काठमाडौं महानगरपालिका नगर प्रहरी प्रमुख राजु पाण्डेमाथि छानबिन गर्न गठन भएको समितिले प्रतिवेदन बुझाएको छ।
गत शुक्रबार छानबिन समितिले प्रतिवेदन बुझाएको काठमाडौं महानगरपालिकाका विभागीय प्रमुख दीपक अधिकारीले जानकारी दिए।
उनका अनुसार छानबिन समितिले २० पेजको प्रतिवेदन बुझाएको छ।
‘उक्त प्रतिवेदनमा राजुजीले शारीरिक हिंसा गरेको छैन,’ उनले सेतोपाटीसँग भने,‘ तर मानसिक रूपमा तनाव हुने गरी गालीगलौज गरेको भन्ने उल्लेख गरिएको छ।’
प्रतिवेदनले महिला कर्मचारीको हकमा स्तनपान कक्ष र महानगरमा कार्यरत कर्मचारीका बच्चाका लागि डे-केयर सेन्टरको व्यवस्थापन गर्न समितिको प्रतिदनले सुझाएको छ।
यस्तै उक्त प्रतिवेदनमा राजु पाण्डेलाई फेरि यस्तो नहोस् भनेर चेतावनी दिन समेत उल्लेख गरिएको छ।
'यस्तै उनलाई पुनः स्पष्टिकरण सोधिने छ,’ उनले भने।
महानगरले पुस २२ गते दुई साता म्याद थप गरेको थियो। त्यसपछि माघ ७ गते फेरि एक साता म्याद थप गरेको हो।
महानगरले पुस ८ गते छानबिन समिति गठन गरेको थियो र समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो।
पाण्डेमाथि छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको थियो।
उक्त छानबिन समितिको संयोजकमा गोपालप्रसाद पोखरेल, न्याय प्रशासन विभागकी सुमित्रा लामिछाने र सहरी योजना आयोगकी उपनिर्देशक कुमारी राई सदस्य थिए।
गंगाले आफूलाई दुर्व्यवहार गरेको भन्दै मंसिर ९ गते प्रमुख प्रशासकीय अधिकृत अधिकारी र त्यसको केही समयपछि उपमेयर सुनिता डंगोलसमक्ष निवेदन दिएकी थिइन्।
त्यसपछि महानगरपालिकाले मंसिर १९ गते पाण्डेसँग स्पष्टीकरण सोधेको थियो। उनले पुस ५ मामात्रै स्पष्टीकरण बुझाएका थिए।
यसबीचमा महिला प्रहरीले दुर्व्यवहारको उजुरी गरेपछि पाण्डेमाथि तत्काल छानबिन सुरू गर्नुपर्नेमा महानगरले उल्टो उनलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो।
महानगरको २८ औं स्थापना दिवसका अवसरमा मंसिर २९ गते पाण्डेलाई ‘महानगर गौरव’ पुरस्कार दिइएको थियो।
दुर्व्यवहारका आरोपी पाण्डेलाई पुरस्कृत गर्ने निर्णयमाथि महानगरभित्र मतभेद भएको स्रोत बताएको थियो।
‘हामीले विवादित मान्छेलाई पुरस्कार दिनुहुँदैन भनेर भनेका थियौं,’ स्रोतले भनेको थियो, ‘वसन्त अधिकारीले मान्नुभएन। यस्ता कुरा आइरहन्छन् भनेर उहाँले तर्क गर्नुभयो। पाण्डेलाई पुरस्कृत गर्ने उहाँको एकलौटी निर्णय थियो।’
अधिकारीले यो कुरा भने अस्वीकार गरेका थिए। आरोप लागे पनि पुष्टि नभइसकेकाले छनोट समितिकै निर्णयका आधारमा पाण्डेलाई पुरस्कृत गरिएको उनले बताएका थिए।
आफ्नो एकल निर्णय नभई, पाँच सदस्यीय छनौट समितिले पाण्डेलाई पुरस्कृत गर्ने निर्णय गरेको उनको भनाइ थियो।
छनोट समितिका अधिकारी नै संयोजक थिए भने वित्त विभागका बुद्धरत्न मानन्धर, कानुन तथा मानव अधिकार विभागका वसन्त आचार्य, सम्पदा तथा पर्यटन विभागका अर्चना शाक्य र प्रशासन विभागका महेश काफ्ले सदस्य थिए।
यो पनिः
काठमाडौंका नगर प्रहरी प्रमुख पाण्डेमाथि छानबिन गर्ने समितिको दोस्रो पटक म्याद थप
काठमाडौंका नगर प्रहरी प्रमुख पाण्डेमाथि छानबिन गर्ने समितिको दुई साता थपियो म्याद
काठमाडौंका नगर प्रहरी प्रमुख पाण्डेमाथि छानबिन गर्न समिति गठन
नगर प्रहरी प्रमुख पाण्डेले महिला कर्मचारीमाथि गरेको दुर्व्यवहारबारे निवेदन पर्दा पनि चुपचाप उपमेयर