सन् १९६३ को कुरा हो। झापाका केशवकुमार बुढाथोकी क्याम्पस पढ्न भन्दै काठमाडौं पुगेका थिए।
जमिनदार बुबा रघुवीरको इच्छा थियो- साइँलो छोराले विज्ञान पढोस्। दार्जिलिङमा ‘सिनियर क्याब्रिज’ कोर्स सकेका केशव आफ्ना केही साथीहरूसँग काठमाडौंको त्रिचन्द्र क्याम्पसमा भर्ना हुन भनेर गएका थिए।
भर्ना अघि लिइने परीक्षाका क्रममा त्रिचन्द्रका एक जना शिक्षकसँग उनको भनाभन भयो। केहीबेरमा हात हालाहाल नै भयो। दार्जिलिङमा स्कुल क्याप्टेन छँदा बारम्बार धेरै साथीलाई धक्कामुक्की गरेका बुढाथोकीले ती शिक्षकमाथि आक्रमण गरे। मुक्का प्रहारबाट शिक्षकको दाँत नै झर्यो।
पञ्चायतको प्रारम्भिक दशकमा शिक्षक कुट्ने विद्यार्थीको त्यो धृष्टताले अन्ततः उनलाई जेल पुर्यायो। शिक्षकको दाँत झारेर जेल पुगेका बुढाथोकीले जेलभित्र धेरैथरी मान्छे भेट्ने अवसर पाए। तीमध्ये एउटा समूह थियो, नेपाली कांग्रेस नेताहरूको। त्यही समूहको कुराकानी सुन्न उनलाई मनपर्न थाल्यो।
उनको आत्मकथा ‘आफ्नो–आफ्नो सगरमाथा’ मा उल्लेख भएअनुसार जेलमा ओमकारप्रसाद श्रेष्ठ, दुर्गानन्द झा, श्रीभद्र शर्मा, प्रयागराजसिंह सुवाल, अरविन्द, पेशलकुमार पोखरेल, भाइकाजी श्रेष्ठ लगायतसँग उनको भेट भएको थियो।
‘मास्टरको दाँत झारेर जेल परेको गुण्डा उनीहरूको संगतले कांग्रेस बनेर निस्कियो’, २०७९ को चुनावअघि सेतोपाटीसँगको कुराकानीमा बुढाथोकीले भनेका थिए, ‘त्यसपछि कहिले कांग्रेस, कहिले पञ्चायत गरिरहियो।’
शिक्षक कुटेको अभियोगमा ९ महिना जेल बसेर निस्केपछि उनी त्रिचन्द्र क्याम्पस पुगे। तर त्रिचन्द्र व्यवस्थापनले ‘तिम्रो रेस्टिकेट’ फिर्ता भएको छैन’ भनेर भर्ना लिन मानेन।
यसरी आफ्नै उद्दण्डताले विज्ञान पढ्ने मेसो नमिलेपछि झापा फर्केका बुढाथोकी पूर्णकालीन राजनीतिमा लागेका थिए। बुढाथोकी नेपाली राजनीतिका एक जना त्यस्ता पात्र थिए, जसले आफूलाई ‘लागेपछि लाग्यो’ को शैली जीवनभर नै अपनाए।
उनलाई धेरैले अस्थिर र अवसरवादीको संज्ञा दिएका थिए। आफूलाई लागेपछि सही होस् या गलत उनी त्यसका पक्षमा उभिन्थे, लड्थे र सकेसम्म काम पूरा गरेरै छाड्थे। यही स्वभावले उनलाई हक्की बनाएको थियो।
दार्जिलिङको सेन्टजोसेफको विद्यार्थी छँदादेखि सोमबार राति विराटनगरस्थित विराट मेडिकल कलेजमा जीवनको आखिरी सास लिनुअघिसम्म पनि बुढाथोकीले त्यो हक्की स्वभावलाई जोगाएरै राखे।
उनी कतिसम्म हक्की थिए भने- दार्जिलिङमा पढ्न बस्दा भूटानी राजाको परिवारका सदस्यलाई नराम्ररी गोदेका थिए। घरी पन्चायत, घरी कांग्रेस गर्ने क्रममा उनी राप्रपा नेता पनि भए। आफ्नो जीवनकालमा उनले गाउँ पन्चायतदेखि संविधान सभाको चुनावसम्म लडे। थोरैमा असफलता व्यहोरेका उनले धेरै चुनावमा सफलता पाएका थिए।
नाम केशवकुमार भए पनि उनी झापामा ‘कुमार दाइ’ को नामले चिनिन्थे। कांग्रेसका धेरै कार्यकर्ताले ‘बाघ’ भन्थे उनलाई। अग्लो र सुगठित शरीर अनि ठूलो आवाजका उनलाई कार्यकर्ताहरूले बाघ भन्नुको कारण उनी लागेका कुरा सोझै भन्थे, कसैले हेप्न खोजे दब्दैनथे।
‘कुमार दाइको सबैभन्दा ठूलो विशेषता भनेकै उहाँको हक्की स्वभाव हो’, महामन्त्री विश्वप्रकाश शर्माले भने, ‘हक्की स्वभाव भएकैले उहाँले आफूलाई लागेका कुरा बोल्ने र गर्ने गर्नुभयो। खुला स्वभावको उहाँले त्यो गुण जीवनभर कायम राख्नुभयो।’
गत असोजमा भएको कांग्रेस केन्द्रीय समितिमा उनले पदाधिकारीहरुलाई ‘ननसेन्स’ भन्दै थर्काएको भिडियो भाइरल भएको थियो।
‘कुमार दाइको राजनीतिक जीवन नियाल्ने जो कोहीलाई उहाँ अस्थिर लाग्छ, झट्ट हेर्दा त्यही देखिन्छ’, झापा शनिश्चरेमा बुढाथोकीका छिमेकीसमेत रहेका लेखक कृष्ण धराबासीले भने, ‘तर उहाँको स्वभाव नै यस्तो थियो कि केही मन परेन भने विद्रोह गरिहाल्ने। कसैलाई बाँकी नराख्ने। कांग्रेसको बैठकमा सभापतिदेखि एक से एक बडे बडे नेतालाई ननसेन्स भन्न सक्ने ताकत अरूमा कहाँ हुन्छ?’
धराबासीले लेखेको पुस्तक ‘आधा बाटो’ मा बुढाथोकीलाई उनले आफ्नो 'गडफादर' भनेका छन्।
‘उहाँ त्यसबेला शनिश्चरे गाउँ पञ्चायतको प्रधानपन्च हुनुहुन्थ्यो। म एसएलसी सकेर जागिर खान सिफारिस माग्न गएको थिएँ’, धराबासीले लेखेका छन्, ‘उहाँले जागिर खाने होइन, कलेज पढ्ने हो भन्नुभयो। मेरो आर्थिक अवस्था पढ्न सक्ने छैन भनेपछि उहाँले मेरो इलाममा मेरो घर छ, त्यहाँ गाई पनि छन्। गाईलाई घाँस काट्ने, दूधभात खाँदै कलेज पढ्ने हो जान्छौं भनेर सोध्नुभयो। मैले पनि जान्छु भनेँ। अनि मेरो कलेज जीवन सम्भव भयो।’
धराबासीका अनुसार यस्तो सहयोग उनले धेरैका लागि गरे।
‘उनी सधैं गरिवहरूको पक्षमा दृढतापूर्वक उभिए। जमिनदार बाबुबाट अंशमा पाएको धेरै जमिन बेचेरै राजनीतिक यात्रा अघि बढाएका उनी आर्थिक अनियमितताका सवालमा कहिल्यै मुछिएनन्,’ धरावासीले भने।
घरी पन्चायत, घरी कांग्रेसको सिलसिला:
२००१ साल असोजको फूलपातीमा इलामको सिन्फिरिङमा जन्मेका बुढाथोकीको स्कुले शिक्षा दार्जिलिङबाट प्रारम्भ भएको थियो।
दार्जिलिङको सेन्टजोसेफ पढ्दा नेपालका तत्कालीन युवराज वीरेन्द्र उनका सहपाठी थिए। युवराज वीरेन्द्र र राजकुमारहरू ज्ञानेन्द्र र धीरेन्द्र पनि त्यही स्कुलमा थिए।
‘पछि बस्ने कोठा मिलाउँदै जाँदा हामी रुममेट बन्यौं’, बुढाथोकीले आफ्नो पुस्तकमा लेखेका छन्, ‘बी शाह, जी शाह, डी शाह र म रुममेट बनेर बस्यौं। तर मलाई लामो समयसम्म उनीहरू नेपालका राजपरिवारका सन्तान हुन् भन्ने थाहै भएन।’
बुढाथोकीले लेखेअनुसार त्यसबेला उनका रुममेट बी शाह अर्थात् वीरेन्द्रलाई भुटानी राजपरिवारको एक सदस्यले सधैं हेपेर बोल्ने गरेका थिए। त्यसको बदलामा बुढाथोकीले ती भूटानीलाई नराम्ररी गोदेका थिए।
आफ्नै दाजुविरुद्ध अनेक कुरा भन्दै जिस्काइरहने जी शाह ज्ञानेन्द्रलाई पनि उनले कहिले हुत्याइदिने, कहिले चड्कन हान्ने गरेका थिए। ‘पछि बिदामा नेपाल आएका बेला बुबाले ती त राजाका छोरा हुन् भनेपछि म छक्कै परेँ’, बुढाथोकीले लेखेका छन्।
नेपाल र भुटानका राजपरिवारका सन्तानसँगै पढेर दार्जिलिङमै ‘सिनियर क्याब्रिज’ सकेका बुढाथोकी नेपाल पढ्न आएका थिए। तर त्रिचन्द्रको शिक्षक कुटेको घटनाले उनलाई जेलमा पुर्याएको थियो। जेल पुग्नुको फाइदा उनी राजनीतिक कार्यकर्ता बनेका थिए।
‘ती नेताहरूले नौ महिनामा मेरो ब्रेन वास गरिदिए’, बुढाथोकीले डेढ वर्षअघि सेतोपाटीसँगको कुराकानीमा भनेका थिए, ‘त्यही जेल बसाइपछि म राजनीतिमा होमिएँ।’
अनपेक्षित रुपमा राजनीतिमा होमिएका बुढाथोकीको राजनीतिक जीवन एकै लिकमा कहिल्यै गुडेन। सुरुमा कांग्रेस भएका उनले २०२५ सालमा झापामा भएको विद्यार्थी आन्दोलनको अगुवाइ गरेका थिए।
एउटा विद्यालयको जग्गाको झमेलाको निहुँमा उठेको आन्दोलन जिल्लाव्यापी बन्यो। माइपूर्वको आन्दोलनको अगुवाइ बुढाथोकीले गरेका थिए। त्यही निहुँमा उनी फेरि जेल परेका थिए।
केही समयपछि जेलबाट छुटेका उनी कांग्रेसको तरुण दलका आबद्ध भए। बिपी कोइरालालाई भेट्न भारतको वनारस गए। बिपीलाई भेटेकै निहुँमा उनी फेरि पक्राउ परेका थिए।
त्यसपछि भने उनी पञ्चायत प्रवेश गरे।
युवक संगठनको जिल्ला अध्यक्ष भएका उनी ‘कांग्रेसका नेताहरुकै सल्लाहमा आफू त्यता गएको’ दाबी गरिरहन्थे। ०२८ सालतिर पन्चायत प्रवेश गरेका उनी २०३२ मा शनिश्चरे गाउँ पन्चायतको प्रधानपन्च बनेका थिए।
उनी प्रधानपन्च भएकै बेला शनिश्चरेमा हात्ती आतंक उत्कर्षमा थियो। उनकै नेतृत्वमा हात्ती खेद्ने अभियान चल्यो। त्यसबेला पाँच वटा हात्ती शनिश्चरेमा मारिएका थिए।
उनी प्रधानपन्च भएकै बेला जनमत संग्रह घोषणा भयो। प्रधानपन्चबाट राजीनामा दिएर उनी बहुदलका पक्षमा उभिए। २०३६ को जनमत संग्रहमा बहुदल पराजित भयो। निर्दलीय व्यवस्थाको जीत भयो। त्यसपछि उनी फेरि पन्चायत पसेका थिए।
२०३८ मा प्रधानपन्चको चुनाव लडेका उनले ८४ प्रतिशत मत ल्याएर जिते। त्यो चुनावको केही समयपछि उनी जिल्ला पन्चायतको सभापतिको चुनावमा उठे, त्यहाँ पनि जिते। २०३९ मा जिल्ला पन्चायतको सभापति बनेका उनी २०४३ मा राष्ट्रिय पन्चायतको सदस्य भएका थिए।
त्यसबेला झापामा दुई सिटका लागि चुनाव भएको थियो। वामपन्थीहरुले द्रोणाचार्य क्षेत्रीलाई जनपक्षीय उम्मेदवार भनेर अघि सारे भने प्रजातान्त्रिक समूहले बुढाथोकीलाई अघि बढाएका थिए।
‘बुढाथोकीको चुनाव चिन्ह घर थियो, क्षेत्रीको घैला थियो’, धराबासीले त्यो चुनाव सम्झिए, ‘कांग्रेस र कम्युनिष्टहरु घरघैला घरघैला भन्दै जुलुस गर्थे। उनीहरु दुवै जनाले त्यो चुनाव जिते।’
चुनाव जितेर गएपछि बुढाथोकी सुकुम्वासी आयोगको अध्यक्ष बने। उनकै कार्यकालमा हेटौंडा र चितवनको सुकुम्बासी समस्या समाधान भएको उनको पुस्तकमा उल्लेख छ।
सुकुम्बासी आयोगमा बसेर राम्रो काम गरेको र तत्कालीन राजा वीरेन्द्र शाह आफ्नो सहपाठी भएकोले पनि २०४४ मा उनी मरिचमान सिंह श्रेष्ठ नेतृत्वको सरकारमा जलस्रोत सहायक मन्त्री बनेका थिए।
‘सुरुमा मैले सहायक मन्त्री खान्नँ भनेर अड्डी लिएको थिएँ। तर मेरा मामाहरुले सुरुमै फुलमन्त्री कसरी भइन्छ भनेर मन्त्री बन्न भन्नुभयो, म बनेँ’, बुढाथोकीले लेखेका छन्, ‘तर पछि पुनःगठनमा पनि सहायक मन्त्रीमै निरन्तरता भएपछि राजालाई नै भेटेर कुरा गरौं जस्तो लाग्यो।’
त्यसपछि उनले राजा वीरेन्द्रसँग ‘दर्शन भेट’ का लागि समय मागे। राजासँग भेट भयो। ‘म खाली सहायक मन्त्री हुनु?’ भन्दै उनले सहपाठी साथीलाई घुक्र्याए। त्यसबेला वीरेन्द्रले उनलाई सोधेछन् ‘क्षेत्री (वीरेन्द्र उनलाई क्षेत्री भन्थे, ज्ञानेन्द्र र धीरेन्द्र क्षेत्री दाइ भन्थे) तिमीले यो देशका कति जिल्ला घुमेका छौं?
उनले थोरै मात्रै घुमेको जवाफ दिए। वीरेन्द्रले हाँस्दै उनलाई भनेछन् ‘तिमीले देश बुझ्नै बाँकी छ। पहिले पूरा देश घुम्नु, बुझ्नु अनि फुलमन्त्री बनाउँला।’
‘मैले त्यसपछि नै हो देश दौडाहा गरेको’, बुढाथोकीले लेखेका छन्। उनी जलस्रोत सहायक मन्त्री भएकै बेला २०४६ मा जनान्दोलन सुरु भयो। मधेसको जदकुवा भन्ने ठाउँमा प्रहरीको गोली लागेर ६ जना महिलाको मृत्यु भयो।
त्यो घटनाको विरोधमा बुढाथोकीले सार्वजनिक रुपमा अभिव्यक्ति दिए। ‘यसरी जनता मारेर हुँदैन भनेर मैले बोलेको मरिचमानले मन्त्रीबाट बर्खास्त गरे’, उनले भनेका थिए।
जनआन्दोलन सफल भयो। २०४७ को संविधान जारी भएपछि २०४८ मा पहिलो आम निर्वाचन हुने भयो। त्यो चुनावमा उनले झापा २ मा टिकट दाबी गरेका थिए। तर कांग्रेसका वरिष्ठ नेता सिके प्रसाइँको विकल्प नहुने भन्ने बुझेपछि उनी सूर्यबहादुर थापा नेतृत्वको राप्रपा प्रवेश गरे। र टिकट लिएर झापा २ मै चुनाव लडे।
उनी आफैं त हारे नै, सिके प्रसाइँ हराउने कारक पनि उनी नै बने। एमालेका देवीप्रसाद ओझाले चुनाव जिते। कांग्रेसबाट टिकट नपाउने भएकै कारण उनी राप्रपामा लागेर झापामा चुनाव लडे। त्यसलाई उनले राजनीतिक जीवनको भूल भनेर किताबमा स्वीकार गरेका छन्।
‘आफूलाई जे लाग्यो त्यही सही मानेर अघि बढ्दा र सल्लाहकार टिम नहुँदाको असर थियो त्यो’, उनले आत्मसमीक्षा गर्दै भनेका छन्, ‘राजनीतिमा टिम चाहिने रहेछ। जसले सही गलत के हो भनेर सुझाव देओस्।’
२०५१ मा राप्रपा छाडेर बुढाथोकी फेरि कांग्रेसमै फर्किए र मध्यावधि निर्वाचनमा एमालेका केपी ओलीविरुद्ध चुनाव लडे। झापा ६ मा ओलीले जिते, उनी हारे।
२०५६ मा उनले टिकट पाएनन्। तर त्यसबेला टिकट नपाउँदा उनले विद्रोह भने गरेनन्। कांग्रेस विभाजित भएपछि प्रजातान्त्रिक कांग्रेसको झापा सभापति भए। पार्टी एकता भएपछि पहिलो संविधानसभा चुनाव लड्दा जिल्लामा उनी एक्लैले सफलता पाए। २०६४ मा झापाबाट चुनाव जित्ने एक्ला कांग्रेस नेता थिए उनी।
झापाका चक्रप्रसाद बाँस्तोला, कृष्णप्रसाद सिटौला, नरेन्द्रविक्रम नेम्वाङ लगायतका नेताहरू सबैले माओवादी उम्मेदवारसँग पराजय व्यहोर्दा बुढाथोकी भने चुनाव जित्न सफल भएका थिए।
पार्टीका सबै प्रभावशाली नेताले रोजेर चुनाव क्षेत्र लिएको त्यो बेला झापा ५ र ६ उब्रिएको थियो। ‘मैले त्यहीँ उब्रेकोमध्ये ५ नम्बर रोजेर चुनाव लडेको थिएँ’, बुढाथोकीले भनेका थिए, ‘आफैं रोजेर क्षेत्र छानेकाहरू कसैले चुनाव जितेनन्। मैले जितेँ।’
२०७३ मा पुष्पकमल दाहाल प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री बनेका थिए। सोही मन्त्रिपरिषदमा बुढाथोकी सामान्य प्रशासन मन्त्री बनेका थिए।
साथै २०७४ मा आफू पूर्वप्रतिबद्धता अनुसार चुनाव नलडेको दाबी उनको थियो।
‘मलाई दुई पटक चुनाव जिताउन भूमिका निर्वाह गरेका हालका झापा सभापति देउमान थेवेलाई मैले वचन दिएको थिएँ, अब तपाईं लड्ने भनेर’, उनले भनेका थिए, ‘म झापा २ मा जान चाहन्थेँ। तर तत्कालीन जिल्ला सभापति उद्धव थापाले फेरि उठ्ने भनेपछि म बाहिर बसेको हुँ।’
पाँच वर्ष चुनावी दौड बाहिर रहेको समयलाई उनले पुस्तक लेखनमा लगाएका थिए। सो आत्मकथामा बुढाथोकीले आफ्नो कमजोरीप्रति पनि निर्मम समीक्षा गरेको वरिष्ठ अधिवक्ता लीला उदासी बताउँछन्। झापामा बसेर लामो समय वकालत गरेका वाम पृष्ठभूमिका उदासीले इतिहास सुरक्षित गर्न बुढाथोकीको पुस्तक सफल रहेको टिप्पणी गरेका छन्।
नयाँ पुस्तालाई पालो दिन भनेर ०७४ को चुनाव नलडेका बुढाथोकी २०७९ को चुनाव कसैगरी लड्ने ध्येयमा थिए। कांग्रेसभित्रका ‘चुनावी खेलाडी’ उनले झापा २ ताकेका थिए। तर गठबन्धनको भागबन्डामा त्यो क्षेत्र माओवादीलाई परेपछि उनी उठ्न पाएनन्।
सभामुख देवराज घिमिरेले जितेको क्षेत्रमा स्वतन्त्र उम्मेदवार स्वागत नेपाल दोस्रो र माओवादीका हरि राना तेस्रो भए। गठबन्धनका उम्मेदवार तेस्रो बनेको अपजस बुढाथोकीको भागमा पर्यो। कांग्रेस केन्द्रको बैठकमा कोशी प्रदेश सभापति उद्धव थापाले खुलेरै यो आरोप लगाएका थिए।
नातामा ज्वाइँ पर्ने मात्रै होइन, शनिश्चरेका छिमेकीसमेत रहेका आफ्ना जुनियर कार्यकर्ताले कांग्रेस केन्द्रकै बैठकमा यस्तो आरोप लगाएपछि उनलाई प्रतिक्रिया मागिएको थियो। उनले ठट्यौली पारामा प्रतिक्रिया दिन अस्वीकार गरेका थिए।
‘अब म सुध्रिँसकेँ नि भाइ। मैले पनि बोलेँ, मेरो ज्वाइँ सा'बले पनि बोल्नुभयो। कुरा सकियो। इगो राखेर कहाँ हुन्छ र !,’ उनले यत्ति भने।
कुनैबेला सिके प्रसाइँ हराउन राप्रपाबाट उठेका, गिरीराजकुमारी प्रसाइँ हराउन भूमिका गरेको पनि खुला रुपमा स्वीकार गरेका बुढाथोकीलाई जीवनको उत्तरार्धमा भने राजनीतिमा ‘इगो’ ठीक नहुने लाग्न थालिसकेको थियो।
उनले आफ्नो पुस्तकमा राजनीतिमा ‘इगो’ ठीक नभएको स्वीकार गर्दै त्यही इगोले राजनीतिक जीवनमा धक्का पुगेको उल्लेख गरेका छन्। ‘मैले जति नै धक्का खाए पनि धुलो टकट्क्याउँदै उठेर हिँडेको भने छु। अलमल भए पनि म लोकतन्त्रको पक्षमा भने सदा उभिएँ। त्यसमा सन्तोष छ,’ उनले लेखेका छन्।
लामो र सक्रिय जीवनमा यही सन्तोष साँचेर झापाका ‘कुमार दाइ’ अब इतिहास भएका छन्। उपचारका क्रममा गए राति उनको निधन भएको थियो।