लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिने भएका छन्।
मुख्यमन्त्री चौधरीले बिहीबार विश्वासको मत नलिई पदबाट राजीनामा दिन लागेको कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले जानकारी दिए। ‘मुख्यमन्त्री ज्यूले आजै राजीनामा दिनुहुन्छ,’ उनले भने।
मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज अपराह्न ४ बजे प्रदेश सभा बैठक बोलाइएको छ।
सोही बैठकमा विश्वासको प्रस्ताव नराखी सम्बोधन गरेर मात्रै मुख्यमन्त्री चौधरीले राजीनामा दिन लागेका हुन्।
मुख्यन्त्री चौधरीले अब प्रतिपक्षी दलको भूमिका रहने बताए।
‘प्रतिपक्षमा बसेर अब बन्ने सरकारले गर्ने कामको निगरानी गर्छौं,’ मुख्यमन्त्री चौधरीले सेतोपाटीसँग भने।
८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा सरकार निर्माणका लागि ४४ सांसदको समर्थन चाहिन्छ।
यहाँ कांग्रेसको २७ सांसद छन्। कांग्रेसले अन्य दलहरूसँग संवाद गरेको भएपनि विश्वास पाउनका लागि आवश्यक सांसद संख्या अपुग हुने भएपछि मुख्यमन्त्रीले राजीनामा दिन लागेका हुन्।
यहाँ एमालेका २९, कांग्रेसका २७, माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्ति र जनमतका ४/४, राप्रपा, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका ३/३, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका १/१ र एक स्वतन्त्र सांसद छन्।
सत्ता गठबन्धनले लुम्बिनी प्रदेशमा माओवादी केन्द्रले मुख्यमन्त्री पाउने सहमति गरिसकेको छ। त्यसो हुँदा माओवादीका प्रदेश संसदीय दल नेता जोखबहादुर महरा मुख्यमन्त्री बन्नेछन्।