पत्रकारिताबाट उनको बाटो टेलिभिजन कार्यक्रम निर्माणतर्फ मोडियो।
यस्तो कार्यक्रम जसमा नेपालका नयाँ नयाँ ठाउँ, ट्रेकिङ रूटहरू 'एक्स्प्लोर' गर्नुपर्थ्यो।
कामकै सिलसिलामा शान्ता नेपाली पूर्वी नेपालदेखि पश्चिमसम्म घुमेकी छन्। पहाडदेखि तराईका कुनाकाप्चा पुगेकी छन्। हिमाली क्षेत्रमा लामो समय काम गरेकी छन्।
त्यही क्रममा उनले देखेका, भोगेका र महसुस गरेका कथाहरूलाई फिल्म/वृत्तचित्र मार्फत देखाउँदै आएकी छन्।
उनले निर्देशन गरेको पछिल्लो वृत्तचित्र हो – ध्ये ड्रिम्स।
'यसले उपल्लो मुस्ताङको ध्ये गाउँमा जलवायु परिवर्तनले पारेको प्रभाव नजिकबाट बुझ्न मद्दत गर्छ,' शान्ताले भनिन्।
कृषि र पशुपालन गरेर जीविकोपार्जन गर्दै आएका त्यहाँका मानिस जलवायु परिवर्तनको चपेटामा परे। पानी अभाव हुन थालेपछि उनीहरू गाउँ छाड्न बाध्य भए। बिस्तारै समुद्री सतहदेखि ३ हजार ९ सय मिटरको उचाइमा रहेको ध्ये गाउँ रित्तिँदै गएको छ।
शान्ताले यो गाउँमा जलवायु संकटले पारेको असरको विविध पाटो वरिपरि रहेर वृत्तचित्र बनाएकी छन्।
यो फिल्म उनले पछिल्लो परिस्थिति नियालेर मात्रै बनाएकी होइनन्।
'मैले हिजोआज हिमाल, उपल्लो मुस्ताङ गएर, ओहो खतरा स्टोरी रहेछ भनेर डकुमेन्ट्री बनाएकी होइन। मैले दस-पन्ध्र वर्ष हिमाली क्षेत्रमा यात्रा गरेँ। हिमालमै काम गरेँ। त्यस क्रममा देखिरहेका कुराले स्टोरी चिन्न मद्दत गर्यो,' उनी भन्छिन्।
ध्ये ड्रिम्समा जलवायु परिवर्तनबाट प्रभावित तीन जना महिलाको कथा छ।
उनीहरूमध्ये दुई जना सोही गाउँमा बसेर बाँच्ने संघर्ष गरिरहेका छन्। उनीहरूलाई आफ्नो गाउँ, वर्षौं बिताएको ठाउँ छाड्न मन छैन। तर गाउँ रित्तिँदै जाँदा भोलिका दिनमा के गर्ने भन्ने चिन्ता छ।
अर्की एक जना महिला नयाँ गाउँमा सरिसकेकी छन्। उनी पनि नयाँ ठाउँमा गएर बाँच्ने संघर्ष गरिरहेकी छन्।
जलवायु परिवर्तनबाट महिलाहरू बढी प्रभावित छन् भन्ने फिल्ममा देख्न सकिन्छ।
वृत्तचित्र बनाउनुअघि शान्ताले उक्त गाउँमा पुगेर केही समय त्यहाँका मानिसहरूसँग बिताएकी थिइन्। बस्ने, खाने, महिलाहरूसँग घुलमिल गरेकी थिइन्। उनीहरूका कुरा सुनेकी थिइन्।
यी सब गर्नुको कारण थियो – त्यहाँका मानिसहरूको विश्वास जित्नु।
'त्यहाँको कथा भन्नुअघि उहाँहरूले मलाई विश्वास पनि गर्नुपर्यो। त्यसैले डकुमेन्ट्री बनाउनुअघि केही समय त्यहाँ बिताएँ,' उनले भनिन्।
शान्ताको धारणा छ, हामी कसैको कथा भन्दैछौं भने त्यहीँका मानिसहरूबाट भन्नुपर्छ। नत्र 'बाहिरिया' भइन्छ भन्ने उनलाई लाग्छ।
'हामी काठमाडौंबाट गएर आफ्नो तरिकाले कुनै ठाउँको कथा भन्छौं। तर त्यसो गर्नु हुँदैन भन्ने लाग्छ। त्यसरी गर्ने भए ५० प्रतिशत त्यहीँका मानिसहरूको आबद्धता गराउनुपर्छ,' उनले भनिन्।
उनले त्यहाँका मानिसहरूलाई टिममा समावेश गराइन्। त्यसपछि बल्ल ध्ये ड्रिम्स खिचिन्। यो वृत्तचित्र उनले दुई याममा गरी चार पटकमा खिचेकी हुन्।
वृत्तचित्रमा त्यहाँका मानिसहरूको दैनिकी, अनुभवदेखि उनीहरूको मनोदशा प्रस्तुत गरिएको छ। त्यहाँको विशेष पर्वदेखि कृषि, पशुपालन लगायत कुरा पनि समेटिएको छ।
पानी नपुगेर गाउँ छाडेर हिँड्नेहरू बढेको, अन्न उब्जनी घट्दै गएको, बर्खामा खोलाको बाढीले बाटो बिराएर बालीनाली र बाटो बिगारेर समस्या पारेको सम्मका कुरा फिल्ममा छन्। गाउँमा पहिलेजस्तो रमाइलो नहुने, पहिले माथिसम्म आउने हिउँ हिजोआज एकैछिनमा बिलाएर जाने कुरा पनि यसमा समेटिएको छ।
'गाउँमा कोही नहुँदा मेरो साथी बिरोलो हुन्छ, कुकुर हुन्छ, गाई हुन्छ,' वृत्तचित्रका एक पात्रको यो संवाद मर्मस्पर्शी लाग्छ।
२७ मिनेट ध्ये ड्रिम्सले यसबाहेक पनि धेरै कुरा बोलेको छ।
शान्ताले यसअघि वृत्तचित्र 'क्लाइम्बिङ टेम्परेचर्स अन टप अफ द वर्ल्ड' बनाएकी थिइन्। तीस मिनेटको उक्त वृत्तचित्रमा जलवायु परिवर्तनले सगरमाथा क्षेत्रमा कसरी परिवर्तन आइरहेको छ, त्यसले हिमाल चढ्ने शेर्पाहरूको दैनिकीमा कसरी प्रभाव पारिरहेको छ भन्ने देखाइन्।
'हाम्रा कारणले मात्र सगरमाथामा परिवर्तन आएको होइन। हामीकहाँ असर परिरहेको हो। हाम्रो उद्देश्य आफ्नै सरकारलाई यस्तो भइरहेको छ भनेर देखाउनु हो। अन्तर्राष्ट्रिय स्तरमा पनि हिमालमा यस्तो परिवर्तन भइरहेको छ भनेर देखाउनु हो,' उनले भनिन्, 'धेरै प्रसिद्ध फिल्म महोत्सवहरूमा यो वृत्तचित्र जान सफल रह्यो। प्रतिक्रिया पनि राम्रो आयो।'
अहिले ध्ये ड्रिम्स पनि अमेरिकामा प्रिमियर भइसकेको छ। नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा प्रिमियर भइसक्यो। विभिन्न विश्वविद्यालयहरूमा समेत यसको प्रदर्शन गरिएको छ। नेपाल-युरोपियन फिल्म फेस्टिभलमा यसले उत्कृष्ट फिल्मको अवार्ड जितेको थियो।
यही फिल्म अब मे २९ तारिक (जेठ १६) देखि सुरू हुने काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ) मा प्रदर्शन हुँदैछ। शान्ताले निर्देशन गरेको ध्ये ड्रिम्ससहित उनको प्रोडक्सन हाउसबाट बनेका पाँच वटा वृत्तचित्र किम्फमा प्रदर्शन हुँदैछन्। त्यसमा 'नो मोनास्ट्ररी, नो भिलेज', 'जर्ना', 'वनकरिया' लगायत छन्।
शान्ता सन् २००६ देखि फिल्म निर्माणमा काम गरिरहेकी छिन्। टेलिभिजनका लागि 'डेस्टिनेसन नेपाल' नामक 'ट्राभल शो' निर्माण गर्ने क्रममा नयाँ नयाँ ठाउँ पुगेर मानिसहरूका कुरा सुन्दा खुसी मिलेको उनी बताउँछिन्। आफू त्यसमै रमाउन थालेको पनि उनी स्मरण गर्छिन्।
'टाढाटाढा कहिल्यै नदेखेको ठाउँमा पुग्दाको दुःख आफ्नो ठाउँमा थियो,' त्यस बेलाको क्षण सुनाउँछिन्, 'तर नयाँ ठाउँ घुम्न, मानिसहरूका कथा सुन्न पाउँदा छुट्टै आनन्द भयो। यो चाहिँ मलाई मनपर्ने काम रहेछ भन्ने भयो।'
दुई वर्षभन्दा बढी समय उनले उक्त कार्यक्रम बनाइन्। त्यस क्रममा धेरै कुरा बुझ्ने अवसर पाइन्। त्यसपछि सांगीतिक टेलिभिजन कार्यक्रम 'कृपा अनप्लग्ड' निर्माण गरिन्। 'हिमालय रोडिज' को पहिलो सिजनमा सहायक निर्देशकको भूमिका निर्वाह गरिन्।
आफ्नै 'शान्ता नेपाली प्रोडक्सन' कम्पनी खोलेर अन्तर्राष्ट्रिय कामहरूमा समेत जोडिन थालिन्। थुप्रै अनुभव सँगालेपछि उनी आफै निर्देशनमा होमिइन्। 'जातको प्रश्न' टेलिभिजन कार्यक्रमको दुई सिजनमा निर्देशकको अनुभव समेत उनले सँगालिसकेकी छन्।
निर्माता, निर्देशक, छायाकार, पर्वतारोहीसमेत रहेकी शान्ताको अबको तयारी ध्ये ड्रिम्सलाई अलि लामो संस्करणमा ल्याउने छ।
'७५ मिनेटको बनाउने तयारी हो। त्यसका लागि फेरि दुई-तीन पटक मुस्ताङ जानुपर्ने हुन्छ,' उनले भनिन्, 'अर्को वर्षका लागि योजना छ।'
जलवायु परिवर्तनबारे धेरैभन्दा धेरैलाई जानकार गराउनु वृत्तचित्र निर्माणको उद्देश्य रहेको उनले बताइन्।
आउँदा दिनमा पनि कलेज, विश्वविद्यालयहरूमा सहकार्य गरेर यसको प्रदर्शन गर्ने उनको योजना छ।
'जलवायु परिवर्तन भन्नेबित्तिकै धेरैको सोचमा नेपालबाहिरको कुरा भन्ने आउँछ। त्यसैले आफ्नै देशमा के भइरहेको छ, कस्तो खतरा निम्तिँदै छ, मानिसले के भोगिरहेका छन् भनेर देखाउन खोजिरहेकी हुँ। सचेतना जगाउने उद्देश्य हो,' शान्ताले भनिन्।