लुम्बिनीमा नेपाली कांग्रेसका नेता डिल्लीबहादुर चौधरी नेतृत्वको सरकारले आधा वर्ष पुग्नै लाग्दा पनि पूर्णता पाएको छैन। लुम्बिनीमा सरकारले पूर्णता पाउन ढिलाइ हुनुको कारण भने सत्ता साझेदार प्रमुख दलहरू बीचको भागबण्डाको रस्साकस्सीले गर्दा हो।
सरकार गठनका क्रममा मुख्यमन्त्रीसहित नेपाली कांग्रेसले पाँच मन्त्रालय र नेकपा माओवादी केन्द्रले तीन मन्त्रालय पाउने सहमति भएको थियो।
वैशाख १४ गते डिल्लीबहादुर चौधरी मुख्यमन्त्री नियुक्त हुनुपूर्व यी दुई दलका बीचमा माओवादीले तीन मन्त्रालय र कांग्रेसले चार मन्त्रालय पाउने मौखिक सहमति भएको माओवादी नेताहरू दाबी गर्छन्।
नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले पूर्वसहमति अनुसार आफूहरू टसमस गर्न सक्ने अवस्था नरहेको बताए। तर नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमिति सभापति अमरसिंह पुनले भने लुम्बिनी सरकारको व्ययभार थप्ने गरी मन्त्रालय टुक्राएर सरकारलाई पूर्णता दिन नहुने बताइसकेका छन्।
यसअघि नै माओवादीबाट बाँकेकी कृष्णा केसी र रोल्पाका दिपेन्द्र पुनलाई मन्त्री बनाउने भनेर पार्टीबाट नाम अनुमोदन गरी पठाइसकेको हुँदा अहिले पनि त्यो निर्णयबाट आफूहरू टसमस हुन सक्ने अवस्था नरहने उनले जोड दिए।
‘मन्त्रालय विस्तार भए पनि नभए पनि अरू के कहाँ के गर्ने भन्ने कुरा उहाँहरूको कुरा हो,’ संसदीय दलका नेता महराले भने, ‘पूर्व सहमति अनुसार हामीलाई तीन मन्त्रालय चाहियो।’
आफूले शपथ लिँदा बिना विभागीय मन्त्रीका रूपमा नियुक्त गरेका मुख्यमन्त्री चौधरीले केही समयको अन्तरालमै माओवादीको तर्फबाट दाङबाट निर्वाचित धनबहादुर मास्की अर्थमन्त्री बनाएका थिए।
‘उहाँबाहेक अब दुई जना मन्त्री हामीलाई पाउनु पर्छ र दुबै जनाको नाम हामीले पहिलै सिफारिस गरिसकेका छौं,’ महराले भने।
माओवादी संसदीय दलका नेता महराले अब छिट्टै मन्त्रिमण्डललाई पूर्णता दिन्छु भनेर मुख्यमन्त्रीले वचन दिएको सेतोपाटीलाई बताए।
नेपाली कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले असोज १५ गतेभित्रै सरकारलाई पूर्णता दिने कसरतमा मुख्यमन्त्री चौधरी रहेको जानकारी दिए।
‘मुख्यमन्त्रीज्यू अब तीन मन्त्रालय थप्ने मनस्थितिमा हुनुहुन्छ,’ तिमिल्सिनाले भने, ‘त्यसो भए अब कांग्रेसले तीन र माओवादीले दुई मन्त्रालय पाउने छन्।’
तीन वटा मन्त्रालय थप मुख्यमन्त्रीसहित मन्त्रालयको संख्या १२ पुग्नेछ।
‘कांग्रेस भित्रैबाट सरकारलाई व्ययभार थोपर्ने गरी मन्त्रालय विस्तार नगर भन्ने खाले कुरा आइरहेको हुँदा त्यसको मर्मअनुरूप सरकारलाई पूर्णता दिन्छु भन्ने मुडमा मुख्यमन्त्री हुनुहुन्छ,’ तिमिल्सिनाले भने, ‘यदि माओवादीले अडान नछोडेको खण्डमा मुख्यमन्त्रीलाई गठबन्धनको सरकार टिकाइ राख्नका लागि मन्त्रालय बढाउनुको विकल्प छैन।’
देउवालाई भेटेर अन्तिम निर्णय लिन्छु: मुख्यमन्त्री
मुख्यमन्त्री चौधरीले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर अन्तिम निर्णय लिने बताएका छन्।
‘म भोलिसम्म काठमाडौं जान्छु,’ उनले भने, ‘पार्टी सभापतिलाई भेटेर मन्त्रालय थप्ने वा नथप्ने कुरा त्यसपछि मात्रै टुंगो लाग्नेछ।’
आफूले भदौ ३० गते नै सरकारलाई पूर्णता दिन चाहे पनि माओवादीसँग भागबण्डामा कुरा नमिल्दा रोकिएको मुख्यमन्त्री चौधरीले जानकारी दिए।
‘म त सकभर अपजस लिने गरी मन्त्रालयको संख्या बढाउन चाहँदैन थिएँ,’ मुख्यमन्त्री चौधरीले भने, ‘तर, मेरो त्यो चाहना गठबन्धन दलहरूका कारण पूरा भइरहेको छैन।’
माओवादीकै अडानका कारण मन्त्रालय थप्नुपर्ने अवस्था आउन सक्ने उनले संकेत गरे।
‘मन्त्रालय टुक्राउने र संख्या थप्ने रहरभन्दा बाध्यता जस्तो हुन थालेको छ,’ मुख्यमन्त्रीले भने, ‘कांग्रेसकै साथीहरू पनि कांग्रेसलाई माओवादी समान वा त्योभन्दा पनि कमजोर बनाउन पाइँदैन भन्दै आउनु भएको छ।’
त्यही भएर आफू पार्टी सभापतिलाई भेटेर मात्रै यसबारे अन्तिम निर्णय गर्न सकिन्छ भन्ने निष्कर्षमा पुगेको मुख्यमन्त्री चौधरीले दोहोर्याए।
मन्त्रालय फुटाएर मन्त्रालयको संख्या थप्ने सम्भावना बढी रहेको भन्दै त्यसो भएमा कांग्रेसले तीन र माओवादीले थप दुई जना नयाँ मन्त्री पाउने मुख्यमन्त्रीले चौधरीले औंल्याए।
माओवादीले मन्त्रिमण्डलमा पठाउने थप दुई नामहरू धेरै पहिले नै अनुमोदन गरी सिफारिस समेत गरेको बताइरहँदा कांग्रेसले भने अब थपिने भनिएका तीन मन्त्रीको टुंगो लगाइसकेको छैन।
मुख्यमन्त्री चौधरीले पार्टीबाट कस–कसलाई सरकारमा पठाउने कुरा मन्त्रालय थप्ने वा नथप्ने भन्ने कुरा टुंगो लागेपछि मात्रै छिनोफानो हुने सेतोपाटीलाई बताए।
अहिले लुम्बिनी प्रदेश सरकारमा कांग्रेसबाट निर्वाचित मुख्यमन्त्री चौधरीका साथै दाङबाटै निर्वाचित राजु खनाल स्वास्थ्य मन्त्री छन्। अब तीन मन्त्री थपिए मुख्यमन्त्रीसहित पाँच जना मन्त्रिमण्डलमा सोमल हुनेछन्।
प्रमुख प्रतिपक्षी नेकपा (एमाले) र राप्रपाबाहेक प्रदेशमा क्रियाशील अन्य सबै आठ दल तथा एक स्वतन्त्र सांसदसहित ५३ जना सांसदको समर्थनमा वैशाख १४ गते दाङको निर्वाचन क्षेत्र नं. ३ (१) बाट निर्वाचित चौधरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनले वैशाख १५ गते शपथ लिएका थिए।
अहिले मन्त्रिमण्डलमा को–को सामेल छन्?
१. डिल्लीबहादुर चौधरी – नेपाली कांग्रेसबाट –मुख्यमन्त्रीका साथै खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय।
२. धनबहादुर मास्की – नेकपा माओवादी केन्द्र – अर्थमन्त्री।
३. राजु खनाल– नेपाली काँग्रेसबाट – स्वास्थ्यमन्त्री।
४. सन्तोषकुमार पाण्डेय– लोकतान्त्रिक समाजबादी पार्टी – गृहमन्त्री।
५.भण्डारीलाल अहिर – जनता समाजबादी पार्टी – कृषि तथा भूमि व्यस्थामन्त्री।
६. चन्द्रकेश गुप्ता – जनता समाजबादी पार्टी – सामाजिक विकासमन्त्री।
७.धर्मबहादुर चौधरी – नागरिक उन्मुक्ति पार्टी – भौतिक पूर्वाधार विकासमन्त्री।