सत्तारूढ नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देशमा निराशा पैदा हुन नदिन गठबन्धन भत्काइएको बताएका छन्।
एमाले सुर्खेतको नवौं अधिवेशन उद्घाटन गर्दै उनले कांग्रेससहितको गठबन्धन भत्काएर नयाँ समीकरण बनाउन एमालेले भूमिका खेलेको बताए।
विगतका गतिविधिबाट जनतामा छाएको राज्यप्रतिको निराशा आशामा बदल्न गठबन्ध भत्काउन आवश्यक ठानिएको उनले बताए। मुलुकलाई थप निराशाको बाटोमा जान नदिन एमालेले गठबन्धन भत्काउनुपर्छ भन्ने मान्यताका आधारमा अडान लिएको उनले बताए।
‘अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले एक हदसम्म सकारात्मक अनुभूति गर्नुभयो, एउटा त उहाँले सदैव देशभक्तिपूर्ण आन्दोलनमा होमिएको नेपालको वामपन्थी आन्दोलनबाट आफू अलग हुन्छु कि भन्ने अनुभूति गर्नुभयो,’ उनले भने, ‘अर्को कांग्रेससँगको गठबन्धन सुशासनका पक्षमा भएन भन्ने उहाँले अनुभूति गर्नुभयो, प्रचण्डका यी अनुभूतिलाई सकारात्मक ठानेर एमालेले यो समय गठबन्धन भत्काउन उपयुक्त ठान्यो र नयाँ समीकरणका लागि भूमिका खेल्यो।’
महासचिव पोखरेलले यतिबेला एमालेलाई राष्ट्रिय राजनीतिमा निर्णायक भूमिकामा लैजाने गरी नीति निर्माणमा अघि बढेको बताए। गएको निर्वाचनमा कर्णालीको परिणाम एमालेका लागि सुखद् नरहेको उनले बताए।
‘यसको अर्थ हाम्रो भविष्य अँध्यारो भयो भन्ने होइन, अब कसरी उज्यालो बनाउन सकिन्छ भन्नेमा हामीले ध्यान दिनुपर्छ। हारलाई शक्तिमा बदल्नका लागि विगतमा भन्दा भविष्यतर्फ सोचेर अघि बढ्नु जरुरी छ,’ उनले भने।
जनताको अभिमतका हिसाबले गएको निर्वाचनमा एमाले कमजोर भने नरहेको उनले बताए। त्यतिबेलाको मतका हिसाबले राष्ट्रिय राजनीतिमा एमाले दोस्रो स्थानमा रहेको उनले बताए।
उनले नेपालको राजनीतिमा स्वार्थ आधारित मोर्चाबन्दीका कारण जनताको स्पष्ट अभिमत प्रकट हुन नपाएको औंल्याए। अब नेपालको राजनीतिलाई गठबन्धनको माध्यमबाट नभएर नीतिको ध्रुवीकरण वा समान विचार बोक्ने दलबीचको सहकार्यका माध्यमबाट अगाडि बढाउनु जरुरी रहेको उनले बताए।
‘राजनीतिको लक्ष्य भनेको समाज परिवर्तनको विषय हो, हामीले भने राजनीतिक परिवर्तन भए सबै परिवर्तन हुन्छ भन्ने मानसिकता बोक्यौं,’ उनले भने, ‘हामीले विगतका त्याग र बलिदानको योग्दान खोजेर जनतातर्फ फर्किनु गलत छ।’
उनले वामपन्थी पार्टीमा फाटो ल्याएर आफ्नो अस्तित्व खोज्ने कांग्रेसको नीतिका कारण नेपालको राजनीति अस्थिर बनेको टिप्पणी गरेका थिए।
कांग्रेस विचारका आधारमा नभएर स्वार्थका आधारमा राजनीतिलाई डोर्याउने पैरवी गर्ने दलका रुपमा स्थापित भएको उनले बताए। उनले २०७४ मा विचारका आधारमा तय गरिएको वामपन्थी शक्ति भत्तकाउन र संसदको सट्टा अदालतबाट प्रधानमन्त्री घोषणा गराउने काममा कांग्रेसले भूमिका खेलेको आरोप लगाए।
महासचिव पोखरेलले अधिवेशनलाई सार्थक बनाउने भूमिका नेतृत्वसँगै सहभागी प्रतिनिधिको पनि भएकाले यसलाई गम्भीरतापूर्वक लिएर सुर्खेतको अधिवेशन सम्पन्न गर्न आग्रह गरेका थिए। अधिवेशनबाट जनताको बीचमा जाने र पार्टीलाई स्थापित गर्ने खालको जिल्ला नेतृत्व चयन गर्न उनले आग्रह गरेका थिए।