उपप्रधानमन्त्रीसमेत रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरूद्ध लागेको आरोपमाथि छानबिन जारी रहेको बताएका छन्।
सहकारी प्रकरणमा लामिछाने जोडिएकोले संसदीय छानबिन गर्नुपर्ने माग प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उठाउँदै आएको छ।
बिहीबार जनकपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उपप्रधानमन्त्री महासेठले छानबिनमा लामिछाने दोषी देखिएमा सरकारबाट बाहिर जानुपर्ने पनि बताए।
‘जहाँ हाम्रो उपप्रधानमन्त्री रवि लामिछानेजीको कुरा छ, त्यो कुरा अहिले जुन प्रकारले नेपाली कांग्रेसले राजीनामाको माग गरेको छ। त्यो आफैँमा गलत कुरा हो। उहाँहरुको माग संसदीय छानबिन समिति हो, हिजो गठबन्धन चेन्ज हुँदा उहाँलाई कांग्रेसले प्रधानमन्त्री बनाउन सक्ने तर उहाँहरुको अफर स्वीकार नगर्दा र यो सरकारमा आएर गृहमन्त्री बन्दा अपराधी हुने, ठग हुने कुरा गलत हो,’ उनले भने, ‘छानबिन जारी छ, जो पनि दोषी भए भने त सरकारबाट बाहिर जानैपर्छ। कुनै चान्स छैन, जो सुकै होस्।’
उनले यो गठबन्धन लामो समयसम्म चल्ने पनि बताएका थिए।
‘भौतिक पूर्वाधारलाई जसरी हुन्छ, राम्रो गर्नुस् भन्ने प्रधानमन्त्रीको निर्देशन छ। भौतिक पूर्वाधारको विकास नगरीकन देश समृद्धितर्फ जान सक्दैन। सरकारको पहिलो लक्ष्य नै भौतिक पूर्वाधारसँग सम्बन्धित चाहे त्यो हुलाकी राजमार्ग होस्, महेन्द्र राजमार्ग होस्। मदन भण्डारी राजमार्ग जुन होस्, उत्तर दक्षिण धेरै रोडहरु सम्पन्न गर्ने लक्ष्य लिएर यो सरकार अघि बढेको छ,’ उनले भने।
(न्युज एजेन्सी नेपाल)