दोब्बर बढी बहाल तिरेर काठमाडौं महानगरपालिका काठमाडौं प्लाजामा सर्ने भएको छ।
महानगरले नेपाल ट्रष्टसँग गत चैत ८ गते नै १० वर्षको लागि सम्झौता गरिसकेको छ।
विभिन्न १० ठाउँमा छरिएर बस्दा महानगरले मासिक बहाल २३ लाख ६८ हजार ५५१ रुपैयाँ बुझाइरहेको छ। तर काठमाडौं प्लाजाबाट एकीकृत सेवा सुविधा दिने भन्दै महानगरले नेपाल ट्रष्टसँग ६० लाख ५० हजार रुपैयाँ बहाल बुझाउने गरी सम्झौता गरेको हो। जुन अहिले तिरिरहेको रकम भन्दा दोब्बर बढी हो।
एकैठाउँबाट सेवा सुविधा लिन पाउँदा सेवाग्राहीलाई सहज हुने हुँदा महँगो भए पनि प्लाजामा सर्ने सम्झौता गरेको महानगरका प्रवक्ता नवीन मानन्धर बताउँछन्।
‘सबै कुरा पैसासँग जोडेर मात्र हेर्न हुँदैन,’ उनी भन्छन्, ‘हामीले पैसाको कुरा नहेरी सेवासुविधा लिने सेवाग्राहीको सहजता र उहाँहरूको समय हेरेका हौं।’
उनका अनुसार मानिसहरू एउटै कामका लागि विभिन्न विभागहरू धाउनुपर्थ्यो। विभिन्न ठाउँमा भएका विभागहरू धाउँदा धेरै समय लाग्ने गर्थ्यो। तर अहिले एकै ठाउँबाट सेवा सुविधा दिँदा सेवाग्राहीले उक्त समस्या झेल्न नपर्ने मानन्धर जिकिर गर्छन्।
यसो त तीन दिन लगाएर गरिने काम छोटो समयमा नै हुने उनको बुझाइ छ।
यस्तै मानन्धर निजी घरधनीलाई घरबहाल रकम तिर्नुभन्दा सरकारी ट्रष्टलाई नै तिर्नु उपयुक्त हुने उनी बताउँछन्। त्यसमाथि महानगरका सबै कार्यालय तथा विभागहरू एकै छातामुनि अटाउने ठाउँ नपाउने उनले बताए।
‘अहिले हामीले घरधनीलाई बहाल रकम बुझाउन नसकेको दिन निस्किएर हिँड्नुपर्ने हुन्छ। बुझाएको रकम व्यक्तिको हुन्छ,’ उनी भन्छन्, ‘तर प्लाजामा बस्दा तिरेको रकम नेपाल ट्रष्टको खातामा जान्छ, कुनै व्यक्तिको खातामा जाँदैन। त्यहाँ व्यक्ति मोटाउने काम हुँदैन।’
त्यस्तै सरकारलाई बहाल तिर्न नसकेको दिन निस्किएर जानुपर्ने स्थिति पनि नहुने बताउँछन्।
‘एउटा सरकारले अर्को सरकारलाई मिनाह पनि गर्न सक्छ,’ उनले भने, ‘हामीले सरकारलाई समेत सहयोग हुन्छ भनेर उहाँहरूको तोकेको रकम तिरेर बस्ने निर्णय गरेका हौं। अर्कोतर्फबाट सरकारलाई सहयोग पनि हुन्छ।’
आन्तरिक राजस्वबाट नै महानगरले आवश्यक खर्च गरिरहेको हुन्छ। बहाल रकम पनि महानगरले संकलन गरेको राजस्व रकमबाट नै तिर्ने गरेको छ।
यस आर्थिक वर्ष २०७९/८० मा महानगरले १० अर्ब ४१ करोड ९५ लाख ४९ हजार रुपैयाँ उठाउने लक्ष्य राखेको छ। जसमा आज बेलुकीसम्मको प्रतिवेदन अनुसार ६ अर्ब ३९ करोड ६२ लाख ५५ हजार १२३ रुपैयाँ महानगरले उठाइसकेको राजस्व विभागका प्रमुख ध्रुव काफ्लेले जानकारी दिए।
'गतआर्थिक वर्ष २०७८/७९ मा हामीले ९ अर्ब ८ करोड ७० लाख १३ हजार रुपैयाँ उठाउने लक्ष्य राखेका थियौं,' उनले भने, 'तर हामीले लक्ष्यभन्दा बढी राजस्व उठाउन सफल भएका थियौं। त्यस वर्ष हामीले १० अर्ब ६० करोड ४८ लाख ३७ हजार ८६० रुपैयाँ राजस्व उठाएका थियौं। यो वर्ष पनि त्यस्तै हुन्छ भन्नेमा हामी आशावादी छौं।'
करिब ५ रोपनी २ पैसा क्षेत्रफलमा निर्माण भएको ७ तले भवनमा महानगरको सबै कार्यलयहरू एकै ठाउँमा हुनेछ।
२०७२ को भूकम्पअघि महानगरले एकै स्थान बागदरबारबाट सेवा दिइरहेको थियो। एकै ठाउँबाट सेवा प्रवाह गरिरहेको महानगरको अहिले केन्द्रीय कार्यलय सुन्धारामा छ भने वातावरण विभाग टेकुमा, राजश्व विभाग बबरमहलमा, सहकारी विभाग बिजुलीबजार, शिक्षा विभाग ताहाचल, केही विभाग राष्ट्रिय सभा गृहमा गरी विभिन्न १० स्थानबाट सेवा प्रवाह गरिरहेको छ।