इलाम क्षेत्र नम्बर २ मा अहिलेसम्म फाकफोकथुम गाउँपालिकाका ६ वटा वडाको मतगणना सकिएको छ।
यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू र 'मूढा' चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दिएका डकेन्द्रसिंह थेगिम लिम्बू तेस्रो स्थानका लागि प्रतिस्पर्धा गरिरहेका छन्।
वडा नम्बर १, २, ३, ४, ५ र ६ को मतगणना सकिँदा स्वतन्त्र उम्मेदवार थेगिम तेस्रो स्थानमा छन्। उनले ७८४ मत ल्याएका छन्। कुल ८०६३ सदर मतमध्ये उनले करिब १० प्रतिशत मत ल्याएका छन्।
अहिलेसम्मको मतगणनामा चौथो स्थानमा रहेका स्वतन्त्र पार्टीका लिम्बूले ५६१ मत ल्याएका छन्। यो सदर मतको करिब ७ प्रतिशत हो।
पछिल्लो परिणामअनुसार नेकपा एमालेका सुहाङ नेम्वाङ सबभन्दा अग्रस्थानमा छन्। उनले ३७८३ मत ल्याएका छन्। उनले सदर मतको करिब ४७ प्रतिशत प्राप्त गरेका छन्।
नेम्वाङलाई प्राप्त मत निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काको तुलनामा १००१ ले बढी छ। खड्काले २७८२ मत ल्याएका छन्। यो सदर मतको करिब ३५ प्रतिशत हुन्छ।
इलाम २ मा शनिबार उपनिर्वाचन भएको थियो। यहाँ एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेकामा ६९ हजार दुई सय ८७ जनाले शनिबार मतदान गरेका थिए।
२०७९ मा भएको प्रतिनिधि सभा चुनावमा इलाम २ मा एमाले उम्मेदवार सुवास नेम्वाङले ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए भने कांग्रेसका उम्मेदवार डम्बर खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिए। त्यस बेला खड्का तत्कालीन सत्ता गठबन्धनबाट साझा उम्मेदवार थिए।