस भएर अर्थ मन्त्रालयमा फाइल पुगिसकेको छ। तर बजेट प्राप्त नभएका कारण काम अघि बढ्न सकेको छैन।’
यो सडकको १५ वटा पुलको पहुँचमार्गमा पर्ने २६ घर भत्काउनका लागि करिब एक करोड रुपैयाँ क्षतिपूर्ति रकम आवश्यक पर्ने इन्जिनियर कार्कीले बताए।
‘पोहोरबाटै रकम माग गरिरहेका हौं। यसपालि आउँछ कि भन्ने आशा छ,’ कार्कीले भने।
क्षतिपूर्तिबापत दिनुपर्ने रकम प्राप्त नहुँदा निर्माण सम्पन्न भइसकेका ९ वटा पुल पनि सञ्चालनमा आउन सकेका छैनन्। यीमध्ये ६ वटा पुल त करिब दुई वर्षअघि नै निर्माण भइसकेका थिए।
आयोजना प्रमुख कार्कीले समयमा बजेट प्राप्त भयो र निर्माण सामग्रीको अभाव भएन भने थपिएको अवधिभित्र सबै पुल बनिसक्ने बताए।
तर अर्थ मन्त्रालयले समयमा बजेट नदिने गरेको उनले बताए।
‘१ अर्ब २० करोड रुपैयाँ बजेटको योजनाका लागि एक वर्षमा ४० करोड बजेट दिनुपर्थ्यो तर थोरै बजेटमात्रै छुट्टाउने गरिएको छ। पोहोर बल्ल-बल्ल ३५ करोड ल्याउन सकियो। यस वर्ष ५० करोड रुपैयाँ माग गरेकोमा ११ करोडमात्रै प्राप्त भएको छ, यसमा ६ करोड बढी बजेट सकिसक्यो,’ कार्कीले भने, ‘अब निर्माण कम्पनीलाई दिने पैसा सकिने बेला भयो। त्यसपछि सरकारले पैसा पठाउँछ कि पठाउँदैन भन्ने कुराले पनि कामको गति निर्धारण गर्छ।’
उनले क्रसर उद्योग बन्द गरेसँगै निर्माण सामग्रीको पनि अभाव भइरहेको बताए। भएको स्टक सामग्री सकिएको र नयाँ आउन सकेको छैन। समयमै बजेट र निर्माण सामग्री प्राप्त भए यस आर्थिक वर्षमा ८० प्रतिशत काम सकेर आगामी वर्ष बाँकी काम सक्ने लक्ष्य रहेको जानकारी दिए।
‘यो वर्ष १३ वटा पुलको निर्माण सक्ने, बाँकी दुई वटा पुल आगामी वर्ष सक्ने हाम्रो लक्ष्य छ,’ उनले भने, ‘यसका लागि बजेट र निर्माण सामग्री समयमा पाउनुपर्छ।’
निर्माण सामग्री नपाए अबको दस दिनमा ढलान गर्न लागिएको रिग्दी, काली र जुगेडी पुलको काम नै रोकिने कार्कीले बताए।
उनले अर्थ र भौतिक योजना मन्त्रालयका उच्च तहका अधिकारीहरूले अवलोकन गरेर यो योजनालाई प्राथमिकतामा राखेको जानकारी दिएकाले समयमै काम सम्पन्न हुनेमा विश्वस्त रहेको बताए।
नारायणगढ-मुग्लिन सडक आयोजनाले मुग्लिन नजिकैको खहरे खोलादेखि रिग्दी खोलासम्मका सात वटा पुललाई प्याकेज-१ र जुगेडीदेखि सिमलतालसम्मका आठ वटा पुललाई प्याकेज-२ बनाएर काम अघि बढाएको छ। प्याकेज-१ अन्तर्गतका पुल इच्छाकामना गाउँपालिकामा र प्याकेज-२ अन्तर्गतका पुल भरतपुर महानगरपालिकामा पर्छन्। सबै पुल डिजाइन निर्माण कम्पनीले गर्ने र निर्माण पछिको पाँच वर्ष मर्मत पनि गर्नुपर्ने गरी सम्झौता भएको हो।
प्याकेज-१ का पुल ६७ करोड ९९ लाख ५९ हजार रुपैयाँमा र प्याकेज-२ का पुल ५९ करोड ५ लाख ५९ हजार रुपैयाँमा निर्माण गर्न अनक कन्स्ट्रक्सनले ठेक्का पाएको छ।
यो सडक भएर दैनिक १५ हजार सवारी साधनहरू आवतजावत गर्छन्। यो खण्ड पार गर्न गाडीलाई हाल औसत तीस मिनेट लाग्ने गरेको र सबै पुलहरू तयार हुँदा दस मिनेट समय घट्ने आयोजनाको भनाइ छ।
नारायणगढ-मुग्लिन सडक विस्तार सकिएको तीन वर्ष बढी भएको छ। यो राजमार्गलाई एसियाली विकास बैंकको सहयोगमा एसियाली मापदण्डअनुसार बनाइएको हो। सडक निर्माण सकिएसँगै पुल बनाउन सुरू भए पनि कोरोना महामारी, वर्षायाममा काम गर्न समस्या, भौगोलिक कठिनाइलगायत कारणले काममा ढिलाइ भएको आयोजना प्रमुख कार्कीले बताए।
‘अहिले गरिएको बन्दले यात्रुलाई सास्ती भएको छ तर यी पुलहरू बनिसकेपछि दीर्घकालका लागि राम्रो हुन्छ,’ कार्कीले भने।