प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन १९ गते लुम्बिनी प्रदेश सभामा सम्बोधन गर्ने भएका छन्।
बुधबार प्रधानमन्त्री प्रचण्ड र लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीबीच काठमाडौंमा भएको भेट र छलफलपछि प्रधानमन्त्री प्रचण्डले फागुन १९ गतेको लुम्बिनी प्रदेशसभालाई सम्बोधन गर्ने तय भएको मुख्यमन्त्री चौधरीले जानकारी दिए।
‘प्रधानमन्त्रीज्युले फागुन १९ गते लुम्बिनीको सदनमा विशेष सम्बोधन गर्ने तय भएको छ,’ मुख्यमन्त्री चौधरीले भने।
लुम्बिनीमा फागुन १८ गते देखि हिउँदे अधिवेशन आह्वान गरिएको छ।
आजको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले लुम्बिनीमा आगामी फागुन १८ र १९ गते हुन लागेको लरियट्स एन्ड शिखर सम्मेलनको तयारीबारे मुख्यमन्त्रीसँग जिज्ञासा राखेका थिए।
भेटमा प्रधानमन्त्रीले सम्मेलनको विषयमा प्रदेश सरकारले गरेको र अहिलेसम्मको तयारीका बारेमा अवगत गराएको मुख्यमन्त्री चौधरीले बताए।
लुम्बिनीमा फागुन २८ र २९ गते ‘लरिएट्स एन्ड लिडर्स शिखर सम्मेलन’ हुने तय भइसकेको छ। उक्त सम्मेलनमा ९ जना नोबेल शान्ति पुरस्कार विजेता आउने तय भइ सकेको छ।
‘लरिएट्स एन्ड लिडर्स’ समूहले यसअघि नै आफ्नो आधिकारिक पेजमा लुम्बिनीमा हुने शिखर सम्मेलनबारे जानकारी दिइसकेको छ।
सम्मेलनमा सन् २०१४ का नोबेल शान्ति पुरस्कार विजेता भारतका कैलाश सत्यार्थीसहित जोजे रामोस ओर्टा, अब्देसतार वेन मौसा, विदेद बुसामावुइ, लेह्म बोवी, जोडी विलियम्स, टवाको कम्र्यान, रिचार्ड रोबर्ट्स र एरी वार्सल सहभागी हुनेछन्।
सम्मेलनमा जोर्डनका राजकुमार अली विन अल हुसेन, अर्थशास्त्री जेफ्री स्याक्स, स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटका बोर्ड अध्यक्ष स्टेफन लोफभेन, पानामाकी पूर्वप्रथम महिला लोरेना क्यासिलो, इन्टर पार्लियामेन्टरी युनियनका महासचिव मार्टिन चुङगोङ समेत सहभागी हुनेछन्।
शिखर सम्मेलनको तयारीका लागि संघमा पराराष्ट्रमन्त्री एनपि साउदको संयोजकत्वमा १३ सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको छ भने मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको संयोजकत्वमा निर्देशक समिति गठन गरिएको छ।
शिखर सम्मेलनमा ९ जना नोबेल शान्ति पुरस्कार विजेतासँगै बालबालिका, शान्ति क्षेत्रका विज्ञ, संयुक्त राष्ट्रसंघका विकास साझेदार २० जना बढी विदेशी विशिष्ट व्यक्तिको सहभागिता रहनेछ।
उक्त सम्मेलनमा सरकारी तथा गैरसरकारी क्षेत्रका अधिकारी गरी नेपालका दुई सयभन्दा बढी विशिष्ट व्यक्तिहरूको सहभागिता रहने लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताए।
शिखर सम्मेलन लुम्बिनी प्रदेश सरकारले गर्न थालेको र यसले लुम्बिनीको विश्वव्यापी प्रचार प्रसारका साथै बिकासमा योगदान पुग्ने मुख्यमन्त्री चौधरीले बताए।
‘शिखर सम्मेलन पछि एक पटक फेरि नेपाल र लुम्बिनी प्रदेशको चर्चा परिचर्चा विश्वमा फैलिने छ,’उनले भने।
शिखर सम्मेलनका लागि प्रदेश सरकारले ६ करोड ५० लाख रुपैंया विनियोजन गरी सकेको छ।
प्रदेश सरकारले चौथो अन्तराष्ट्र्रिय बालबालिका, विकास र शान्तिका लागि उक्त शिखर सम्मेलन गर्न थालेको हो।
‘लुम्बिनीलाई विश्वभर चिनाउने र विकासको लागि साझेदारहरूको ध्यान आकर्षित गर्ने मुख्य उदेश्य हो,’ उनले भने ‘ बुद्धजन्म स्थल लुम्बिनीबाट बालबालिकाको क्षेत्रमा शान्ति, सद्भाव र करूणाको सन्देश दिन सके ठूलो सन्देश प्रवाह हुनेछ।’
यति धेरै विशिष्ट व्यक्तिहरूको सहभागितामा यत्तिको शिखर सम्मेलन नेपालमा यसअघि कहिलै नभएको भन्दै मुख्यमन्त्री चौधरीले शिखर सम्मेलन पछि विकासमा टेवा पुग्ने आशा ब्यक्त गरे।
‘लुम्बिनी जस्तो ठाउँ विश्वमा अन्यत्र कतै नभएको हुँदा त्यसले विश्व भर शान्तिको सन्देश प्रवाह हुने छ,’ उनले भने ‘लुम्बिनीलाई विश्वकै मुख्य पर्यटकीय गन्तव्यको रूपमा ब्राण्डिङ गर्न त्यसले सघाउने छ।’सम्मेलनको तयारी तीव्र रुपमा भइरहेको छ।