शुक्रबार दाङको लमही नगरपालिका-९ अमेलियामा कांग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्काको सालिक अनावरण कार्यक्रम थियो।
शालिक अनावरणसँगै खुमबहादुर खड्काले गरेका योगदानहरूको स्मरण गर्नका लागि औपचारिक कार्यक्रम पनि राखिएको थियो।
उक्त कार्यक्रममा केन्द्रीय सभापति शेरबहादुर देउवा प्रमुख अतिथि थिए।
मञ्चमा केन्द्र, प्रदेश र जिल्लाका गरी २० जना भन्दा बढी नेताहरू थिए।
ती २० जनाले नै मन्तव्य राख्ने थाहा पाएपछि देउवाले कार्यक्रम सुरू हुनअघि नै सञ्चालक कांग्रेसका दाङ जिल्ला सचिव अर्जुन योगीलाई बोलाएर नेताहरूले थोरै समय मात्रै बोल्ने व्यवस्था गर्न भनेका थिए।
सभापतिको निर्देशन अनुसार योगीले प्रत्येक वक्तालाई बोल्न दिनुअघि लामो भाषण नगर्न र छोटो समयमा टुंग्याउन आग्रह गर्थे।
‘दिउँसो चार बजे सभापतिज्यूको प्लेन टिकट छ,’ योगी भन्थे ‘कृपया छोटो बोल्नुहोला, दुई मिनेटमै मन्तव्य टुंग्याउनु होला।’
त्यसका बाबजुद नेताहरूले लामो बोल्न खोजेपछि देउवा आफैंले टुंग्याउन इशारा गरेका थिए।
लामो भाषण गर्न र सुन्न मन नपराउने आफ्नो अघिल्तिर नेताहरूले लामो बोल्न खोजेपछि देउवा केही चिढिएका पनि थिए। उनी घडी हेर्दै वक्तालाई इशारा गर्दै टुंग्याउन भन्थे।
खुमबहादुर खड्काको योगदानका बारेमा नेताहरूले बोल्दा चुपचाप सुन्थे तर जब नेताहरू राष्ट्रिय राजनीति र गठबन्धनको विषयमा कुरा गर्थे देउवाको अनुहारमा बेचैन र झिज्यारीपन देखिन्थ्यो।
मन्तव्य राखेर मञ्चमा आउँदै गरेका केन्द्रीय सदस्य दीपक गिरीलाई सभापति देउवाले मौका पाउने बित्तिकै भाषण ठोकिहाल्नुपर्छ है भनेका थिए। उनी मञ्चमा बोलिरहँदा नै देउवाले सक्काउन इशारा गरेका थिए।
त्यसरी चाँडै मन्तव्य सकाउन भन्दा सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले मुखै फोरेर भनिन्- ‘दाइसँग आएपछि यस्तै हो, बोल्नै पाइँदैन।’
त्यति भनेर उनले आफ्नो मन्तव्य टुंग्याएकी थिइन्।
अर्का सहमहामन्त्री किशोरसिंह राठोर बोल्दै गर्दापनि बसेकै ठाउँबाट सभापति देउवाले भाषण छोट्याउन र रोक्न आग्रह गरेका थिए।
तर राठौरले भने उल्टो जबाफ फर्काए।
‘समय छ, दाइ एक छिन अझैं बोल्छु,’ राठौरले भनेका थिए। त्यसपछि उनले केही लामै भाषण गरे।
राठौरसँग सभापति देउवा कार्यक्रम सुरू हुनअघि नै झोँक्किएका थिए।
राठौर सबैजनाले मञ्चमा आसन ग्रहण गरेपछि पुगेका थिए। उनलाई पनि आसन ग्रहण गर्न भनियो।
त्यसपछि उनी मञ्चमा गएका थिए।
अघिल्लो लाइनमा देउवाको पूर्वतर्फ लहरै सहमहामन्त्री डिना, केन्द्रीय सदस्य दीपक गिरी, गोविन्दबहादुर शाह थिए भने पश्चिम तर्फ सोफामा मुख्यमन्त्री चौधरी थिए।
ड्यासमा पुगेपछि राठौरले मुख्ममन्त्री चौधरीलाई सारेर आफू सभापति देउवानजिक बसे।
नजिकै रहेका देउवाले मुख्यमन्त्री चौधरीलाई पुन आफूनजिक बोलाएर सहमहामन्त्री राठौरलाई मुख्यमन्त्रीको पश्चिमतिर बस्न लगाए।
त्यो दृश्य त्यहाँ उपस्थित सयौं नेता, कार्यकर्ताले प्रत्यक्ष नियाली रहेका थिए।
त्यसबाट पनि नेता राठौरले चित्त दुखाएको हुनुपर्छ। त्यसकारण मन्तव्य छोट्याउनका लागि देउवाले गरेको आग्रहलाई उनले मानेनन्।
कार्यक्रममा सभापति देउवाले पनि साढे तीन मिनेटमात्रै बोले।
त्यसक्रममा उनले खुमबहादुर खड्काको योगदानको चर्चा गरे, राष्ट्रिय राजनीतिको बारेमा केही बोलेनन्।